फुर्सद भयो कि विवेक पराजुलीलाई केही न केही सिर्जनशील काम गर्न मन पर्छ। खोःप इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका विवेक अध्ययनमा पनि अब्बल छन्। पाँचौैँ सेमेस्टरमा उनले कलेज टप गरे।
मुलुकमा कोरोना संक्रमण फैलिएसँगै अनलाइनबाटै पठनपाठन भइरहेको छ। कलेज आउनेजाने समय बचत भएको छ।
त्यही फुर्सदको समयलाई प्रयोग गरेर उनले एउटा वेबसाइट बनाए– साझा किताब डट कम। जहाँ पुराना किताब किनबेच गर्न सकिन्छ। त्यो पनि किन्ने र बेच्ने आफैँ भेटेर। विवेकले नाफा खाँदैनन्।
सोमबार शंखमुलमा भेटिँदा विवेक उत्साहित थिए। सेतो सर्टमाथि कलेजी रङको कोट लगाएका २१ वर्षे ठिटोलाई हामीले सोध्यौँ, ‘इन्जिनियरिङ पढिरहेको मान्छे पुरानो किताब किनबेच गर्ने थलो बनाउनेतिर कसरी लाग्नु भयो?’
‘सेकेन्ड हेन्ड बुक भनेको नयाँ कुरा होइन,’ विवेकले अलिकति पृष्ठभूमि झिके, ‘धेरै पहिलेदेखि चलिआएको हो।’
पुराना किताब पढ्ने, किनबेच हुने कुरा उनले सबैभन्दा पहिले हजुरबाबाट सुनेका थिए। कक्षा १२ मा पढ्दै गर्दा उनका केही साथीहरुले पनि पुराना किताब किनेर ल्याएको सुनाउँथे।
पुरोना किताब सस्तो हुने वा, कम मूल्यमा धेरै लेखकका किताब पढ्न सकिने। किताबमा धेरै खर्च गर्न नसक्नेलाई फाइदै फाइदा।
भिडियोः
कलेजमा कहिलेकाहीँ एक महिनाका लागि अथवा छोटो अंश पढ्न मात्रै पनि किताब चाहिन्छ। त्यसमा धेरै खर्च हुने। फेरि साथीभाइ वा अरुसँग पुरोना किताब माग्न पनि लाज हुन्थ्यो। दिनेलाई पनि पुरानो छ भने गाह्रो लाग्ने। अनलाइन भयो भने त सजिलैसँग दिन सक्ने, लिन पनि सकिने।
‘विद्यार्थी जीवनमा २० रुपैयाँ जोगिँदा पनि खुसी लाग्छ,’ उनी भन्छन्, ‘यसैको लागि मैले नयाँ प्लाटफर्म बनाउन खोजेको हुँ।’
यस विषयमा उनका साथीहरु माझ पनि कुरा भइहन्थ्यो। उनीहरुसँग थुप्रै पुराना किताब थिए। ती कि त्यत्तिकै थन्क्याउनु पर्ने कि कवाडीलाई बेच्नु पर्ने।
‘पुरोना किताब किनबेच गर्ने प्लाटफर्म नै भएन। यही काम गर्ने एउटा वेबसाइट बनाऊँ,’ साथीहरुसँग विवेकले प्रस्ताव राखे।
साथीहरुले उनलाई अझ हौस्याए।
‘विवेकले जोससाथ यो प्रस्ताव ल्याएपछि हामीलाई पनि मन प¥यो,’ विवेकका साथी कल्याणले भने, ‘यो आइडियालाई सार्थक बनाउनु पर्छ भनेर लाग्यौं।’
विवेकले अन्य पाँच साथीहरु कल्याण काराखेती, नवीन अधिकारी, वसन्त भट्ट, नवीन भण्डारी र नेमिका सचिनसहितको टिम बनाए।
पुरोना किताब किनबेच त गर्ने तर कसरी? विवेक नयाँ तरिकाबाट के गर्न सकिन्छ भनेर हेर्न थाले।
त्यो सोचलाई कार्यान्वयनमा लैजान सबैभन्दा पहिला उनले फेसबुक ग्रुप वा ब्लग बनाउने की भन्ने सोचे। खोज्दै जाँदा यस्ता अरु पनि भेटिए। खासै प्रभावकारी होला जस्तो लागेन।
‘अरुले गरिरहेको किन गर्ने?’ उनले सोचे, ‘काम गरेपछि नयाँ होस्।’
त्यसपछि वेबसाइट बनाउनेतिर लागे। जुन प्रभावकारी हुनसक्छ भन्ने उनलाई लाग्यो।
विवेक प्रविधिमा रुचि राख्थे। वेबसाइट बनाउने तरिका हल्काफुल्का थाहा थियो। उनी थप अध्ययन गर्नतर्फ लागे।
‘ठिकैको भए पनि बनाउँछु, भनेर लागेँ,’ उनी भन्छन्, ‘१५ दिन जति अध्ययन गरेँ। अनि केही समय लगाएर आफैँ बनाएँ।’
पुरानो किताब बेच्ने प्लाटफर्म नेपालमा खासै थिएनन्। भएका पनि मार्जिन खोज्थे। किन्नेलाई सस्तोमा पाइने वेबसाइट नेपालमा आवश्यक रहेछ भन्ने उनलाई लाग्यो।
‘फुर्सदको बेलामा केही गरौं भनेर यो सुरुवात गरेको हो,’ विवेकले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको विद्यार्थीका लागि पुराना किताब सस्तोमा पुनः प्रयोग गर्न सकियोस् भन्ने हो।’
उनले पहिलो चरणमा आफ्नै साथीहरुलाई किताब हाल्देऊ पनि भने। कतिले अल्छी गरे। त्यहाँ हाल्नेबित्तिकै बिक्री हुने पनि होइन।
तर, तीन महिना बितेपछि भने विस्तारै विस्तारै यसको प्रयोग बढ्दै गएको छ।
‘यो प्रयोग गर्ने एउटा समाज बन्नु पर्छ,’ विवेक भन्छन्, ‘त्यो कम्युनिटी बनेपछि त्यसको प्रभावकारिता बढ्छ।’
नाफाको उदेश्य छैन
यस वेबसाइटबाट नाफा कमाउने उद्देश्य छैन उनको।
‘हामीले किताब बेच्ने होइन,’ विवेकले भने, ‘क्रेता र बिक्रेताले आफ्नो सहमतिमा गर्ने कुरा हो। हामीले मार्जिन राख्दैनौं। यो एक माध्यम मात्र हो।’
यसमा पुरानो किताब मात्र होइन, नोटहरु पनि उपलब्ध गराउन सकिन्छ। नयाँ किताब पनि बेच्न सकिन्छ।
अहिले पैसा कामाउनेभन्दा पनि एक प्लाटफर्म बनाउन खोजिएको उनी बताउँछन्।
‘पैसा कुनै दिन कमाउँला,’ विवेक भन्छन्, ‘समाजलाई केही योगदान गरौं भन्ने हो।’
वेबसाइट आफैँले बनाएको र अफिस पनि नभएकाले सञ्चालन खर्च खासै छैन। यदि राम्रो हुँदै गयो र ठूलो समूहमा पुग्यो भने विज्ञापन दिने दिन पनि आउन सक्छन्।
‘त्यहाँसम्मको सोच हो तर यो धेरै पछिको कुरा हो,’ उनी भन्छन्।
बजार प्रबद्र्धन गर्ने सोच उनीहरुले राखेका छैनन्। मान्छेले आफैँ यसको बारेमा थाहा पाऊन् भन्ने उनीहरु चाहन्छन्।
अहिले पनि पुराना किताब किनबेच गर्ने पसल छन् तर व्यवस्थित छैनन्। पुराना किताब किनबेच गर्ने ‘कल्चर’ बनिसकेको कल्याणलाई लाग्दैन।
‘यही कल्चर बनाऊँ भनेर लागेका हौं,’ कल्याण भन्छन्।
‘अरु किताब पसल छन् तर हामी उनीहरुभन्दा पूर्ण रुपमा भिन्न छौं। हामीले किताब किनबेच गर्दा नाफा खोजेका छैनौं। मार्जिन राखेका छैनौं,’ विवेक भन्छन्।
कसरी किनबेच गर्ने?
साझा किताब डट कम क्रेता र बिक्रेताको आपसी सहमतिमा किताब किनबेच गर्ने थलो हो।
कुनै किताब किन्न वा बेच्न वेबसाइटमा जाने। वेसाइटमा स्कुलदेखि विश्वविद्यालयको मास्टर्स तहसम्म र साहित्यका किताबको वर्गीकरण गरिएको छ।
किताब बेच्नु पर्ने छ भने साइन अप गर्ने। आफूले बेच्न चाहेको किताबको वर्गीकरणअनुसार किताबको फोटोसहित पूर्ण जानकारी राख्नु पर्छ। जस्तो कि किताबको नाम, मूल्य, पब्लिकेसन, कहिले छापिएको हो सबै हालेर वेबसाइटमा अपलोड गर्नुपर्छ।
कुनै किताब किन्न चाहेमा वेबसाटको पेजमा गएर सर्च गर्ने। चाहेकोे किताब उपलब्ध छ कि छैन भनेर हेर्न सकिन्छ।
त्यहाँ भित्र मेसेजिङ फिचर छ। त्यहाँ म्यासेज गरेपछि बेच्नेलाई इमेल जान्छ। त्यहाँ फोन नम्बर पनि हुन्छ। त्यसमा कल गरेर किताब किन्न चाहेको जानकारी गराउन सकिन्छ।
त्यहाँ निश्चित मूल्य वा क्रेता र बिक्रेताले बार्गेनिङ गर्ने ठाउँ पनि छ।
क्रेता र बिक्रेताबीच कुरा मिल्यो भने आफैँ भेट्ने र पैसा दिएर किताब लिन सकिन्छ।
Shares
प्रतिक्रिया