कोरोना भाइरस संक्रमण भएपछि केही दिन अस्पतालको आइसोलेसनमा बसेका व्यवसायी चन्द्रप्रसाद ढकाल अहिले सामान्य दैनिकीमा फर्किसकेका छन्। उनले उद्योग वाणिज्य महासंघका बैठक, सामाजिक काम र भेटघाटहरु सुरु गरिसकेका छन्।
व्यस्त जीवन बिताइरहेका ढकाललाई एक्कासि तीन हप्ता लामो आइसोलेसनमा बस्दा केही असहज हुनु स्वभाविकै थियो। त्यसमाथि, विश्वमहामारीका रुपमा रहेको रोगसँगको लडाइँ आफैँमा डरलाग्दो थियो।
कोरोनाका खबर राम्रा थिएनन्। संक्रमण र मृत्युका खबरले सबैको मन आत्तिएका थिए। आफैँलाई भाइरसले छोएपछि मनमा चिसो पस्ने नै भयो। परिवारका सदस्यमा थप चिन्ता। आइसोलेसन बसाइका केही दिन उनले बेचैनीमा बिताए।
हुन त जीवनमा आइपर्ने हरेक संकटले आफूलाई केही न केही सिकाएकै ठान्छन् उनी। बाग्लुङको अमलाचौरमा सानै उमेरमा बाबुले साथ छोडेपछिको संघर्ष, कोल्डस्टोर सञ्चालन गर्न लगानीको अभाव या जापानका संघर्षका दिनहरु, यी सबैलाई उनले सिक्ने अवसरका रुपमा प्रयोग गरे।
अहिले पनि त्यस्तै अप्ठेरा दिन छन्। एकातिर कोरोना संकट छ भने अर्कोतिर छ, व्यवसायिक प्रतिस्पर्धामा खरो उत्रनु पर्ने चुनौती। मेहनत र परिस्थितिलाई मूल्यांकन गर्न सक्ने क्षमता भएका ढकाल कोरोना संकटको प्रतिकूल अवस्थामा पनि केही महत्वपूर्ण काम गर्दैछन्।
‘हरेक संकट र संघर्षले जीवनको लक्ष्यलाई पुरा गर्ने दायित्व सम्झाउँदो रहेछ,’ ढकाल भन्छन्, ‘कोरोनाले त्यस्तै अर्को पाठ सिकाएको छ।’
उनका यी कामले उनको व्यवसायिक दायरा विस्तार त गर्ने नै छ, त्यसबाहेक मुलुकको अर्थतन्त्र, निजी क्षेत्रको विकास र सामाजिक क्षेत्रमा पनि विशेष योगदान दिन सक्नेछन्।
जसका लागि उनी तीन वटा काममा जुटेका छन्। पहिलो हो, नेपाल उद्योग वाणिज्य महासंघको चुनावी वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने दायित्व। उनी महासंघको एसोसियट उपाध्यक्ष हुन्।
गत चैत २७/२८ मा तोकिएको वार्षिक साधारण सभा कोरोना संकटले धकेलिँदै आएको छ। यही मंसिर ११, १२ र १३ गतेलाई तोकिएको चुनावमा ढकाल वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धी हुन्।
वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण महासंघमा यस पदको चुनावले विशेष महत्व राख्छ। वरिष्ठ उपाध्यक्ष र त्यसपछिको अध्यक्ष पदमा रहँदा निजी क्षेत्रको समग्र विकास र सरकारसँगको सहकार्यले मुलुकको अर्थतन्त्रलाई सुधारोन्मुख गराउन विशेष भूमिका हुनेछ।
मुलुकमा नयाँ संविधान जारी भएपछि आर्थिक सुधार तीव्र हुन्छ भन्ने आम नागरिकको आशा थियो। तर, नेपालको अर्थतन्त्रले त्यो लय अझै समात्न सकेको छैन। पाँच वर्षे स्थिर सरकार आइसकेपछि पनि नागरिकले आशा गरेअनुरुपको आन्तरिक र बाह्य लगानीका अवसर सिर्जना हुन सकेको छैन।
यसले नेपालको रोजगारी सिर्जना, आन्तरिक उत्पादन र अन्तर्राष्ट्रिय व्यापारमा समेत ठूलो असर गरेको छ। अर्कोतिर युवाहरु रोजगारीका लागि विदेशिन बाध्य भइरहने र अर्बौँको व्यापार घाटा चुलिँदै जाने हो भने ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना सपनामै सिमित हुनेछ।
यहाँनेर निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण हुनसक्छ। वर्षौंदेखि भोग्दै आएको एकै खालका समस्याहरुको जालोबाट मुलुकको अर्थतन्त्रलाई बाहिर ल्याउन स्थानीय व्यवसायीहरुको भूमिकालाई अहिलेसम्म पहिल्याउन सकिएको छैन।
स्थानीय व्यवसायीहरुको साझेदारीमा ठूलास्तरका आयोजनाहरु सञ्चालन गर्ने वातावरण बनाउँदै वैदेशिक लगानी भित्र्याउन महासंघको नेतृत्वमा पुग्ने व्यक्तिले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
जिल्ला–नगरदेखि केन्द्रसम्मको समन्वयमा लगानीको वातावरण बनाउने भूमिकामा आफू अब्बल रहेको ढकाल बताउँदै आएका छन्। उनलाई यो लक्ष्य समात्न विदेशसम्म फैलिएको उनको व्यावसायिक सञ्जाल सहयोगी हुनसक्छ।
साथै, कोरोना संकटबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवन दिन, राज्यसँग निजी क्षेत्रको विकासबाटै मुलुकको विकास हुन्छ भन्ने मान्यतामा रही नीति निर्माणमा पैरवी गर्न उनको भूमिका महत्वपूर्ण हुनसक्छ। सानादेखि ठूला व्यवसायको अनुभव आफूसँग भएकाले यो कुरा सम्बोधन गर्न सक्ने ढकालको बुझाइ छ।
महासंघको नेतृत्वमा हुनेहरुले साना तथा जिल्ला–नगरका व्यवसायीका समस्या नसुन्ने गरेको गुनासो आइरहन्छ।
‘चुनाव सकिएपछि फोन पनि उठ्दैन’ भन्ने जिल्ला–नगरका व्यवसायीको ससाना गुनासोलाई पनि आगामी नेतृत्वले सम्बोधन गर्नुपर्छ।
यस्ता ससाना समस्यालाई सम्बोधन गर्न नेतृत्वमा पुग्ने व्यक्तिको आचरण, जिल्ला–नगरसम्मको पहुँच र साना व्यवसायीको समस्याको ज्ञान हुन आवश्यक छ। यस मामिलामा पनि ढकालले आफ्नो व्यवसायिक सञ्जाललाई प्रयोग गर्न सक्छन्।
त्यस्तै, आफ्नो व्यापार व्यवसायलाई पनि उनले निरन्तरता दिनुपर्ने छ।
भर्खरै मात्र निर्माण सम्पन्न भएको चन्द्रगिरि हिल्स रिसोर्टको व्यवसायिक सञ्चालन गर्दै आन्तरिक पर्यटकको गन्तव्य बनाउनु ढकालको दोस्रो लक्ष्य हो।
सगरमाथा डायलगलगायतका अत्यन्तै महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्ने तयारीमा रहेको चन्द्रागिरिले कोरोना संकटका कारण ठूला र सामरिक महत्वका कार्यक्रम र भ्रमणहरुमात्र गुमाएन यसको नियमित व्यवसाय पनि संकटमा पर्यो। चन्द्रागिरि रिसोर्टको व्यवसायलाई लयमा ल्याउन उनले धेरै मेहनत गर्नुपर्ने अवस्था छ।
हुन त चन्द्रागिरि केबलकार पनि संकटकै बीच जन्मिएको थियो। २०७२ को शक्तिशाली भूकम्प र त्यसपछिको नाकाबन्दीको संकट व्यहोर्दै केबलकार सञ्चालनमा आएको थियो। जसले आन्तरिक पर्यटनलाई नयाँ स्वरुप दिन सफल भएको थियो।
कोरोना संकटपछि पनि आन्तरिक तथा बाह्य पर्यटकलाई यस रिसोर्ट तथा केबलकारले फेरि उसैगरी बढाउने अपेक्षा उनलाई छ।
२५ सय ५१ मिटर उचाइमा रहेको यस क्षेत्रमा छिनछिनमा बदली भइरहने मौसम, लस्करै देखिने हिमालहरु, स्वच्छ र सफा हावापानी, हरियाली प्रमुख आकर्षण हुन्।
यही प्रकृतिक मनोरम दृश्यमा चन्द्रगिरि हिल्सले केबलकार, रिसोर्ट, मनोरञ्जन पार्क, भ्यु टावर तथा रेस्टुरेन्टहरु सञ्चालन गरिरहेको छ। धार्मिक आस्था राख्नेहरुका लागि भालेश्वर महादेव मन्दिर पनि छ।
पाहुनालाई अझ सुविधा थप्न सय कोठा रहेको रिसोर्टमा स्विमिङ पुल, स्पा, साउना, ज्याकुजी, हेल्थ क्लबसहित १५० जना देखि ४०० जनाभन्दा धेरै अटाउने तीन वटा सभाहल छन्।
जंगलको बीचमा रहेको रिसोर्टका भवनहरु नेपाली मौलिकता झल्काउने खालका छन्।
चन्द्रगिरी हिल्स नेपालको आन्तरिक पर्यटन क्षेत्रमा प्रमुख गन्तव्यका रुपमा मात्र नभएर अन्तर्राष्ट्रिय पाहुनाहरु आउँदा ‘रिट्रिट’ गराउने ठाउँको रुपमा परिचित छ। नेपालको औपचारिक र अनौपचारिक भ्रमणमा आएका कैयन विदेशी विशिष्ट पाहुनाहरुले यो ठाउँको भ्रमण गरिसकेका छन्।
चन्द्रगिरिमा झन्डै पाँच अर्ब रुपैयाँ लगानी रहेको छ। ढकाल यतिमै रोकिन चाहँदैनन्।
त्यसैले उनले चन्द्रागिरि हिल्सजस्तै केबलकारसहितको पर्यटकीय गन्तव्य देशका सात वटै प्रदेशमा विस्तार गर्ने योजना बनाएका छन्। यो काम उनले तत्कालै सुरु गर्ने भएका छन्।
नवलपरासीको गैँडाकोट, पोखराको सिकलेस, बुटवलको वसन्तपुर, प्युठानको स्वर्गद्वारी, कर्णालीको चिसापानीमा काम अघि बढिसकेको छ। प्रदेश १ र २ का लागि योजना तयार हुँदैछ।
कोरोना संकटले काममा केही ढिला हुन पुगेको छ। यसमध्ये नवलपरासीको गैँडाकोट र बुटवलको योजना निर्माणको चरणमा पुगिसकेको उनी बताउँछन्।
यी योजनाहरुलाई अगामी पाँच वर्षभित्र सम्पन्न गर्ने कार्यतालिका उनले बनाएका छन्। यी सबै स्थानमा चन्द्रगिरि जस्तै केबलकार, रिसोर्ट, मनोरञ्जन पार्क, रेस्टुरेन्ट लगायतका आन्तरिक पर्यटकलाई मनोरञ्जन तथा सेवा प्रदान गर्ने एकीकृत गन्तव्यका सबै पूर्वाधार हुनेछन्।
दीर्घकालीन रुपमा मुलुकको पर्यटन क्षेत्रलाई प्रभाव पार्ने भएकाले ढकालले तत्कालको प्रतिफल हेरेर मात्र यो योजना बनाएका होइनन्।
त्यसैले नयाँ बन्ने पर्यटकीय क्षेत्रको लगानीको मोडालिटीमा केही फरक हुनेछ। यी सबै पूर्वाधारमा स्थानीय व्यवसायीहरुलाई पार्टनरका रुपमा सहभागी गराउने योजना उनको छ। यसरी स्थानीय व्यवसायीहरुसँग काम गर्दा योजना निर्माणमा सहज हुने, स्थानीयको अपनत्व हुने र रोजगारी तथा अन्य काममा स्थानीयले प्राथमिकता पाउने हुन्छ। प्रत्येक क्षेत्रमा एक अर्ब भन्दा बढी लगानी गर्ने उनको योजना छ।
यी योजनाले कोरोना संकटपछि तहसनहस मुलुकको आन्तरिक पर्यटनलाई सकारात्मक सन्देश दिने बताउँछन् ढकाल।
संकटको बेला अत्तालिने भन्दा पनि संयम भएर अवसर खोज्नु पर्ने उनको भनाइ छ। हुन पनि उनी बाल्यकालदेखि नै यस्ता समस्याहरुलाई पार लगाउँदै यहाँसम्म आइपुगेका हुन्।
बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकालले १६ वर्षको कलिलो उमेरमै बाबुको साथ गुमाउन पुगे। जेठो सन्तानका रुपमा रहेका ढकालको काँधमा आफ्नो भविष्यका साथसाथै आमा, भाइ र बहिनी पनि हेर्नुपर्ने जिम्मेवारी थपियो।
यो जिम्मेवारीलाई बहन गर्दै उनले परिवारलाई अगाडि बढाए। व्यवसायिक जीवन जागिरबाट सुरु भयो। त्यो पनि सरकारी बैंकमा।
२०४५ सालमा उनी सहायक तहको पदमा राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त भए। जागिरसँगै उनले व्यापारमा पनि हात हालेका थिए। पहिलो व्यवसाय कोल्डस्टोर चलाएका थिए।
जागिर गरेको तीन वर्षपछि कार्गो व्यवसाय सुरु गरे। त्यही सिलसिलामा उनी जापान पुगे। जापानमा १० महिना बसे। त्यहाँ उनले काम पनि गरे।
जापान बस्दा कमाएको पैसा घर परिवारलाई पठाउन गाह्रो थियो। अनौपचारिक क्षेत्रबाट रकम पठाउँदा धेरै नेपालीहरु ठगिएका उदाहरण थिए। पठाएको रकम परिवारका सदस्यहरुको हातमा पुग्न पनि महिनौँ लाग्थ्यो।
पसिना बगाएर कमाएको पैसा सुरक्षित रुपमा परिवारको हातमा पुर्याउने सेवाको अभाव ढकालले देखे। त्यहीे अनुभवका आधारमा उनले आईएमई खोल्ने निर्णय लिए।
सन् २००२ मा ढकाल इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) खोल्ने प्रस्ताव लिएर नेपाल राष्ट्र बैंक पुगे। भाइ हेमराज ढकालले उनलाई साथ दिए। अहिले उनका प्रायजसो व्यवसाय भाइले नै हेर्ने गरेका छन्।
त्यही एक व्यवसायको लागि बनाइएको नाम अहिले व्यवसायिक समूह बनेको छ– आईएमई ग्रुप।
आईएमई ग्रुपले अहिले रेमिट्यान्ससहित बैंक, इन्स्योरेन्स, अटोमोबाइल्स, ऊर्जा, विद्युतीय भुक्तानी, ट्राभल, सूचना प्रविधि, केबलकार र हस्पिटालिटीलगगायतका विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गरेका छन्। जुन व्यवसायले आज चन्द्र ढकाललाई नेपालको व्यवसायिक क्षेत्रमा स्थापित गरेको छ।
निम्नमध्यम परिवारमा जन्मिएका ढकाललाई व्यवसायिक घरानाको जस्तो अवसर थिएन। उनले मेहनत र संघर्षलाई अवसरमा बदल्न सक्ने क्षमता विकास गर्दै गए। त्यही लगनशीलता र धैर्यका कारण उनी प्रतिष्ठित आईएमई ग्रुपका अध्यक्षमात्र भएनन् मुलुककै सबैभन्दा ठूलो निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि चुनावमा पनि भिड्दैछन्।
Shares
प्रतिक्रिया