मन फुटेर
कसरी झर्यो होला
उल्टो बगेर आँखाबाट दुःखको नदी?
र जमेको छ
यतिखेर आँसुको यति ठूलो वैकाल ताल!
कहिले शुरू भयो होला
यो चिसो तालाउको जीवनको कथा?
किन भयो होला
आँसुको रङ पनि आकाशजस्तै नीलो?
हो, दैया दिदी !
म कसरी भन्न सक्छु र
कति छ होला
यो तलाउको अनन्तः गहिराई पनि?
जहाँ चुर्लुम्म डुबेको छ,
खुसीहरू मुस्कुराउने एउटा सिंगो पृथ्वी !
अँध्यारो खसेर
आज खर्लप्पै निलेको छ
उज्यालो बाँड्दै हिँड्ने जुनकिरी घाम !
र डिलमा बसेर
एक्लै विरह गाइरहेछ–पुरानो डुंगाजस्तो यो समय!
सायद,
यतै कतै हुनुपर्दछ
विचारको एउटा गहिरो समुद्र पनि !
र त यी छालहरू
एक तमासले बेरोकटोक उर्लिरहेछन्
हरेक साँझको एकान्तमा
मष्तिस्कभित्रै तुफानको वेग समातेर !
जुन दिन निलेथ्यो
वनडढेलोले जीवनका हरियालीहरू
त्यही दिनदेखि,
बग्न थालेको हुनुपर्दछ–आँसुको नदी पनि !
जुन बेला मिलेनथ्यो
भोकको उही पुरानो समीकरण
त्यही बेलादेखि,
बढ्दै गएको हुनुपर्दछ–तलाउको गहिराई पनि !
र जुन समय काटिएथे
मूल्य खोज्न निस्किएका आवाजहरू
त्यही समयदेखि,
चिसिँदै गएको हुनुपर्दछ–पानीको तापक्रम पनि!
जसरी निराकार छ
दुःखको यो आदिम महाकाव्य
उसै गरी निराकार छ– यो तलाउको आकार !
जसरी चलिरहेछ,
भोकको श्रृंखलायुक्त महफिल
उसैगरी चलिरहेछ–यो तलाउको उमेर पनि !
जसरी गुमाएको छ
समयले आफ्नै आवाजको लय
उसैगरी गुमाएको छ–यो तलाउले विद्रोहको धुन !
र जसरी निभिरहेछन्
जीवनबाटै चेतनाका दियालाहरू
उसैगरी निभाइरहेछ–यो तलाउले आफूभित्र आगो !
जब ब्युँझन्छ
चुपचाप निदाएको गर्भिणी समुद्र
तब उठ्ने गर्छन्
सहस्र विचारका मृत्युञ्जयी छालहरू !
छालहरू फगत छाल होइनन्
ज्वालामुखी फुटेर
आँसुको तलाउ सुकाउँछन्–छापामार छालहरू !
तुफानी वेग बनेर
भोकको सत्ता उडाउँछन्–उदात्त छालहरू !
र आगो ओकलेर
लंकामा डढेलो सल्काउँछन्–विद्रोही छालहरू !
वर्षौँ–वर्षदेखि,
किन चुपचाप–चुपचाप छन् मान्छेहरू?
थाहा नहुन सक्छ
तिमीलाई मान्छेभित्रको समुद्रको हलचल !
जब भत्किने छ
धैर्यताको त्यो सिमान्त बाँध पनि
तब हान्ने छन्–छालहरूले
यो सत्ताको पिचमाथि विजयको अन्तिम छक्का !
प्रतिक्रिया