चेम्बरका उपाध्यक्ष धरम गुरुङ जब मध्यराति हङकङ एयरपोर्टबाटै पक्राउ परे

चेम्बरका उपाध्यक्ष धरम गुरुङ जब मध्यराति हङकङ एयरपोर्टबाटै पक्राउ परे

नेपाल चेम्बर अफ कमर्स हङकङका उपाध्यक्ष धरम गुरुङ


जेवी पुन मगर
असार २५, २०७९ शनिबार १७:५०,

५ जुलाई मंगलबार बिहान करिब मध्यरात हङकङबाट नेपाल एयरलाइन्सको ‘आरए–४१०’ बाट काठमाडौँ उड्न सुरक्षा जाँच गराइरहेका नेपाल चेम्बर अफ कमर्स हङकङका उपाध्यक्ष धरम गुरुङलाई हङकङ प्रहरीको विशेष दस्ताले नियन्त्रणमा लियो। आफ्नो कामधन्दामा व्यस्त धेरै नेपालीले सो कुरा पत्तै पाएनन्। 

हङकङमा व्यापक कारोबार हुने हुण्डी व्यवसायी र नेपाल एयरलाइन्सका हाकिमबाहेक कसैलाई पत्तो नभएको र तिनले लुकाउन खोजेको मध्यरातमा घटित यो घटनाको वास्तविकता के थियो त?

नेपाली समुदायको क्रियाकलाप निगरानी गर्न खटाइएका हङकङ प्रहरीको विशेष दस्ताका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार धरमलाई अवैध आर्थिक कारोबार (हुण्डी) गरेको आरोपमा समातिएको थियो। ती प्रहरी अधिकारीको भनाइमा गुरुङ लामो समयदेखि यस्तो अवैध आर्थिक कारोबार नियमन गर्ने संस्था ‘एन्टी–मनिलन्ड्रिङ एन्ड काउन्टर फाइनान्सिङ अफ टेरोरिज्म’ को निगरानीमा थिए।

गुरुङलगायत हङकङका करिब आधा दर्जन नेपाली हुण्डी व्यवसायीहरुमाथि निगरानी राखिरहेकोमा यसपालि प्रमाण हात परेपछि नेपाल हिँडेका गुरुङलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो।

हङकङका केही नेपाली संघसंस्थाका अगुवाले भने हुण्डी कारोबार गरेको अभियोगमा गुरुङको मुद्दा अदालतमा चलिरहेकाले उनले हङकङ छाड्न नपाउने गरि निगरानी भइरहेको थियो। त्यसैले हङकङबाट बाहिरिन लागेको अवस्थामा उनी विमानस्थलबाटै पक्राउ परेका हुन्।

पछिल्ला केही वर्षयता चीन सरकारको नीति बमोजिम हङकङमा पनि स्थानीय सरकारले हुण्डी कारोबारमाथि लगाम लगाउन खोजेपछि सामाजिक संस्था र व्यवसायको आडमा अवैध मुद्रा कारोबार गरिरहेका धरमजस्ता नेपाली समुदायका केही ‘व्यावसायी’ पनि निगरानीमा परेका छन्।  

हङकङमा ग्रोसरी व्यवसाय सञ्चालन गर्दै आइरहेका एनआरएनए हङकङका एक नेता गुरुङ दुई साताअघि नेपाल चेम्बर अफ कमर्स हङकङको उपाध्यक्ष पदमा चयन भएका थिए। 

विमानस्थलबाट नियन्त्रणमा लिइएपछि धरमले आफूसँगै चेम्बरको अध्यक्ष बनेका लवकुमार गुरुङलाई फोन गरी आफूलाई उद्धार गर्न अनुरोध गरेका थिए। उनको फोनपछि अध्यक्ष लवकुमार गुरुङ स्थानीय कानुन व्यवसायीलाई लिएर रातारात विमानस्थल पुगेका थिए। घण्टौँ लामो कानुनी प्रक्रियापछि भोलिपल्ट १० हजार हङकङ डलर धरौटी राखी धरमलाई आफ्नो घर फर्किन दिइएको छ।

घटनाबारे बुझ्न हामीले चेम्बरका अध्यक्ष लवकुमार गुरुङलाई पनि सम्पर्क गरेका थियौँ। उनको भनाइमा सन् २०१९ मा धरमको हङकङस्थित बैंक खातामा आएको एक लाख डलरको स्रोत खुलाउन नसकेपछि सरोकारवाला संस्थाले धरमलाई निगरानीमा राखेको थियो।

‘एकजना स्थानीय चिनियाँले आफ्नो नेपाली ब्वाइफ्रेन्डलाई पठाउन धरमको खातामा जम्मा गरिदिएको रकमको स्रोत नखुलेको हुँदा उनलाई समातिएको हो,’ अध्यक्ष लव भन्छन्, ‘तर धरमजीले यथार्थ बताएपछि उहाँलाई धरौटीमा छाडेर प्रहरीले पैसा दिने महिलाको खोजी गर्ने बताएको छ।’

के धरमले आफ्ना नजिककालाई दिइरहेको जानकारी र अध्यक्ष लवले हामीलाई बताएझैँ घटना एक लाखको मात्र हो कि त्यसको पछाडि अन्य केही कारणले भूमिका खेलेको छ?

हामीले धरम संलग्न हुण्डी सम्बन्धी नेपालको राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको र अदालतसम्म पुगेको चर्चित मुद्दाबारे सम्बन्धित निकायमा रहेको दस्तावेजका आधारमा केही तथ्यमाथि आँखा लगाउने प्रयत्न गरेका छौँ। 

राजश्व विभागले काठमाडौँ मलको चौथो तलामा रहेको जेबु टुर्स एन्ड ट्राभल्सले हुण्डी कारोबार गरिरहेको दाबीसहित १२ भदौ २०७४ मा ४ अर्ब १४ करोड बिगो दाबी गरेर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको देखिन्छ। यो प्रकरणमा धरमको प्रत्यक्ष संलग्नता रहेको अभियोग लगाइएको छ। 

अदालतमा पुगेको यो मुद्दामा मुद्रा अपचलन गर्ने अवैध कारोबारमा संलग्न सात जना साझेदारमध्ये धरम गुरुङ र मिलन गुरुङले हङकङबाट र लवकुमार नेपाल र दलबहादुर पुन लगायतका पाँच जनाले नेपालबाट कारोबार गरिरहेको अभियोग लगाइएको छ। राजश्वले दलबहादुरले प्रयोग गर्ने कम्प्युटरमा रहेको तीन महिनाको हिसाकिताब हेरेर ४ अर्ब १४ करोड रुपैयाँ बराबरको हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो। 

आरोपितले अदालतमा आफ्नो अपराध स्वीकारेपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले १६ असोज २०७५ मा दलबहादुर र लवकुमारलाई विदेशी मुद्रा अपचलनमा दोषी ठहर गर्दै जनही ६–६ लाख जरिवाना गराएर छाड्यो भने अन्य पाँचजनालाई सफाइ दियो। यो प्रकरणमा न्यायाधीशले ‘सफाइ दिएर गल्ती गरेको’ भन्दै राष्ट्र बैंकका एक अधिकारीले यो सुनुवाइमाथि प्रश्न उठाएको समाचार पनि प्रकाशित भएको थियो।

यति ठूलो मुद्दामा मुछिएका धरमलाई ‘रेडकर्नर नोटिस’ जारी भएको समाचार केही समाचारपत्रले छापेपछि उनी नेपाल आउन डराइ हङकङमै बसिरहेका थिए। उनको पारिवारिक श्रोतका अनुसार धरमले मुद्दामा सफाइ पाएपछि उनी पहिलो चोटि नेपाल फर्कंदै गर्दा विमानस्थलमै हङकङ प्रहरीद्वारा समातिए।  

धरम प्रकरणबाट देखिने एउटा प्रष्ट कुरा के हो भने हङकङजस्तो नेपालीले राम्रो विदेशी मुद्रा कमाइ गर्ने देशबाट नेपाल ल्याइने रकम धेरै गैरकानुनी तरिकाबाट भित्रिँदो रहेछ। राष्ट्र बैंकको एक अध्ययनले पनि त्यस्तै देखाउँछ। उसले २०७४ सालमा गरेको अध्ययनमा नेपालमा भित्रिने रेमिट्यान्सको करिब ३० प्रतिशत अर्थात् करीब २ खर्ब २० अर्ब रकम हुण्डी लगायतका गैरकानुनी माध्यमबाट नेपाल भित्रिने गर्छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .