दरबारमार्गस्थित वान दरबार मलको चौथो तलामा रङरोगन र इन्टेरियर डिजाइनको काम चलिरहेको छ।
पाँच हजार स्क्वायर फिटको यो ठाउँलाई चिटिक्क बनाउन लागिपरेका छन्, हिमालयन जाभाका सञ्चालक गगन प्रधान।
सधैँ क्याजुअल ड्रेसमा देखिने प्रधानको हातमा कफी छ। पुरानो नारायणहिटी दरबारको गेटैमा रहेको यो नयाँ कफीसपलाई ‘खास’ बनाउन चाहन्छन् उनी।
‘यो हिमालयन जाभाको नयाँ शाखा मात्र होइन,’ उनले कफीसपको डिजाइन देखाउँदै भने, ‘यो हिमालयन जाभाको नयाँ सुरुवात हो। यो नेक्स्ट लेभलको हुनेछ।’
२१ वर्षअघि हिमालयन जाभा नामबाट प्रधानले कफीसप सुरु गरेका थिए। अहिलेसम्म काठमाडौंमा मात्र ३४ भन्दा धेरै शाखा र फ्रेन्चाइज खुलिसकेका छन्।
दरबार मार्गमा तीन हप्तापछि खुल्ने कफीसपले हिमालयन जाभाको नयाँ अध्याय सुरु गर्ने उनको भनाइ छ।
‘२० वर्षको व्यवसाय, अस्ट्रेलिया अध्ययन सबैलाई राखेर निकालिएको निचोड हो नयाँ हिमालयन जाभा,’ प्रधानले नेपालखबरसँग भने, ‘डिजाइन, मेन्यु, वातावरण, अपरेसनलगायत सबै फरक अनुभव हुनेछ।’
‘हाम्रो राष्ट्र हाम्रो कफी’ थेगोसहित सुरु हुन थालेको यस कफीसपमा ३ करोडभन्दा धेरै लगानी भइसकेको छ।
मार्च २१ देखि फुड टेस्टिङ सुरु गरेर २८ तारिखदेखि औपचारिक सुरुवात गर्ने योजनामा छन् गगन प्रधान।
रमणीय दृष्य, अभि सुवेदी टेबल
चौथो तलाबाट देखिने वरिपरिको दृश्य साँच्चिकै रमणीय छ। यसलाई ‘सुनमा सुगन्ध’ थपिएको प्रधान बताउँछन्।
‘ल हेर्नुस्, अलि खुलेको बेलामा हिमालको सबै रेन्ज देख्न सकिन्छ,’ हातले डाँडापारि देखाउँदै उनले भने।
आँखैअगाडिको नारायणहिटी दरबार संग्रालयले सबैको ध्यान तान्ने छ। दरबारवरिपरिको हरियालीले अझ रमाइलो थपेको छ। दरबारमार्गको सडक, ट्राफिक र चहलपहल पनि माथिबाट स्पष्ट देख्न सकिनेछ।
‘लेखपढ गर्न चाहने मान्छेको लागि यो उपयुक्त ठाउँ हुनेछ,’ उनी भन्छन्, ‘यहाँ घण्टौँ बिताउन कुनै अप्ठेरो हुने छैन।’
वर्षौँदेखि हिमालयन जाभाको कफी खाइरहेका सिनियर ग्राहकलाई सम्मान गर्न चाहन्छन् उनी। त्यस्ता ग्राहकमध्ये एक हुन्– १४ वर्षदेखि नियमित हिमालयन जाभा धाउने प्राध्यापक अभि सुवेदी।
प्रधानले एउटा बन्दै गरेको टेबलतिर लगे हामीलाई। जसलाई उनले ‘अभि सुवेदी कम्युनल टेबल’ नाम दिने योजना बनाएका छन्। डिजाइन कस्तो बनाउने उनी सोचिरहेका छन्।
‘कफीसपमा कम्युनल टेबल धेरै पपुलर छ,’ उनी भन्छन्, ‘अभि सुवेदी कम्युनल टेबल बनाएर मैले यहाँ यसको सुरुवात गर्दैछु।’
उनले हामीलाई तयार हुँदै गरेको किचनतिर लगे। जहाँ बार रुममा जस्तै कुर्सी राखिनेछ। किचनमा सेफसँग कुरा गर्दै ग्राहकले कफी खान सक्नेछन्।
‘के पाकिरहेको छ, कसरी पकाएको छ, सरसफाइ कस्तो छ भनेर आफ्नै आँखाले देख्ने छन्,’ उनले यसको उद्देश्य बताए, ‘यो ग्राहकको विश्वास बढाउनको लागि हो। उनीहरुले नयाँ अनुभव गर्ने छन्।’
विदेशमा किचनमा पकाउनेसँग गफ गर्दै खाने चलन उनले धेरै देखेका छन्। नेपालमा पनि त्यही अनुभव काठमाडौँमा गराउन चाहन्छन् उनी।
यहाँ ब्रेकफास्ट, लन्च र डिनर पनि पाक्नेछ। लन्च र डिनरमा स्यान्डविच, स्पागेटी, प्यानकेक, पेस्ट्रीलगायतका परिकार हुनेछन्।
यस किचनको अर्को विशेषता भनेको ‘साग स्मुदी’ बार हुनेछ।
किचनपछि हामी कफी बार तिर लाग्यौँ। यहाँ दुई वटा कफी बार र दुई वटा कफी मेसिन राखिने छन्।
उनले ल्याउन लागेका यी मेसिन पछिल्लो प्रविधिका हुन्, जुन हालसम्म नेपालमा प्रयोगमा आएका छैनन्। उनले इटालीबाट दुईवटा मेसिन ल्याएका छन्।
मुख्य कफी बारको भित्तामा ‘हिमालयन जाभा’ लेखिने छ। त्यसैको छेवैमा लेखिने छ, ‘हाम्रो राष्ट्र हाम्रो कफी।’
हिमालयन जाभामा पहिलो पटक एचसभ्याक (हिटिङ भेन्टिलेसन एयर कन्डिसनिङ) सिस्टम हुनेछ।
गगनले हामीलाई अर्को कुनामा लगे। जहाँ फिल्टर ब्ल्याक कफीमात्र बन्नेछ। अहिलेसम्म हिमालयन जाभामा तातो पानीमा बन्थ्यो भने अब चिसो पानीमा पनि कफी बन्नेछ। ‘निट्रो कोल्ड ब्रु’ कफी पनि उपलब्ध हुनेछ।
‘चिसो पानीबाट कफी एक्स्ट्रयाक्ट गर्न २४ घण्टा लाग्छ,’ उनी भन्छन्।
यहाँ अरबी र टर्किस कफीको स्वाद पनि लिन पाइनेछ। यो भनेको बनाउने तरिका हो।
कफीसपको अर्को विशेषता भनेको यो मध्यरातसम्म खुल्नेछ। दरबारमार्गमा धेरै रेस्टुरेन्टहरु छन्। त्यहाँ डिनर गर्नेहरु डेजर्टका लागि यहाँ आऊन् भन्ने प्रधानको चाहना छ।
नयाँ हिमालयन जाभाको नयाँ सुरुवात
२१ वर्षअघि हेरिटेज प्लाजामा हिमालयन जाभा सुरु भएजस्तै यो नयाँ कफी सपले हिमालयन जाभालाई नयाँ चरणमा प्रवेश गराउने प्रधानको विश्वास छ। डिजाइन, मेन्यु, अप्रेसन, बारको अवधारणा फरक हुने उनको भनाइ छ।
हिमालयन जाभाको यो मोडल देखेर अरु ५० वटा फ्रेन्चाइज बनून् भन्ने उनी चाहन्छन्।
‘मेरो अहिलेसम्मको हिमालयन जाभाको कन्सेप्टलाई धेरैले नक्कल गरे,’ उनी भन्छन्, ‘यहाँबाट केही नयाँ सुरुवात हुनेछ।’
अरुले यसको नक्कल नगरुन् भनेर उनले कफीसपकोे डिजाइनको पेटेन्ट राइट पनि दर्ता गर्दैछन्।
५ हजार स्क्वायर फिट क्षेत्रफलको यस क्याफेमा एकै पटक १८० जना अट्छन्।
‘यस क्षेत्रमा आउने नयाँ पुस्तालाई यहाँको अनुभव गराउने मेरो सबैभन्दा ठूलो इच्छा छ,’ प्रधान भन्छन्, ‘जसले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई हौसला होस्। उनीहरुले हस्पिटालिटीको क्षेत्रमा आएर ठिक गरेछु भन्ने महसुस गर्न सकून।’
अर्को वर्ष मुलुकभर खोलिने
काठमाडौँमा मात्रै ३४ वटा हिमालयन जाभा शाखा र फ्रेन्चाइज बनाएका प्रधानले यो अभियानलाई मुलुकभर विस्तार गर्ने भएका छन्।
अहिले पनि छ ठाउँमा हिमालयन जाभा निर्माण भइरहेको उनले बताए। तीन हप्ताअघि सातदोबाटोमा सुरु भएको थियो।
‘अर्को वर्षसम्म नेपालभरीको मुख्य सहरमा हिमालयन जाभा खोल्ने योजनामा छु,’ उनी भन्छन्, ‘मलाई विश्वास छ, ती सबै फ्रेन्चाइजमा कन्भर्ट हुनेछन्।’
काठमाडौंमा ३४ सहित अमेरिका, क्यानडा, दार्जिलिङ र ल्हासामा पनि हिमालयन जाभा छन्।
अहिले हिमालयन जाभाको फ्रेन्चाइजको धेरै नै माग रहेको उनी बताउँछन्।
‘पैसा लगानी गरेर मात्र हुँदैन। मेन्टेन गर्न सकेन भने अर्थ हुँदैन,’ उनी भन्छन्, ‘पैसा भएको भन्दा पनि ज्ञान भएको, बुझ्न सक्ने हुनुपर्छ।’
Shares
प्रतिक्रिया