मेगा बैंकको नेतृत्व सम्हाल्दै गर्दा अनुपमा खुञ्जेलीले भनेकी थिइन्, ‘बैंक भनेको अंकको खेल हो।’
‘ब्यालेन्स सिट’को त्यो अंकले सीईओको सफलता र असफलतालाई प्रस्ट्याइदिन्छ।
पहिले कार्यवाहक र पछि प्रमुख कार्यकारी (सीईओ) का रुपमा उनले मेगा बैंक हाँकेको वैशाखमा तीन वर्ष पुग्दैछ। अनुपमाले भनेझैँ अंकको खेलमा उनी अब्बल दरिएकी छन्। यस अवधिमा बैंकका प्रगतिका सूचकहरु निरन्तर उकालो लागिरहेका छन्।
तीन वर्षअघिसम्म २७ वटा वाणिज्य बैंकमध्ये अन्तिमबाट तेस्रोमा रहेको मेगा अहिले शीर्ष दशमा पुगेको छ। बैंकका हरेक प्यारामिटरहरुले सकारात्मक ‘सर्किट’ लगाइरहेका छन्। गएको पाँच वर्षमा मेगा बैंकको कम्पाउन्डेड एभरेज ग्रोथ रेट (सीएजीआर) समग्र वाणिज्य बैंकहरुको औसतभन्दा दोब्बर छ।
अनिल शाह मेगाबाट बाहिरिएपछि मेगा व्यवस्थापनले अनुपमालाई विश्वास गर्यो। सीईओ आफैँमा ‘सेलेब्रिटी’ पदका रुपमा चिनिन्छ। त्यसमाथि मेगा जस्तो ठूलो वाणिज्य बैंक हाँक्ने पदमा आकर्षणसँगै अनेक चुनौती थिए। अनुपमाले ती सबै चुनौतीलाई सहजै सामना गरिरहेकी छन्।
मुलुकका २७ मध्ये २६ वाणिज्य बैंकका प्रमुख पुरुष छन्। त्यही भीडमा उनी मेगा बैंकको सीईओका रुपमा छिरेकी थिइन्। त्यो क्षण आफैँमा कोशेढुंगो थियो।
त्यसयता उनको नेतृत्वमा बैंकले ठूलो छलाङ हानेको छ। यो सफलताको एउटा प्रमुख कारण महिला नेतृत्व भएको अनुपमा बताउँछिन्।
हुन पनि हो, मेगा बैंकको सिनियर म्यानेजमेन्ट टिममा दशमध्ये पाँच जना महिला छन्। ती सबै महिला अत्यन्त महत्वपूर्ण जिम्मेवारीमा छन्।
‘बैंकिङ क्षेत्रमा महिलाहरुले काम त गरिरहेका छन्, तर सिनियर म्यानेजमेन्टमा विरलै मात्र पुगेका छन्,’ अनुपमाले भनिन्, ‘मेगा बैंकमा सिनियर म्यानेजमेन्टमा ५० प्रतिशत महिला छन्। यो बैंकिङ क्षेत्र कै युनिकनेस हो।’
बैंकको सेकेन्ड पर्सन अर्थात् डीसीओ पदमा छिन् रविना देशराज श्रेष्ठ। त्यस्तै, चिफ रिस्क अफिसर प्रज्ञा पाण्डे छिन् भने चिफ अफ ग्लोबल मार्केटिङमा डेनी श्रेष्ठ। चिफ लायबलिटी अफिसर जेनु थापाले डिपोजिटको विभाग हेरिरहेकी छन्।
बैंक महिलाका लागि उपयुक्त ठाउँ भएको उनको बुझाइ छ। काउन्टरदेखि उच्च पदसम्म महिलाले सफल नेतृत्व गर्न सक्छन्। उनलाई लाग्छ– ‘महिलाले ग्राहकको विश्वास आर्जन गर्न सक्छन्।’
महिला पुरुष बराबर साझेदारी भयो भने व्यवसायमा सफलता प्राप्त हुने उनको भनाइ छ।
‘जीवनमा रथको दुई पांग्रा भन्ने चलन पनि छ। त्यही कुरा कुनै संस्था वा व्यवसायमा भयो भने अझ राम्रो प्रतिफल आउँछ भन्ने मेगा बैंकले देखाएको छ,’ अनुपमा भन्छिन्, ‘तर, सिनियर म्यानेजमेन्टमा यस्तो तालमेल हुन धेरै गाह्रो छ।’
अझै पनि महिलालाई सफलता प्राप्त गर्न थुप्रै बाधा र चुनौती रहेको अनुपमाको बुझाइ छ। समाजले अझै पनि महिलालाई समान दृष्टिकोणबाट हेर्न सकिरहेको छैन।
यही अप्ठेरोबीच उच्च पदमा अवसर पाउन कठिन मेहनत गर्नुपर्ने अवस्था महिलाहरुलाई छ।
‘महिलालाई तल्लो तहमा प्रमोसनको लागि सजिल्लो भए पनि म्यानेजर तहमा पुगेपछि त्यत्तिकै गाह्रो छ,’ उनी भन्छिन्।
मेगा बैंकले सुरुदेखि नै महिला नेतृत्वलाई ‘ग्रुम’ गर्दै आएको उनको भनाइ छ। जब बैंक सुरु भयो त्यो बेला ६० प्रतिशत महिला थिए। त्यसपछि ‘मर्जर’ र ‘एक्विजिसन’ हुँदै जाँदा अहिले त्यो अनुपात ४५ प्रतिशतमा झरेको छ।
जब महिलालाई तल्लो तहबाटै प्रोत्साहन गर्दै अगाडि बढाइन्छ, तब नेतृत्वमा पुग्न उनीहरुलाई सहज हुन्छ। मेगा बैंकले सुरुदेखि नै महिलालाई नेतृत्वमा पुर्याउन जसरी पहल गर्यो, त्यसैको प्रतिफल हो– सिनियर म्यानेजमेन्टमा पचास प्रतिशत महिला पुग्नु।
‘१८ कर्मचारी भएको बैंकको सिनियर म्यानेजमेन्टमा आधा महिला पुग्नु आफैँमा गर्वको विषय हो,’ अनुपमा भन्छिन्, ‘यस्तो तालमेल आजको आजै हुने होइन।’
प्रगति नै प्रगति
तीन दशक लामो बैंकिङ करिअरमा पछिल्लो तीन वर्ष मेगाको नेतृत्वमा प्राप्त गरेको सफलताबाट अनुपमा सन्तुष्ट छिन्। उनलाई थाहा छ, बैंकको प्रगतिबारे आफू बोलिरहनु पर्दैन, अंक बोल्छ।
गएको पाँच वर्षमा मेगा बैंकको सीएजीआर औसतभन्दा दोब्बर छ। सीएजीआरमा निक्षेप प्रगति, लेन्डिङ र नाफा प्रतिफल हेरिन्छ।
‘यी तीनवटै प्यारामिटरमा मेगा बैंकको कम्पाउन्डेट ग्रोथ रेट २७ वटा बैंकको एभरेजभन्दा दोब्बर छ,’ अनुपमा भन्छिन्, ‘गएको तीन वर्षमा हामीले कठिन कामहरु सम्पन्न गरेका छौँ।’
यसको जस उनी बोर्डको भिजन र कर्मचारीको लगावलाई दिन्छिन्।
‘म यो तीन वर्षको बैंकको प्रगतिमा सन्तुष्ट छु। हामी पुछारबाट टप १० मा परेका छौँ,’ उनी भन्छिन्, ‘यो मेरो भूमिकाले मात्र होइन, बोर्डको भिजन र सम्पूर्ण कर्मचारीको लगावले पनि हो।’
बैंकको निक्षेप १३५ अर्बभन्दा माथि पुगिसकेको छ भने १२७ अर्ब ‘लेन्डिङ’ पुगेको छ। आठौँ वर्षमा नै १ अर्बभन्दा धेरै नाफा निकाल्ने पहिलो बैंकको रुपमा मेगालाई चिनिन्छ। ११ वर्ष हुदा बैंकको नाफा २ अर्ब नाघ्दै छ।
‘नाफाको हिसाबले हेर्ने हो भने यो वर्ष २ अर्बभन्दा धेरै हुनेमा ढुक्क छौँ,’ उनी भन्छिन्, ‘नाफा मात्र होइन, बैंकको बनोट अलि फरक किसिमको छ। बैंकिङ साक्षरता देशव्यापी फैलाउनु पर्छ भनेर भिजन ल्याइएको हो।’
मध्यमस्तरका व्यक्तिले लगानी गरेको यस बैंकको पुँजी अहिले १४ अर्बभन्दा बढी पुगिसकेको छ। ११ लाखभन्दा धेरै ग्राहक मेगासँग जोडिएका छन्। ५८ जिल्लामा २०६ शाखा पुगेका छन्। यो वर्षको अन्त्यसम्म ६४ जिल्लामा पुर्याउने लक्ष्य छ।
मेगा २०१९ मा ‘बैंक अफ दि इयर’बाट सम्मानित पनि भयो। दश वर्षको अवधिमा बैंकको व्यवस्थापन र सञ्चालनको मूल्यांकन गर्दै फाइनान्सियल टाइम्सले उक्त सम्मान गरेको खुञ्जेली बताउँछिन्।
अनुपमा सीईओ नियुक्त हुँदा बैंकको सेयरको मूल्य १७० रुपैयाँ थियो। त्यो अहिले २९० रुपैयाँ पुगेको छ। बैंकले लगानीकर्तालाई यो वर्ष १३.०५ प्रतिशत बोनस दिएको छ।
अब ‘बैंक फ्रम होम’
आफ्नो दायरा विस्तार गर्दै जाँदा मेगाले डिजिटल बैंक बनाउनतर्फ ध्यान दिएको छ। समयको माग र ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर डिजिटल प्लाटफर्महरुलाई प्राथमिकतामा राखेको अनुपमा बताउँछिन्।
‘हामीले यो काम पैसा बचाउन भनेर सुरु गरेका थियौँ,’ उनी भन्छिन्, ‘तर, जब लकडाउन सुरु भयो यसले ठूलै सहयोग गर्यो।’
महामारीसँगै काम गर्ने प्रणालीमै परिवर्तन आएको छ। ‘वर्क फ्रम होम’ को अवधारणा सुरु भयो। घरमै बसेर काम गर्दा पनि प्रभावकारी हुँदो रहेछ भन्ने प्रमाणित भयो।
यससँगै ‘बैंक फ्रम होम’ भन्ने अवधारणा पनि आएको छ। अब बैंकको जुनसुकै काम घरबाटै गर्न सक्ने व्यवस्था गर्नु अनिवार्यजस्तै हुँदैछ।
त्यही आवश्यकतालाई पुरा गर्न मेगाले ‘च्याटबोट’ ल्याएको छ। यो बैंकको वेबसाइटमा च्याटबाट ग्राहकका प्रश्नको जवाफ दिने प्रणाली हो।
त्यस्तै, टिक बैंकिङ भन्ने छ। कुनै निक्षेप राख्न, ऋण लिन परेमा टिक गरेर बैंकलाई जानकारी गराउन सकिन्छ। बैंकले तुरुन्त सम्बोधन गर्नेछ।
भिडियो अकाउन्ट ओपनिङ पनि बैंकले ल्याएको छ। मोबाइल बैंकिङ, क्यूआर कोड, आईपीएसबाट हुने भुक्तानी, ब्रान्चलेस बैंकिङ सबै हुँदाहुँदै मेगाले भिडियो अकाउन्ट ल्याएको हो।
‘केवाइसीले गर्दा एक पटक फेस टु फेस त हुनै पर्छ,’ अनुपमा भन्छिन्, ‘तर धेरै काम गर्न अब बैंक धाउन नपर्ने भइरहेको छ।’
राष्ट्र बैंकले ‘बिग मर्ज’ सम्झाइरहेको छ
अनुपमाको पहिलो कार्यकाल सकिन अब एक वर्ष बाँकी छ। उक्त समयभित्र बैंकले गर्नुपर्ने धेरै महत्वपूर्ण कामहरु छन्। उदाहरणका लागि राष्ट्र बैंकले ‘बिग मर्ज’ सम्झाइरहेको छ।
यसअघि दुई साना बैंकलाई आफूमा गाभेको मेगा आउँदो वर्ष बिग मर्जमा जान सक्छ। चार वर्षअघि बनाएको पाँच वर्षको रणनीतिक योजनाको चौथो वर्ष चल्दै छ। त्यसले तय गरेको हरेक प्यारामिटर अनुपमाले प्राप्त गरिरहेकी छन्।
अब यही वर्ष अर्को पाँच वर्षको ‘रणनीतिक योजना’ बनाउनु पर्ने छ। जसले आगामी पाँच वर्ष बैंकलाई कहाँ पुर्याउने भन्ने लक्ष्य निर्धारण गर्नेछ।
‘प्रत्येक पलमा राम्रो गर्नुपर्ने चुनौती हुन्छन्,’ अनुपमा भन्छिन्, ‘२४ औं स्थानमा रहेको बैंक अहिले टप १० मा आइपुगेको छ। अब दश बैंकलाई कसरी उछिन्ने भन्ने लक्ष्य हुनेछ।’
राष्ट्र बैंकको नियमअनुसार दोस्रो कार्यकालको सम्भावना उनीसँग छ।
यसरी सुरु भयो बैंकिङ करिअर
सन् १९८५ मा सेन्ट मेरिज स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनले दिल्लीको सीएसकेएम पब्लिक स्कुलबाट १२ कक्षा पुरा गरिन्। त्यसपछि उनलाई भारतमा बस्न मन लागेन। काठमाडौं फर्केर शंकरदेवमा स्नातक पढिन्।
उनलाई बैंकको जागिर खाने रहर थियो तर बैंक सिमित थिए। हिमालयन, स्टान्डर्ड चार्टर्ड, नबिल बैंक जस्ता केही मात्र थिए।
त्यो बेला चलेको बैंकमा पर्थ्यो, स्टान्डर्ड चार्टर्ड। उनी त्यही बैंकमा असिस्टेन्ट तहमा प्रवेश गरिन्।
‘त्यो बेलाको तलब १ हजार ८ सय थियो,’ उनी भन्छिन्, ‘असिस्टेन्ट लेभलबाट जागिर सुरु भयो।’
म्यानेजर तहसम्म पुगेपछि १३ वर्षको स्टान्डर्ड चार्टर्डको यात्रा टुंग्याउँदै उनी नबिलमा गइन्।
‘नबिलमा केही नयाँ गरौं भन्ने लागिरहेको थियो,’ त्यो समय सम्झिँदै उनी भन्छिन्, ‘थप अध्ययन गर्दै केही नयाँ काम गर्नतिर लागेँ।’
नबिलमा ‘इनकम जेनेरेटिङ युनिट’ र उनकै नेतृत्वमा नबिल इन्भेस्ट पनि स्थापना भयो।
जागिर सुरु भएपछि मास्टर्स पढ्ने उनको धोको पुरा हुन सकेको थिएन। बैंकको प्रमोसन खानसमेत स्नातकोत्तरको आवश्यकता पर्ने भयो। त्यही महसुस गरेर अनुपमाले ४० वर्षको उमेरमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा एमबीए गरिन्।
यता नबिलमा छैठौँ वर्षमा काम गर्दैगर्दा मेगा बैंक आउने भनेर चर्चा भइरहेको थियो। नयाँ बैंकमा राम्रा मान्छे ल्याएर राम्रो गर्ने लक्ष्य मेगा बैंक व्यवस्थापनको थियो।
अनुपमा डीसीओ अर्थात् सीईओभन्दा तलको पदमा मेगा बैंकमा आइन्। सो पदमा रहेर उनले सम्पूर्ण बैंकिङ र व्यवसाय हेर्ने मौका पाइन्। त्यही मौकालाई सदुपयोग गर्दै उनी सीईओ पदमा पुग्न सफल भइन्।
तीन दशकको अवधिमा टेलरबाट सुरु भएको उनको बैंकिङ यात्रा सीईओमा पुगेको छ। आफ्नो क्षमतालाई पूर्ण प्रयोग गर्दै हरेक पदमा उनले राम्रो प्रतिफल निकाल्न सकेकी छन्।
यो सफलतामा आफ्नो मेहनत र बैंकको व्यवस्थापनसँगै पारिवारिक सहयोगलाई पनि उनी उच्च स्थान दिन्छिन्।
‘बैंक भनेको धेरै समय दिनु पर्ने पेसा हो। परिवारको सहयोगबिना त्यो समय निकाल्न गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘यस मामिलामा म भाग्यमानी छु।’
बुबाआमा, सासुससुरा र पति रवीन्द्रले उनलाई हरपल साथ दिएको उनको भनाइ छ।
प्रतिक्रिया