पछिल्लो केही वर्षयता हङकङमा युवाहरु विदेशिने क्रम बढेको छ। हङकङको आधिकारिक तथ्यांकअनुसार पछिल्लो ५ वर्षको अवधिमा मुलुक छाडेर बाहिरिनेमा सबैभन्दा धेरै २० को दशकका युवा छन्।
सन् २०१७ यता हङकङको सबैजसो उमेर समूहको जनसंख्या घटेको छ। जसमध्ये सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समूहको जनसंख्या घटेको छ। यो अवधिमा उक्त उमेर समूहका २२ हजार १९० जना मानिसहरु बाहिरिएका छन्।
सन् २०१७ मा उनीहरुको जनसंख्या ३ लाख १२ हजार २९० बाट झरेर २ लाख ९० हजार एक सयमा झरेको छ।
त्यस्तै सबैभन्दा धेरै बाहिरिने अर्को समूह १० देखि १४ वर्ष उमेर समूहको रहेको छ। यो उमेर समूहका १० हजार बालिबालिकाहरु बाहिरिएका छन्।
जनसंख्या विशेषज्ञ प्राध्यापक पाउन यिप सिउ–फाका अनुसार उमेर २० को दशकको सुरुवाती वर्षमा धेरै मानिसले उच्च शिक्षा पूरा गरिसकेका हुन्छन् र पश्चिमा मुलुकले पनि शिक्षित युवा जनशक्ति खोजिरहेको कारण उनीहरुले बाहिर राम्रो अवसर पाएको बताउँछन्। जसको कारण हङकङका धेरै युवा बाहिरिने उनको भनाइ छ।
ठूलो संख्या युवा जनशक्ति बाहिरिनु चिन्ताको विषय भएको उनको भनाइ छ। हङकङका नेताले जनशक्ति र अर्थतन्त्रको जटिलतालाई समयमा नै सम्बोधन गर्नुपर्ने जरुरी रहेको उनको भनाइ छ। विशेषगरी सहरको बढ्दो वृद्ध जनसंख्या र घट्दो जन्मदरले जटिलता थप बढाउने उनले बताए।
‘प्रत्येक मुलुक कुनै पनि युवालाई उनीहरुको २० को दशकको सुरुवाती अवस्थामा लिन पाउँदा खुसी हुन्छन्। किनकी त्यो बेला उनीहरुको काम गर्न सुरु गर्ने बेला भएको हुन्छ तर हङकङले उनीहरुलाई गुमाइरहेको छ’, हङकङ युनिभर्सिटीको जनसंख्या स्वास्थ्यको प्राध्यापकसमेत रहेका यिपले भने।
गत महिना सरकारले पछिल्लो एक वर्षमा १ लाख १३ हजार मानिसले हङकङ छाडेको घोषणा गरेको थियो। जसको कारण हङकङको जनसंख्या पनि १.६ प्रतिशतले घटेको थियो।
तथ्यांक विभागको पछिल्लो पाँच वर्षको अवधिमा ३० देखि ३४ वर्ष उमेर समूहको जनसंख्या भने थोरैले बढेको छ। यो अवधिमा ५ देखि ३९ वर्ष उमेर समूहका ४६ हजार ३ सय मानिसले हङकङ छाडेका थिए। विशेषगरी सन् २०२० मा ल्याइएको राष्ट्रिय सुरक्षा कानुनपछि विभिन्न मुलुकले हङकङका नागरिकको लागि नयाँ योजना ल्याएका छन्।
पछिल्लो एक वर्षयता क्यानडाले मात्र हङकङका १२ हजार ५ सय मानिसलाई वर्क पर्मिट दिएको छ। पछि उनीहरुले क्यानडाको पीआर पाउन सक्छन्। त्यस्तै गत वर्षको जनवरी देखि गत जुनसम्मको अवधिमा बेलायतले पनि १ लाख ३३ हजारभन्दा धेरै हङकङका नागरिकलाई बेलायतमा बसोबासको अनुमति दिएको छ।
प्राध्यापक यिप हङकङको वृद्ध जनसंख्याको हेरचाह गर्ने युवा जनशक्ति नभएकोमा चिन्तित छन्। पछिल्लो समय उनीहरुको हिस्सा बढेको छ। युवाले सहर छाडेसँगै आगामी दिनमा सहरको जन्मदर पनि थप घट्न सक्छ।
यसैबीच अहिले हङकङमा पनि युवाहरु विदेशिँदाको असर देखिन थालिसकेको छ। पुनः भर्ती एजेन्सी एक्ट्स कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक एलेक्सा चोव यी पिङका अनुसार अहिले काम सुरुवातदेखि गर्ने मान्छे पाउन कठिन भइसकेको छ। अझै पनि आफ्ना छोराछोरीसहित आमाबाबुहरु पनि विदेशिने योजना बनाइरहेकाले आगामी दिनमा यो समस्या झनै बढ्न सक्ने उनको भनाइ छ।
Shares
प्रतिक्रिया