‘यो कुकुर र तपाईंमा के फरक छ?’
यो बरफभन्दा चिसो र तरबारभन्दा धारिलो प्रश्नको निसानामा थिइन् आरजु राणा देउवा। तर, मलाई कताकता लाग्यो– यो प्रश्न मतिर पनि सोझिएको छ। त्यसको सिकार म पनि हुँ।
मानौँ, आरजुसँग मेरो कुनै नाता, कुनै तालुक छ।
आफूलाई पशुको तहमा खसालेर प्रश्न गर्दा पनि आरजु त्यसलाई सहजै स्वीकार्न विवश थिइन्। उनले आपत्ति जनाउन सकिनन्। बरु, हात जोडिन्, आई एम सरी भनिन्, शान्ति राखौँ भनिन्।
टिकटकमा यति देख्दै गर्दा म व्याकुल भइसकेको थिएँ। अन्तरात्माले बारम्बार भनिरहेको थियो– यस्तो त पहिल्यै भइसकेको होइन र! अब त यस्तो नहुनुपर्ने होइन र!
तर, उत्तेजित, अनियन्त्रित भीड कहाँ रोकिनेवाला थियो! क्रुद्ध मान्छेहरू जुनसुकै सीमा पार गर्न तयार थिए। उनीहरू तोडफोड र गालीगलौज गरिरहेका थिए। आगो लगाउने तयारी हुँदै थियो। अनुहार उज्यालो पार्न जति बल गरे पनि आरजु मनभित्रको आतंक लुकाउन सकिरहेकी थिइनन्। भीडमा कसैले माला लगाएर स्वागत गर्ने भनेपछि उनको अनुहार बिग्रियो, आँखामा आँसु उर्लिएर आयो। मुस्किलले थामिरहेको बाँध भत्कियो। सायद विश्वस्त भइन्– अब आफ्नो हातमा केही छैन। सबथोक भीडको हातमा छ।
हात नहालौँ है भन्दै उनीमाथि हातपात भयो। लबटो, लात्ती बर्सिए। मारपिटले भुक्क सुन्निएको अनुहारमा कालो पोतिएपछि शून्यपन छायो। सायद आँखाले देख्न र कानले सुन्न छाडिन्। निरीह वृद्ध शेरबहादुर के भइरहेको छ, ठम्याउन नसकेर भ्रान्त देखिए। उन्मादी भीडले उनलाई उचाल्दै, पछार्दै, रक्तमुच्छेल पार्दै र कुनैकुनै बेला सहारा पनि दिँदै बाहिर निकाल्यो।
अनि घरभित्र ज्वाला सल्कियो।
कुनै बेरमा काँडे तार नघाएर सुरक्षाकर्मीले उनीहरूलाई बाहिर निकाले। टाउकोमा पट्टी बाँधिदिए। ढुंगामुढाबाट जोगिन दुवै बुढाबुढीले टिनको छानामुनि मुन्टो लुकाए। अनि अदना नजरले दनदनी दन्किरहेको आफ्नो घरतर्फ हेर्न थाले। तुरुन्त सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको यो भयंकर दृश्य सर्वथा पीडादायी थियो। तर, यसमा मनोरञ्जन लिनेहरूको संख्या पनि कम थिएन। किनकि, यो तिनका लागि बिल्कुल उदेकलाग्दो, रोमाञ्चकारी र अद्भुत दृश्य थियो।
तर, मेरो लागि भने यो नयाँ थिएन। त्यो कुटपिट, त्यो तोडफोड र त्यो आगजनीले मभित्र रोमाञ्च होइन, आघात पैदा गर्यो, त्यो पनि पुरानो, खाटा बसिसकेको आघात। देउवा निवासमा जे घटित भएको थियो, त्यो धेरै पहिले मैले पनि भोगेको थिएँ। चौबीस वर्षअघि।
***
२०५८ साल, पुसको दिन थियो त्यो। सोलुखुम्बुको जुबु गाउँको कुरा हो।
अघिल्लो दिन कोदो कुटेको हुनाले आँगनदेखि बुइँगलसम्म कोदोका दाना र भुस छरिएका थिए। भित्र–बाहिर कोदोकै हरक थियो। भाउजू र म स्कुल जाने तयारी गर्दै थियौँ। म पाँच कक्षामा पढ्थेँ।
भड्डु भाँडामा च्याँख्ला पाकिसकेको थियो। कराईमा सोल्दर बनाउन खुर्सानी डढाइसकिएको थियो, बस मही खन्याउन बाँकी थियो।
‘भित्र पस, भित्र!’
जगमा पानी बोकेर हात धुन बाहिर निस्केका हामीलाई आदेश दिइयो। बन्दुक बोकेका बर्दीधारीहरूले घर घेरिसकेका रहेछन्।
उनीहरू पालैले भित्र पसे, कोठाचोटा छापछाप गरे। आलमारीको थालबटुको सोहोरेर भुइँमा झारे। च्याँख्लाको भाँडा बुटले हानेर गग्रेटोमुनि पुर्याए, कराई मझेरीमा घोप्ट्याएर लात्तीले पूरै भसाए। टोलङको मोही घोप्ट्याए। किताब, कागजपत्र छरे, केही हजार पैसा र एकाध तोला सुन भएको टिनको ट्यांका फोरे। भकारी थुतेर धान, मकै, कोदो छरपस्ट पारे। जे ठाडो थियो, त्यो ढाले। जे सबुत थियो, त्यो फुटाए। र, उनीहरू मान्छेतिर फर्किए। आमाको गाला चड्काए, दाजुको छातीमा मुक्का बर्साए, मेरो मुखमा बन्दुकको नाल कोचियो र एउटाले भाउजूको पिठ्युँमा लात्ती बजाउँदै भन्यो– ‘धिक्कार तेरो कुकुरको जिन्दगी!’
घरमा भएका चार जनामध्ये कसैले एक छिन अघिसम्म पनि त्यो किसिमको निर्दयता, त्यो दर्जाको अमानवीकरण कल्पनासम्म गरेका थिएनौँ। तर, कुटपिट वा गालीबेइज्जतीको बारेमा सोच्ने फुर्सद कहाँ थियो र! हाम्रो अघिल्तिर एउटै समस्या थियो– ज्यान कसरी जोगाउने?
किनकि हामीलाई भित्र एकैठाउँ झुरूप्प बस्न लगाइएको थियो। आँगनमुनिको माचबाट परालका गुन्टा ल्याएर धमाधम घरभित्र हुल्न थालिसकिएको थियो।
हरेश खाइसकेको बेला आमाले एउटा उपाय निकालिन्। घरसँगै बाँधिएका गाईबाच्छा देखाएर भनिन्, ‘त्यो गाई त जलाउनु भनेको छैन होला नि?’
मान्छे देखेर नपलाएको उनीहरूको दया गाई देखेर पलायो। फुकाल्ने अनुमति दिए। हामी गाईबाच्छा तानेर तिनको नजरबाट ओझेल पर्यौँ र त्यतैबाट कुलेलम ठोक्यौँ। खोल्सा, पहरा नाघेर पारि पुगेपछि सुन्निएका गाला, चर्केको छाती मुसार्दै घरलाई आगोले आहारा बनाएको हेरिरह्यौँ।
हाम्रो घर ठूलो थिएन। ढुङ्ग्याने घडेरीमा पन्ध्र हात लम्बाइ, दस हात चौडाइको घर ढुंगैले छाइएको थियो। नाम चलेका कोइराला कर्मीले बनाएको हुनाले सुर सिधा थियो। त्यही घर ठड्याउनमा आमाको सम्पूर्ण बल, बुद्धि, उमेर र धन खर्च भएको थियो। भनिरहन्थिन्– ‘तँलाई कोक्रोमा अगाडि झुण्ड्याएर पछाडि काठ बोकेर बनाको घर हो मैले।’
आफ्नो पसिना हुरहुरी बलेको देखिरहँदा उनका आँखा थामिन सकेका थिएनन्। सायद मेरी आमाकै जलनलाई सम्बोधन गर्न सायर बशीर बद्रले लेखेका थिए :
लोग टूट जाते हैं एक घर बनाने में
तुम तरस नहीँ खाते बस्तियाँ जलाने में
फरक यत्ति थियो— देउवाको घर जलाउने भीडमा सर्वसाधारण थिए भने हाम्रो घरमा आगो झोस्नेहरू सरकारी सिन्दूर लगाएका बर्दीधारी शाही सैनिक। विडम्बनाको कुरा, मेरो घर जलाइँदा यो देशको प्रधानमन्त्रीको कुर्सीमा उनै देउवा विराजमान थिए। र, शाही सेनालाई ब्यारेकबाट निकाल्न उनैले ठिक एक महिनाअघि संकटकाल लगाउने सिफारिस गरेका थिए।
***
घर!
यो शब्दजति न्यानोपन, प्रेम र आत्मीयता बोक्ने अर्काे शब्द सायदै छ।
घर केबल टाउको लुकाउने ओत होइन। यो केबल भौतिक संरचना होइन। खाँबो, निदाल, मझेरी, भित्ता, कोठा... घर यति मात्रै होइन। घर स्मृतिहरूको समुच्चय हो। दुःख र सुख, हाँसो र रोदन, वेदना र हर्षका अनेकन् गाथाहरूको सम्मिलन हो। घर इतिहास पनि हो, जसका एकएक पृष्ठमा कटु/मृदु भोगाइहरू अभिलिखित हुन्छन्।
घरबाहिर मान्छे सदा सतर्क रहन्छ, दुनियाँको नजरमा सद्दे देखिने कोसिस गर्छ। अर्थात्, घरबाहिर उसले अभिनय गर्छ।
आफूलाई अजमाउने, आफूभित्रको वक्रता नियाल्ने काम मान्छेले घरभित्रै गर्छ। जित्दाको खुसी लगेर जतन गर्ने बाक्सा र हार्दाको पीडा लगेर लुकाउने खोपा घरै हो। अर्थात्, घर असली र नौटंकीविहीन जिन्दगी बाँच्ने ठाउँ हो।
त्यसहिसाबले घर आफ्नोपनको, प्रेमको, ममताको प्रतीक हुनुपर्ने हो। तर, यो भदौरे विप्लवको डढेलोले देखाइदियो– घर त षड्यन्त्र, दुष्ट्याइँ, बदनामी र घृणाको प्रतीक पो बनिसकेछ। जति ठूलो घर, त्यति धेरै घृणा।
नेताहरूले घरको अर्थै बदलिदिइसकेछन्।
दुनियाँको नजरमा नेताहरूको घर भ्रष्टाचारबाट कुम्ल्याइएको अकुत सम्पत्ति थुपार्ने दुर्गन्धित किल्ला बनेको रहेछ। सारा विकृतिको मुहान बनिसकेको रहेछ।
सडकमा आगो सल्किन थालेको धेरै भइसकेको थियो। नेताहरूले त्यसलाई निभाउन जरुरी ठानेनन्। बरु ठुल्ठूला महल बनाइरहे, बलियो पर्खालले छेकिरहे, बंकर र बार्दली थपिरहे। जब सडकको आगोले डढेलोको रूप लियो, काठमाडौँका सम्पूर्ण शक्तिकेन्द्रसँगै उनीहरूको घरबार पनि खरानी भयो।
घरले डढेलो नसहने रहेछ।
घर जल्नु भनेको सम्पत्ति गुमाउनु मात्र होइन, आफ्नै देशमा शरणार्थी बन्नु पनि हो। घर जलेको मान्छेसँग आफूलाई भेट्टाउने ठेगाना हुँदैन। कसैले नदेख्नेगरी रुने ठाउँ हुँदैन, सबैबाट ओझेल परेर चोट सुम्सुम्याउने थलो हुँदैन। यो डढेलोपछि सयौँ मान्छेले आफूलाई भेट्टाउने ठेगाना मेटिएको छ। सही वा गलत– इतिहासको जुनसुकै कित्तामा उभिएका भए पनि उनीहरू बेघरबार भएका छन्। पूरै देश ठुल्ठूला चिन्ताले ग्रस्त भएका बेला तिनको फिक्री कसैलाई छैन। तिनका जहान, केटाकेटीले भोग्नुपरेको दुर्दशाको सुर्ता पनि कसैलाई देखिन्न।
घर जलाइएपछिको कठिनाइ मैले कसरी सामना गरेको थिएँ भनेर सम्झिँदा यी बेघर मान्छेहरूबारे सोच्न कर लाग्यो।
***
विश्वप्रकाशकी छोरीले सोधिन्– के विश्वप्रकाश शर्माकी छोरी हुनु मेरो अपराध हो?
थुप्रै मान्छेले जवाफ दिए– हो, विश्वप्रकाश शर्माकी छोरी हुनु तिम्रो अपराध हो।
यहाँनेर म दुइटा समस्या देख्छु। एक— नेताहरूले आफ्नो कामकारबाहीबाट कति धेरै घृणा आर्जन गरिसकेछन्। विश्वप्रकाशजस्तो लाभको पदमा कम बसेका, तुलनात्मक रूपले चोखो भनिएका नेताप्रति पनि यत्रो आक्रोश जम्मा भइसकेछ। दुई— आफ्नो घर जलेको व्यथा पोख्न उभिएकी बालिकासामु समेत अलिकति शिष्टता देखाउन नसक्ने भइसकेछौँ हामी।
यी दुईमध्ये कुन बढी दुर्भाग्यको कुरा हो, मैले निर्क्योल गर्न सकेको छैन।
यही कारण हुनसक्छ— घर जलाइएका धेरैले आफ्नो व्यथा पोखेका छैनन्। सीमित नेताहरूले मात्रै मुख खोलेका छन्। र, जजसले बोलेका छन्, तिनले सहानुभूतिभन्दा अबगाल ज्यादा पाएका छन्। त्यसैले यतिबेला आफ्नो वेदना सार्वजनिक गर्नु उति अर्थपूर्ण नहुनसक्छ।
कमजोर मुटुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका वृद्ध बुबा रोइरहेको दृश्य हेर्न सकिन्न। सख्त घाइते भएकी झलनाथ-पत्नीले हातै गुमाएको खबरले जोकसैलाई दु:खी तुल्याएको छ। बाआमाले बनाएको घरमा आफ्नो बाल्यकाल बितेको र आफ्ना छोरीहरू पनि जन्मिएको गगन थापाको स्मृतिले भावुक बनाउन सक्छ। गभर्नर विश्व पौडेलले छात्रवृत्तिको रकम जोगाएर बनाएको, श्रीमती र नौ वर्षीया छोरीलाई मनपर्ने घर जलाइदिएको भन्दै बह पोखेका छन्। घर सम्झिँदा उनले दुर्लभ पुस्तक र कलाकृति सम्झेका छन्।
अघि नै भनेँ नि, आखिर घर भनेको भावना र स्मृतिहरूको संगमस्थल रहेछ।
घर आफैँमा मान्छेको पहिचान पनि बन्दो रहेछ। बाबुरामले निवासको किताब जलेकोमा बिस्मात मानेका छन्। शेरबहादुर–प्रचण्डहरूको घरमा मान्छे महँगा सामानका खरानी उधिनिरहेका छन्।
***
घर जलाइएको दिन हामी चार कान्लामुनिको बडहर गरामा सर्यौँ। सल्लाको हाँगाका तीनवटा घोचा गाडेर बाँसको घारा तेर्स्यायौँ र दुई पात चित्रा ओढायौँ। भित्र पराल ओछ्यायौँ। अलि पर्तिर आगो बालेर पुसको ठिहीबाट बच्ने कोसिस गर्दै रात काट्न थाल्यौँ।
त्रास यस्तो थियो, आधा रात ढल्केपछि टोलकै एक बज्यै झकमा उसिनेको सुठुनी लिएर आइन् र थर्थर काँप्दै दिएर गइन्। कोही कसैसँग नबोली हामीले सुठुनी चपाउने कोसिस गर्यौँ। सन्तापले ओठदेखि आँतसम्मै सुकिसकेको थियो– अहँ, सुठुनी निलिएन।
त्यो रात निराहार बित्यो।
भोलिपल्ट दिउँसो दाइको ससुराली घरबाट एकभाँडो भात र एक कराई गुन्द्रुकको तरकारी आइपुग्यो। बल्ल भोक जाग्यो र बल्ल भोक मर्यो।
बिस्तारै छिमेकी, नातागोताबाट थालभाँडा भेला हुँदै गए, ओढ्ने ओछ्याउने थपियो। जलेको घरबाट निकालिएको खहरिएको धानको रातो भात र डढेको कोदोको तितो ढिँडो बारीमै पाक्न थाल्यो। अलि धेरै घोचाघारा गाडिए। दुई पातको ठाउँमा सातआठ पात चित्रा ओढाइयो। परालको ठाउँमा फलेकमाथि राडी ओछ्याएर सुत्न थाल्यौँ।
घर हुन्जेल मेरो अलग्गै ओछ्यान थियो, डसना नरम थियो। खाटबाट सिरकमा बेरिएर भुइँमा झर्दासमेत नब्युँझिने निद्रा थियो। लामालामा सपना देख्थेँ। एकपटक ब्युँझिएर टुटेको सपना निदाएपछि फेरि जोडिन्थ्यो। तर, बारीको बिझाउने ओछ्यानमा सरेपछि मैले सपना देख्न छाडेँ, बरु रातैपिच्छे ऐँठन पर्न थाल्यो।
घर भनेको सपना देख्ने ठाउँ पनि रहेछ।
बारीको बास हाम्रो कष्टको अन्त्य नभई सुरुवात थियो। बर्खा लागेपछि हामी आधा जलेको गोठ छाएर त्यसमा सर्यौँ। लडाइँ चर्किंदै जाँदा हाम्रो त्यही गोठ पनि सैनिकहरूले आधा दर्जनपटक लुटे, खसीबाख्रा, डालोको चामल, गुन्द्रुकको पोको र घाँस काट्ने कचिया समेत उठाएर लगे। अन्ततः हामी बासै सार्न बाध्य भयौँ।
घर जलाइएको तोडबाट बौरिने हाम्रो प्रक्रिया वास्तवमै अनौठो थियो। हामीले सानो चोटलाई ठूलो घाउले पुर्यौँ। सानो धक्कालाई विशाल आघातले बिर्सायौँ।
तर, त्यो तरिका मानवीय थिएन।
अहिले घर जलेकाहरू बारीमै सुत्नुपर्ने अवस्थामा छैनन्। तैपनि, उनीहरूलाई पर्ने चोटलाई कम नसोचौँ। खासगरी परिवारमा बालबच्चा र वृद्धवृद्धा छन् भने उनीहरूलाई लामो समयसम्म गहिरो आघात पर्न सक्छ, ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ले सताउन सक्छ। बेलैमा आवश्यक सहायता खोज्नु बेस हुन्छ।
***
सहरमा ‘खरानी पर्यटन’ जोडतोडले चलिरहेको छ। संसद् भवनदेखि मान्छेका घरघरमा गएर हजारौँले खरानी कोट्याइरहेका छन्। टिकटक बनाएर लाखौँलाख भ्युज बटुल्नेहरूको संख्या पनि चाहिँदो छ। तमासा हेर्दा लाग्छ, यो घटना एउटा त्रासदी नभएर प्रहसन हो।
तर, बझाङकी कैली बोहोराले बेहोरेको चोट कुनै मजाक होइन। ऋण खोज्दा पनि आठ लाख रुपियाँ जुटाउन नसक्दा उनका छोरा सुवास जापान उड्न पाएनन्। अब मजदुरी गरेर भए पनि छोरोलाई पढाउँछु भनेर बेंगलोर पुगेकी थिइन् उनी। यता सुवास प्रहरीको गोलीले मारिए।
बाजुराका ओजन बुढाले त तीन कक्षादेखि नै अरुको घरमा बसेर काम गर्दै बाह्र पास गरेका थिए। अब बल्ल अरुको घरबाट निस्केर आफ्नै खुट्टामा उभिन खोजेका उनी संसद् भवनअगाडि ढालिए। यत्तिका वर्ष उनले स्वतन्त्र हुने, एकदिन आमालाई काठमाडौँ घुमाउने सपना साँचेर अर्काको घरमा गरेको दुःख व्यर्थ भएन त!
मुटु चिर्ने यस्ता चौरहत्तर थान कथाले पत्रिकाका पाना भरिएका छन्। घर जलेपछि झोक्रिइरहेकाहरूले उनीहरूलाई पनि हेरून्। मन बुझाउने सबैभन्दा सजिलो तरिका यही हो। गगनले पनि छोरी र आमालाई सम्झाएछन्– ‘हामी त सुरक्षित छौँ नि। जो युवा मारिए, उनीहरूको परिवारमा के भइरहेको होला?’
यो विनाशअघि पर्याप्त चेतावनी दिएकै हुन् युवाले। सामाजिक सञ्जालमा अभियान सुरु गरेर उनीहरूले भनेकै हुन्– तिमीहरूले नहुने काम गर्दैछौ। सोझो कमाइले मात्र तिमीहरूको यो मोजमस्ती धानिँदैन। हाम्रो कर यसरी खेर नफाल।
तर, नेताहरूले सुनेनन्। किन सुन्ने? उनीहरूले त आफूलाई बाँकी समाजबाट अलग गरिसकेका थिए। आफूलाई अर्कै ग्रहमा उकालिसकेका थिए। जीवनस्तरको के कुरा, तिनको बोलीचाली, चिन्ताचासो नै बेग्लै भइसकेको थियो। नागरिकले डढेलो लगाएर उनीहरूलाई भने– यही पृथ्वीमा टेकेर हिँडेपछि, यहीँको वायुमा सास फेरेपछि तिमीहरू हामीभन्दा बेग्लो होइनौ, हुन सक्दैनौ। हामीलाई पोल्ने आगोले तिमीलाई पनि डढाउँछ।
सायद त्यसैले हुनसक्छ– सेनाको ब्यारेकमा लुकेका नेताहरू औतार फेरेर बाहिर निस्केका छन्। प्रचण्ड, माधव नेपाल र अरु कमिज–प्यान्ट भिरेर जलेको पार्टी कार्यालय पुगे। उनीहरूको बोली पनि अलिअलि फेरिएको छ। अब बानीबेहोरा पनि फेरून्। शीर्ष नेताहरूले बाटो छाडून्। उनीहरूपछिकाले आफूलाई उच्च र बेग्लो नठानून्। बरु, समाजसँग एकाकार हुने कोसिस थालून्। घुलमिल, अन्तर्क्रिया पीडामा मलम लाउने एउटा उत्तम तरिका हुन सक्छ। आफ्नो हरेक जिम्मेदारीमा असफल ठहरिएका नेतागण यो अन्तिम अग्निपरीक्षामा फेल नहोऊन्।
***
हरेकको मुखबाट एउटा बेसुरो धुन सुन्छु– यो विध्वंस जेन जीले गरेका होइनन्। यस्तो काम उनीहरूबाट सम्भव छैन।
सत्ता सम्हालेपछिको पहिलो सम्बोधनमा प्रधानमन्त्री सुशीला कार्कीले देशका अत्यावश्यक संस्थाहरूमा छानीछानी भएको आगजनीमा योजनाबद्ध षड्यन्त्र रहेको आशंका गरिन्। गुप्तवासबाटै विज्ञप्ति जारी गरेका नेताहरू, सम्पत्ति गुमाएका व्यापारी र सञ्चारमाध्यमहरूले धरी ‘घुसपैठ’ भट्याइरहेका छन्।
मलाई यो कुरा सरासर नक्कली लाग्छ।
आफूबारे हामीले बोल्दै आएको झुट यति पक्का भइसकेको छ– हामी साँच्चै ती अफवाह पत्याउँछौँ। यो प्राचीन पावन भूमिका बासिन्दा र ऋषिमुनीका सन्तान हामी शान्तिप्रिय छौँ। हिंसा त हामी गर्नै सक्दैनौँ।
तर, हामी सक्छौँ।
हाम्रा नेताहरू नागरिकको जिन्दगीसँग सजिलै खेलाँची गर्न सक्छन्। तिनलाई विदेशी शरणार्थी बनाएर बेच्न सक्छन्। छेउकुनाका मान्छेका लागि दिइएको सुविधा आफ्नो पत्नी, आसेपासेलाई बिलो लाउन, मोटो रकम असुलेर बेचबिखन गर्न सक्छन्। ठुल्ठूला नारा बकेर, झिलिमिली सपना बाँडेर बारम्बार रगतको खोलो बगाउँछन् र प्रत्येक पटक त्यो बलिदानलाई निष्फल तुल्याउँछन्, अपमानित गर्छन्। सत्ताको एक मुख जुठो खान एकरत्ति नहिच्किचाई सम्पूर्ण इमान बेच्न सक्छन्। सानो अहंकार, सानो तुष्टिका लागि पुस्तौँपुस्ताको जवानी खाइदिन सक्छन्। विरोध गर्नेको छातीमा ताकीताकी गोली बर्साएर सालैपिच्छे सहिदको सूची लम्ब्याउन सक्छन्।
हामीले चुनेर भगवान तुल्याएकाहरूले यति गर्न सक्छन् भने उनीहरूलाई चुन्ने नागरिकले छानीछानी तिनको घर किन जलाउन सक्दैनन्!
सत्य के हो भने हामी जुनसुकै हदको हिंसा मच्चाउन पूरा सक्षम छौँ– मान्छे र नेपाली जाति दुवैका हैसियतले। त्यसका लागि कुनै ‘घुसपैठ’ चाहिँदैन। वास्तवमा हामीले इतिहासदेखि नै यही त गर्दै आएका छौँ। काटमार, रक्तपात हाम्रा लागि कहाँ ठूलो कुरा हो त! लुटपोल त अझ लडाइँ जित्ने हाम्रो सूत्र नै हो। इतिहासका अश्लील विवरण पेस गरेर म कसैलाई पनि वाक्क पार्न चाहन्नँ। संसारमा हामीले नाम चम्काएको कुनै गतिलो चिज आविष्कार गरेर होइन, कला–संगीत–साहित्यसाधना वा उदाहरणीय राज्यसञ्चालनबाट होइन। हिंसाबाट हामी कहलिएका हौँ। तसर्थ हामीले आफ्नो गिर्न सक्ने क्षमतामा शंका गर्नु हुँदैन।
बरु, सोच्नुपर्ने कुरा त यो हो– हामीलाई के सारो हिंसाको बानी लागेको? यो हदको हिंसाबिना हामी किन कसैको कुरा सुन्दैनौँ? किन हरेक पुस्तामा हिंसाको नयाँ चक्र चलाउन अभिशप्त छौँ? हाम्रो रगत किन यति सस्तो? के २४ गतेको तहसनहसबिना केपी ओली सत्ता छाड्न तयार हुन्थे? हामीमा त्यस्तो के दोष छ, जसले गर्दा यति नालायक शासक चुन्छौँ?
यतिखेर अधिकांश पुराना नेता त्रसित देखिन्छन्। ६ महिने सरकारमा पुगेकी कार्की र त्यसपछि अकण्टक सत्ता चलाउने जोखाना हेरिरहेका बालेनसम्मको मुटुमा चिसो पसेकै होला। केहीले माफी मागिटोपलेका त छन् तर त्यो प्रायश्चित होइन, त्रास हो। त्रास क्षणिक हुन्छ। चोट बिर्सेर अघि बढ्नका लागि त प्रायश्चित्त अनिवार्य सर्त हो। सक्छन् भने नेताहरूले प्रायश्चित्त गरून्।
तपाईं मलाई निराशावादी भन्न सक्नुहुन्छ, तर छोटो समयमा अनेक राजनीतिक विपत्ति झेलिसकेपछि र यसपालि पनि सबैको लक्षण विचारीसकेपछि मलाई लाग्छ– यो भदौको रक्तपात र आगजनीले पनि हामीलाई सुधार्न सक्ने छैन।
दुःखका साथ भन्नुपरेको छ– अर्कोचोटि फेरि क्रान्तिनायकहरूले खलनायकमा औतार फेर्नेछन्।
सत्तामा उक्लेको शासक मैमत्त भएर सोच्नेछ– भुइँमान्छेको टाउकामा गिर खेल्नु मेरो जन्मसिद्ध अधिकार हो।
देशका सारा संस्था आसेपासे–बिचौलियाहरूको कब्जामा पुग्नेछ।
आम मान्छेको चीत्कारलाई कसैले सुन्ने छैन।
त्यसैले, अर्कोचोटि फेरि तिनको कान खोल्नैका लागि नयाँ पुस्ताले सडकमा रगतको नदी बगाउनुपर्नेछ र सिरिखुरी जलाउनुपर्नेछ।
Shares

प्रतिक्रिया