‘उडान अवधिभर मास्क र फेससिल्ड अनिवार्य लगाइदिनुहोला,’ विमान परिचारिका उषा थापाले यात्रुहरुलाई अनुरोध गरिन्।
कोरोनासँगसँगै हरेक व्यवसाय फरक शैलीबाट सञ्चालन भइरहेको छ। पहिले मास्कले काठमाडौंको धुलोधुवाँबाट जोगाउँथ्यो, अहिले भाइरसबाट बच्न हवाइजहाजभित्र पनि अनिवार्य भएको छ।
मास्कले मुख र नाकमात्र छोपेर भएन, आँखालाई पनि सुरक्षित राख्न फेससिल्ड चाहियो।
बाहिरको मौसम निकै चिसो छ– १.३ डिग्री। यस वर्षकै सबैभन्दा कम तापक्रम गत शनिबार बिहान मापन गरिएको थियो।
तर, विमानभित्रका हामी ७० जना यात्रु न्यानो अनुभव गरिरहेका थियौँ। क्याप्टेन रञ्जन सुवेदी र सहचालक सुशान्त पाठक हामीलाई लिएर उडे। उषासँगै छिन् अर्की परिचारिका दिपाली सिंह।
विमानले काठमाडौंबाट उत्तर–पूर्व दिशा लियो। शनिबार, बिहान ७ः१० बजे। हामी विश्वकै अग्ला हिमशृङ्खला दृश्यावलोकन गर्न जाँदैछौँ। काठमाडौंबाट करिब ७५ भर्टिकल माइल पूर्वतिर हामीले २१ हजार फिटका उचाइबाट हिमालको सुन्दरता दृश्यावलोकन गर्नेछौं। विमान अग्लिँदै जाँदा यात्रुका आँखा पनि चनाखो हुँदै थिए।
शीतले छोपिएका विमानका झ्याल एकैछिनमा सफा भए। हिमाल हेर्ने हाम्रो चाहनालाई मौसमले पनि साथ दिएको थियो।
‘झ्यालबाट सीधा हेर्नुस् त,’ परिचारिका उषा यात्रुलाई हिमालसँग परिचय गराउन थालिन्, ‘यो लाङटाङ हिमाल। अब हिमशृङखला देखिन सुरु भयो।’
७ हजार २ सय ३४ मिटर अग्लो लाङटाङ र ८ हजार १३ मिटर अग्लो सिसापाङ्मा नियाल्दै विमान अघि बढ्यो।
‘ऊ त्यो घरको टुप्पो जस्तो, पिरामिड आकारको छ नि, त्यो दोर्जेल्हाक्पा हो,’ उनले भनिन्, ‘यतापट्टि अलिकति हिउँ नभएको जस्तो छ नि त्यो चाहिँ पूर्वीग्याचु।’
हामी गौरीशंकर, मेलुङग्त्से, चुगिमागो, पिग्फेरागो, नुम्बुर, कार्र्यालुङ, चोयु हुँदै अगाडि बढ्यौं।
सूर्यका किरण भर्खर हिउँमा पोखिँदाको दृश्य मनोहर थियो। कति चुचुरा त हिउँ नै नभएका काला ढुंगा जस्ता पनि देखिन्थे।
थुप्रै यात्रु मोबाइलबाट फोटो र भिडियो खिचिरहेका थिए।
‘आहा! कति सुन्दर है,’ यात्रुहरु उद्वेलित भएर भन्दैथिए, ‘अझ नजिक पुग्न पाए त।’
ककपिटबाट पनि विमान कुन हिमालनजिक उडिरहेको छ भन्ने जानकारी आइरहेको थियो। ग्याचुङकाङ, पुमोरीपछि संसारको सबैभन्दा अग्लो हिमाल हाम्रो आँखाअगाडि आइसकेको थियो।
‘ट्रयाङ्गुलर सेपमा, पिरामिड जस्तो देखिने ऊ त्यो सगरमाथा हो है,’ परिचारिकाले भनिन्। सगरमाथाले भर्खर मात्रै नयाँ उचाइ पाएको छ। ० दशमलव ८६ मिटर थपिएर यसको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ भएको छ।
सगरमाथा आफ्नो दायाबायाँ दोस्रो र चौथो अग्ला हिमाल लिएर ठडिएको छ। सगरमाथाको बायाँतिर रहेको नुप्त्से चौथो अग्लो र दायाँतिरको ल्होेत्से दोस्रो अग्लो हिमाल हुन्।
आमादब्लम, चाम्लाङ हुँदै तेस्रो अग्लो हिमाल कन्चनजंगा र मकालु देखिएपछि जहाज बायाँतर्फ मोडियो। जहाजले काठमाडौंतिरको दिशा लिएसँगै अर्को साइडमा बसेका यात्रुहरुले हिमालका दृश्यावलोकन गर्न थाले।
फोटो पत्रकार प्रविन र म भने ककपिटभित्र छिर्यौँ। उडिरहेको जहाजमा पहिलो पटक ककपिटमा छिर्दै थिएँ म।
क्याप्टेन रञ्जन र सहचालक सुशान्त रमाउँदै जहाज उडाइरहेका थिए। प्रविनले केही दृश्यहरु भिडियोमा कैद गरिरहेका थिए।
‘यही मौकामा केही कुरा गर्न पाए हुन्थ्यो,’ म सोचिरहेको थिएँ।
आँट गरेर क्याप्टेनलाई भनेँ, ‘थोरै कुरा गरौं न। मिल्छ?’
‘अहिले नबोलौं। जहाज हल्लिन सक्छ,’ क्याप्टेन रन्जनले भने। जोखिम मोल्ने कुरै थिएन।
‘पछि बसेर मजाले कुरा गरौँला नि,’ उनले भने।
फर्किंदा हामीले तलका बस्तीहरु हेर्यौँ। गाउँका डाँडापाखाका पातला बस्ती हुँदै उपत्यकाको घना बस्तीमाथि उड्दै जहाज झन्डै ५० मिनेटको फन्को लगाएर त्रिभुवन विमानस्थलमा अवतरण गर्दै थियो।
‘जहाज नरोकिएसम्म सिटको बेल्ट नखोल्नु होला,’ परिचारिकाले निर्देशन गरिन्, ‘क्याप्टेन रन्जन सुवेदीका साथमा उडान कर्मचारीहरु, यहाँहरुले हामीलाई सेवा गर्ने मौका दिनु भएकोमा आभार प्रकट गर्दछौं। बाहिरको तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियस।’
यात्रुका अनुहार उज्याला थिए। एकअर्कालाई आआफ्नो रमाइलो अनुभव सुनाउँदै थिए। त्यसैमध्ये एक थिइन्, काठमाडौं बालकुमारीकी कनिका अग्रवाल।
‘मैले सोचभन्दा निकै फरक पाएँ। मैले यति नजिकबाट हिमाल हेर्छु भन्ने सोचेकी थिइनँ,’ जहाजबाट झर्दै गर्दा कनिकाले सुनाइन्, ‘एकदमै रमाइलो अनुभव भयो। म त फेरि पनि हेर्न आउँछु होला।’
आकाशमा १२ हजार घण्टा उडेका क्याप्टेन रञ्जन
काठमाडौं, बानेश्वरका रञ्जन गत १४ वर्षदेखि बुद्ध एयर उडाइरहेका छन्। २००५ मा अमेरिकाको ओक्लाहोमाबाट उडानको प्रशिक्षण सकेलगत्तै बुद्ध एयर भर्ना भए। उनले अहिले सिनियर क्याप्टेनका रुपमा व्यवसायिक उडान भरिरहेका छन्।
‘कतिपय विदेशी हिमाल हेरेर रुन्छन् पनि,’ रञ्जनले भने, ‘सायद प्रकृतिसँगको निकटताको भावनाले होला।’
उनलाई पनि हिमश्रृङखला हेर्दा हरेक पटक फरकफरक अनुभव हुन्छ।
‘सूर्यको किरण पर्ने समयअनुसार एउटै हिमाल भए पनि विभिन्न रुपमा देखिन्छ,’ रञ्जनले भने, ‘जसले गर्दा अद्भूत सुन्दर देखिन्छन्।’
कोभिड अघिसम्म माउन्टेन फ्लाइटमा विदेशी पर्यटकको चाप धेरै थियो। भारतीयहरुको संख्या उल्लेख्य हुन्थ्यो। कति भारतीय गौरीशंकर हिमालको दर्शन गर्न पनि आउँथे।
लकडाउन भएपछि लामो समय उडान बन्द भयो। उडान खुलेको केही साता मात्र हुँदैछ। यसबीचमा नेपाली यात्रुको चाप बढेको छ।
शनिबार पनि बुद्ध एयरले तीनवटा माउन्टेन फ्लाइट गर्यो। सबै भरिभराउ। कोरोना संक्रमणको बीचमा यात्रुलाई सुरक्षाको प्रत्याभूति गराएको बुद्ध एयरका कर्पोरेट कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्ण बताउँछन्।
‘हामीले जहाजभित्र पनि संक्रमण नफैलियोस् भनेर मास्क र फेससिल्डमात्र होइन, हावा पास हुने विशेष प्रविधि पनि प्रयोग गरेका छौं,’ उनले भने।
कोरोना संकटको अवधिमा पनि नेपालीले माउन्टेन फ्लाइटमा देखाएको रुचिबाट क्याप्टेन रन्जन उत्साहित छन्।
‘यो अवस्थामा पनि नेपालीको हौसला देखेर अचम्मित भएका छौं,’ रन्जनले भने, ‘एक उडानमा ७० जना नेपाली हिमाल हेर्न उडेको दृश्य मैले पहिलो पटक देख्दै छु।’
उनले यसलाई माउन्टेन फ्लाइटमा नयाँ चरणको सुरुवात भएको बताए।
हरेक पटकको उडानमा रञ्जन रमाइलो मान्छन्। हिमालनजिकै उड्दा यात्रुलाई जस्तै डर र उत्साह दुवै उनी महसुस गर्छन्।
‘हामी तालिम लिएका हुन्छौं। कुनै पनि समस्या आएमा त्यसलाई कसरी समाधान गर्ने भन्ने हामीसँग क्षमता हुन्छ,’ रञ्जन भन्छन्।
त्यही आत्मविश्वास भएर त रमाइलोसाथ व्यावसायिक उडान भरिरहेका छन्।
उडानप्रतिको लगावकै कारण उनी ३५ वर्षको उमेरमा तालिम लिन अमेरिका उडे।
‘जब कि ३५ वर्षको उमेरमा अरु क्याप्टेन भइसकेका हुन्छ,’ रञ्जन भन्छन्, ‘जुन बेलामा म भर्खर तालिम लिन जाँदै थिएँ।’
उनलाई पाइलट बन्न परिवारको प्रेरणा थियो। आफ्नो बुबा नागरिक उड्डयन प्राधिकरणमा काम गर्ने हुनाले त्यसप्रछि रुचि जागेको उनी बताउँछन्।
उनी सन् १९९२ देखि नै एभरेस्ट एयर भन्ने एक कम्पनीमा काम गर्थे। पछि उनी पाइलट बने। आजसम्म उनले १२ हजार घण्टा उडान भरिसकेका छन्।
नडोमेस्टिकसँगै उनले भारतको बनारससम्म विमान उडाएका छन्। भारतमा पनि उनले चार पहिना एक निजी एयरलाइन्स उडाएका थिए।
ककपिटको अर्को सिटमा बसेका छन् सहचालक सुशान्त पाठक। दाङ घर भएका उनले फिलिपिन्समा पाइलटको तालिम लिएका हुन्।
तीन वर्षदेखि बुद्ध एयरमा व्यवसायिक उडान भरिरहेका उनीसँग २ हजार ८ सयभन्दा धेरै घण्टा उडाएको अनुभव छ। उनले पनि क्याप्टेन बन्न आवश्यक मापदण्ड पुरा गरिसक्न आँटेका छन्।
‘रिक्वायरमेन्ट पुग्नै लागेको छ,’ सुशान्तले मुस्कुराउँदै भने, ‘अब क्याप्टेन हुन्छु होला।’
बुद्ध एयरमा क्याप्टेन हुनको लागि ३ हजारभन्दा बढी घण्टा उडान भरेको हुनुपर्छ। त्यसमा पनि रातिको उडान, इन्स्ट्रुमेन्ट उडानलगायतका अनुभव चाहिन्छ।
एक हप्ताअघिमात्र अमेरिकामा एटीपीएल तालिम लिएर फर्केका हुन् सुशान्त। बुद्ध एयरमा क्याप्टेन हुनलाई यो तालिम अनिवार्य छ।
भिडियो :
Shares
प्रतिक्रिया