प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेयता काठमाडौंको थापाथलीमा रहेको कार्की ब्यांक्वेटको नाम खबरबाट छुटेको छैन।
प्रचण्ड–नेपाल पक्षले पुस ७ गते यहीँ केन्द्रीय समिति बैठक गरेर ओलीलाई कारबाही गर्यो र माधव नेपाललाई अध्यक्ष बनायो। सो समूहले पुस १० गते पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा पनि यहीँबाट गर्यो।
ओली पक्ष पनि के कम, पुस १५ मा उसले सुदूरपश्चिमका कार्यकर्ताहरूको भेला यहीँ गर्यो। भेलामा ओलीले माधव नेपालको क्यारिकेचर गरेर सबैलाई हँसाएनन् मात्र, आफ्ना पूर्वसहकर्मीहरुप्रति लामो समय रिस पोखे।
नेकपाका अहिलेका दुई खेमा मात्र होइन, कांग्रेस, राजावादीदेखि साना दलका कार्यक्रम समेत कार्की ब्यांक्वेटमा हुँदै आएका छन्। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, नेपाली सेना, मन्त्रालय, कूटनीतिक नियोगदेखि, बैंक र संस्थाका कार्यक्रम यहीँ हुन्छन्। वास्तवमा कार्की ब्यांक्वेट शक्तिकेन्द्रहरुको जमघटको केन्द्र नै बनेको छ भन्दा फरक नपर्ला।
यी सबैको रोजाइमा कार्की ब्यांक्वेट नै किन? यसका सञ्चालक को हुन्? कति छ उनको पहुँच? यिनै जिज्ञासा बोकेर हामी थापाथलीको अग्लो डाँडा उक्लियौँ– जहाँ १० रोपनी जग्गामा फैलिएको छ– कार्की ब्यांक्वेट।
आइतबारको चिसो बिहान। त्यसमाथि भयंकर वायु प्रदुषण। कार्की ब्यांक्वेटबाट काठमाडौँलाई कालो तुवाँलोले ढाकेको देखिन्छ।
ब्यांक्वेटको एउटा कोठामा कुर्सीमा बसेका छन्– दिलबहादुर कार्की, जसलाई सबैले डीबी कार्की भनेर चिन्छन्। उनको पछाडि भित्तामा पृथ्वीनारायण शाहको ठूलो तस्बिर टाँगिएको छ। जसको दुईतिर छन्– राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवको अलि साना तस्बिर।
बाँकी पुरै भित्ता ढाकिएको छ– प्रमाणपत्र, प्रशंसापत्र र नेतासँग खिचिएका कार्कीका तस्बिरले।
भोजपुरमा जन्मिएका दिलबहादुर कार्की रोजगारी खोजीमा भौँतारिँदै काठमाडौँ आएका थिए। तर, पछिल्लो दुई दशकमा उनी करोडौँको मालिक मात्र बनेका छैनन्, क्याटरिङको क्षेत्रमा साम्राज्य नै हाँकिरहेका छन्।
कसरी सम्भव भयो त यो प्रगति?
उनले भोजपुरदेखि थापाथली हाइटसम्मको आफ्नो यात्रा विस्तारमा बताए।
कार्की क्याटरिङ सर्भिस
दिलबहादुर कार्की सानै हुँदा उनका बुबा बिते। भोजपुरमा बस्ने वातावरण भएन। आमासँग विराटनगर झरे। पढाइ बीचैमा छुट्यो। त्यसपछि मामा घर चितवनमा बस्न थाले।
मामाहरु काठमाडौंमा बस्थे। उनीहरुसँग जागिरको खोजीमा २०४६ मा दिलबहादुर काठमाडौैं पसे।
‘मौका मिले विदेश जाउँला, नभए राजधानीमा सानोतिनो जागिर गरौंला,’ उनको योजना थियो।
काठमाडौंमा भौँतारिँदै थिए। माघ २०५५, बिहेको सिजन थियो। उनका एक आफन्तले छोराको विवाह गर्ने भए। विवाहको तयारी हुँदै गर्दा कसले के गर्ने भनेर कामको बाँडफाँट भयो। भोज खुवाउने जिम्मा कार्कीको काँधमा पर्यो।
‘म सानैदेखि खाना पकाउनेमा अगाडि सर्थें, सायद त्यही भएर मलाई भोजको जिम्मा लगाएका थिए होलान्,’ उनी सम्झिन्छन्, ‘गाउँमा वनभोज हुँदा सबै काम मैले नै गर्थें।’
माघको ११ र १२ गते झन्डै एक हजारलाई खाना खुवाउनु पर्ने थियो। तर, उनीसँग एउटा गिलास धरी थिएन। एकएक गरेर भाँडाकुँडा, खाद्यान्न, कुर्सीदेखि त्रिपालसम्मका सम्पूर्ण सामग्री जम्मा गरे। विशालनगरको खाली जग्गामा पाल टाँगेर भोज खुवाए।
भोजमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासहित गन्यमान्यको उपस्थित थियो। भोज व्यवस्थापनमा कार्कीको तारिफ भयो। पाहुनाहरुले खाना मन पराए।
भोजबाट उनलाई व्यक्तिगत फाइदा पनि भयो। बेहुलाको परिवारले झन्डै हजार जनालाई खुवाउन प्रतिप्लेट ३५० का दरले मोटामोटी साढे तीन लाख रुपैयाँ छुट्याएको थियो।
भोजमा कुनै कमी थिएन। तर, सबै खर्च हिसाब गर्दा साढे २ लाख मात्र निस्कियो। एउटै भोजमा लाख रुपैयाँ बच्यो।
‘एकै भोजमा एक लाख!’ उनी दंग परे।
‘पेसा त यही गर्नुपर्ने रहेछ भन्ने लाग्यो,’ उनी भन्छन्।
त्यसभन्दा महत्वपूर्ण, भोज व्यवस्थापन र खानाको तारिफ थियो।
‘यो कुन क्याटरिङ हो?,’ भोजमा आउनेहरुले सोध्न थाले।
त्यो बेलासम्म उनलाई क्याटरिङ भन्ने शब्द पनि थाहा थिएन। न कुनै सम्पर्क स्थान थियो, न सम्पर्क फोन नम्बर।
केही दिनमै उनलाई अर्को विवाह भोजमा खाना खुवाउने प्रस्ताव आयो। विवाह थियो, ओम नरसिंह राणाका छोरा आशिष नरसिंह राणाको। राणा त्यतिबेला क्याप्टेन थिए, अहिले नेपाली सेनाका जर्नेल छन्।
सातआठ सय पाहुनालाई खुवाउनु पर्ने थियो। पहिलोमा जस्तै सम्पूर्ण सामान जुटाए र भोज सम्पन्न गरे। त्यो पनि निकै राम्रो भयो।
बिस्तारै काठमाडौंका अलि ठूला विवाहहरुमा उनको खोजी हुन थाल्यो। ‘भोज गर्ने दिलबहादुर कार्की कहाँ बस्छ?’ मान्छेहरुले सोध्न थाले।
‘मलाई खोज्न साइकल लिएर हिँड्थे मान्छेहरु,’ उनी सम्झन्छन्, ‘मेरो सम्पर्क नम्बर वा स्थान केही थिएन।’
सेवा राम्रो भयो भने मान्छेले खोज्दा रहेछन् भन्ने उनले बुझे।
एकएक सामान जुटाएर भोज खुवाउन उनलाई हम्मे पर्थ्यो। उनलाई कसैले भनिदियो, ‘सबै सामान एकै ठाउँमा पाइन्छ, न्युरोडको मुन्चा हाउसमा।’ त्यहाँ पनि मान्छेहरु धेरै दिन अघिदेखि सामान बुक गर्थे। जसले पहिले बुक गर्थ्यो, उसले नै राम्रो सामान लैजान पाउँथ्यो। कार्कीले पनि त्यहीँ बुक गर्न सुरु गरे।
भोज गर्दा कहिले रातभरी बस्नुपर्थ्यो। पाहुनाहरु नाचगान गर्थे। तर, उनको ध्यान भने पाहुना कसरी खुसी हुन्छन् भन्नेमा थियो। राम्रो सेवा, मिठो खाना र नम्र बोलीका कारण सबैले उनलाई मन पराउँदै गए।
‘खोजेको चिज ठ्याक्क पुर्याइदिएपछि मान्छे फेरि पनि खोज्दै आउँछ,’ व्यावसायिक सफलताबारे उनले भने, ‘यही नै मेरो मनमा सधैँ रहन्छ।’
क्याटरिङ व्यवसाय राम्रो हुँदै गएपछि २०५८ तिर उनले बबरमहलमा दुई सटर भाडामा लिए। सामान खरिद गरे। औपचारिक रुपमा त्यहीँबाट सुरु भयो– ‘कार्की क्याटरिङ सर्भिस।’
बिनाकुनै ठूलो लगानी अचानक सुरु गरेको उनको व्यवसाय फस्टाउँदै गयो।
‘मैले जेरो ब्यालेन्सबाट यो व्यवसाय सुरु गरेको हुँ,’ उनी भन्छन्, ‘मसँग टेलिफोन, सम्पर्क कार्यालय, बोर्ड, क्याटरिङको नामधरी थिएन।’
अहिले कार्की क्याटरिङ सर्भिसको कार्यालय शंखमुलमा छ। यसले आउटडोर क्याटरिङ सेवा दिन्छ।
कार्की क्याटरिङ सुरु गर्दा उनलाई साथ दिने अन्य दुई जना थिए– बुद्धिप्रसाद ढुंगेल र नेपाल प्रहरीबाट सेवानिवृत्त तारा थापा। २०६३ देखि भने थापाले छुट्टै न्यु कार्की क्याटरिङ सुरु गरेका छन्। कार्की र ढुंगेल अझै संयुक्त व्यवसायमा छन्।
कार्की क्याटरिङले राम्रो आउटडोर सेवा दिएपछि ग्राहकहरुले पनि सुझाउन थाले– अब एउटा ब्यांक्वेट पनि खोल्नु नि।
उनलाई पनि एक निश्चित ठाउँमा भोज खुवाउने व्यवस्था गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो।
उनी ठाउँ खोज्न थाले। थापाथली हाइटमा ठाउँ फेला पारे। १० रोपनी जग्गामा प्रशस्त पार्किङसहितको राम्रो स्थान थियो। उनले २०७२/७३ मा कार्की ब्यांक्वेट दर्ता गरे।
सबैको रोजाइमा किन पर्छ कार्की ब्यांक्वेट?
चीनको हुबे प्रान्तस्थित वुहानबाट सुरु भएको कोरोना महामारी फैलिँदै आएपछि नेपालमा पनि सरकारले लकडाउन गर्यो। सो प्रान्तमा बस्ने १७५ नेपाली विद्यार्थीलाई नेपाल सरकारले उद्धार गर्यो।
ती विद्यार्थीलाई भक्तपुरको खरिबोटमा राख्दा स्थानीयहरुले चर्को विरोध गरे। त्यसमाथि अर्को समस्या उद्धारमा खटिएका अन्यसहित २४२ जनालाई खानपिनको व्यवस्था गर्नु थियो। कोरोनाको त्रासबीच त्यति ठूलो संख्यालाई खाना कसले खुवाउने?
सरकारले काठमाडौंभरी खाना खुवाउने क्याटरिङ खोज्यो, कतै भेटिएन। त्यही बेलामा आँट गरेर अगाडि आयो कार्की क्याटरिङ।
‘राज्यलाई अप्ठेरो पर्दा हामीले नै गर्नुपर्छ। हामी खाना खुवाउँछौँ,’ कार्कीले सरकारी अधिकारीहरुलाई भने।
कार्की क्याटरिङले विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर १७५ जना विद्यार्थीसहित पाइलट, आठवटा गाडीका चालक र सहचालक, रेडक्रस, डाक्टर, नेपाली सेना, सशस्त्र, निजामती कर्मचारीसहित २४२ जनालाई १४ दिनसम्म खाना खुवायो।
‘परेको बेलामा यस्तै आँटले काम गरेकाले उनीहरुको आँखामा हामी परेका हौं,’ कार्कीले भने, ‘कोरोना संक्रमित भनेर कसैले खाना खुवाउन तयार भएनन्। ती सबैले अर्कोपाली पनि हामीलाई नै सम्झिन्छन्।’
पछिल्लो समय नेकपाका ठूला कार्यक्रम कार्की ब्यांक्वेटमै किन भइरहेका छन्?
आफू बसिरहेको कुर्सी कार्कीले कम्प्युटरतर्फ घुमाए।
‘ल हेर्नुस्, ११ सय सिट क्षमता भएको हल काठमाडौंको अरु कुनै ब्यांक्वेटमा छ?’ उनले सीसीटीभी फुटेज देखाउँदै भने, ‘त्यो पनि सामाजिक दुरी कायम गरेर?’
धेरै कार्यकर्ता अट्ने ठूलो हल र कोरोना महामारीका कारण अहिले त दुरी पनि खोज्ने भएकाले दलका कार्यक्रम कार्की ब्यांक्वेटमा हुने गरेको उनको भनाइ छ। त्यसबाहेक प्रशस्त पार्किङ सुविधा अर्को कारण हो। त्यस्तै राजधानीको केन्द्रमा रहेको त्यो स्थान आवतजावतका लागि सहज पनि छ।
ब्यांक्वेटमा तीन वटा हल छन्। भीभीआईपीका लागि छुट्टै कक्ष छ।
अर्को छ डीजे कक्ष। पार्टीमा नाचगान र रमाइलो गर्नेहरुका लागि भनेर छुट्याएको ठाउँ। त्यस्तै, अर्को साधारण कक्ष छ। जहाँ ११ सय मानिस अट्छन्। यसलाई उनी आवश्यकताअनुसार पार्टिसन गरिदिन्छन्। बाहिर बगैँचासहितको खुला ठाउँ पनि छ।
त्यसमाथि पहिलेदेखिको व्यवसायिक सम्बन्धका कारण पनि नेकपाका धेरै कार्यक्रम यहीँ हुने गरेको उनी बताउँछन्। उदाहरणका लागि, २०७० देखि राष्ट्रपति कार्यालयका हरेक कार्यक्रममा उनकै क्याटरिङले सेवा दिइरहेको छ। जहाँ नेकपा कै नेताको भीडभाड हुन्छ। त्यस्तै ठूला नेता र उनीहरूका आफन्तको विवाह पनि उनकै ब्यांक्वेटमा हुन्छ।
‘कार्कीजीको खाना खाने भनेर नेताहरु आउँछन्,’ उनी भन्छन्, ‘मेरो कुनै पहुँच भएर होइन।’
नेताका छोराछोरी र पूर्व राजपरिवारको रोजाइ पनि कार्की ब्यांक्वेट
राजनीतिक दल र सरकारी निकाय मात्र होइन नेताका छोराछोरी र पूर्वराजपरिवारका सदस्यको विवाह समेत यही ठाउँमा भएका छन्।
पूर्वउपप्रधानमन्त्री भीम रावलका छोराको विवाह, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका छोराको विवाह कार्की ब्यांक्वेटमै भयो। राष्ट्रपति विद्यादेवी भन्डारीका दुवै छोरी र कांग्रेस नेता प्रकाशमान श्रेष्ठका छोराको विवाह यहीँ भयो।
‘उहाँहरु कसैलाई मैले यहाँ आउनुस् भनेको होइन, मेरो पहुँच र चिनजान पनि होइन,’ कार्की भन्छन्।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यलय, नेपाल सरकारका विभिन्न मन्त्रालय, सर्वोच्च अदालत, नेपाली सेना, अख्तियार, महालेखा नियन्त्रण, निर्वाचन आयोग, अमेरिकी र पाकिस्तानी दूतावासले पनि उनकै क्याटरिङ प्रयोग गर्छन्।
भित्तामा टाँसिएका दर्जनौं प्रशंसापत्रका बीचमा औँलाले देखाउँदै कार्कीले भने, ‘यो अमेरिकी एम्बेसीले दिएको प्रशंसा पत्र हो।’
तीन वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहका भान्जा अर्थात् शोभा शाहका छोराको विवाहसमेत यही ठाउँबाट भएको थियो। त्यसबेला शाहको परिवारले नै त्यहीँ खाना खाएको उनले बताए।
माधव नेपालको छोराको विवाहको भोजमा भारतीय बाबा रामदेव आएका थिए। उनीसँग सेल्फी खिच्नेको लाइन लागेपछि भीड नियन्त्रण गर्न मुस्किल परेको थियो।
‘सबैले मन पराएको र मेरो भाग्यले पनि जुराएको हो,’ कार्की हाँस्दै भन्छन्।
एक पूर्व अर्थमन्त्रीले त उनकै हलमा भएको एक कार्यक्रममा ७ मिनेट कार्कीको सफलताको कुरा गरेछन्।
‘त्यस समारोहमा उपस्थित सयौंले त मलाई नमस्कार पो गर्न थाले,’ उनले स्मरण गरे।
सुरक्षा निकायसँग राम्रो सम्बन्ध
१६ वर्षअघि कार्कीले नेपाली सेनाको कार्यक्रममा खाना खुवाउने पहिलो मौका पाएका थिए। त्यो बेला प्यारजंग थापा प्रधानसेनापति थिए। मध्य एयरबेस निर्देशनालयले उडान तालिम लिएका सेनाहरुलाई विमानस्थलमा प्रमाणपत्र वितरण गर्दै थियो।
कार्यक्रममा सेनाका मेजरदेखि जर्नेलसम्म सयौँ उपस्थित थिए। सबैले त्यहाँ खाना खाए।
प्रधानसेनापति थापाले ‘खाना त गजब छ’ भनेर प्रशंसा गरे। त्यही सेवा नै सेनाको मन जित्ने अवसर मिल्यो।
त्यसपछि सेनाका कुनै पनि कार्यक्रममा क्याटरिङ चाहिँदा अरुले मौका पाएनन्। सेनाको वार्षिक उत्सव, सवारी खाना, विदेशी पाहुनाको सत्कार उनले नै गर्छन्।
‘कतिले मलाई पूर्वसैनिक भन्ठान्छन्, कपाल कटाइ, लवाइका कारण होला,’ उनी भन्छन्।
यस्ता सरकारी कार्यक्रम पहिले तारे होटलहरुमा हुन्थ्यो। पछि सरकारले खर्च कटौती गर्न थालेपछि राम्रो सेवा दिने क्याटरिङको खोजी हुन थाल्यो।
‘हाम्रो सर्भिस देखेर नै उहाँहरुले हामीलाई छनोट गर्नु भएको हो,’ उनी भन्छन्।
गृह, रक्षा मन्त्रालयदेखि राष्ट्रियस्तरका सबै क्याटरिङ उनले नै गर्छन्।
स्तरअनुसारको सेवा
खर्चको स्तरअनुसार सेवा पुर्याउन सक्नु नै आफ्नो सफलताको कारक भएको कार्की बताउँछन्।
‘यदि कसैले एक लाख खर्चमा २ सय जनालाई खुवाउनु छ भन्दै आए पनि हामी फर्काउँदैनौँ,’ उनी भन्छन्, ‘धेरै खर्च गर्न नसक्नेलाई उपाय निकालिदिन्छौँ। यति किलो सामान ल्याउनुस् भन्छौँ र त्यसैलाई सकेसम्म राम्रो बनाएर भोज खुवाउँछौँ। म पनि हिजो शून्यमा थिएँ, ती मान्छे देख्दा म त्यही सम्झिन्छु। व्यवसायमा पनि धर्म छ।’
अर्कोतिर अति उच्चस्तरको सेवा खोज्नेलाई त्यसैअनुसारको स्तर निर्धारण गरिदिन्छन् उनी। कसैले २ हजार प्लेटको खाना खुवाउने भनेर अएमा त्यसैअनुसारका सेवा दिन्छन्।
‘कोही क्रिस्टल गिलास प्रयोग गर्ने भन्छन् भने त्यो पनि उपलब्ध हुन्छ,’ उनी भन्छन्, ‘जस्तो सेवा माग्छन्, म त्यस्तै सेवा दिन्छु।’
कोभिडका कारण सुक्यो व्यवसाय
शून्य लगानीबाट सुरु गरेको उनको व्यवसाय अहिले करोडौंमा पुगेको छ। कार्की क्याटरिङ र ब्यांक्वेट दुवै गरी वार्षिक १४–१५ करोडको कारोबार हुने उनले बताए।
कार्की क्याटरिङले वर्षको ७–८ करोडको कारोबार गरिरहेको छ। जसको आफ्नै गाडी, सरसामान छन्।
‘एकै दिनमा ६–७ वटा क्याटरिङ गर्न सक्छौं,’ उनी भन्छन्, ‘ग्राहकले खोजेअनुसारको नेपाली, चाइनिज, इन्डियन, पाकिस्तानी सबै परिकार उपलब्ध गराउन सक्छौँ।’
क्याटरिङमा केही स्थायी जागिरे छन् भने दर्जनौंलाई कन्ट्रयाक्टका आधारमा रोजगारी दिएका छन्। कार्की क्याटरिङमा कोभिड अघिसम्म ९० जना कर्मचारी थिए। कोरोनासँगै अहिले यो संख्या ३० जनामा झरेको उनी बताउँछन्।
यता ब्यांक्वेटमा गत वर्ष ६ करोड ३१ लाख रुपैयाँको व्यवसाय भएको थियो। कोभिड अघिसम्म ३५ जनाले काम गर्थे। अहिले १२ जना छन्।
कोरोना सुरु भएसँगै व्यवसाय सुकेजस्तै भएको उनले बताए।
‘चैतपछि अहिलेसम्म १२–१३ लाखको मात्र काम भएको छ,’ उनी भन्छन्, ‘चर्चा भए पनि अहिले व्यवसाय चलेको छैन।’
आगामी योजना
कार्कीलाई सफलताको घमण्ड छैन। आफ्नै मेहनतले यहाँसम्म आएकोमा उनलाई गर्व छ।
‘मैले राम्रै पेसा गरिरहेको छु भन्ने मलाई लागेको छ,’ उनी भन्छन्, ‘अब मैले यसलाई ठूलो प्रोजेक्टका रुपमा लैजान सक्छु भन्ने आत्मविश्वास पलाएको छ।’
शून्यबाट करोडमा आएका कार्कीले अब अर्बका योजना बुन्दैछन्।
‘मैले अब तारे होटलतिर किन नसोच्ने?’ उनी भन्छन्, ‘अब मेरो सोच त्यतातिर छ।’
साथमा उनको अर्को योजना पनि छ– कृषिमा लगानी गर्ने। ब्यांक्वेट, क्याटरिङमा ठूलो मात्रामा तरकारी खपत हुन्छ। त्यो तरकारी आफैं उत्पादन गर्न सकिन्छ भन्ने योजना उनको छ।
यी सबै योजना र काममा उनलाई छोरा रोशनले सघाइरहेका छन्। छोरालाई यही पेसामा स्थापित गराउन चाहन्छन् उनी। कार्की ब्यांक्वेटको व्यवस्थापनको जिम्मा रोशनले नै लिएका छन्। अहिले होटल म्यानेजटमेन्ट अध्ययन गरिरहेकाका छन् रोशन।
‘छोरो यही पेसामा स्थापित होस् भन्ने मेरो चाहना हो,’ कार्की भन्छन्।
मास्टर्सको तयारी गरिरहेका रोशनले क्याटरिङ, कुकिङ, हाइजेनिक खानाको विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान बटुल्दै छन्।
Shares
प्रतिक्रिया