सुदन गुरुङ, ३८।
१३ दिन अघिसम्म कसैलाई चासो नभएको यो नाम यतिबेला हरेकको मुखमा झुण्डिएको छ। नेपालको प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको छनोटमा उनी नै निर्णायकजस्तो देखिइरहेका छन्। शपथदेखि संविधान दिवससम्मका राजकीय समारोहमा क्यामराको फोकस उनीतिरै हुन्छ। प्रधानमन्त्रीलाई ढोगेकोदेखि पत्रकार सम्मेलनमै हात हालाहाल र कसैले पिछा गरेकोसम्म– नानाभाँती हेडलाइन उनकै नाममा बन्छन्।
उनको हाँकधाक, गतिविधि र उनले पाएको कभरेज हेर्दा लाग्छ– सुदन यतिखेर देशकै हर्ताकर्ता हुन्। नलागोस् पनि किन! दुई दिनमै सत्तापलट गरिदिने जेन जी आन्दोलनका नेताका रूपमा उनले आफूलाई उभ्याएका छन्।
तर, भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरू सडकमा ओर्लिन थाल्दा सुदन नेता थिएनन्। उनी त स्वयंसेवकका रूपमा आन्दोलनमा सहभागी भएका थिए।
सोहीकारण अहिले धेरैले उनीमाथि प्रश्न गरिरहेका छन्। आइतबार सिंहदरबारमा आन्दोलनका घाइतेहरूले सुदनविरुद्ध नाराबाजी नै गरे। आफूलाई जेन जीको नेताका रूपमा नउभ्याउन उनीहरूले चेतावनी दिए।
कतिपयले सुदनले आफूहरूको आन्दोलन ‘हाइज्याक’ गरेको आरोप समेत लगाइरहेका छन्। सुदनको ‘हामी नेपाल’ संस्थाले विदेशी एजेन्सी र फ्री तिब्बत अभियानमा सामेल संस्थाहरूसँग लिएको सहयोगका कारण उत्पन्न विवाद छँदैछ।
यस्ता विवाद, अपरिपक्व अभिव्यक्तिका बाबजुद ३८ वर्षीय सुदन कसरी जेन जी आन्दोलनपछि ‘किङमेकर’का रूपमा उदाए? उनको यो शक्तिको आड को हो? उनको यो उदय ‘एक्सिडेन्टल’ थियो कि नियोजित? के सुदनले जेन जी आन्दोलनलाई हाइज्याक गरेकै हुन् त?

आन्दोलनसम्म किनारामै थिए सुदन
इतिहास खोज्दै जाँदा सुदन २०७२ को भूकम्पपछि सामाजिक काममा जोडिएका देखिन्छन्। डीजेका रूपमा ठमेल क्षेत्रमा काम गर्ने उनी त्यतिबेला उद्धार र राहत वितरणलगायत काममा सक्रिय भए। सोही कामलाई संगठित रूप दिन उनले ‘हामी नेपाल’ नामक संस्था स्थापना गरे।
खासगरी कोभिड महामारीमा उनको संस्थाले धेरै मानवीय सहायताका काम गरेको पाइन्छ। विवादित संस्थाहरूसँग सहकार्य गरे पनि सुदनले राजनीतिक महत्त्वाकांक्षा देखाएका थिएनन्।
सुदनले राहत रकम लक्षित व्यक्तिसम्म जस्ताको तस्तै पुगोस् भन्ने उदेश्यले हामी नेपाल स्थापना गरेको बताएका छन्।
भदौ २३ गते जेन जी युवाहरूले आन्दोलन गर्ने भएपछि सुदनले त्यसलाई व्यवस्थित बनाउन स्वयंसेवक परिचालनको जिम्मा लिएका थिए। आन्दोलन आयोजकका रूपमा कुनै नेतृत्वदायी भूमिकामा थिएनन् उनी।
खासमा जेन जी आन्दोलनको नेता कोही पनि थिएन। जेन जी अभियन्ता तनुजा पाण्डेका अनुसार यो आन्दोलनको बीउ रेडिटमा रोपिएको थियो। रेडिट प्रयोगकर्ता युवाहरूले सो प्लाटफर्ममा भ्रष्टाचार र ‘नेपो–बेबी’हरूका बारेमा लेख्न थालेका थिए।
नेपो बेबी ट्रेन्ड सन् २०२२ मा इन्डोनेसियाका राष्ट्रपतिको छोराको आलोचना गर्दा प्रयोग भएको थियो। सोही ट्रेन्डलाई पछ्याउँदै नेपालमा पनि यसको सुरुवात गरिएको थियो। रेडिटमा यसबारे पहिलो पोस्ट कसले गरेको थियो भन्ने पनि स्पष्ट छैन।
सोही मुद्दा बिस्तारै टिकटकमा आगोजसरी सल्कियो।
‘टिकटकमा आएपछि यसले उग्र रूप लियो,’ तनुजा भन्छिन्।
सबल गौतम र पुरुषोत्तम यादवले दुई वर्ष अघिदेखि नै ‘ह्यास्ट्याग एन्टी–करप्सन’ भन्दै भिडिओ सेयर गर्ने गर्थे। भदौ १७ मा उनीहरूले आफ्नो व्यक्तिगत टिकटक एकाउन्टलाई ‘वेक अप नेपाल’ नाम दिएर ‘नेपो किड्स ट्रेन्ड’, ‘युथ अगेन्स्ट करप्सन’, आदि ह्यासट्याग राखेर भिडिओ हाल्दै गए। यसलाई उनीहरूले ‘जागौँ नेपाल अभियान’ नाम दिएका थिए।
सरकारले फेसबुक लगायत विभिन्न सामाजिक सञ्जाल दर्ता हुन नआएको भन्दै प्रतिबन्ध लगाएपछि युवाहरू अझ आक्रोशित भए। र, २३ गते प्रदर्शनको तयारी भयो।
माइतीघरमा हुने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अनुमति पनि ‘जागौँ नेपाल अभियान’का तर्फबाट सबल गौतम र पुरुषोत्तम यादवले नै लिएका थिए।
‘यो आन्दोलन कोही एक व्यक्तिले सुरुवात गरेको थिएन। यो सामाजिक सञ्जालको माध्यमबाट निरन्तर अगाडि बढेको थियो। अनि यसमा जेन जी युवाको सहमति थियो। त्यसैले आन्दोलन सुरु हुने समय पनि समूह अनुसार फरक–फरक निर्धारण गरिएको थियो,’ तनुजा भन्छिन्, ‘आन्दोलनको अघिल्लो दिन (२२ गते) ‘भोलि के गर्ने, कसरी जाने’ भनेर एक किसिमको छलफल माइतीघरको सडकमै गरिएको थियो। त्यहाँ ४५ जनाजति जम्मा भएका थियौँ। जहाँ सुदन थिएनन्।’
मुख्य आयोजकमा आफू नभए पनि आन्दोलनमा सहभागी हुन युवाहरूलाई सुदनले आफ्नै तरिकाले आह्वान गरेका थिए। हामी नेपालको पेजमार्फत २२ गते एउटा भिडिओ सेयर गर्दै उनले भनेका थिए, ‘सेप्टेम्बर ८ तारिख केबल अर्को दिन मात्र होइन। यो त्यो दिन हो, जब हामी, नेपालका युवाहरू, उठेर भन्छौँ– अब पुग्यो! धेरै लामो समयदेखि भ्रष्टाचारले हाम्रो भविष्य चोरेको छ। हाम्रा सपना, हाम्रो राष्ट्रको गरिमालाई चोरेको छ। हामी अन्यायलाई पनि सामान्यीकरण गरिरहेको देख्छौँ। यो हाम्रो समय हो, यो हाम्रो लडाइँ हो।’
भिडिओमा उनले भ्रष्टाचारको अगाडि झुक्न अस्वीकार गर्ने मानिसहरूको शक्ति देखाइने भएकाले सबैलाई आन्दोलनमा आउन निम्त्याएका थिए। सुदनले ‘सेन्ट्रल कम्युनिकेसन च्यानल फर द प्रोटेस्ट’ भन्दै एउटा डिस्कोर्डको ‘क्यूआर’ पनि सेयर गरेका थिए।
त्यसका अलावा सुदनले आफ्नो सम्पर्कमा भएका जेन जीहरूलाई आन्दोलन हुनुभन्दा अघिल्लो दिनदेखि नै सचेत गराउँदै थिए। जेन जी अगुवाहरूका अनुसार उनले भनेका थिए, ‘भोलि आन्दोलनमा जे पनि हुन सक्छ, कुनै पनि कुराको आरोप जेन जीमाथि आउन सक्छ, त्यसैले हामीले गर्ने हरेक गतिविधिको भिडिओ बनाएर डिस्कर्डमा हाल्ने।’
‘जेन जी’ पुस्ताको आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने सहमति थियो। त्यसैले कुनै पार्टी अथवा समूह जनाउने पहिरन नलगाउन र झण्डा आदि नबोक्न आह्वान गरिएको थियो।
तर जेन जी आन्दोलनको पहिलो दिन भदौ २३ गते सुदन भने आफ्नो संस्थाको ज्याकेट लगाएर अरुभन्दा अगाडि नै माइक बोकीवरी माइतीघर पुगिसकेका थिए। सुदन र उनका सहयोगीहरूले लगाएको ज्याकेटको विषयमा केहीबेर छलफल पनि भएको थियो।
‘यस्ता किसिमका विभिन्न कार्यक्रममा स्वयंसेवकको रूपमा काम गरेका छौँ भन्नुभयो उहाँले, त्यसपछि हामीले त्यो कुरालाई त्यहीँ छाडिदियौँ,’ तनुजाले भनिन्।
सुदनसहित हामी नेपालका स्वयंसेवकहरू पानी वितरण गर्ने लगायत आन्दोलनलाई व्यवस्थित बनाउने कार्यमा जुटे।

रक्तपात र आगजनी
भदौ २३ को आन्दोलनमा अकल्पनीय दमन र रक्तपात भयो। बानेश्वरको संसद् भवनअगाडि प्रहरीले ताकीताकी टाउको र छातीमा गोली चलाउँदा तत्काल करिब २० जनाको ज्यान गयो।
यो बर्बर दमनपछि आन्दोलन भड्कियो। २४ गते कसैले सोच्दै नसोचेको आगजनी भयो। राज्यका तीनै अंग, कार्यकापालिका, न्यायपालिका र व्यवस्थापिकाका मुख्यालय मात्र होइन, प्रधानमन्त्री र राष्ट्रपतिकै निवाससमेत जलाइयो।
यो दुई दिनको आन्दोलनमा सुदनको टिम घाइतेहरूको उद्धारलगायत काममा सक्रिय रहेको हामी नेपालमा आबद्ध एक स्वयंसेवक बताउँछन्। उनका अनुसार युवाहरू भटाभट मारिएपछि सुदनले ‘अब अगाडि बढेर जेन जीका लागि आवाज उठाउनुपर्छ’ भन्ने सोचेका थिए।
‘तर यो जेन जीको आन्दोलन हो र यसमा जेन जीले नै आफ्ना कुरा राख्नुपर्छ भन्ने भएपछि उनी अघि बढेनन्,’ ती स्वयंसेवकले भने।
रक्तपात र आगजनी भइसकेपछि २४ गते राति सुदनको हामी नेपालले इन्स्टाग्राममा लाइभ छलफल आयोजना गरेको थियो। जसमा कुलमान घिसिङलाई सल्लाहकारको रूपमा बोलाइएको थियो भने केही जेन जी समूह पनि संलग्न थिए।
घिसिङले जेन जी समूहलाई उपयुक्त व्यक्तिलाई नेता छान्न सल्लाह दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर बालुवाटार छाडेर ब्यारेकतिर भागिसकेका थिए। राज्यविहीनताको अवस्था सिर्जना भइसकेको थियो। २४ गतेको मध्याह्नपछि चेन अफ कमान्डमा रहेको एउटै निकाय थियो– नेपाली सेना। त्यसैले सोही दिनको रातिदेखि सेनाले सुरक्षाको जिम्मा आफ्नो हातमा लियो।
त्यसपछि सेनाले जेन जीका प्रतिनिधिहरूलाई जंगी अड्डामा बोलायो। संगठित नभएको हुनाले जेन जीका विभिन्न समूहका अगुवा बेग्लाबेग्लै माग लिएर जंगी अड्डा पुगे। त्यसरी पुग्नेहरूमा रक्षा बम, तनुजा पाण्डेदेखि केही कन्टेन्ट क्रियटर र पठाओका मालिक असिममान सिंह बस्नेतसम्म गरी १० जनाजति थिए।
प्रधानसेनापति अशोकराज सिग्देलसँग उनीहरूले राति ११ बजेसमम छलफल गरे। त्यो छलफलमा पनि सुदन थिएनन्।
जेन जी प्रतिनिधि रक्षा बमका अनुसार त्यो दिन जेन जी समूहले ‘हामी यही संविधान मान्छौँ, यसको निकास यहीँबाट निकाल्नुपर्छ’ भनेका थिए। तर, तिनको कुरालाई प्रधानसेनापति सिग्देलले गम्भीरतापूर्वक लिएनन्। बरु प्रधानसेनापति सिग्देलले राप्रपालगायत दुर्गा प्रसाईंजस्ता राजावादी तत्व, रास्वपा र अरु सबैसँग संवाद गर्न सुझाव दिए।
त्यसपछि ती जेन जी प्रतिनिधिहरूले सेनासँग होइन, राष्ट्रपतिसँगै वार्ता गर्ने अडान लिए।

अनि दृश्यमा आए सुदन
जंगी अड्डामा प्रधानसेनापतिले वार्तामा जेन जी प्रतिनिधिलाई बोलाएर उनीहरूको कुरा सुन्दै गर्दा सेनाले सुदनसँग भने सहकार्य थालिसकेको थियो।
केही बेरअघि नै उनीसँग सैन्य अधिकारीहरूले कुरा गरेका थिए। क्षति न्यूनीकरण र उद्धारका काममा सुदनले सघाउने वचन दिइसकेका थिए।
हामी नेपालका ती स्वयंसेवकको दाबी अनुसार २४ गते राति नै सुदनले कहाँ, के समस्या छ भनेर आफ्नो नेटवर्कमार्फत जानकारी लिन्थे र त्यो सूचना सेनालाई दिन्थे। सेनाले एक जना फोकल पर्सन तोकिदिएको थियो। सुदनबाट प्राप्त सूचनाअनुसार सेनाको टोली तैनाथ हुन पुग्थ्यो।
त्यही राति धेरै ठाउँमा लुटपाट गरिरहेका समूह सेनाको नियन्त्रणमा परे। केही हतियारधारी महिला छात्रावासमा पसेको सूचना प्राप्त भएपछि त्यहाँ पनि सेना पुगेको थियो। यस्ता काममा सुदनले सघाएको ती स्वयंसेवकले दाबी गरे।
यतिबेलासम्म पनि सुदन जेन जी नेता भइसकेका थिएनन्। उनको बेग्लै टिम र बेग्लै संयन्त्र थियो। तर, सेनाले अरु जेन जीलाई नभई उनलाई भाउ दिन थाल्यो। यसले जेन जीको नेतृत्व दाबी गर्ने मौका सुदनलाई प्राप्त भयो।
अनि भदौ २५ गतेबाट सुदन अग्रभागमा देखिन थाले।
‘सुदनलाई आफू अगाडि बढेर नेता बन्ने कुनै चाहना थिएन। तर सेनाले जेन जीका विभिन्न समूहबीच सल्लाह गरेर वार्ताका लागि प्रतिनिधि पठाउन भनेपछि जेन जीहरूले नै उनलाई तपाईं अगाडि गएर हाम्रो कुरा राखिदिनु पर्यो भन्न थाले,’ ती स्वयंसेवक भन्छन्, ‘त्यतिन्जेल सुदन मलाई नेता नबनाइदिनू भन्दै थिए। तर जेन जीका विभिन्न समूहले सुदन नै अघि सर्नुपर्ने भनेपछि उनी तयार भएका हुन्।’

सेनाले भर दिएपछि जेन जी आन्दोलनको एजेन्डा सेट गर्ने जिम्मेवारी पनि सुदन आफैँले लिए।
अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे बहस भइरहेको थियो।
डिस्कर्डमा यसबारे २५ गते नै छलफल र मतदान भइसकेको थियो। ७ हजार ७१६ जनाले गरेको मतदानमा ५० प्रतिशतभन्दा धेरै मत सुशीला कार्कीको पक्षमा परेको थियो।
भदौ २६ गते सुदनले रिपोर्टर्स क्लब पुगेर संविधान खारेज नगरी अन्तरिम सरकार बन्नुपर्ने बताए।
‘नेपाली जनताको र जेन–जीको भावना अनुसार सरकार बनाउनु पर्छ। यो संविधान पूरै त्याग गर्ने होइन। यसलाई खारेज गर्नु हुँदैन। भीख मागेर, संविधान नै चाहिँदैन भनेर हुँदैन, यदि खारेज गर्यो भने अरुले हस्तक्षेप गर्छन्। संविधानमा संशोधन गर्नुपर्छ,’ उनले भने।
मेयर बालेन शाहले भनेजसरी नै संसद् विघटन आफूहरूको मुख्य माग रहेको र यसपछि मात्रै अरु कामहरू अघि बढ्ने अडान सुदनले लिए।

तत्काल सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सडकमा बोल्नेदेखि सेनाका जर्नेल र वार्ता प्रक्रियामा सहभागी ओमप्रकाश अर्याललाई समेत फोन गरेर त्यसको भिडिओ सार्वजनिक गर्न थाले।
अनि राष्ट्रपतिलाई थुतिदिनेजस्ता भड्किला अभिव्यक्ति पनि दिए सुदनले।
उनको यस्ता गतिविधिले शक्ति त सुदनको हातमा पो रहेछ भन्ने धारणा जनमानसमा पर्यो। तर आफूले गलत नियतले नभई दबाब र पारदर्शिताका लागि यस्तो कदम चालेको उनको तर्क छ।
सुदनको अगुवाइमा वार्ता भएपछि विरोध पनि हुन थाल्यो। जेन जी अगुवाहरूले गुनासो गर्न थालेका थिए।
‘एकपटक आफू वार्तामा गएपछि उनले अर्को पटकदेखि तिमीहरू नै जाऊ है भनेर आफ्नो सम्पर्कमा भएका जेन जीलाई भनेका थिए,’ ती स्वयंसेवक भन्छन्, ‘तर त्यो हुन सकेन र अहिले सबै स्पटलाइन उनीमै आएको छ। अब त पछि हट्ने मौका पनि छैन।’


तनुजा पनि जेन जी पुस्तामै नपर्ने सुदनले नेतृत्व दाबी गर्नु नैतिक रूपमा गलत भएको बताउँछिन्। जेन जीको प्रतिनिधित्व गरेर वार्तामा गएका सुदन पारदर्शी नभएको उनको भनाइ छ।
‘उहाँहरूले नेतृत्व गर्नु भयो भनेर गलत त भन्दिनँ म, तर उहाँहरू आफूलाई प्रतिनिधित्व नगर्ने पुस्तालाई नेतृत्व गरिराख्नु भएको छ। जो व्यक्ति जेन जीभित्रै पर्दैन, ऊ त्यो समूहभित्र आउनु चाहिँ एथिकल्ली गलत हो,’ तनुजा भन्छिन्, ‘अर्को, पारदर्शी नहुनु पनि एउटा समस्या हो। वार्तामा भएका स्पष्ट कुरा उहाँले गर्नुभएको छैन। हामीले हाम्रो सरकार, व्यवस्था पारदर्शी नभएको कारण परिवर्तन अभियान चलायौँ। यही नै पारदर्शी नहुँदा चाहिँ धेरैलाई चित्त बुझेको छैन।’
उनले सुदनको अभिव्यक्ति शैलीमा पनि प्रश्न उठाइन्।
‘घरीघरी राष्ट्रपतिलाई थुतिदिन्छु, सरकार ढाल्दिन्छु भन्ने त उहाँको व्यक्तिगत अभिव्यक्ति होलान् तर त्यसले पूरा जेन जी समूहलाई नै समेटेको हुँदा यी कुराहरू गलत भएको छ,’ उनले भनिन्।
तर, डेलिभरी राम्रो हुन्छ भने नेतृत्व कसले लिएको छ भन्ने कुराले फरक नपर्ने उनको भनाइ छ।
सुदनले जेन जी आन्दोलन ‘हाइज्याक’ गरेका हुन् कि होइनन् भन्ने प्रश्नमा तनुजा भन्छिन्, ‘जेन जी आन्दोलन हाइज्याक भएको छैन। सुदनले युवाहरूको बीचबाट आफू अगाडि आएर एकोहोरो तरिकाले अडान नलिएको भए अरुले जेन जीका मागलाई नसुन्न पनि सक्थे। सुदनले धेरै राम्रो काम गरेका छन्। तर त्यसमा पारदर्शिता भएन। समस्या त्यो हो।’
जेन जीको अभियान सुरु हुँदै गर्दा मिरज ढुंगाना पनि चर्चामा थिए। तर, आन्दोलनको तयारी भइरहँदा २२ गते दुर्गा प्रसाईंको घरमा गएर फोटो खिचाएका कारण उनी विवादित भए।
उनी पनि सुदनले आन्दोलन ‘हाइज्याक’ नगरेको बताउँछन्। सुदनलाई जेन जीहरूले अनुरोध गरेर वार्ता प्रक्रियामा अगुवाइ गरिदिन आग्रह गरेको टिकटकमा उनले बताएका छन्।
‘अन्तरिम सरकार गठनमा पनि सुदनको समूहले ठूलो भूमिका खेलेको छ। सुदनले राम्रो काम गरेको हुनाले त्यसको क्रेडिट उनले पाउनुपर्छ,’ मिरजले भनेका छन्।
सबैभन्दा पुराना जेन जी अभियन्ता पुरुषोत्तम यादव र सबल गौतम पनि अहिले सुदनसँगै जोडिएर काम गरिरहेका छन्। धम्कीका कारण भन्दै उनीहरूले आफूले चलाउँदै आएको अभियानको सामाजिक सञ्जाल खाता भने डिएक्टिभेट गरेका छन्।
Shares

प्रतिक्रिया