हङकङमा सन् २०१९ मा सरकारविरोधी हिंसात्मक आन्दोलनमा सहभागी भएको भन्दै नौजनालाई चार वर्षसम्मको जेल सजाय सुनाइएको छ।
शनिबार हङकङको जिल्ला अदालतले उनीहरुलाई चार वर्षसम्मको जेल सजाय सुनाएको हो। अहिले जेल सजाय सुनाइएकामध्ये एकजना सामाजिक कार्यकर्ता रहेका छन् भने एकजना नर्स र अर्का एक इन्जिनियर हुन्।
उनीहरु हङकङको एक युनिभर्सिटीनजिकै भएको हिंसात्मक आन्दोलनमा सहभागी भएका थिए। उनीहरुमाथि त्सिम शा त्सुईमा आन्दोलनलाई भड्काउन सहयोग गरेको आरोप छ।
यसअघि उनीहरुमाथि दायर गरिएको मुद्दामा उनीहरुले प्रहरीमाथि आक्रमण गरेको र भिडलाई उत्तेजित पार्ने काम गरेको उल्लेख छ। अदालतमा उनीहरुको पक्षका वकिलले भने उनीहरुमाथिको आरोपको बचाउ गरेका थिए। उनले आरोपीहरु नियतवश उक्त स्थानमा नपुगेको बताएका थिए।
जिल्ला अदालतका न्यायाधीशले भने नौजना आरोपीमध्ये पाँचजनालाई ३५ महिनाको जेल सजाय सुनाएका छन्।
त्यस्तै अर्का एक आरोपीलाई पनि सुरुमा सुनाइएको ५० महिनाको जेल सजाय ३५ महिनामा झारिएको छ। दुई आरोपीलाई ३९ महिना र अर्का एक आरोपीलाई भने सबैभन्दा धेरै चार वर्षको जल सजाय सुनाइएको छ।
हङकङमा दंगा भड्काउने कार्य गरेको मुद्दामा दोषी पाइए ७ वर्षसम्मको जेल सजाय हुन सक्छ।
Shares
प्रतिक्रिया