दुई दशकअघि अमृत साइन्स क्याम्पसमा पढ्दै गर्दा उनीहरुको समूह बनेको थियो। समूहमा थिए, पाँच साथी। घर कसैको काठमाडौं, कसैको नवलपरासी त कसैको चितवन भएपनि उनीहरुको हित्तचित्त खुब मिल्थ्यो।
छोटो समयमै मिल्ने साथी बनेका पाँचै जना अध्ययनपछि आआफ्नै बाटो लागे। चार साथीहरु कम्प्युटर साइन्स विषयमा स्नातक सकेर थप अध्ययनका लागि अमेरिकातिर लागे भने पाँचौँ साथी यदु भट्टराई स्वदेशमा व्यवसाय गर्न थाले।
अध्ययन र व्यवसायको लागि टाढाटाढा भए पनि साथीहरुबीचको सम्बन्ध टुटेको थिएन।
झन्डै दुई दशकपछि ती पाँच साथीहरु पुनः एकै ठाउँमा आइपुगेका छन्– व्यवसाय गर्न। पाँचै जना मिलेर ई–कमर्स प्लाटफर्म मुुकुन्डो डटकम सुरु गरेका छन्।
गएको हप्ता तामझामसहित मुकुन्डो डटकम सुरु भइसकेको छ। नायिका स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडर बनाउँदै बजार प्रवेश गरेको मुकुन्डो डटकमलाई नेपालको ‘अमेजन’ बनाउन चाहन्छन् एक संस्थापक यदु एन भट्टराई।
‘मुकुन्डो नाम हामीले अमेजन जस्तो चिनाउन चाहन्छौं,’ आइतबार मुकुन्डोको कीर्तिपुर कार्यालयमा यदुले भने, ‘हामी नामले होइन, कामले मुकुन्डोलाई चिनाउन चाहन्छौं।’
ई–कमर्सको लागि नेपालको बजार सानो छ भन्ने गरिन्छ। तर, एकपछि अर्कोे लगानी बढिरहेको छ। अन्य क्षेत्रमा स्थिति निराशाजनक भए पनि प्रविधिमा राम्रो भइरहेको उनीहरुको विश्लेषण छ।
‘भोलिका दिनमा नेपालको अनलाइन बजार राम्रो हुन्छ भनेर नै हामीले यसमा हात हालेका हौँ,’ यदु भन्छन्।
यसका लागि पाँच साथी मिलेर डेढ करोड रुपैयाँ लगानी गरेका छन्। २० जना कर्मचारी छन्। अन्य कर्मचारी पनि थप्दै छन्।
लकडाउनको अवधिमा नेपाली उपभोक्तालाई अनलाइनमा सामान किन्ने बानी परेको छ। उनीहरुलाई लाग्यो यो नै सही समय हो अनलाइन बिजनेसमा लाग्ने।
बजारमा अनलाइन सपिङदेखि सुपर मार्केट धेरै छन्। ग्रामीण क्षेत्रमा सेवा पु¥याउन गाह्रो छ। यसले गर्दा नाफामा जान केही समय लाग्ने उनीहरुको अनुमान छ।
अहिलेदेखि नै बजारमा गएपछि पुरानासँगसँगै स्थापित हुन सकिन्छ भन्ने उनीहरुको विश्लेषण छ।
अमृत क्याम्पसका ती पाँच साथी
अस्कल क्याम्पसबाट छुटेर चार जना अमेरिका गएपछि पनि आपसमा सम्पर्क कायम राखेका थिए। अध्ययनसँगै कामका लागि अमेरिका गए पनि नेपालमा केही गर्नुपर्छ भन्ने सोच उनीहरुको थियो।
‘के गर्ने त भनेर हामीले सोचिरहेका थियौँ,’ यदु भन्छन्, ‘उहाँहरु चारै जना कम्प्युटर इन्जिनियर भएकाले आईटी सम्बन्धी काम गर्ने निर्णय ग¥यौँ।’
त्यसैका लागि उनीहरुले सन् २०१९ मा एमबिसस (एमबीएसवाइएस) नामक कम्पनी स्थापना गरेका थिए। यस कम्पनीले आईटी, सफ्टवेयर, ई–कर्मस सञ्चालन गर्ने उद्देश्य राखेको छ। अमेरिकामा एमबिसस ग्रुप एलएलसी भनेर कम्पनी दर्ता गरेका छन्।
नेपालमा पनि आईटीको काम गर्ने, नयाँ प्रविधिमा केही गर्न सकिन्छ कि भनेर कम्पनी सुरु गरे। अमेरिकाबाट काम ल्याएर नेपाली इन्जिनियरहरुले गर्ने भन्ने उद्देश्य थियो। तर, कम्पनीले काम सुरु गर्दै गर्दा कोरोना भाइरस महामारी सुरु भयो। त्यो काम अगाडि बढ्न सकेको थिएन।
आईटीको काम ढिला भएपछि ई–कमर्समा लाग्ने निर्णय गरे। उनीहरुसँग लकडाउनको समय पनि थियो। जसले गर्दा उनीहरुले काम गर्न प्रशस्त समय पनि पाए।
‘मुकुन्डोलाई एक वर्षपछि मात्र सञ्चालन गर्ने र अहिले आईटीको काम गर्ने सोच थियो,’ यदु भन्छन्, ‘लकडाउनले आईटीको काम नभएपछि हायर गरेका इन्जिनियरहरुलाई खाली राख्नुभन्दा मुकुन्डोकै काम गर्ने भनेर लागियो।’
अमेरिकामा बस्ने चारै जना कम्प्युटर इन्जिनियर हुन्। अमेरिका फरक फरक स्टेटमा बस्ने उनीहरु विभिन्न कम्पनीमा काम गरिरहेका छन्। त्यसमध्येका एक विकास जैसी ई–कमर्स कम्पनीका निर्देशक हुन्। नवलपरासीका जैसी अमेरिकाको एक प्रतिष्ठित कम्पनीमा काम गरिरहेका छन्।
त्यस्तै, चितवनका मोहनराज कँडेल कन्सल्टेन्सीका निर्देशक हुन्। सुमन राजभण्डारी कम्पनीमा चिफ टेक्नोलोजी अफिसरका रुपमा रहेका छन् भने सञ्जना राजभण्डारी कम्पनीको व्यवस्थापनमा काम गरिरहेकी छन्।
नवलपरासी कावासोतीका यदु भट्टराईले नेपालमा बसेर मुकुन्डो डटकमको बिजनेस र मार्केटिङ लिडरको रुपमा कम गरिरहेका छन्।
‘चारै जना प्रविधिमा लागेका इन्जिनियर भएकाले हामीलाई यहाँ काम गर्न सजिलो भएको छ,’ यदु भन्छन्।
अहिले नै आक्रामक बन्ने योजना उनीहरुको छैन। एकै पटक धेरैै बिक्री गरेर सबैलाई जित्ने भन्दा पनि गुणस्तरीय सेवामा जोड दिन चाहन्छन्। जो ग्राहक उनीहरुसँग पुग्छन्, तिनलाई अर्को ठाउँमा जान नदिने गरी काम गर्ने योजना छ।
‘विस्तारै व्यवसाय बढाउँदै लैजाने योजना छ,’ यदु भन्छन्, ‘भएका ग्राहकलाई सन्तुष्ट पार्ने र रिटेन गरेर राख्ने वातावरण हामी बनाउँछौं।’
केही समयभित्रै मुकुन्डोको मोबाइल एप्लिकेसन आउँदैछ। अहिले त्यसको काम भइरहेको छ। एक वर्षभित्र काठमाडौंबाहिर सेवा सुरु गर्ने योजना उनीहरुले बनाएका छन्।
अरुभन्दा फरक गर्ने योजना
बजारमा स्थापित भइसकेका र भर्खर सुरु भएका अनलाइन सपिङ व्यवसायबीच अहिले चर्को प्रतिस्पर्धा छ। यही अवस्थामा बजारमा छिरेकाले केही न केही नयाँ गर्नै पर्ने हुन्छ।
आफूहरु अरुभन्दा फरक तरिकाले बजारमा प्रवेश गरेको यदुको दाबी छ। त्यसका लागि प्रमुख कुरा ग्राहकप्रतिको विश्वास सिर्जना गर्नु हो। त्यही विश्वास आर्जन गर्न मुकुन्डो डटकमले नयाँ शैलीमा सेवा दिन लागेको छ।
बजारमा रहेका अधिकांश ई–कमर्स कम्पनीहरु ‘मार्केट प्लेस’का रुपमा छन्। मुकुन्डोलाई भने मार्केट प्लेसभन्दा पनि बिक्रेताको रुपमा अगाडि ल्याइएको उनी बताउँछन्।
‘हामी आफैँ बिक्रेता हो,’ उनले भने, ‘हामीले भेन्डरको होइन, मुकुन्डोको बिल दिन्छौं।’
मार्केट प्लेसमा भेन्डरहरुले सामान लिस्टिङ गरेर बेच्न मिल्छ। भेन्डरहरुकै बिलमा ग्राहकले सामान पाउँछन्। मुकुन्डोले भने ग्राहकले अर्डर गरेका सामान आफैँ किनेर बेच्ने हो।
आफैँ सामान बिक्रेता भएपछि ग्राहकले अर्डर गरेकै सामान पाउने यदुको भनाइ छ। भेन्डरले सामान प्याक गर्दा अर्कै सामान दिन सक्ने उनी बताउँछन्।
मुकुन्डोले उपत्यकाका तीन वटै जिल्लामा निशुल्क डेलिभरी गर्नेछ। जतिसुकै मूल्यको सामान अर्डर गरे पनि काठमाडौं, ललितपुर र भक्तपुरमा निशुल्क डेलिभरीको व्यवस्था छ।
ग्राहकलाई आकर्षित गर्न नयाँ ग्राहकले साइनअप गर्दा सय रुपैयाँ बोनसको सुविधा दिइएको छ। त्यस्तै, मुकुन्डोले उपलब्ध गराएको कोडलाई अरु कसैलाई सेयर गरेर उसले सामान किन्यो भने पनि ५० रुपैयाँ बोनस पाउनेछन्।
मुकुन्डोले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै लैजाने योजना बनाएको छ। व्यवसायबाट आएको आम्दानीलाई पिकेडी भन्ने एक संस्थामार्फत बालबालिका शिक्षाको क्षेत्रमा सहयोग गर्ने घोषणा उनीहरुले गरेका छन्।
मुकुन्डोले नेपालमा उत्पादन भएका स्थानीय अर्गानिक वस्तु र विदेशका ब्रान्डेड सक्कली सामानलाई उपभोक्तासमक्ष पु¥याउने पहल गरिरहेको यदुले बताए।
‘जुम्ला, हुम्लाका उत्पादनलाई विदेशका ग्राहकले अर्डर गर्ने र उनीहरुलाई उपलब्ध गराउने पहल गरिरहेका छौँ,’ उनले भने, ‘अर्कोतिर, विदेशी ब्रान्डेड सामान भन्दै नक्कली सामान बेच्नेको बिगबिगी छ। तर, मुकुन्डोबाट भने विदेशी ब्रान्डका जेनुइन सामानलाई सुपथ मूल्यमा ग्राहकमाझ ल्याउँछौँ।’
यदुको आफ्नै व्यवसाय
चार साथीहरु अमेरिका लागेसँगै यदु नेपालमै व्यवसाय गर्न थाले। नवलपरासी, कावासोतीमा उनी १० वर्षदेखि अटोमोबाइल व्यवसाय गरिरहेका छन। उनले बजाज कम्पनीके टु ह्विलर्स र थ्री ह्विलर्सको शोरुम सञ्चालन गरिरहेका छन्।
‘हामीले भर्खर मात्र भारतमा उत्पादन भएको पियोर इलेक्ट्रिक स्कुटर इम्पोर्ट सुरु गरेका छौं,’ यदुले भने।
त्यस्तै, उनले ६ वर्षदेखि दरबारमार्गमा मातृभूमि टुर्स एन्ड ट्रेर्डस् ट्राभल एजेन्सी पनि सञ्चालन गरिरहका छन्। यस एजेन्सी मार्फत विभिन्न देशको टुर प्याकेजको काम गरिहेका छन्। कोरोना संक्रमण सुरु भएसँगै पर्यटन क्षेत्र प्रभावित छ। व्यवसाय ठप्प प्रायः छ।
‘बीचमा यो व्यवसाय सञ्चालन गर्न निकै गाह्रो भयो,’ यदु भन्छन्, ‘पर्यटन क्षेत्र पुरानो लयमा फर्कन अझै एकडेढ वर्ष कुर्नुपर्छ।’
कृषि व्यवसायमा समेत उनले हात हालेका छन्। कावासोतीमा कुखुरा पालन गरिरहेका यदुले संयुक्त कृषि फार्ममार्फत थप लगानी विस्तार गर्दैछन्।
‘४ बिघा जग्गा लिइसकेका छौं,’ उनी भन्छन्, ‘त्यहाँ फलफूल, कागती लगाउने तयारी गर्दैछौँ।’
कुखुरा, भैँसी पालन गर्ने र पछि एग्रो टुरिजमको रुपमा विकास गर्ने लक्ष्य उनको छ।
व्यवसायलाई विविधिकरण गर्नुपर्छ भनेर आईटी क्षेत्रमा हात हालेको उनको भनाइ छ। उनी कृषि, पर्यटन र प्रविधिलाई सँगसँगै अगाडि बढाउने योजनामा छन्।
प्रतिक्रिया