हङकङस्थित ह्याप्पी भ्यालीमा पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका भारतीय र नेपाली सैनिकको नयाँ समाधिस्थल बनाइएको छ।
आइतबार नयाँ समाधिस्थलमा उनीहरुको योगदानको कदर गर्दै एक कार्यक्रमबीच उनीहरुप्रति सम्मान व्यक्त गरिएको छ। यो कार्यक्रममा ३० जनाभन्दा धेरैको सहभागिता थियो।
भारतीय समुदायका मानिस, वाणिज्यदूत र हङकङ इक्वेल अपच्र्युनिटी कमिसनका अध्यक्ष पनि उक्त कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सहभागीले अहिले बनाइएको उनीहरुको नयाँ समाधिस्थल सहरका धार्मिक अल्पसंख्यक समुदायका मानिसको योगदानको प्रतीक रहेको बताएका छन्।
हङकङको ह्याप्पी भ्यालीमा आठ हिन्दू र शिख समुदायका सैनिकको समाधिस्थल बनाइको छ। उनीहरुले दुवै विश्वयुद्धमा बेलायतको लागि हङकङमा युद्ध लडेका थिए।
त्यस्तै रोयल इन्जिनियर्स रेजिमेन्टका दुई नेपाली सैनिक र रोयल गोर्खा राइफल्सका एक सैनिकको पत्नीको समाधिस्थल पनि अन्य ३० आम नागरिकसँगै राखिएको छ।
आइतबार उनीहरुको सम्झनामा दुई मिनेटको मौन धारण गरिएको थियो।
Shares
प्रतिक्रिया