बुटवलका पुराना बस्तीहरुमा क्यामरा बोकेर धेरै पटक घुमेका छन् गणेशदेव पाण्डे। आफू जन्मेको हुर्केको ठाउँ। सहरको कथामा उनको कथा पनि जोडिएको छ।
पुरानो वस्ती, सहरको बनोट र रङले फिल्म निर्देशक पाण्डेलाई सहरको कथा लेख्न प्रेरित गर्यो। कथा बटुल्ने क्रममा ६ वर्षअघि नै उनको आँखामा एउटा घरको दृश्य कैद भयो।
आज त्यही घर उनको कथा बनेको छ। फागुन ४ गते उनले बुटवलको निमचोकमा ‘चियावाला’ ब्रान्डमा चिया पसल खोले। झन्डै २ सय वर्ष पुरानो घरमा चिया पसल खोलेपछि चियावालाको चर्चा बढेको छ।
‘म आफ्नै सहरमा एउटा चिया पसल खोल्न चाहन्थेँ,’ उनी भन्छन्, ‘त्यही क्रममा यस घरमा आइपुगेको हुँ।’
सानैदेखि घुमेको ठाउँ अहिले सुनसान हुँदै गएको थियो। त्यहाँका गल्ली, घर, नेवारी खाजा पसल निकै प्रिय लाग्थे उनलाई। यस ठाउँमा केही गर्न पाए हुन्थ्यो भन्ने उनलाई लागिरहेको थियो।
काठमाडौँ आलोकनगरमा चियावाला खोलेपछि बुटबलमा पनि त्यस्तै पसल खोल्न उनी चाहन्थे।
त्यसपछि उनी सञ्जीव मास्केको यही २ सय वर्ष पुरानो घरमा पुगे।
‘उहाँ (मास्के) लाई पनि यो घरलाई कसरी सदुपयोग गर्ने होला भन्ने लागिरहेको थियो,’ पाण्डे भन्छन्, ‘उहाँलाई पुर्खाको घर संरक्षण भइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो।’
कसरी संरक्षण गर्ने भन्ने आइडिया फेला पर्न सकेको थिएन।
‘मैले उहाँलाई प्रस्ताव राखेँ। यस्तो किसिमका चिया पसल खोलौँ भनेर। उहाँ उत्साहित हुनुभयो,’ पाण्डेले भने, ‘मेरो बारेमा उहाँलाई पनि थाहा थियो।’
पसल खोल्ने निर्णय भएपछि अढाई महिना लगाएर सो घरको रङरोगन गरियो।
फागुन ४ गते चिया पसल खुलेपछि यो ठाउँ पुनर्जीवित भएको महसुस गरेका छन् उनले। शान्त ठाउँमा अहिले मान्छेहरु घर हेर्न जान थालेका छन्। यसले पाण्डेको निर्देशकको परिचय पनि बदलिदिएको छ। चार फिल्म बनाइसकेका उनलाई मानिसहरुले चियावाला भनेर चिन्न थालेका छन्।
चियावालाको कथा
पाण्डेका हजुरबुबाले जीविका चलाउन बुटवलको अमरपथमा चिसा पसल चलाएका थिए। ४३ वर्षअघि उनको बुबाले चिया पसलको बिँडो थामे।
त्यही चिया पसलमा जन्मिए पाण्डे। बुबाको चिया पसल उनलाई मन पर्दैनथ्यो। उनको बाल मस्तिष्कमा यस्तो छाप थियो– ‘चिया पसल गरिबले मात्र चलाउँछन्। अर्को पेसा भइदिए हुन्थ्यो।’
पछि उनी फिल्म मेकिङ पढ्न भारत गए। पढ्दै पाँच वर्ष काम पनि गरे। कहिले बैंगलोर त कहिले कोलकाताका साथीहरुसँग भारतका धेरै ठाउँ घुमे।
तर, जुनसुकै ठाउँ पुग्दा पनि चिया पसलको लोकप्रियता उनले उत्तिकै देखे। जहाँ पनि चिया पसलमा भीड हुन्थ्यो।
‘त्यहाँ विभिन्न स्वादका चिया पकाउँथे, मलाई त्यो रमाइलो लाग्यो,’ उनले भने, ‘यो त गर्न सकिने काम रहेछ, किन मैले गरिनँ भन्ने लाग्यो।’
भारतबाट फर्केपछि फिल्म बनाउनतिर लागे। स्क्रिप्ट तयार भयो। नाम पनि जुर्यो गाँजाबाजा। फिल्ममा राजनीतिक व्यंग्य थियो।
त्यो कथा तत्कालीन ‘शासक’ले थाहा पायो। ‘फिल्म बनाएर समाज बिगार्नी?’ उनलाई भनियो, ‘फिल्म बनाउन पाउँदैनस्।’
चलचित्र विकास बोर्ड र सरकारले फिल्ममा रोक लगायो। गाँजाको फिल्म बनाउन लागेको भन्ने आरोप लगाइयो। तर, वास्तवमा फिल्ममा भएको राजनीतिक व्यंग्य राज्यलाई मन परेको थिएन। अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाइको भन्दै उनी मुद्दामामिलामा लाग्यो।
तर, मुद्दा फैसला हुन लामो समय लाग्यो। दुई वर्षमा पनि फैसला भएन। एकातिर खर्च, अर्को तिर आफ्नो व्यवसायमा लाग्न सकेनन् उनी।
‘म मानसिक तनावमा परेँ,’ गणेश भन्छन्, ‘राज्यको रवैया देखेर मलाई डिप्रेसन जस्तो भयो।’
फिल्म बनाउन सकिन्छ भन्ने लाग्न छोड्यो उनलाई।
‘फिल्म बनाउन पनि विरक्त लाग्यो। यो फिल्म मेरो सबै जीवन त होइन नि भन्ने लाग्यो,’ उनले सुनाए, ‘अर्को केही गर्न पनि सक्छु भन्ने भयो।’
निराशालाई कम गर्न उनी विपश्यना गए। दश दिनको ध्यानले मनलाई केही शान्त बनायो।
हीनताबोध, फिल्म बनाउन नपाएको पिर, सबैथोकलाई एकै पटक चिर्न उनी एउटा टुंगोमा पुगे– ‘म चिया पसल खोल्छु।’
‘तिमीहरुले फिल्म बनाउन दिँदैनौ भने चिया बनाउन त दिन्छौ होला नि?’ उनको मनले भन्यो, ‘हेरौँ मलाई चिया बनाउन कसले रोक्छ।’
उनीसँग धेरै लगानी थिएन। उनले काठमाडौँको आलोकनगर ठाउँ रोजे।
उनी लागत कम र सिर्जना बढी देखिने उपायको खोजीमा थिए। प्रयोग गरेर फालेका सामानलाई जम्मा गर्न थाले। सिपिङ कन्टेनरमा चिया पसल बनाए। घरमा प्रयोग गरेको फ्रिज ल्याए। फालेको टीभीलाई टेबल बनाए। रचनात्मक हिसाबले सानो चिया पसललाई पनि राम्रो बनाउन सकिन्छ भनेर लागे।
‘६० प्रतिशत प्रयोग भएका सामान प्रयोग गरेको छु,’ उनी भन्छन्, ‘जुन सामान मसँग भावनात्मक रुपमा पनि जोडिएका छन्।’
त्यो ठाउँ बनाउन साथीभाइ, कलाकारहरुले धेरै साथ दिए।
आलोकनगरको सुनसान ठाउँ। ‘कस्तो ठाउँमा चिया पसल खोलेको,’ कतिले गाली पनि गरे।
जब उनी जान्ने भए, बुबाले छोराछोरीका लागि चिया पसल खोलेका हुन् भन्ने थाहा पाए।
‘मैले खोलेको चिया पसल पनि बुबाप्रतिको सम्मान हो,’ उनी भन्छन्।
हजुबुबा, बुबाले हिँडेको बाटो हिँड्दा उनलाई आज गर्व छ।
‘बुबाले अमरपथमा चिया पसल चलाउँदा मलाई हीनताबोध थियो भने आज मलाई चियावाला भन्दा गर्व छ,’ उनी भन्छन्, ‘अहिले मैले खुलेर चियावाला भन्न पाएको छु।’
‘चियावाला’ नाममा घरबाट अलिकति असन्तुष्टि नआएको होइन। तर, उनले कुनै कुरा सुनेनन्।
आज उनी ७४ वर्षीय बुबाको आँखामा खुसीको झल्को देख्छन्।
घनश्याम चिया
बुबाप्रतिको त्यही सम्मानका कारण उनले बुबाको नाम चियाघरको मेन्युमा पनि राखेका छन्।
‘बुबालाई ट्रिब्युट गर्न चियाको मेन्युमा उहाँको नामको चिया राखेँ,’ उनी भन्छन्, ‘त्यो चियाको नाम हो, घनश्याम चिया।’
घनश्याम चिया सादा चिया हो, जसमा दूध, चिनी र चियापत्ती मात्र हुन्छ। उनका बुबा पनि त्यस्तै चिया मन पराउँछन्।
चियाघरमा ग्राहकले आफ्नो चाहनाअनुसार चिया अर्डर गर्न सक्छन्। जसलाई उनले नाम दिएका छन्– ‘मेरो खुसी, मेरो चिया।’
मसला भए नभएको, चिनी कम वा कडा, रंग गाढा वा कम, जस्तो मन पर्छ त्यस्तै अर्डर गर्ने मेन्यु हो ‘मेरो खुसी, मेरो चिया।’
त्यस्तै, तराई चिया पनि उपलब्ध छ।
हजुरआमाको नाममा अर्को चिया छ। हजुरआमालाई चिनी ट्वाक्क, मसालेदार, नुनिलो, अमिलो मन पर्ने भएकाले त्यसको सम्मिश्रण रुपमा चियाको नाम राखेका छन्, ‘मनरुपा चिया।’
चिया व्यवसायमा लागेपनि उनी फिल्मलाई निरन्तरता दिन चाहन्छन्।
‘स्क्रिप्ट तयार छ। सायद अब फिल्म बनाउने काम अगाडि बढ्छ कि?’ उनी आशावादी छन्।
प्रतिक्रिया