‘जाभाभित्र
एउटा आकाश
कफीको बास्नाले मात्तिन्छ।’
‘क्या राम्रो हाइकु लेखिएछ बा!’ अभि सुवेदी दंग पर्छन्। हा हा हा गरी लामो हाँस्छन् र भन्छन्, ‘त्यो मात्तिने भनेको हामी नै हो।’
प्राध्यापक डा. सुवेदी हिमालयन जाभा कफीसँग यसरी ‘मात्तिन’ थालेको दुई दशक भयो। हरेक दिनजसो उनी ठमेलको जाभा पुग्छन्।
गतसाता सोमबार पनि जाभा कफी हाउस ठमेलमा थिए उनी। साथमा थिए, उनका विद्यार्थी शिव रिजाल।
सुवेदी ल्यापटपमा काम गर्दै थिए। साथमा कफी। घाँटीमा पावरवाला चस्मा झुन्ड्याएका, सेतै कपाल फुलेका यी बौद्धिक व्यक्तित्वलाई नचिन्ने सायदै छन्।
‘कुन कफी खाने?’ रिजालले हामीलाई सोधे।
हिमालयन जाभा पुगिसकेपछि कफी नखाइ के फर्किनु! त्यसैले भन्यौँ, ‘क्यापाचिनो।’
हामी सुवेदीसँग जाभा, कफी र उनका सिर्जनाका बारेमा गफिन चाहन्थ्यौँ। जाभासँग उनको सम्बन्ध यति गहिरो छ कि थुप्रैले उनलाई हिमालयन जाभाको मान्छे भन्दा रहेछन्।
हिमालयन जाभाप्रति उनको २० वर्षदेखिको यही स्नेहलाई सम्मान गर्दै सञ्चालक गगन प्रधान र आनन्द गुरुङले वान दरबार मलमा अभि सुवेदी ‘कम्युनल टेबल’ समेत बनाएका छन्।
सुवेदीले जाभामा बसेर थुप्रै हाइकु लेखेका रहेछन्। उनले तिनै हाइकुको साथमा हामीलाई आफ्नो कफी–प्रेमबारे सुनाउन सुरु गरे।
दुई दशकअघि शिव रिजाल पीएचडीको तयारीमा थिए। उनका सुपरभाइजर थिए– अभि सुवेदी।
दुवै जना कफीका अम्मली। कफी पिउँदै अनुसन्धान र छलफलमा जुट्न सकिने शान्त ठाउँको खाँचो पर्यो उनीहरुलाई।
‘हामी बौद्धिक काम गर्न सकिने ठाउँको खोजीमा थियौँ,’ सुवेदी भन्छन्।
विश्वविद्यालय पढाएर फर्किंदा ‘मण्डला बुक प्वाइन्ट’ गफ गर्ने थलो बनेको थियो। तर, त्यहाँ धेरै जना जम्मा हुन्थे, अनुसन्धानको काम गर्न उपयुक्त वातावरण थिएन।
सुवेदीका छोरा सलिल गगन प्रधानका साथी थिए। सलिलले बुबालाई सुनाएका थिए, ‘ठमेलमा निकै राम्रो कफी हाउस खुलेको छ नि।’
सुवेदी ठमेल पुगे। नभन्दै त्यो ठाउँ उनले खोजेजस्तै थियो।
‘कफी पनि छ, इन्टरनेट पनि छ, बस्ने शान्त खुला ठाउँ पनि। भनेपछि हाम्रो लागि उपयुक्त ठाउँ थियो,’ रिजाल भन्छन्। उनलाई सम्झना छ, ‘वाइफाइ चलाएको घण्टाको ५०–६० रुपैयाँ लाग्थ्यो।’
समयक्रममा यही कफी हाउसको यही टेबलमा बसेर सुवेदीले कयौँ कविता, हाइकु, नाटक, लेख रचना गरे। रिजालले पीएचडीको थेसिस गरे।
अहिले त उनीहरुको ठेगाना नै हिमालयन जाभा, ठमेल भएको छ। उनीहरुका लागि चिठीपत्र यही ठेगानामा आउँछन्। विदेशीहरु सुवेदीलाई भेट्न यहीँ आउँछन्।
‘जाभाको कविता छ नि, त्यो सुनाउनुस् न। ल्यापटपमै होला,’ रिजालले आफ्ना गुरु सुवेदीलाई आग्रह गरे।
सुवेदी ल्यापटपमा खोज्न थाल्छन्।
‘जाभा सम्बन्धी लेख त कति रहेछन् कति!’ उनी आफैँ छक्क पर्छन्।
हामीले अर्डर गरेको कफी आइपुग्यो।
‘यिनी वसन्त हुन्,’ कफी ल्याउने स्टाफलाई सुवेदीले चिनाए, ‘यिनी पनि हाम्रा परिवारजस्तै हुन्।’
मास्क लगाएका वसन्तको हाँसो सुनियो।
‘ल हाइकु सुनम है,’ सुवेदीले भने।
‘बाहिर अन्तिम झरी
जिउ दुखेको छ
जाभाको कफी खान्छु।’
लामो हाँसोका साथ उनी भन्छन्, ‘मलाई मन पर्यो यो।’
उनी चकित देखिए– ‘ओहो! २०६१ साल कात्तिकमा लेख्या रै’छ!’
त्यो बेला सुवेदी स्प्लेन्डर मोटरसाइकल चढ्थे। त्यही मोटरसाइकल चढेर कीर्तिपुर पढाउन जान्थे। दिउँसो यताउता गरेर साँझतिर जाभा पुग्थे।
झरी निख्रिनै लागेको बेला थियो। रुझ्दै जाभामा छिर्दा उनको जिउ दुखेको थियो। त्यही समयलाई उनले हाइकुमा उतारे।
‘हाइकु सिम्पलबाट प्रोफाउन्डतिर जानुपर्छ भन्ने सिद्धान्त छ,’ उनले हामीलाई जानकारी गराए।
ल्यापटपमा हाइकुको लामै सूची छ। विभिन्न समयमा लेखेका। जसले त्यो समयलाई प्रतिनिधित्व गर्छन्।
उनी अर्को हाइकु सुनाउनतिर लागे।
‘जाभा कफी हाउसमा
धेरै मानिस
झ्याउँकिरी बासेको साँझ।’
जाभामा आउने ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै थियो। जाभाभित्रको मान्छेको झ्याउँझ्याउँलाई उनी बाँसघारीको बिम्ब दिन्छन्।
हिमालयन जाभा सुरु हुँदै गर्दा यहाँको वातावरण यस्तो थिएन। दिनमा दशबाह्र ग्राहक आउँथे। समयक्रमसँगै त्यो संख्या वृद्धि हुँदै गयो। विस्तारै समूह समूहमा मान्छेहरु आए। तर, आउनेहरु सबै कफीको लतले तानिएका थिएनन्। कफीकै पारखी त थोरै नै थिए।
‘थोरै भए पनि बलिया थियौँ,’ सुवेदी भन्छन्, ‘पछि हामीले जित्दै गयौँ। कसरी भने ती मान्छेहरु पछि कफी खानकै लागि आए।’
सुरुसुरुमा उनी कफीसप धाएको देख्दा मानिसहरु आश्चर्य मान्थे।
‘त्यो केटाकेटी जाने ठाउँमा तपाईं किन जानुहुन्छ?’ उनीहरु सोध्थे।
‘पछि बुढाहरु नै लठ्ठी टेकेर ‘वाउ! दिस इज नाइस प्लेस’, ‘ह्वाट अ नाइस स्मेल!’ भन्दै आए,’ सुवेदी लामो हाँसोको साथमा सम्झन्छन्।
यही टेबलमा बसीबसी उनले देखेका छन्– कफी खान आउनेहरुको अनुहार बदलिँदै गएको छ।
उतिबेला एकथरी बाहिर बस्थे– चुरोट खानेहरु। अर्काथरी थिए– डेटिङमा आउनेहरु। त्यो बेला डेटिङमा आउनेहरुले बिहे गरे, छोराछोरी जन्माए। र पनि ती जाभा धाइरहेका छन्।
‘यी बुढाबुढी त मैले कतै देखेकै हुन् भन्ने लाग्छ,’ सुवेदी भन्छन्, ‘उनीहरु बुढा भएछन्।’
माओवादी जनयुद्ध उत्कर्षमा हुँदा सुवेदी अनेकौँ सेमिनारहरुमा भाग लिन्थे। लेख्ने काम व्यापक हुन्थ्यो। त्यसको तयारी उनी यहीँ बसेर गर्थे। बन्द हड्ताल, अशान्ति बिर्सिन पनि उनी यहाँ आउँथे।
काठमाडौंको जनसंख्या बढेसँगै रेस्टुराँ, कफीसप जाने संस्कृति पनि बढ्यो। विस्तारै दलका नेताहरु पनि कफीसपमा आउन थाले। उपराष्ट्रपतिदेखि कांग्रेस, माओवादीका नेताहरु पनि यहाँ आउँथे। तीमध्ये कतिपय सुवेदीलाई नै भेट्न आउँथे।
‘यो पार्टीको मान्छे होइन एकेडेमिसियन हो। उसले लेखेको कुरा काम लाग्छ भन्ने नेताहरुलाई थियो,’ सुवेदी भन्छन्, ‘त्यसैले भेट्न आउँथे।’
कहिलेकाँही नरमाइलो पनि हुन्थ्यो। कतिपय मान्छेहरु अभि सुवेदी त्यहाँ हुन्छन् भनेर समय नलिइकन पनि भेट्न आउँथे।
‘अलिकति डिस्टर्ब गरेँ है सर,’ उनीहरुले भन्थे र घण्टा बिताइदिन्थे।
सेल्फी खिच्नेदेखि किताबको भूमिका लेखिदिनुपर्यो भन्नेहरुसम्मले उनको समय खाइदिएका छन्।
कतिलाई त अभिलाई भेट्ने भनेकै जाभामा हो भन्ने परेको छ।
सुवेदी र रिजाल प्रायः तीनचार बजेतिर कफी हाउस पस्छन्। कहिलेकाहीँ छ–सात बजेसम्म पनि बस्छन्। उनीहरु अनगिन्ती पटक कफीहाउस गए पनि अनेकथरी कफी पिउँदैनन्। २० वर्षदेखि उनीहरुको एउटै कफी छ– हाउस ब्लेन्ड माइल्ड कफी।
‘यो कफी जाभाकै विशेष ब्रान्ड हो,’ रिजाल भन्छन्, ‘गगन आफैँले बनाएका। यो हाम्रो स्वास्थ्यअनुकूल छ। अमेरिकानो वा क्यापाचिनोजस्तो कडा हुँदैन।’
हामी गफसँगै हाइकु पनि सुनिरहेका छौँ।
‘जाभा कफी हाउस
एक जोडी प्रेमी
परेवाको कुहुँ कुहुँ निकाल्छन्।’
‘यो पनि गजब लेखिएको रहेछ,’ लामो हाँसोपछि रसिक भावमा उनले भने, ‘बिर्सिसकेको पो रहेछु त।’
काठमाडौँमा डेटिङ जाने गतिलो ठाउँको अभाव थियो। त्यहीबेला जाभा लोकप्रिय भइरहेको थियो। त्यसैले त्यस्ता धेरै जोडीका लागि जाभा भेटघाटको थलो पनि बनेको थियो।
उनीहरुका मिठा वार्तालाप, भलाकुसारी र हाँसोले जाभालाई तरङ्गित तुल्याउँथ्यो।
त्यस्ता तरुणहरुलाई सम्बोधन गरेर सुवेदीले एउटा हाइकु लेखेका छन्।
‘नानी
जाभा कफी हाउसमा
किन आएकी हँ?’
खुलेआम प्रेम गर्नेहरु मात्र होइन, लुकिछिपी भेटघाट गर्नेहरुको गन्तव्य पनि जाभा नै थियो। नाटकको दृश्यमा झैँ एक भलाद्मीले पत्नीको हातबाट चड्कन खाएको पनि सुवेदीले देखेका छन्।
ती भलाद्मी एक सुन्दरीसँग तातो कफी पिउँदै थिए। उनीहरु गफैगफमा मस्त थिए।
त्यत्ति नै बेला शानदार, सलसल गर्ने बंगाली रेशमको साडी लगाएकी, टाउको माथि कालो चस्मा अड्याएकी एक महिला कफी हाउसभित्र छिरिन्।
सरासर त्यही टेबलमा पुगिन्। एक नजर हेरिन् अनि ‘चड्याम्म’ भलाद्मीको गालामा एक चड्कन लगाइन्।
‘हिँड!’ उनले ढोकातिरको बाटो देखाउँदै भनिन्। भलाद्मी खुरुक्क गए।
सँगै कफी खाँदै गरेकी युवती हेरेको हेर्यै।
‘नाम भन्नु हुँदैन,’ स्वर अलि सानो बनाउँदै सुवेदी भन्छन्, ‘उनी प्रतिष्ठित मानिस हुन्। एक जेन्टलम्यान।’
‘हा हा हा,’ उनी हाँस्छन्, ‘त्यतातिर नजाऊँ है। हामी त हाइकुको सौन्दर्यतिर जाने हो।’
उनले अर्को हाइकु फेला पारिसकेका थिए।
‘जाभामा युवाहरु
सपना छरेर
अँध्यारोमा टिप्छन्।’
‘अब अर्को बबाल आउँदै छ, सुनम है’ सुवेदीले हात उठाए।
‘शिव
यसै कफी हाउसमा
निकै दौडेछन्।’
हा हा हा... लामो हाँसो।
यो हाइकु उनले आफ्नै विद्यार्थी शिव रिजालका लागि लेखेका हुन्। जोसँग भेट भएदेखि नै सँगै जाभामा जान थालेका थिए।
‘मैले १९९९ मा पीएचडीको प्रपोजल बनाएको थिएँ,’ रिजाल भन्छन्, ‘२००० बाट काम सुरु गरियो। त्यहीबेलादेखि यहाँ आउन सुरु भयो।’
त्यसयता उनीहरुको साथ छुटेको छैन। सन् २००४ को अन्तिमतिर उनले पीएचडी अनुसन्धानको काम सके। त्यहीँ बसेर संज्ञा थिएटर ग्रुप बनाए।
जाभासँगको यति लामो नाता कायम रहनुको प्रमुख कारण थियो– सुवेदी र रिजाल दुवैमा रहेको कफी–प्रेम।
सुवेदीले बेलायतमा पढ्दा कफीहाउस संस्कृतिका बारेमा राम्रो जानकारी पाएका थिए। कफीहाउस, कफी–संस्कृतिबारे लेखिएका साहित्य पढेका थिए।
एडिनबरा पुगेको केही महिनामै उनले थाहा पाए– ‘एडिनबरामा त कफी हाउसको परम्परा धेरै पुरानो रहेछ।’
हाइस्ट्रिट भन्ने पुरानो सडक थियो। पुराना ढुंगाका घरहरु बचाएर राखिएका। ‘कफी हाउसले मात्तिन्छ’ भन्ने उनको हाइकुजस्तै हावामै तरंगित बास्नाबाटै सुवेदीले कफी हाउसको ठेगाना पत्ता लगाए।
हुन त कफी अलिकति महंगो हुन्थ्यो। तर, उनलाई चिन्ता थिएन, ब्रिटिस काउन्सिलले छात्रवृत्ति दिन्थ्यो।
‘मलाई कफी खान खासै समस्या थिएन,’ उनले भने, ‘त्यो ढुंगाको घरमा तातो, न्यानो कफी खाएर बस्थेँ।’
यता रिजाल पनि कफीको स्वादसँग परिचित भइसकेका थिए।
मण्डला बुक प्वाइन्टमाथि एक अस्ट्रियन नागरिकले रेस्टुराँ चलाउँथे। उनले युरोपबाटै कफी लिएर आउँथे। त्यो कफी तमाखुजस्तै मगमगाउँथ्यो। अस्ट्रियनले धेरै नेपालीलाई कफी खान सिकाए। त्यसमध्येका एक थिए– रिजाल।
कफीको विषयमा पनि सुवेदी र रिजालको कुरा मिल्यो।
त्यो बेला कफीका पारखी अत्यन्त कम थिए। कफीअनुरागी रिजाललाई भेटेपछि सुवेदीले आफ्नै छोरा फेला पारेजस्तो महसुस गरे।
रिजाल पनि सुवेदीलाई बुबा मान्छन्, बुबा भनेरै बोलाउँछन्।
‘मेरो निम्ति शिवलाई भेट्नु भनेको कफीको पारखी, विद्यार्थी र पछि छोरा भेट्नु बराबर भयो,’ सुवेदी भन्छन्।
‘गगन
आकाश र मानिस
दुवैको नाम हो।’
यो सुवेदीले जाभाका सञ्चालक गगन प्रधानमाथि लेखेको हाइकु हो।
उनीहरु कफी खाइरहँदा गगन बेलाबेला टेबलमा आइपुग्छन्।
‘अंकल के खाऊँ? के सेवा गरौँ?’ जोसिलो आवाजमा सोध्छन्।
सुवेदीलाई गगनको यो बानी मन पर्छ।
‘गगन कस्ता भने सबैको भलो चिताउने,’ सुवेदी प्रशंसा गर्छन्।
गगनले केही नयाँ गर्दैछन् भने उनीहरुले थाहा पाइहाल्छन्। गगन नयाँ कामको लागि सल्लाह पनि लिन्छन्। गगनलाई थाहा छ– कफी हाउसको बारेमा उनीहरुलाई जति थाहा अरुलाई छैन।
कतिसम्म भने सुवेदी र रिजालले कफीहाउसमा गगन र आनन्दभन्दा धेरै समय बिताएका छन्।
आफ्नो कफीहाउसमा एक लेखक वर्षौँदेखि नियमित आइरहनुलाई गगन पनि शुभ ठान्छन्।
‘शुभ पनि कुन अर्थमा भने कफीसँग यस्तै मान्छे जोडिन्छन् भनेर हो, राम्रो व्यापार हुन्छ भनेर होइन,’ सुवेदी भन्छन्।
व्यवसायमा आफू सफल भइरहँदा गगनले अरु थुप्रैलाई सफलताको बाटो देखाएका छन्। यसका साक्षी हुन् सुवेदी र रिजाल।
दुई दशकमा धेरै युवाले यहाँ काम गरेको उनीहरुले देखेका छन्। तीमध्ये कतिपय आफैँ कफी सप खोल्न सक्ने भए।
‘हामी नदी किनारका माझी जस्तै भयौँ,’ सुवेदी भन्छन्, ‘जाभा नदी भयो, हामी माझी। हेर्ने माझी।’
उनले जाभामा काम गरेका अर्जुन नामक एक युवाको उदाहरण दिए।
यहाँ काम छाडेका अर्जुनले बत्तीसपुतलीमा कफी हाउस खोलेका छन्। गगनकै परम्परालाई पछ्याउँदै अर्जुनले सुवेदीलाई सो कफीहाउस उद्घाटन गर्न लगाएका थिए।
‘उनको कफी हाउस मैले नै उद्घाटन गरेको हुँ,’ सुवेदी सगर्व भन्छन्, ‘यिनले स्टाफलाई जहिल्यै हाँसीखुसी राखे। सबैको प्रगति होस् भन्ने उनको चाहना हुन्छ।’
‘मलाई साह्रै मन परेको अर्को हाइकु आउँदै छ,’ सुवेदीले हामीलाई सूचित गरे।
‘जाभामा
एक दिन आइनँ भने
मन्डिखाटारका जुनकिरी रिसाउँछन्।’
‘हा हा हा, क्या हाइकु रहेछ,’ उनले मक्ख पर्दै थपे।
‘कफी भनेको खालि पेय पदार्थ मात्र होइन। यो त एउटा संस्कृति पनि भयो,’ उनी भन्छन्, ‘अनि त्यही संस्कृति यिनै हाइकुले समातेका रहेछन्, मलाई साह्रै खुसी लाग्यो।’
आफ्नो विचारमा पनि कफी र जाभाको ठूलो प्रभाव देख्छन् उनी। त्यसमाथि उनका थुप्रै सिर्जनाहरुको रचनागर्भ जाभा नै हो।
कति नाटक यहीँ ‘सेटिङ’ गरेर घरमा ‘डाइलग’ लेखेका छन्। सेमिनार पेपर यहीँ तयार पारेका छन्, सयौँ पुस्तक पढेका छन्।
गगनले पनि कफीलाई व्यवसायको रुपमा मात्र लिएका छैनन्।
जर्मन दार्शनिक योर्गेन हबरमासले सार्वजनिक वृत्तसम्बन्धी सिद्धान्त प्रतिपादन गरेका छन्। उनले १८ औँ शताब्दीमा बुर्जुवा सार्वजनिक वृत्तको जन्म कसरी भयो भनेर विस्तृत अध्ययन गरेका छन्। उनको अध्ययनअनुसार सार्वजनिक वृत्त फराकिलो हुनुमा कफी हाउसहरुको महत्वपूर्ण भूमिका छ।
कफी सबैभन्दा सुरुमा अफ्रिकामा उत्पादन भएको मानिन्छ। त्यो मध्यपूर्व हुँदै १७ औँ शताब्दीमा युरोप पुग्यो। लन्डनमा कफीसप खुल्न थाले। मानिसहरुले त्यसलाई मन पराए। कफीसपमै बसेर लामालामा गफ हुन थाले।
त्यहाँ भएका कुराहरु ‘ह्यान्ड प्रेस’ले छापेर हातले बाँड्दै गए। ती कुरा एकअर्कामा सञ्चार हुन थाले।
‘यसरी पो ‘स्फेयर’ बढ्दै जाँदो रहेछ भनेर हबरमासले सार्वजनिक वृत्त भन्ने सिद्धान्त प्रतिपादन गरे,’ सुवेदी भन्छन्।
यो कुरा गगनलाई थाहा भएकै कारण उनले यो व्यवसायलाई निरन्तरता दिइरहेका छन् भन्ने सुवेदीलाई लागेको छ।
‘नेपालमा यस्तो मान्छे पाउनु दुर्लभ हो,’ सुवेदी भन्छन्, ‘व्यवसाय त सबैले गर्छन्। स्फेयर बढ्छ भनेर यी केटाहरुले बुझ्नु त्यही नै मलाई मन पर्ने कुरा हो।’
जाभा अहिले थुप्रै लेखक, एकेडेमिसियन, पत्रकार, व्यवसायी, आदिको साझा थलो बनेको छ।
गगन काभ्रे, गुल्मीलगायतका ठाउँमा उत्पादित स्थानीय कफीको प्रयोग गर्छन् र तिनलाई निर्यात पनि गर्छन्। यस्तो खालको व्यवसाय चाहिँ नेपाली अर्थतन्त्रको लागि गतिलो आधारशिला भएको रिजालको बुझाइ छ।
‘आर्टको लागि चाहिएको पनि यस्तै सोलिड फाउन्डेसन हो। नेपाल–बेस्ड फाउन्डेसन हो,’ उनी भन्छन्।
जब आफ्नो नाममा टेबल बनाउने योजना गगनले सुनाए, तब सुवेदी झस्किए।
‘मजस्तो अराजक मान्छेको नाममा किन टेबल चाहियो?’ उनलाई लाग्यो।
फेरि सोचे– ‘यो त हामीजस्ता व्यक्तिप्रति गगनको विश्वास हो।’
लेखकको नाममा टेबल बनाउनु भनेको यस्ता मान्छेप्रति समाजमा रहेको अविश्वासलाई तोड्नु पनि हो भन्छन् उनी।
जाभाले कफी–संस्कृतिलाई मात्र होइन, सिर्जना–संस्कृतिलाई पनि प्रबद्र्धन गरिरहेको सुवेदीको ठहर छ। त्यसैले उनी खुसी छन्। अझै थुप्रै वर्ष जाभा धाइरहने उनको मनसाय छ।
र, विदा हुँदै गर्दा उनले अन्तिम हाइकु सुनाए।
‘सबै हिँडेपछि
जाभामा लुकेको एउटा तार
एक्लै बज्छ।’
Shares
प्रतिक्रिया