शेन्जेनले अस्थायीरुपमा हङकङबाट आउने मानिसको लागि दैनिकरुपमा आउने मानिसको कोटा घटाएको छ।
बिहीबार शेन्जेनले हङकङबाट आउने मानिसको कोटा घटाएर एक हजारमा झार्ने निर्णय गरेको हो। पछिल्लो समय बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै शेन्जेनले कोटा घटाउने निर्णय गरेको हो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार शेन्जेनले गत बिहीबारदेखि नै कोटा घटाउन सुरु गरेको थियो। निरन्तर चलिरहेको यो क्रममा सोमबार र मंगलबार हङकङबाट शेन्जेन जानेको संख्या एक हजारमा झरेको थियो।
हङकङका नागरिकको लागि मेनल्याण्ड चीन प्रवेश गर्ने एक नाका पनि रहेकाले पछिल्लो समय शेन्जेनले कडाइ गरेको छ। आगामी महिना चिनियाँ कम्युनिष्ट पार्टीको २० औं कांग्रेस पनि हुन गइरहेकाले पनि सुरक्षामा कडाइ गरिएको जानकारहरुले बताएका छन्।
मेनल्याण्ड चीनको कोरोना नीतिअनुसार हङकङबाट जाने मानिसहरुले सुरुमै एक साताको होटल क्वारेन्टिन बुक गर्नुपर्छ भने तीन दिन होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ।
अहिले शेन्जेनले कोरोना संक्रमण बढेसँगै बाहिरबाट आउने मानिसको कोटा घटाइएको भए पनि कोरोना नियन्त्रणमा आएसँगै कोटा पुनः बढ्न सक्ने समाचारमा उल्लेख छ।
शेन्जेनको स्थानीय सरकारले पछिल्लो समय कोरोना संक्रमण बढ्नुको मुख्य कारण बाहिरबाट आउने मानिसले ल्याएको संक्रमण भएको बताएको छ। त्यसैले पनि उसले बाहिरबाट आउने मानिसमा कडाइको नीति लिएको हो।
Shares
प्रतिक्रिया