Nepal Khabar TV


अछाममा रोकिए बालेनका सारथी

अछाममा रोकिए बालेनका सारथी

बालेन्द्र शाह (बालेन) र भूपदेव शाह।


लोकेन्द्र भट्ट
फागुन २४, २०८२ आइतबार २१:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सुनामी आउँदा पनि अछाम-२ मा भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का मुख्य सारथी भूपदेव शाह पराजित भएका छन्। 

नेकपा (एमाले) का यज्ञबहादुर बोगटीले ९ हजार ५१८ मत ल्याएर विजयी भएका छन्। कांग्रेसका पुष्पबहादुर शाह ९ हजार ४६ मत ल्याएर दोस्रो हुँदा नेकपाका बलबहादुर कुँवर ६ हजार ४९३ मत प्राप्त गरी तेस्रो भए।रास्वपाका भूपदेवले ४ हजार ५६२ मत ल्याएर चौथो बन्न पुगे। 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा रास्वपा निष्प्रभावी देखियो। अछाम-१ मा रास्वपाका ओमप्रकाश रावलको जमानत जफत हुँदा अछाम-२ मा बालेनका साथी नै चौथो भए। अछामको सदरमुकाम रहेको मंगलसेन नगरपालिका-४ का भूपदेव बालेनलाई स्थापित बनाउन निर्णायक भूमिका खेलेका मुख्य व्यक्ति मानिन्छन्। 

भूपदेवका बुवा नृपबहादुर शाह २०४७ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा सक्रिय भए। उनी दुई पटक राप्रपाको जिल्ला अध्यक्ष बनेका थिए। 

अछाममा चुनावी प्रचारका क्रममा बालेन र भूपदेव शाह।

२०५५ सालपछि भूपदेवका बुवा नृपबहादुर कांग्रेसतिर लागेका थिए। राप्रपा छाडेर बुबाले कांग्रेस रोजे पनि भूपदेव भने वैकल्पिक राजनीतिको बाटोमा लागेका थिए।

बुवाले वैकल्पिक राजनीतिमा भविष्य नदेखे पनि भूपदेवले परम्परागत राजनीतिमा समाधान नदेखेर २०७१ सालमा उज्जवल थापा नेतृत्वको तत्कालीन विवेकशील दलमार्फत वैकल्पिक राजनीतिको औपचारिक यात्रा सुरु गरेका थिए।

बालेन र भूपदेवको मित्रता

मंगलसेन नगरपालिका-४ मा रहेको राधा माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका भूपदेवले मंगलसेनको दीपशिखा इङलिस बोर्डिङ स्कुलमा कक्षा ४ र ५ पढेका थिए। त्यसपछि पढाइका लागि काठमाडौँको एलायन्स एकेडेमीमा भर्ना भए। 

२०६३ सालमा काठमाडौँको एलायन्स एकेडेमीमा भूपदेव कक्षा ६ मा पढ्दा बालेन सोही विद्यालयमा कक्षा १० मा पढ्थे। उनीहरूको कक्षा फरक भए पनि अतिरिक्त क्रियाकलापले निकटता बढायो। सामाजिक अभियान र वैकल्पिक राजनीतिको खोजी बालेन र भूपदेवको साझा यात्रा बन्यो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र राजनीतिक बाटो रोज्दा भूपदेव मुख्य सारथी बने। बालेन काठमाडौँ महानगरपालिकाको मेयरको यात्रामा भूपदेवले सक्रिय भूमिका निर्वाह गरे। काठमाडौँ महानगरको मेयर पदको निर्वाचन अभियान सञ्चालन र स्थानीयस्तरबाट आएका सुझावको प्रतिक्रिया विश्लेषण भूपदेवले गर्थे। 

बालेन मेयर बनेपछि भूपदेवलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिए। २०७९ जेठबाट २०८२ माघ ४ गतेसम्म प्रमुख स्वकीय सचिव बनेर सहयोग गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समायोजन प्रक्रियामा उनी निर्णायक भूमिकामा थिए। बालेनको समूहबाट रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत भइसकेका भूपदेवको नाम सहमहामन्त्रीका रुपमा अगाडि आएको थियो। निर्वाचनको तयारीमा जुटेपछि रास्वपामा समायोजनको प्रक्रिया रोकिएको छ। 

बालेन झापा-५ बाट उम्मेदवार बन्दा भूपदेवले गृहजिल्ला अछामको निर्वाचन क्षेत्र नम्बर २ रोजे। बालेनलाई प्रधानमन्त्रीको रूपमा अगाडि बढाउँदा आफू प्रत्यक्ष रूपमा जनताबाट जितेर नै आउनुपर्छ भन्ने भूपदेवको चाहना थियो। रास्वपाले अछाम-२ को टिकट पनि दियो।

चुनावी अभियानका क्रममा बालेन आफै पनि मंगलसेनस्थित भूपदेवको घरसम्म पुगेका थिए। अछामका ग्रामीण बस्तीमा भूपदेवको व्यापक चर्चा पनि थियो। तर, चुनावी प्रतिस्पर्धा भने नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भयो। 

काठमाडौँको बसाइ र पढाइले अछाममा अपरिचत भूपदेवले एमाले र कांग्रेसको सांगठनिक पकड भत्काउन सकेनन्। बालेनको लहरले देशभर घण्टी बज्दा भूपदेवको सांसद बन्ने यात्रा अछाम-२ मा तत्कालका लागि टुंगियो। उनी रास्वपालाई दुईतिहाइ नजिक पुर्‍याउने गृहकार्यमा लागेका मध्य एक थिए।रास्वपाको दुईतिहाइको हिस्सा बन्न भने उनी असफल भए। 

देशभर रास्वपाले जितेको भन्दै अछाम-१ मा आफ्नो हार गौण भएको उनको भनाइ छ। ‘हामीले अपेक्षा गरेको मत पाउन सकिएन। देशभर रास्वपाले दुईतिहाइ नजिक पुगेको छ। मेरो जित-हारको प्राविधिक पक्षलाई धेरै जोड नदिनु होला। देशभर रास्वपाले जितेको छ। यो नै मेरो जित हाम्रो जित हो,’ उनी भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad