कोरोना महामारीका कारण पुस्तक प्रकाशन र बजार पनि नराम्रोसँग प्रभावित बनेको छ।
नेपालमा साहित्यिक पुस्तकको बजार वार्षिक १० देखि १२ करोड हाराहारी छ। महामारीका कारण त्यसमा झण्डै ६० देखि ७० प्रतिशतले गिरावट आएको प्रकाशक संस्थाहरु बताउँछन्। बजार शून्यबराबर हुँदाहुँदै पनि अस्तित्व कायम राख्न पनि पुस्तक प्रकाशन जारी राखेको उनीहरुको भनाइ छ।
प्रकाशन गर्न ठिक्क पारेका कतिपय पुस्तक महामारीकै कारण रोकिएका थिए। बजार प्रवद्र्धनका कार्यक्रमहरु स्थगित भएका थिए। लकडाउन भएपछि पुस्तकहरु देशभर पुर्याउन समस्या भएको थियो।
लकडाउन भएपछि चैतदेखि नै फाट्टफुट्टबाहेक नयाँ पुस्तकहरु प्रकाशन भएका थिएनन्। तर लकडाउन खुकुलो भएपछि र खासगरी दशैं नजिकिएसँगै अहिले धमाधम पुस्तक सार्वजनिक हुन थालेका छन। केही पुस्तकले खस्किएको बजारलाई उकास्ने अपेक्षा गरिएको छ।
लकडाउनको सुरुका पाँच महिनामा कुनैपनि पुस्तक प्रकाशन गर्न नसकेको फाइन प्रिन्टले पछिल्लो डेढ महिनामा मात्रै चार पुस्तक सार्वजनिक गरिसकेको छ। दशैँअघि अझै दुई पुस्तक प्रकाशित हुने फाइन प्रिन्टका सहसंस्थापक निरज भारीले बताए।
‘दश महिनादेखि हाम्रो पुस्तक विमोचन भएको थिएन। कोरोनाका कारण फागुन चैतबाट बजारमा जान तयार भएका पुस्तकहरु पनि रोक्नु परेको थियो,’ उनी भन्छन्, ‘अहिले बल्ल सार्वजनिक गरेका छौं। सार्वजनिक भएका पुस्तकले पुस्तक बजारलाई फेरि चलायमान बनाउने आशा छ।’
१. सम्बन्धहरु
लेखक तथा पत्रकार विजयकुमारको दोस्रो गैरआख्यान पुस्तक सम्बन्धहरु बिहीबार सार्वजनिक भएको छ।
फाइन प्रिन्टले सुरुमा अस्ट्रेलिया र न्युजिल्यान्डमा र त्यसपछि मात्रै नेपालमा यो पुस्तक सार्वजनिक गरेको हो। विदेशमा पनि पुस्तक सार्वजनिक हुँदा यसले नेपाली पुस्तकको दायरा फराकिलो बनाउन मद्दत पुग्ने भारी बताउँछन्।
विजयकुमारले पहिलो पुस्तक खुसीका लागि मदन पुरस्कार जितेका थिए।
‘पुस्तक बजारमा पठाएसँगै सुरुवाती दिन हेर्दा माग बढेको महसुस भएको छ। कोरोनाका कारण निराशाजनक अवस्थालाई यसले चिर्ने महसुस भएको छ,’ भारीले भने, ‘लेखाइमा विजयकुमारले अनुभव, जीवनउपयोगी विषय मिसाउनुहुने भएकाले यो पुस्तक धेरै पाठकले पढ्नुहुन्छ झैँ लाग्छ।’
यसअघि फाइन प्रिन्टले राजीव उपाध्यायको अर्थ राजनीतिसम्बन्धी पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’, विश्वम्भर प्याकुलेरको संस्मरण ‘आफैँलाई खोज्दा’ र मनुजबाबु मिश्रको निबन्धसंग्रह ‘एकलानुभूति’ सार्वजनिक गरिसकेको छ।
दशैंअघि फाइन प्रिन्टबाट ददि सापकोटाको जनावरका अनौठा बानीबेहोरासम्बन्धी ‘वनको वैभव’ र मनिषा कोइरालाको ‘हिल्ड’ पुस्तकको नेपाली संस्करण ‘जिजीविषा’ सार्वजनिक हुँदैछ।
२. मोक्षभूमि
किताब पब्लिसर्सबाट यही असोज २० गते केशव दाहालको उपन्यास मोक्षभूमि सार्वजनिक हुने तय भएको छ।
दाहालले तीन वर्ष लगाएर यो उपन्यास लेखेका हुन्। लेख्ने काम केही महिनाअघि नै सकिएपनि कोरोना संकटका कारण विमोचन धकेलिएको उनले बताए।
दाहालका अनुसार उपन्यासको कथा वि.सं १२८० तिरबाट सुरु हुन्छ। खस साम्राज्यको राजधानी सिंजाका सम्राटको युद्ध, प्रेम, धर्म, राज्य, सम्पत्तिबारे पुस्तकमा समेटिएको उनले बताए।
यद्यपि यो ऐतिहासिक नभई परिकल्पना मात्रै भएको उनले बताए।
३. सत्ता र सत्य
खगेन्द्र संग्रौलाले १६ वर्ष लगाएर अनुवाद गरेको ‘सत्ता र सत्य’ बुक हिलले यही असोज १५ गते सार्वजनिक गरेको छ। यस पुस्तकमा ११ वटा निबन्ध संग्रहित रहेको बुकहिलका संस्थापक भूपेन्द्र खड्काले जनाए।
यसबाहेक बुकहिलबाट सुजित मैनालीको ‘युगान्तः महाभारतको महामृत्यु’ र गनेस पौडेलको अनुवाद ‘मुसा मानुष’ सार्वजनिक हुँदैछन्।
‘युगान्तः महाभारतको महामृत्यु’ भारतीय लेखक इरावती कार्भेले गरेको महाभारतको समीक्षा हो। यस्तै मुसा मानुष अमेरिकी लेखक जोन स्टेनबेकको ‘अफ माइस एन्ड म्यान’को नेपाली अनुवाद हो।
दशैंलाई नै लक्षित गरेर बुक हिलले मल्ल के सुन्दरको उपन्यास ‘विमुक्ति’, गिरिश्रीष मगरको कविता संग्रह ‘एकलव्यको देब्रे हात’ तथा तुल्सी दिवसको नेपाली लोककथाको पुस्तक सार्वजनिक गर्ने खड्काले बताए।
कोरोनाका कारण पुस्तक बजार नराम्ररी प्रभावित भएको उनले बताए। बजार स्वाट्टै घटेपनि प्रकाशनको अस्तित्व जीवित राख्न पनि प्रकाशन जारी राख्नुपर्ने बाध्यता रहेको उनले बताए।
‘यसअघि दशैंमा एउटै पुस्तक ५ हजारदेखि १० हजार प्रतिसम्म बिक्री हुन्थ्यो तर यसपटक एकदुई हजारमात्रै बिक्री भएका छन्,’ खड्काले भने, ‘त्यसैले पनि यसपटक विभिन्न विधाका पुस्तकहरु सार्वजनिक गरेका हौं। सबै पुस्तकमा कोसिस र लगानी राम्रो गरेका छौं। सबैबाट उत्तिकै आशा छ।’
४. भौज्याहा
यसवर्षको मदन पुरस्कार विजेता लेखक चद्रप्रकाश बानियाँको नयाँ पुस्तक ‘भौज्याहा’ शनिबारबाट बजारमा उपलब्ध भएको छ। बानियाँको उपन्यास ‘महारानी’ ले यसवर्षको मदन पुरस्कार जितेको थियो।
मदन पुरस्कार जितेलगत्तै सार्वजनिक भएको पुस्तक भएकाले पनि यसमा धेरैको रुचि छ। बानियाँले ‘भौज्याहा’ मा धर्म, संस्कार, समाजिक मान्यताको आलोचनात्मक विश्लेषणका आधारमा तयार गरिएका निबन्धहरु रहेको बताए।
बानियाँका दुवै पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। सञ्चालक पुष्पराज पौडेलले मदन पुरस्कार जितेसँगै ‘महारानी’ र ‘भौज्याहा’ दुवैको माग बढ्दो रहेको बताए।
यस्तै शिखा बुक्सले दशैंअघि नै रत्न शम्शेरको जीवनी ‘घुम्तीमा नआऊ है’, शोभाकर पराजुलीको ‘विश्वेश्वरप्रसाद कोइराला र समाजवाद’ र डा. बद्री गौतमको ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र गणेशमान सिंह’ सार्वजनिक गर्ने तयारी गरेको पौडेलले बताए।
शिखा बुक्सले यसअघि टंक चौलागाईको ‘उबडखावड’ र शान्ति शर्माको कथा संग्रह ‘ग्रीन टावल’ प्रकाशित गरिसकेको छ।
५. सिंहदरबारको घुम्ने मेच
नेपालय प्रकाशनले दशैंअघि पूर्व सचिव डा.सुधा शर्माको पुस्तक ‘सिंह दरबारको घुम्ने मेच’ सार्वजनिक गर्ने तयारी गरेको छ।
पुस्तकमा नेपालमा एकदमै कममध्येकी एक महिला सचिव शर्माले प्रशासन क्षेत्रको अनुभव समेटिएको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए।
यस्तै हरेक वर्षझैं नेपालयले यसवर्ष क्लासिक सिरिजका रुपमा मात्रिकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुस्तकको पुर्नप्रकाशन गर्ने भएको छ।
यसबाहेक नेपालयले सरला गौतमको ‘डुमेरो’ र भुवन ढुंगानाको ‘परित्यक्ता’ केही समय अघिमात्रै बजारमा पठाएको श्रेष्ठले बताए।
एकालाप शैलीमा लेखिएको ‘परित्यता’ ले एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गर्छ। यो पुस्तक मदन पुरस्कार २०७६ को उत्कृष्ट सातको सूचीमा पनि परेको थियो।
कोरोनाका कारण भौतिक रुपमा बजारमा पुस्तक पठाउन नसकिएपनि डिजिटल रुपमा आफूहरुले पुस्तक पठाइरहेको उनले बताए। लकडाउनकै बीचमा नेपालयले सुजीव शाक्यको पुस्तक ‘अर्थात् परिवर्तन’लाई ईबुकका रुपमा सार्वजनिक गरिसकेको छ।
Shares
प्रतिक्रिया