हङकङमा आफ्नै फ्ल्याटमा बस्ने साथीको हत्याको प्रयास गरेको आरोपमा एकजनालाई अनिश्चितकालसम्म मानसिक स्वास्थ्य केन्द्रमा हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार एक फ्याक्ट्रीका पूर्व कर्मचारीसमेत रहेका उनले आफूलाई चुरोट चोरेको आरोप लगाएको भन्दै फ्ल्याटमा बस्ने साथीको हत्या प्रयास गरेका थिए।
बुधबार हङकङको उच्च अदालतले दुई सरकारी मनोचिकित्सकको सुझावलाई मनन गर्दै चोउ वाई हुङ नाम गरेका व्यक्तिलाई उक्त सजाय सुनाएको हो।
सरकारी मनोचिकित्सकहरुले आरोपीलाई एक्लै जेलमा राख्दा अर्को दुर्घटना हुन सक्ने भएकाले अस्पतालमा नै राख्नुपर्ने सुझाव दिएका थिए।
हङकङको फानलिङमा गत वर्षको मे १६ मा ४७ वर्षीय चोउले आफ्नै साथीको हत्या प्रयास गरेका थिए। आक्रमणको क्रममा ६५ वर्षीय पीडितको टाउकोको गहिरो चोट लागेको थियो भने टाउकोका हड्डी भाँचिएको थियो।
हङकङमा हत्या प्रयासको आरोपमा आजीवन जेलसम्मको सजाय हुन सक्छ।
Shares
प्रतिक्रिया