खेलपछि व्यवसायमा जम्दै गरेका सिङ्गापुरे लाहुरेको कथा

विदेश बस्दा सिकेको सीप र कमाएको पैसाको सदुपयोगको उदाहरण
खेलपछि व्यवसायमा जम्दै गरेका सिङ्गापुरे लाहुरेको कथा

मगेन्द्र राई
जेठ १४, २०७९ शनिबार ११:१५, बेलायत

महाभारत पर्वतको काखमा अवस्थित धरान ‘पूर्वको रानी’ उपनामले प्रसिद्ध छ। धार्मिक, सांस्कृतिक र भौगोलिक सुन्दरताले भरपुर धरानलाई ‘लाहुरेहरूको सहर’ समेत भनिन्छ। 

पछिल्लो समय बेलायती सेनामा काम गरेका पूर्वगोर्खा र तिनका परिवारले हङकङ र बेलायतमा आवासीय सुविधा पाएर बसाइँ सर्नेको लर्को लागे पनि धरानको रौनकमा कुनै कमी आएको छैन। 

यही सहरको वडा नम्बर ११ सिर्जना मार्गमा ‘मितेरी स्पोर्ट्स सेन्टर’ छ। ​​

तीन वर्षदेखि सञ्चालित सेन्टरमा बिहान ६ बजेदेखि साँझसम्म कोही फुटसल त कोही ब्याडमिन्टन खेल्न अनि ज्यान बनाउनेहरूको लर्को देख्न सकिन्छ। 

अत्याधुनिक प्रविधिसहितको एकै छानामुनि विविध  खेलहरुको मज्जा लिन सकिने उक्त स्पोर्ट्स सेन्टरका सञ्चालक पनि लाहुरे नै हुन् अर्थात् लुकेन्द्र (राजेश) राई।

को हुन लुकेन्द्र? 
३५ वर्ष अगाडि भोजपुरमा जन्मिएका लुकेन्द्र बाल्यकालबाटै खेलकुद र पढाइप्रति झुकाव राख्थे। गोर्खा सैनिक पृष्ठभूमिमा हुर्किएका उनी आफ्नो बाबुको बिरासत थाम्न सन २००४ मा गल्लावालकहाँ छाती नपाउन पुगे। नभन्दै उनी भर्ती पनि भए। भर्ती भएपछि उनले बेलायतको सट्टा सिंगापुर छाने। 

कारण सिङ्गापुरमा खेल खेल्न र पढाइ अगाडि बढाउन अवसर पाइन्छ भन्ने उनले सुनेका थिए। उनको आकाङ्क्षा पूरा पनि भयो। लाहुरे जीवनमै उनले करातेमा नसोचेको सफलता प्राप्त गरे भने सिङ्गापुरकै मर्डोक युनिभर्सिटीबाट पब्लिक रिलेसन, बिजिनेस म्यानेजमेन्ट र साइबर सम्बन्धी पढाइमा स्नातक समेत गरे।

करिब १७ वर्ष सिङ्गापुर गोर्खा छाउनीमा बिताएर उनी पेन्सन पकाएर निस्किए। पेन्सनपश्चात् पनि भूपू गोर्खाहरुले विश्वका विभिन्न मुलुकमा आकर्षक तलबसहितको नोकरीको अवसर पाउँछन्। तर लुकेन्द्र ती अवसरलाई तिलाञ्जली दिएर नेपाल नै रोजे। उनले लाहुरबाट अवकास लिनेबित्तिकै व्यावसायिक रूपमा ‘मितेरी स्पोर्ट्स सेन्टर’ सञ्चालनमा ल्याए। 

अहिले ‘मितेरी स्पोर्ट्स’ धरानबासीहरुको पहिलो रोजाइमा परेको छ। जहाँ स्कुल कलेजका विद्यार्थी, निजामती कर्मचारी, शिक्षक, व्ययवसायी, गोर्खा भर्ती हुन चाहने युवायुवतीलगायत टिनएजर्सदेखि भेटेरानम्मका हरेक तह त तप्का मान्छेहरु मितेरी धाउने  गर्छन्। जसले गर्दा लुकेन्द्रको व्यावसायिक सफलताको यात्राले फड्को मारिरहेको छ। उनी एक सफल व्यवासायीको परिचय बनाइरहेका छन्।

आफ्नो व्यावसायिक उद्देश्यकोबारे लुकेन्द्र भन्छन्, ‘धरान र वरपरका बासिन्दाहरुको शारीरिक तथा मानसिक स्वास्थ्य, तन्दुरुस्ती, मनोरञ्जनका साथै उनीहरूको शैक्षिक उन्नतिमा सक्रिय भूमिका खेल्नु मितेरी खेलकुद केन्द्रको प्राथमिक उद्देश्य हो। 

‘खेल सबैका लागि’ भन्ने नारासहित सर्वसुलभ शुल्कमा धेरै किसिमका खेल एउटै छानामुनि आधुनिक पद्धतिद्वारा व्यवस्थित, सुसज्जित, उन्नत र सुरक्षित वातावरण उपलब्ध गराएर खेलाउनु नौलो अनुभव दिलाउनु हो। साथै दीर्घकालीन रूपमा आम समुदायको स्वास्थ्य र तन्दुरुस्तीमा बढोत्तरी गर्दै कुशल खेलाडीहरु उत्पादन गर्ने लक्ष्य छ।

उनी मितेरीलाई धेरै खेलहरुको सङ्गम तथा सबै जना एकै ठाउँ भेट हुने चौतारीका रूपमा विकास गर्न चाहन्छन्। 

कराँतेमा सिंगापुर नेसनल च्याम्पियन 
लुकेन्द्र सानै उमेरदेखि भोजपुरमा क्योकुसिन कराँते सिक्थे। सिङ्गापुर प्रहरीमा भर्ना भएपछि तालिमको अवधिमै उनले उक्त खेललाई निरन्तरता दिए। उनी तालिमबाट पासआउट हँदा टप फाइटर भएर निस्किए। 

नेपालमै छँदा खेलप्रति अंकुराएको उनको प्रतिभा सिंगापुरमा थप मौलाउने अवसर मिल्यो। कठिन मेहनत, सकारात्मक दृष्टिकोण, लगनशीलता, जोश, उच्च तर यथार्थपरक लक्ष्य निर्धारणले उनलाई कराँतेमा पटकपटक सिङ्गापुर नेसनल च्याम्पियन समेत बनायो। उक्त सफलताले उनलाई एसियाली खेलदेखि अन्तर महादेशीय प्रतियोगितामा समेत भाग लिने अवसर जुरायो। 

उनी कराँतेका फोर्थ डान ‘मास्टर’ समेत हुन्। खेलाडी र प्रशिक्षक दुवैको भूमिका निर्वाह गरेका उनले खेलकै माध्यमबाट एसिया विभिन्न देशदेखि दक्षिण अमेरिकाको ब्राजिल समेत गरी झन्डै एक दर्जन देशहरुको भ्रमण गरेका छन्। 

खेलसँगै व्यापार र रोजागरी 
कराँतेमा उल्लेख्य सफलता हासिल गरेका लुकेन्द्रले अवकाशपछि मातृभूमिमै खेलसम्बन्धी व्यवसाय गर्ने उनको हुटहुटी थियो। पल्टनबाट ६ महिने छुट्टी पाएको समयमा उनले सम्भावनाको अध्ययन गर्ने गर्थे। उनले धरानमा विभिन्न खेल सञ्चालन भएका देखे। तर ती खेल छुट्टाछुट्टै रूप र स्थानमा सञ्चालित थिए। साथै त्यसको गुणस्तर र व्यावसायिकतामा पनि कमी भएको उनले पाए। त्यसैले उनले धेरै खेललाई एकै छानामुनि गुणस्तरीय र व्यावसायिक ढङ्गले सञ्चालन गर्ने सोच लिएर मितेरी स्पोर्ट्स स्थापना गरे। जसमा उनले करोडौंको लगानी गरेका छन्। 

मितेरीमा अहिले फुटसल, ब्याडमिन्टन, अत्याधुनिक फिटनेस क्लब, मार्सल आर्ट , क्याफे, खेलकुद सामग्री, तयारी पोसाक उपलब्ध छन। साथै विदेशबाट छोटो समयका लागि नेपालमा आउनेहरुलाई लक्ष्य गरी अल्पकालीन प्रयोगका लागि झन्डै एक दर्जन क्रस फायर र रोयल इन्फिल्ड मोटर साइकल उपलब्ध छन् भने आरामदायी यात्राका लागि स्कोर्पियो एसयूभी समेत ग्राहकको सेवाका निम्ति सञ्चालनमा ल्याएका छन्।  

जसले गर्दा उनले केहीलाई रोजगारी समेत दिएका छन्।ण् करिब ३ कठ्ठा क्षेत्रफलमा सञ्चालित उक्त सेन्टरको कूल बजार मूल्य करिब १५ करोड बराबर छ।

बिना कर्जा आफ्नै बचतबाट लगानी गरिएको उनको व्यवसायले करिब ६ वर्षभित्र लगानी उठ्ने कुरा लुकेन्द्रले नेपालखबरसँग कुराकानीका क्रममा बताए। 

मालिक हुनुको मज्जा 
परिवार व्यापारिक पृष्ठभूमि नभए पनि जोखिम मोल्न रुचाउने लुकेन्द्रले व्यवसायमा हात हाले। उनी सफल पनि हुँदै गइरहेका छन्। कतिले त ‘यो लाहुरेले चलाएको हो र? लाहुरेले यत्रो ठूलो व्यवसाय चलाउन सक्छ र? भनी नजरअन्दाज समेत गर्ने गरेको पनि उनले बताए। कतिलाई भने उनी लाहुरे पृष्ठभूमिको रहेको समेत थाहा नभएको बताउँछन्। 

पल्टनका नम्बरीहरु, जुनियरहरु आफूलाई भेट्न मितेरी आउने गरेको, आफूले गरेको व्यावसायिक सफलताको प्रशंसा गरेको साथै कतिपय जुनियर अवकासपछि उनी जस्तै स्वदेशमै उद्यमी बन्ने इच्छा प्रकट गरेको उनी बताउँछन्। 

आफ्नो कामबाट अरुहरु यसरी प्रेरित हुँदा उनलाई ठूलो आनन्द मिलेको बताउँछन्। तर यो सफलता त्यति सजिलो भने छैन। उनी बिहान ५ बजे उठ्छन् र मितेरीमा पुग्छन्। सम्पूर्ण व्यवस्थापन आफैंले गर्छन्। उनी राति ९ बजेसम्म अर्थात् झन्डै १६ घन्टा खट्छन्। 

१६ घन्टा खट्दा थकाइ लाग्दैन? 

नेपालखबरको प्रश्नमा उनले भने, ‘बिलकुल लाग्दैन, बरु इन्जोए फिल गर्छु, पल्टनमा दुई घन्टा ड्युटी कटाउन दुई दिन बिताए जस्तो भान हुन्थ्यो। अहिले मितेरी धाउन थालेको दुई वर्ष भएछ, तर दुई घन्टा जस्तो थाहै नपाई बितेछ। आफ्नो इच्छा र रहरले गरेका कामहरुमा थकाइ र अल्छी नलाग्ने रहेछ।’

उनले ठट्यौली पाराले थपे, ‘मालिक हुनुको मज्जै बेग्लै।’

‘वान च्याम्पियनसिप’ सम्म पुग्ने धोको 
करातेको सिङ्गापुर नेसनल च्याम्पियन एवं कुशल प्रशिक्षक समेतको अनुभवका कारण उनमा कुशल नेपाली मार्सल आर्ट खेलाडी उत्पादन गर्ने धोको छ। 

नेपाली खेलाडीहरुले दक्षिण एसियामा मात्र हैन, पूरै एसियामा राम्रो प्रदर्शन गर्न सक्ने ठहर छ। तर त्यसका लागि कठिन मेहनत, आधुनिक र गुणस्तरीय प्रशिक्षण आवश्यक रहेको उनी बताउँछन्। लामो समयसम्म सिङ्गापुरमा खेलाडी र प्रशिक्षकको छवि बनाएका उनले त्यहाँ हुने ‘वान च्याम्पियनसिप’ (अल्टिमेट फाइटिङ च्याम्पियनसिप, यूएफसीको एसियाली भर्सन भन्न सकिने) सँग पनि निकट सम्बन्ध रहेकाले नेपाली मिक्स्ड मार्सल आर्टका खेलाडीहरुलाई त्यहाँसम्म पुर्याउने लुकेन्द्रको इच्छा छ।

करोडको ट्राफिक मिरर हाल्दै
स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न उनले बेलाबेला फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिरहेका छन्। निजी खर्चमा आकर्षक नगद पुरस्कार राखेर गरिने उक्त प्रतियोगिताले खेलाडीलाई कला प्रदर्शन गर्ने अवसर प्रदान मात्र नगरेर कुशल र सक्षम खेलाडी उत्पादन गर्न पनि सहयोग पुग्ने उनको धारणा छ। 

उनी भन्छन्, ‘व्यवसायमा नाफा मात्र खोजिनु हुन्न, सामाजिक उत्तरदायित्व बहन गर्न पनि जरुरी छ।’ उनले आफ्नै पहलमा धरानका घुम्तीहरूमा ‘ट्राफिक मिरर’ हालिरहेका छन्। 

उनी भन्छन्, ‘नेपालमा सवारी चापले प्रदू्षण र कोलाहल मात्र बढाएको छैन, सडक दुर्घटनाले अकालमा ज्यान गुमाउनु पनि परेको छ। नेपालमा हरेक दिन सवारी दुर्घटनाका कारण कम्तीमा ७ जनाले ज्यान गुमाइरहेका छन् भने ४० भन्दा भढी दैनिक घाइते हुने तथ्यांकले देखाएको छ। ब्लाइन्ड स्पटका कारण पनि सवारी दुर्घटना हुने गरेको छ।’

उनी थप्छन्, ‘घुम्तीहरूमा ट्राफिक मिरर नभएकाले गर्दा ड्राइभरहरुले हर्न बजाउछन्, त्यस्ता कर्कस आवाजले डिस्टर्ब मात्र हैन, श्रवण गर्ने शक्ति समेत ह्रास गरिदिन्छ, सिङ्गापुरमा त त्यसरी हर्न बजाउन नै मनाही छ, दुर्घटना पनि निम्त्याउन सक्छन्। त्यसको न्यूनीकरण गर्न मैले सकेसम्म भेटेटारबाट धरानसम्म करिब एक करोड बराबरको ट्राफिक मिरर हाल्ने प्रक्रियामा छु।’

दिनप्रतिदिन उचाइँ लिँदै गएको उनको व्यावसायिक सफलताले विदेशमा बसेर सिकेको सीप र आर्जन गरेको मुद्राले स्वदेशमै लगानी गरेर सफलता प्राप्त गर्न सकिने रहेछ भन्ने प्रेरणादायी प्रात्र बनेका छन् उनी।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .