नेपाल एयरलाइन्सले हङकङ उड्न तम्तयार यात्रुलाई फेरि एयरपोर्टबाटै फर्काइदियो

नेपाल एयरलाइन्सले हङकङ उड्न तम्तयार यात्रुलाई फेरि एयरपोर्टबाटै फर्काइदियो

अन्तिम समयमा उडान रद्द भएको सूचना पाएका यात्रु बोर्डिङ पास लिई जहाजमा पस्ने ‘अनाउन्समेन्ट’ कुरेर बसिरहेका थिए।


जेवी पुन मगर
असार ३१, २०८० आइतबार १९:५९, हङकङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सको कर्म संस्कारमा आमूल परिवर्तन भएको भाषण गर्दै हिँडे पनि यो संस्थाको ठगीधन्दा व्यवहारमा घटेको देखिँदैन। यो संस्थाले पटक पटक गर्दै आइरहेको बदमासी यस पटक पनि दोहोर्‍याएको छ। घटना यही शनिबारको हो।

१६ जुलाई आइतबारको दिन स्थानीय रेस्टुरेन्टमा नातिको पहिलो जन्मदिनको चाँजोपाँचो यतै (नेपाल)बाट मिलाएका हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष प्रदीप थापा श्रीमती सुनिलासहित नेपाल एयरलाइन्सको आरए ४०९ बाट शनिबार ११ बजे हङकङ उड्दै थिए ।

सामाजिक कार्यमा योगदान गरेबापत हङकङ सरकारबाट मेडलसमेत पाएका थापाले तीन सयभन्दा बढी पाहुनालाई निम्ता गरेका थिए।

त्यही व्यवस्थापनका निम्ति थापा दम्पती हतार–हतार विराटनगरबाट शुक्रबार २ः२० बजेको उडानबाट काठमाडौं उत्रिएका थिए ।

भिडिओ

थापा दम्पती ८ बजे नै विमानस्थल पुगेर बोर्डिङ पास काटिवरी बसेका थिए। केही दिनअघि मात्रै पेटको अपरेसन गरेर थप उपचारका निम्ति हङकङ उड्न थालेका सुकबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङलाई हङकङ पुर्‍याउनुपर्ने अभिभारा पनि थापामाथि थियो। बिरामी गुरुङ ह्वीलचेयरमा थिए। थापासँगै १ सय ७ जना यात्रु हङकङ उड्न तम्तयार थिए।

विमान एक घण्टा ढिलो उड्ने जानकारी दिइएको थियो। जहाजभित्र पस्ने ‘अनाउन्समेन्ट’ कुरेर बसिरहेका यात्रु त्यतिबेला स्तब्ध भए, जब हङकङ उड्ने आरए ४०९ टाइफुनका कारण रद्द गरिएको जानकारी गराइयो।

ती यात्रु छक्क पर्नुको कारण थियो– हङकङमा शनिबार टाइफुन (सामुद्रिक हुरीबतास) सिग्नल १ मात्रै देखाइरहेको थियो। त्यहाँको नियममा कम्तीमा टाइफुन सिग्नल– ८ नदेखाउँदासम्म विमानसेवा रद्द गरिँदैन।

हङकङ विमानस्थलमा देखाएको टाइफुनको सिग्नल।

नेपाल एयरलाइन्सले झुठो कारण देखाएर फ्लाइट रद्द गरेपछि हङकङका नियम राम्ररी पत्तो भएका प्रदीपसहित सबै यात्रु व्यवस्थापनसँग बाझ्न थाले।

सदा झैँ त्यहाँ खटिएका एयरलाइन्सका कर्मचारीले गैरजिम्मेवारीपूर्ण ढंगले ‘फ्लाइट रद्द भएकोले आ–आफ्ना सामान बोकी न्यूरोडस्थित एयरलाइन्सको कार्यालयमा सम्पर्क राख्न जानोस्’ भनेपछि त्यसले आगोमा घ्यू थपिए झैँ भयो।

‘हामीलाई किन ढाँटेको? हामीलाई पैसा चाहिँदैन जसरी हुन्छ हङकङ जाने व्यवस्था गरिदिनुपर्‍यो’ भन्दै कर्मचारीसँग कराउन जानेहरूलाई प्रहरी लगाई पक्राउ गरिएको थापा बताउँछन्।

त्यसरी समातिएका दुई जना यात्रुलाई प्रदीपले छुटाएका थिए। प्रहरीले हस्तक्षेप गरेपछि सबै यात्रुहरु छिन्नभिन्न भएका थिए ।

प्रदीपको भनाइमा कामबाट बिदा लिई नेपाल आएका र हङकङ पुग्नासाथ नोकरीमा जानुपर्ने भएकोले धेरैलाई जहाज छुट्दा अप्ठेरो हुनु स्वाभाविक थियो। पोखराकी एकजना बिरामी वृद्धा जो ह्वीलचेयरमा थिइन्, एयरलाइन्सका कारण समयमा दबाई खान पनि पाइरहेकी थिइनन्।

बोर्डिङ पास लिइसकेपछि तिनका नातेदार ढुक्क भएर घर फर्किसकेका थिए।

नेपाल एयरलाइन्सको ठगी धन्दा : हङकङका यात्रुसँग घुस, जहाज नउडेको झुटो प्रमाणपत्र

प्रदीपको भनाइमा बिचल्लीमा पारिएका यात्रुलाई फ्लाइट कहिले उड्छ र उनीहरूलाई कहाँ बसालिन्छ भन्ने जानकारी समेत दिइएन।

उल्टै टिकटको पैसा समेत दिन नमिल्ने र अन्य फ्लाइटबाट पठाउन समेत नसकिने भन्दै रुखो जवाफ फर्काइएको थियो।

प्रदीपलाई हरहालतमा आइतबारसम्म हङकङ पुग्नुपर्ने हुनाले उनले नेपाल एयरलाइन्सको टिकटको माया मारी जसोतसो एयर इन्डियाबाट दिल्ली हुँदै हङकङ पुगे।

उनीसँग बिरामी गुरुङ दम्पती र वसन्ती राई पनि साथमा थिए। हङकङ पुगेर नातिको भोजका लागि व्यस्त भएका प्रदीपले म्यासेन्जरमा भने, ‘काठमाडौंबाट साढे तीन बजे उड्यौँ। दिल्लीबाट क्याथे एयरमा राति एघार बजे उडेका हामी बिहानको ६ः५० बजे बल्ल हङकङ आइपुग्यौँ। साह्रै दुःख पाइयो।’

नेपाल एयरलाइन्सको लापरबाहीले सास्ती भोगेका प्रदीप थापा र सुनिला राईसहितका यात्रु  एयर इन्डियाबाट दिल्ली हुँदै हङकङ उडेका थिए।

यात्रुको काठमाडौंमा मात्र बिचल्ली थिएन। हङकङबाट नेपाल फर्किन तम्तयार १५० जना यात्रु पनि बिचल्लीमा परे। काठमाडौंबाट गएको आरए ४०९ ले ती यात्रुलाई १७ः४५ मा उडाउने भनिएको थियो। (हेर्नाेस् हङकङ बिमानस्थलको सूचना चार्ट)

विमानस्थलमा पुगेका तिनलाई पनि अन्तिम समयमा घर–घर फर्काइयो। व्यस्त समय तालिकामा हिँड्न बाध्य दुई सय हङकङेली नेपाली यात्रु नेपाल एयरलाइन्सको गैरजिम्मेवारीपनाले कोही हङकङमै अड्किएका छन् भने कोही एयरलाइन्सको नयाँ सूचना कुर्दै काठमाडौंमा बरालिन बाध्य छन्।

एयरलाइन्सको कार्यालयमा जानेहरूलाई जहाज १८ जुलाई मंगलबार उड्ने बताइएको छ।

नेपालखबरले नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेललाई यसबारे सोधेको थियो। उनले मंगलबार वाईडबडी उडाएर अड्किएकाहरूलाई लैजाने–ल्याउने योजना सुनाए।

शनिबारको फ्लाइट रद्दबारे उनको जवाफ रोचक थियो। ‘जुन, जुलाई र अगस्तको बेला हङकङमा टाइफुनको समय भएकोले त्यहाँ मान्छे उडाउने हुरीहावा चल्छ। म यही बेला गएको थिएँ। ३४औं तलामा बसेको थिएँ। बाँसको निङ्गलामा बसे झैं हल्लायो नि!’ पौडेलले भने, ‘त्यसैले हामीले शनिबारको उडान रद्द गरेका हौं।’

एयरलाइन्सको लापरबाहीबाट पीडित एक यात्रु नेपालखबरसँग दुःखेसो पोखे, ‘प्लेनमा राख्ने बेला क्यान्सिल भयो भन्यो। कारण माग्यौं। टाइफुन भन्यो। ३ सम्म उड्छ भन्यो। म्यानेजरसँग भेट्न दिएन। सामान निकाल्दिएका छौं, बाहिर जानोस्, न्यूरोड अफिसमा जानोस् भन्यो। टिकटको पैसा माग्दा दिएन। कहिले उड्छ भन्दै भनेन।’

हुँदै नभएको टाइफुनको कारण देखाई जहाज रद्द गरेको बदमासी थाहा पाए पनि यात्रुले आफ्नो आक्रोश पोख्न बाहेक के नै गर्नसक्थे र? सदा झैं यसपालि पनि उनीहरू केही बेर कराए र लाखापाखा लागे।

हङकङको उडान रद्द गरेपछि त्यही जहाज त्यसै दिन दुबईका निम्ति पठाइएको छ। यसलाई एयरलाइन्सको हेपाहा प्रवृत्ति मान्छन्, प्रदीप।

नेपाल एयरलाइन्सले सञ्चालन गर्ने उडानमध्ये हङकङ–काठमाडौं रुट विश्वकै महँगो भाडा दर मानिन्छ।

काठमाडौंबाट हङकङ उड्ने पैसाले अमेरिकासम्मको यात्रा गर्न सकिन्छ। नेपालमा लगानी गर्न भनी दुई वर्षदेखि यतै बसिरहेका प्रदीप तिक्तता पोख्छन्, ‘नेपाल एयरलाइन्सले सबैभन्दा धेरै पैसा हङकङबाट कमाउँछ तर हामीलाई सधैं हेपाहा व्यवहार गर्छ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .