बुबाले बुटवलमा व्यवसायको रजगज चलाइरहेका बेला प्रशान्त घिमिरे कम्प्युटर प्रोग्रामिङको काम गर्थे।
उनका बुबा तुल्सी घिमिरेले २५ वर्षअघि सुरु गरेको व्यवसाय विस्तार हुँदै थियो।
‘व्यवसाय बढ्दै गयो, अब यसैमा लाग्नु पर्यो,’ तुल्सीले छोरा प्रशान्तलाई भने।
प्रशान्त बुबाको आग्रहमा सकारात्मक थिए तर व्यवसायमा कसरी प्रवेश गर्ने, उनी अलमलमा परे।
बुबाको परम्परागत शैलीभन्दा केही नयाँ तरिकाले काम गर्न चाहन्थे प्रशान्त।
‘मलाई सम्पूर्ण उत्पादनको दश प्रतिशत दिनुस् म आफ्नै तरिकाले व्यवसाय सुरु गर्छु,’ प्रशान्तले बुबासँग प्रस्ताव राखे।
प्रशान्तको उद्देश्य थियो, कुल उत्पादनको दश प्रतिशतलाई आफ्नै ‘चेन’ बनाएर व्यापार गर्ने, आफ्नै ब्रान्ड स्थापना गर्ने।
त्यसबेला तुल्सीले बुटवलमा चिउरा, भटमासको मस्यौरा, मुस्ली, कन्फ्लेक्स, बेसन, ओट्स्लगायतका खाद्यान्न उत्पादन गरिरहेका थिए। उनीहरुले सलाई पनि उत्पादन गरिरहेका थिए। ती वस्तु उत्पादनको दश प्रतिशत प्रशान्तले जिम्मा लिए र हाइलाइफ नामक ब्रान्डमा बेच्न थाले।
२९ वर्षे प्रशान्त आईटी क्षेत्रमा निपुण थिए। त्यो क्षमतालाई उनले व्यवसायमा प्रयोग गर्न थाले।
‘दुई वर्षको अवधिमा मैले सम्पूर्ण उत्पादनलाई हाइलाइफ ब्रान्डमा बेच्ने अवस्थामा पुर्याएको छु,’ बुधबार काठमाडौंको आफ्नै कार्यालयमा कुरा गर्दै प्रशान्तले भने, ‘अहिले हामी सबै उत्पादन हाइलाइफ ब्रान्डमा बिक्री गरिरहेका छौँ।’
बुबाले लामो समयदेखि उत्पादन गरिरहेको वस्तुलाई उनले छोटो समयमै ब्रान्डका रुपमा स्थापित मात्र गरेरनन्, नेपाली उत्पादनलाई विश्व बजारमा समेत पुर्याउन सफल भए।
अहिले उनी मुख्यगरी हाइलाइफ ब्रान्डका चिउरा र मस्यौरा निर्यात गरिरहेका छन् भने कर्नफ्लेक्सलाई भारतमा निर्यात गर्ने अन्तिम चरणमा छन्।
चिउरा र मस्यौरा निर्यात
चिउरा उत्पादनमा हाइलाइफ मुलुककै अग्रणी ब्रान्डमा पर्छ।
उनले ताइचिन र सुपर फाइन चिउरा विभिन्न मुलुकमा निर्यात गरिरहेका छन्। भारतीय चिउरासँग प्रतिस्पर्धा गर्न ‘सुपर फाइन’ भनेर विशेष खालको चिउरा उत्पादन गरिरहेका छन्। यो हेर्दा राम्रो र छुट्टै स्वाद भएको उनले बताए।
हाइलाइफ ब्रान्डका चिउरा अस्ट्रेलिया, जापान, हङकङ, भारत, बेलायत र अमेरिकामा गइरहेका छन्। यी देशमा उनीहरुले आफ्नो एजेन्ट नै राखेर बिक्री गरिरहेका छन् भने सानो परिमाणमा बेल्जियमजस्ता केही युरोपेली मुलुकमा पनि खपत भइरहेको छ।
अमेरिकामा सञ्चालित झन्डै ३ हजार भारतीय स्टोरहरुमा यी चिउरा पुर्याउने उनको योजना छ।
‘चिउरा र मस्यौरा तेस्रो देशमा सञ्चालनमा रहेका भारतीय स्टोरमा बढी बिक्री हुन्छ,’ प्रशान्तले भने, ‘हाम्रा लक्षित उपभोक्ता नेपाली, भारतीय, बंगलादेशी र पाकिस्तानीहरु हुन्।’
२०७२ सालदेखि नै चिउरा उत्पादन सुरु गरिएको भए पनि सन् २०१९ को अप्रिलदेखि हाइलाइफ ब्रान्डमा बिक्री गर्न थालेको उनले बताए।
अहिले नेपालबाट वार्षिक ३ देखि ४ लाख केजी चिउरा निर्यात भइरहेको अवस्थामा उनीहरुको उत्पादन आएपछि ४० प्रतिशतले निर्यात वृद्धि भएको उनले बताए।
हङकङमा रहेका नेपाली उपभोक्ताले प्रायः हाइलाइफ ब्रान्डको चिउरा प्रयोग गरिरहेको उनी बताउँछन्।
‘हङकङका नेपालीले गएको ६ महिना ३० हजार प्याकेट चिउरा प्रयोग गरेका छन्,’ प्रशान्त भन्छन्।
त्यहाँ भारतीय चिउरा पनि प्रयोग भइरहेकोले त्यसलाई प्रतिस्थापन गर्न अर्को ‘भेरियन्ट’ पनि थपेर निर्यात गरिरहेका छन्।
विश्वभरका उपभोक्ताले प्रयोग गर्ने चिउरालाई भारतले पेवा ठान्ने गरेको छ। त्यसैले उसले ठूलो मात्रामा निर्यात गर्ने गर्छ। कोभिडपछि त झन चिउरा खपत तीव्र रुपमा बढिरहेको उनको भनाइ छ।
‘भारतमा भातलाई नै प्रतिस्थापन गर्ने गरी चिउरा खपत भइरहेको छ,’ उनले भने, ‘भारतबाट निर्यात भइरहेको चिउरासँग प्रतिस्पर्धा गर्न हामीले सुपर फाइन चिउरा उत्पादन गरेका छौँ।’
उनीहरुले चिउरा उत्पादनमा प्रयोग गरेको मेसिनदेखि सबै प्रविधि विशेष प्रकारका छन्। चिउरा उत्पादनमा कतै पनि मान्छेले छुन नपर्ने गरी प्रविधिको विकास गरेका छन्। यसको लागि चाहिने मेसिन पनि उनीहरुले आफैँ डिजाइन गरेका हुन्।
‘कहिलेकाही खाद्य विभागबाट अनुगमन गर्न आउँदा तपाईंको जस्तो चिउरा उद्योग कहीँ पनि देखेका छैनौँ भन्ने प्रतिक्रिया दिनुहुन्छ,’ उनले सुनाए।
नेपालको पश्चिम क्षेत्रमा सिँचाइ सुविधा भएको ठाउँमा उत्पादन हुने धान चिउराको लागि प्रयोग गर्छन्। त्यस क्षेत्रमा उत्पादन हुने तराई ताइचिन मकवानपुर धान प्रयोग गरेर चिउरा उत्पादन गरिरहेका छन्।
‘यो धान पाउन पनि गाह्रो हुन्छ,’ उनले भने, ‘त्यही धान पाउन विशेष ध्यान दिइरहेका छौँ,’ उनले भने, ‘नेपालमा चिउरा उत्पादन गर्ने अन्य उद्योगले कुन धान प्रयोग गर्ने भनेर खासै ध्यान दिँदैनन्। ती उद्योगले आयातित धान प्रयोग गरिरहेका छन्।’
‘पहिला प्याकेटवाला चिउराको कन्सेप्ट बजारमा थिएन,’ प्रशान्तले भने, ‘प्याकेटवाला चिउराको सुरुवात हामीले नै गरेको हो।’
साथै, मस्यौरामा पनि आफैँले अनुसन्धान र विकास गरेका छन्।
उनले उत्पादन गरिरहेको ‘मल्टिग्रेन्ड नगेट्स’ भारत, हङकङ र जापानमा निर्यात भइरहेको छ। सानो परिमाणमा अस्ट्रेलियालगायतका केही देशमा पनि निर्यात भइरहेको उनले बताए।
‘यो हामी आफैँले रिसर्च एन्ड डेभलपमेन्ट गरेको युनिक उत्पादन हो,’ उनी भन्छन्, ‘यस्तो अरु कसैको पनि उत्पादन छैन।’
दुई वर्षदेखि उत्पादन भइरहेको मस्यौरालाई मुलुकभित्र भाटभटेनी स्ता ठूला डिपार्टमेन्ट स्टोरमा स्किमसहित बिक्री वितरण पनि गरिरहेका छन्।
पहिला तेस्रो मुलुकमा चिउरा र मस्यौरा पठाउँदा बाटैमा दुईतीन महिना लाग्दा बिग्रिने गर्थ्यो। त्यो समस्या समाधान गर्न लामो समयसम्म नबिग्रने गरी उत्पादन र प्याकेजिकङलाई ध्यान दिएका छन्।
उनीहरुले अहिले बुटवल र भैरहवामा उद्योग सञ्चालन गरिरहेका छन्। त्यसबाहेक अन्य तीनवटा मिल लिजमा लिएर काम गरिरहेका छन् भने काठमाडौंमा डिपो स्थापना गरेका छन्। उत्पादनको ५० प्रतिशत बजार भने काठमाडौँमै छ।
आफैँ उत्पादन गर्नेबाहेक नेपालका अन्य उद्योग र भारतका केही उद्योगबाट पनि उनीहरुले आफ्ना सामान उत्पादन गरिरहेका छन्।
भारतको हल्दिराम, शान्ति फुड्सजस्ता उद्योगसँग उनीहरुले सहकार्य गरिरहेका छन्। भारतमा निर्यात गर्न सजिलो होस् भनेर उहीँ उत्पादन गरिरहेको उनले बताए।
नयाँ उत्पादन बिस्कुट, चाउचाउ र पानी
हाइलाइफले नयाँ नयाँ उत्पादन पनि थप्दै गएको छ। अब केही समयमा बिस्कुट उत्पादन गर्ने तयारी छ भने पानी र चाउचाउ उत्पादनका लागि अध्ययन भइरहेको छ।
‘हामीले बजारमा उपभोक्ताको रुचि केमा बढ्दै गएको छ, अध्ययन गरेर उत्पादन थपिरहेका छौँ,’ प्रशान्तले भने, ‘अहिले स्वास्थ्यमा विशेष ध्यान भएकाले सुगर फ्री वा कसरी सुगर कम गर्न सकिन्छ भनेर उत्पादनहरुमा ध्यान दिएका छौँ।’
बिस्कुट उत्पादनको लागि भैरहवाको सिद्धिविनायक उद्योगसँग सहकार्य अगाडि बढाएका छन्।
‘नेपालमा झन्डै ७० देखि ८० लाख केजी बिस्कुट आयात भइरहेको छ,’ उनले भने, ‘यसलाई कसरी घटाउन गर्न सकिन्छ भनेर लागिरहेका छौँ।’
नेपाली बिस्कुटको गुणस्तर राम्रो नहुँदा विदेशबाट आइरहेकोले उच्चस्तरको बिस्कुट उत्पादन गर्ने उनले बताए।
केही समयमा चाउचाउ पनि उत्पादन गर्ने योजना उनीहरुको छ। उनीहरुले उत्पादन गर्ने चाउचाउ भने विदेशी बजारलक्षित हुनेछ।
त्यस्तै, पानी उत्पादनको लागि पनि अध्ययन गरिरहेका छन्। अहिले उत्पादन भइरहेको पानीको बोतलभन्दा विशेष गुणस्तर त्यसलाई फ्रिजमा राखेर पछि पनि पिउन मिल्ने गरी उत्पादन गर्ने प्रशान्तले बताए।
बुबाले ३० वर्षअघि सुरु गरेको व्यवसाय
प्रशान्तका बुबा तुल्सी घिमिरेले झन्डै तीन दशकअघि व्यापारमा हात हालेका थिए। त्यो बेला न्युरोडमा उनको कपडाको पसल थियो। भारत र थाइल्यान्डबाट लुगा ल्याएर न्युरोडमा बेच्थे।
पछि काठमाडौँमै धागो उद्योग पनि स्थापना गरे।
‘काठमाडौँमा भाडामा चलाउनुभन्दा बुटवल घरमै गर्दा राम्रो हुन्छ,’ प्रशान्तका हजुरबाले सुझाए।
त्यसपछि धागो उद्योग बुटवलमा सर्यो। अहिले त्यो उद्योग लिजमा सञ्चालन भइरहेको प्रशान्तले बताए।
‘१५ वर्षयता भने बुबाले कर्नफ्लेक्स पिनट, दालमोठ जस्ता वस्तु उत्पादन गर्न सुरु गर्नु भयो,’ प्रशान्तले भने।
दालमोट उद्योगमा प्रयोग गर्ने विभिन्न कच्चा पदार्थ उनीहरुले उपलब्ध गराउँथे। बुबाले तयार गरेका सामग्री व्यापारीलाई बेच्थे। अन्य व्यापारीले प्याकेजिङ गरेर आफ्नो ब्रान्डमा बेच्ने गरेको प्रशान्तले सुनाए।
अहिले उनीहरुले सलाइ उत्पादन पनि गरिरहेका छन्। जसले नेपालको बजारमा राम्रो हिस्सा ओगटेको छ।
‘बुबाले केही समय झन्डै २ सय आइटम आयात गरेर बिक्री पनि गर्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले उत्पादनमूलक उद्योग मात्र चलाइरहेका छौं।
Shares
प्रतिक्रिया