सोमबारबाट हङकङमा होटल क्वारेन्टिनको नियम हट्दै छ। यससँगै बाहिरबाट हङकङ आउने मानिसले होटल क्वारेन्टिनमा बसिराख्नु पर्दैन। यहाँ हङकङको नयाँ नियमबारे थाहा पाइराख्नुपर्ने कुराहरु उल्लेख गरिएको छ–
१. हङकङले होटल क्वारेन्टिन किन हटायो?
हङकङको नयाँ सरकारले व्यवसायीहरुबाट ठूलो दबाब सामना गर्दै आएको थियो। उनीहरुले हङकङलाई प्रतिस्पर्धात्मक बजार बनाउन सरकारले होटल क्वारेन्टिनको नियम हटाउनुपर्ने बताउँदै आएका थिए। साथै आर्थिक विकासको लागि पनि यो आवश्यक रहेको उनीहरुको तर्क थियो।
हङकङ प्रमुख जोन ली का चिउले कोभिड–१९ संक्रमण पछिल्लो समय नियन्त्रणको क्रममा देखिएको बताएका थिए। त्यसैले क्वारेन्टिनको नियम थप खुकुलो बनाउन लागिएको उनले बताएका थिए। उनले यो निर्णय मानिसहरुको दैनिक जीवनयापनm आर्थिक गतिविधि र हङकङको प्रतिस्पर्धात्मक बजारलाई मध्यनजर गर्दै लिइएको बताएका थिए।
स्वास्थ्यमन्त्री लो चुङ–माउले पनि कोरोना संक्रमण बिस्तारै नियन्त्रणको दिशामा अघि बढिरहेको बताएका थिए। आफूहरुले अपेक्षा गरेभन्दा पनि तीव्र गतिमा संक्रमण नियन्त्रणमा आएकाले क्वारेन्टिनको नियम खुकुलो पारिएको उनको भनाइ थियो।
२. बाहिरबाट आउने मानिसलाई के फाइदा हुन्छ?
होटल क्वारेन्टिनको नियम गत महिना सात दिनबाट तीन दिनमा झारिएको थियो। जसअनुसार बाँकी चार दिन होम आइसोलेसनमा बस्नुपर्थ्यो। यद्यपि होम आइसोलेसनमा रहेको बेला उनीहरुबाट सीमित क्षेत्रमा मात्र भ्रमणको अनुमति थियो।
सोमबारदेखि कार्यान्वयनमा आउने नयाँ नियमअनुसार बाहिरबाट आउने पर्यटकले तीन दिन क्वारेन्टिनमा बस्नुपर्ने छैन। यो तीन दिन मेडिकल सर्भिलेन्समा बस्नुपर्ने हुन्छ। यो समयमा उनीहरु आफ्नै घर वा रोजाइको होटलमा बस्न सक्छन्।
पर्यटकहरुले उडानभन्दा २४ घण्टाअघि केवल र्यापिड एन्टिजिन टेस्ट गरे पुग्छ। उनीहरुले अहिलेको जस्तो पीसीआर स्क्रिनिङ गर्नुपर्दैन। विमानस्थलमा ओर्लिएपछि उनीहरुल पीसीआर परीक्षण गराउनुपर्छ तर नतिजा आउनुभन्दा पहिला नै उनीहरु घर जान पाउँछन्।
नतिजा नेगेटिभ आए उनीहरुलाई पहेँलो कोड दिइन्छ। यो कोडले उनीहरु सीमित स्थानमा भ्रमण गर्न पाउँछन्। उनीहरुलाई रेष्टुरेन्ट, जिम, नाइटक्लब, स्विमिङ पुल, ब्युटी पार्लर र सैलुनमा जानबाट भने रोक लगाइनेछ। त्यस्तै उनीहरु कोरोना संक्रमणको उच्च जोखिम रहेको स्थानमा पनि भ्रमण गर्न पाउनेछैनन्।
उनीहरुलाई काम, स्कुलका साथै खोप कार्ड अनिवार्य नहुने स्थानमा भने भ्रमणको अनुमति दिइनेछ।
३. कतिपटक कोभिड–१९ परीक्षण गर्नुपर्छ?
पर्यटकहरुले सात दिनसम्म र्याट टेस्ट गर्नुपर्छ। साथै उनीहरुले दोस्रो, चौथो र छैटौं दिन पीसीआर परीक्षण पनि गर्नुपर्छ। दोस्रो दिन गरेको पीसीआर परीक्षणको नतिजा तीन दिनमा आएपछि मेडिकल सर्भिलेन्स पिरियड सकिनेछ।
त्यसपछि सातदिनसम्म आफैंले मेडिकल निरीक्षण् गर्नुपर्नेछ। यो अवस्थामा पर्यटकले निलो स्वास्थ्य कोड पाउनेछन्। पर्यटकहरुलाई उनीहरुलाई शरीरको तापक्रम दुईपटक नाप्नुपर्ने हुन्छ। यो क्रम आफैंले मेडिकल निरीक्षण गर्दाको अवधिसम्म जारी राख्नुपर्छ।
४. विमानस्थलबाट होटल वा घर जाँदा कुन यातायातको प्रयोग गर्नुपर्छ?
बाहिरबाट आउने पर्यटकले विमानस्थलबाट होटल वा घरसम्म जान सार्वजनिक यातायात वा अन्य कुनै पनि प्रकारको यातायात प्रयोग गर्न सक्छन्।
५. मेडिकल सर्भिलेन्समा कोरोना पोजेटिभ देखिए के गर्ने?
यो अवधिमा कोरोना पोजेटिभ देखिए अन्य मानिसलाई कोभिड–१९ देखिएजस्तै गर्नुपर्छ। यस्तो अवस्थामा उनीहरुलाई रेड कोड दिइनेछ र बसेको स्थानबाट बाहिर निस्किन प्रतिबन्ध लगाइनेछ।
पीसीआर परीक्षणमा पोजेटिभ देखिए उक्त नतिजा टेक्स्ट म्यासेजमार्फत आउनेछ र त्यस्तो अवस्थामा डिजिटल फर्म भर्नुपर्ने हुन्छ। उक्त फर्ममा आफ्नो विवरण र आफूसँग बस्ने परिवारको विवरणसमेत राख्नुपर्ने हुन्छ।
र्याट टेस्टमा पोजेटिभ देखिए उनीहरुले सरकारी वेबसाइटमा आफ्नो नतिजा घोषणा गर्नुपर्ने हुन्छ। यो सफल भएको अवस्थामा एउटक टेक्स्ट म्यासेज आउनेछ, जसमा दिइएको लिंकबाट अर्को वेबसाइटमा गएर फोटो र परीक्षणको नतिजा तथा आफ्नो कागजातहरु राख्नुपर्ने हुन्छ। त्यसपछि होम वा होटल आइसोलेसनमा बस्ने अनुमति प्राप्त हुन्छ।
६. सोमबारअघि हङकङ आउनेलाई के हुन्छ?
अहिले नै होटल क्वारेन्टिनमा बसेका मानिसहरुलाई सोमबारदेखि नियमितरुपमा नै घर पठाइनेछ। शनिबारदेखि सोमबारको बीचमा हङकङ आउने मानिसले पनि तीन दिन मेडिबल सर्भिलेन्समा बस्नुपर्ने हुन्छ। निर्धारित होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम पनि सोमबारदेखि सामान्य हुनेछ। सरकारी नियमअनुसार होटल क्वारेन्टिनको अवधि छोटो भएका पर्यटकलाई होटलले पैसा फिर्ता दिनेछ।
७. मेनल्याण्ड चीन र मकाउबाट आउने नागरिकलाई के हुन्छ?
यी क्षेत्रबाट आउनेका लागि छुट्याइएको कोटा हटाइएको छ। यहाँबाट आउने मानिसले आफैंले तीन दिन मेडिकल सर्भिलेन्स गर्नुपर्ने हुन्छ। साथै दोस्रो दिन पीसीआर परीक्षण पनि गर्नुपर्छ। एससीएमपीबाट
Shares
प्रतिक्रिया