सानी छँदा आस्था टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने मिस नेपालको फाइनल ध्यान दिएर हेर्थिन्। त्यसबेला उनलाई रहर लाग्थ्यो– म पनि मिस नेपालमा भाग लिन पाए!
जसै उमेर बढ्दै गयो, सुन्दरी प्रतियोगितामा भाग लिने, मोडलिङ गर्ने, र्याम्पमा हिँड्ने उनको रहर पनि बढ्दै गयो।
त्यही रहर पुरा गर्न उनी मिस टिन प्रतियोगितामा सहभागी भइन्। पछि, मिस नेपालमा पनि भाग लिइन्। जसमा उनले ‘मिस कन्फिडेन्ट’को उपाधि समेत हात पारिन्।
तर, बालापनदेखि साँचेको मोडलिङको सपना बिसाएर आस्था साखःले पुस्तैनी व्यवसाय सम्हाल्ने निर्णय गरेकी छन्। अहिले मुलुककै प्रतिष्ठित व्यावसायिक घराना साखः ग्रुपको कार्यकारी निर्देशकको भूमिकामा छिन् उनी।
पुसको अन्तिम दिन। भक्तपुर राधेराधेस्थित साखः ग्रुपको कार्यालयमा उनी फाइल पल्टाइरहेकी थिइन्। कोरोना महामारीका कारण लामो समय अवरुद्ध व्यवसायलाई कसरी गति दिने भन्ने योजना बनाइरहेकी छन्।
आस्था स्कुल र कलेजमा छँदा बास्केटबलको राम्रो खेलाडी थिइन्। उनलाई हामीले सोध्यौँ– बास्केटबल र मोडलिङमा नाम कमाउँदै गर्दा कसरी व्यवसायतिर लाग्नुभयो?
‘बच्चैदेखि मेरो वरिपरि व्यवसायकै कुरा हुन्थ्यो,’ आस्था भन्छिन्, ‘पारिवारिक वातावरणले कताकता व्यवसाय गर्छु भन्ने लाग्थ्यो।’
हुन पनि उनको परिवारले व्यवसाय सुरु गरेको तीन पुस्ता भइसकेको छ। आस्थाका हजुरबुबा गणेशभक्त साखः ९३ वर्ष पुगिसकेका छन्, जसले पारिवारिक व्यवसायको बिउ रोपेका थिए।
गणेशभक्तले सुरु गरेको व्यवसायलाई उनका पाँच छोरा– किरण साखः, तेज साखः, स्व. प्रभाव साख, विश्व साखः र ज्योतिप्रकाश साखःले अगाडि बढाए। उनीहरुले नै त्यसलाई मुलुककै एक प्रतिष्ठित व्यावसायिक घराना साखः ग्रुपमा परिणत गरे।
अहिले साखः ग्रुपको व्यवसायलाई अगाडि बढाउने जिम्मेवारी तेस्रो पुस्तामा सर्दैछ। त्यही जिम्मेवारीलाई काँध थाप्न तयार हुँदैछिन् २५ वर्षीया आस्था।
साखः ग्रुपअन्तर्गत नेपाल पेन्ट्स इन्डस्ट्रिज, साखः स्लिट, केमिड्रग इन्डस्ट्रिज, साखः मेटल इन्डस्ट्रिज, युनिसा पोलिजेम्म इन्डस्ट्रिज छन्।
त्यस्तै, साखः ग्रुपले होटलमा पनि लगानी गरेको छ। रवि भवनमा रहेको होटल क्राउन इम्पेरियलमा उनीहरुले लगानी गरेका छन्।
साखः ग्रुपले कृषिमा पनि लगानी बढाउँदै छ। अर्घाखाँचीको गोरुसिंगेमा उनीहरुले कृषि परियोजना थालेका छन्। केही समयअघि मात्रै झापाको सुरुङ्गामा फनपार्क सञ्चालनमा ल्याएका छन्।
अहिले आस्थाले नेपाल पेन्ट्सको जिम्मेवारी सम्हालेकी छिन्। नेपाल पेन्ट्सको उत्पादन सुरु भएको २५ वर्ष भइसकेको छ। आफू नजन्मिँदै सुरु भएको व्यवसायको नेतृत्व अहिले उनले हाँकिरहेकी छन्।
तीन वर्षअघि आस्थाका बुबा प्रभाव साखःको निधन भयो। यतिबेला बुबा नभए पनि परिवारका अन्य सदस्यको पूर्ण साथ पाएकी छन् उनले। परिवारको यही सहयोगकै कारण साखः ग्रुपको यति ठूलो जिम्मेवारी आफूले लिन सकेको उनको भनाइ छ।
‘परिवारमा व्यावसायिक वातावरण भए पनि त्यसलाई निरन्तरता दिन र सफल हुन मेहनत चाहिन्छ,’ उनी भन्छिन्।
मिस नेपालमा सहभागिता
स्कुल पढ्दै गर्दा आस्थाले मिस नेपालका लागि पनि तयारी गरिरहेकी थिइन्। त्यसैका लागि उनी मिस टिन २०१२ मा सहभागी भइन्। मिस टिन प्रतिस्पर्धामा शीर्ष सातसम्म पुगेर उनले ‘मिस स्पोर्ट्स’को टाइटल समेत जितेकी थिइन्।
‘मिस नेपालको तयारीको लागि भनेर मोडलिङका विभिन्न वर्कसपमा पनि भाग लिएँ,’ उनी भन्छिन्।
२०१८ मा उनले मिस नेपालमा भाग लिइन्। जसमा ‘मिस कन्फिडेन्ट’ जितेपछि सञ्चारमाध्यममा उनको चर्चा बढ्यो।
त्यही वर्ष मिस एसिया प्यासिफिकमा नेपालको प्रतिनिधि भएर फिलिपिन्स जाने मौका पाइन्। सो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनले फिलिपिन्समा तीन साता बिताइन्।
‘रमाइलो भयो, विदेशी साथीहरु पनि बने,’ उनी सम्झिन्छिन्।
उनलाई अन्तर्राष्ट्रिय स्तरमा भाग लिने अर्को मौका पनि आयो। त्यही वर्ष मलेसियामा ‘मिस इन्टरनेसनल’मा भाग लिने निमन्त्रणा आयो।
मोडलिङ उनको रुचिको विषय हो। तर, नेपालको सन्दर्भमा खासै राम्रो हुन नसकेको उनको बुझाइ छ। केहीले यस क्षेत्रमा राम्रो गरिरहेको भए पनि आफूले जमेर काम गर्न सक्छु भन्ने उनलाई लागेन।
‘यसलाई निरन्तरता दिन सक्दिनँ होलाजस्तो लागेपछि मैले धेरै समय दिन छाडेँ,’ उनी भन्छिन्, ‘मोडलिङमा आएपछि अभिनय गर्नेदेखि धेरै काम गर्न सक्नुपर्छ। त्यो मेरो वशको कुरा थिएन।’
तैपनि उनले यो क्षेत्रलाई चटक्कै बिर्सिन भने सकेकी छैनन्। बेलाबेलामा ‘फोटो सुट’ गरिरहन्छिन्।
व्यवसायमा भने उनलाई आत्मविश्वास थियो।
‘मैले कुन क्षेत्रमा राम्रो गर्न सक्छु, मलाई थाहा हुन्छ,’ उनी भन्छिन्, ‘ काम नै गर्न नसक्ने क्षेत्रमा लागेर हुँदैन। बिजनेस नै मेरो लागि उपयुक्त हो भन्ने मैले बुझेँ।’
व्यवसायमा उनलाई पारिवारिक सहयोग पनि छ। घरमा अनुभवी मानिसहरुको कुनै कमी छैन।
‘यो के हो, कसरी गर्ने भनेर बुबा, काका, दाइहरुबाट सिक्न पाउँछु,’ उनी भन्छिन्, ‘मेरा हरेक पाइलामा सहयोग गर्ने मान्छे भएकाले पनि यसलाई मैले अगाडि लैजानु पर्छ भन्ने लागेको हो।’
व्यवसायिक क्षेत्रमा महिला नेतृत्व निकै कम छ। अझै पनि नेतृत्वमा पुग्न महिलाका लागि अनेकौँ बाधा रहेको अनुभवीहरुले बताउँदै आएका छन्। यसका लागि सबैभन्दा पहिले महिलाले आत्मविश्वास बढाउन सक्नुपर्ने आस्था बताउँछिन्।
‘समाज अहिलेसम्म पनि पुरुषप्रधान छ। विभिन्न समस्याहरु तेर्सिन सक्छन्। तर, समस्यासँग कसरी जुध्ने भन्ने कुरा सबैभन्दा पहिला आफूमा भर पर्छ,’ उनी भन्छिन्, ‘आफूले अडान लिनु पर्छ। अडान लिन सकेन भने कुल्चिने मान्छेले कुल्चिदिन्छ।’
हरेकले त्यस्तो अडान लिनसके महिलालाई हेप्ने वातावरण बदलिने उनको बुझाइ छ।
बास्केटबल खेलाडी
कक्षा ८ पढ्दादेखि उनले बास्केटबल खेल्न थालेकी हुन्। कक्षामा सबैभन्दा अग्लो भएका कारण बास्केटमा उनको रुचि पैदा भएको थियो। बिहानबिहान यससम्बन्धी प्रशिक्षण पनि लिन्थिन्।
स्कुलमा हुने टुर्नामेन्टमा उनको टिमले मेडल जितेकै हुन्थ्यो। प्लस टू पढ्दा खेल्ने क्रम अझ धेरै बढ्यो। उनी कलेज भर्ना हुनेताका नासा इन्टरनेसनल भर्खर सुरु हुँदै थियो। नासाले विभिन्न क्षेत्रका क्षमतावान विद्यार्थीलाई आफ्नो कलेजमा विभिन्न सुविधा दिएर तानिरहेको थियो।
आस्थालाई पनि कलेजले नै प्रस्ताव राख्यो।
‘स्कुलमा खेल्दादेखि नै हामीले तिमीलाई चिनिसकेका थियौं,’ कलेजको प्रस्ताव थियो, ‘हाम्रो कलेजमा आउँछौ भने शुल्कलगायतमा छुट दिन्छौं।’
बास्केटबल उनको ‘प्यासन’ थियो। कलेजले नै त्यही क्षमता बुझेपछि उनी नासामै भर्ना भइन्। उनीसँग बास्केटबल खेलेर जितेका मेडलहरु धेरै छन्।
‘कसैकसैले किनेर ल्याएको हो भन्नुहुन्छ,’ उनी हाँस्दै भन्छिन् ‘हरेक खेलमा विजेता वा उपविजेता पक्कै हुन्थ्यौँ।’
दिदीबहिनीको स्टार्टअप– आर्टिस्टा
कोरोना भाइरस संक्रमणपछि नेपालमा पनि लकडाउन भयो। लकडाउनका सुरुवाती दिन त घरमै बसेर बिताइन् उनले। लकडाउन लम्बिँदै गयो। यसलाई कसरी सदुपयोग गर्ने भनेर उनी सोच्न थालिन्।
‘हामीले के सोच्यौँ भने नेपालीको आफ्नै ब्युटी ब्रान्ड छैन,’ आस्था भन्छिन्, ‘बाहिरको उत्पादन पनि धेरै महंगो छ। यस क्षेत्रमा केही गर्न सकिन्छ होला।’
आस्थाकी बहिनी प्रतिष्ठा ‘मेकअप आर्टिस्ट’ हुन्। यस क्षेत्रमा प्रतिष्ठाको राम्रो दक्खल छ। लकडाउनको समय सदुपयोग गर्न दिदीबहिनी मिलेर ‘आर्टिस्टा’ नामक नेपाली मेकअप ब्रान्ड सुरु गरेका छन्।
‘यो हाम्रो स्टार्टअप हो,’ आस्था भन्छिन्, ‘यसलाई हामीले भर्खर सुरु गरेका छौं।’
यसमार्फत उनीहरुले आइल्यासेस, आइलाइनर, मेकअप ब्रसजस्ता सामग्री ल्याएर व्यवसाय सुरु गरेका छन्।
भविष्यमा नेपालमै उद्योग खोलेर यी सामग्री उत्पादन गर्ने सोच उनीहरुको छ।
‘तत्कालै उत्पादन सुरु गर्न गाह्रो छ। यो हाम्रो भविष्यको योजना हो,’ आस्था भन्छिन्।
प्रतिक्रिया