शशीमदन राईको व्यवसाय हङकङमा फरक छ। अधिकांश हङकङे नेपाली निर्माण, सुरक्षा र फुड एण्ड वेभरेजको क्षेत्रमा काम गर्छन् नभए सानोतिनो व्यवसाय। नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव शशीमदन भने तिनै व्यवसायी र कामदार नेपालीलाई नेपाली प्रोडक्टहरू सप्लाई गर्छन्। राईले नेपालबाट भारतको कोलकता हुँदै पानी जहाज र हवाईजहाजबाट सिधै हङकङ ल्याइएका नेपाली प्रोडक्टहरू हङकङका नेपाली र विदेशीहरूसम्म सप्लाई गर्दै आएका छन् सन् २०१२ देखि नै। २००८ देखि ४ वर्ष हङकङको जोर्डनमा खुद्रा पसल चलाएका राई अहिले आफ्नै भ्यान र ६ जना स्टाफ राखेर दिनभर हङकङमा नेपाली सामान सप्लाई गर्छन्। जसबाट उनी १० देखि १५ प्रतिशत मात्रै नाफा राख्ने गरेको दाबी गर्छन्।
उनै शशीमदन राईसँग नेपालखबरले हङकङमा गरेको बिजनेश–वार्ता :
नेपालबाट ल्याइएका कुन सामान हङकङमा सप्लाई हुँदै आएको छ?
खाद्यान्नमा कोदो, दाल, सोयाविन, गुन्द्रुक, डल्ले खुर्सानीसँगै घ्यु नेपालबाट ल्याउने गरेका छौं। नेपाली नुडल्समा वाईवाई, रारा हङकङ भित्रिन्छ। पेय पदार्थमा वल्ड दरबार ह्वीस्की, खुकुरी रम, जिन, भोड्का लगायत छन्। वियरहरुमा मुस्ताङ, एभरेष्ट, नेपाल आइसको स्वाद हङकङमा चलेको छ। हङकङ आउने वस्तुमा भारतीयको तुलनामा नेपाली उत्पादन महंगो हुने गरेको छ। भारतबाट आउने मसुरो दल किलोको १४ हङकङ डलर पर्छ भने नेपालबाट आउने २२ डलर पर्छ। यसको मुख्य कारण यातायात खर्च बढी लाग्छ। केही महंगो भएपनि रोजाइमा नेपाली वस्तु नै रहने गरेको छ। नेपालको स्वाद नै राम्रो हुन्छ भन्छन् हाम्रा हङकङका उपभोक्ता। हामीले होम डेलिभरी समेत गर्दै आएका छौं। नेपाली सामान नेपाली खाद्यान्न ग्रोसरीसंगै होटल रेष्टुरेन्टमा पनि जाने गरेको छ। नान बनाउनको लागि नेपाली पिठो बिक्री हुने गरेको छ।
तपाईंले दैनिक वा मासिक कतिको कारोबार गर्नुहुन्छ?
हङकङमा नेपालबाट आउने कुन नुडल्स बढी मन पराउँछन्?
नेपालबाट पहिला टुपीए पिरो नुडल्सपनि बिक्री हुन्थ्यो। अहिले त्यसको माग घटेको छ। यहाँ सबैभन्दा बढी विक्री हुने वाईवाई नै हो।
नेपालबाट सबैभन्दा बढी कुन समान आउँछ?
रकमको हिसाबमा रक्सीका आइटम सबैभन्दा बढीको आउने गरेको छ। त्यसमा पनि वल्ड दरबार ह्वीस्की बढी बिक्री हुन्छ। वार्षिका ५–६ कन्टेनर ह्वीस्की, रम र वियर मात्रै भित्रिने गरेको छ। हरेक २ महिनामा रम, वियर मात्रै १ कन्टेनर भित्रिने गरेको छ।
नुल्डससंगै दाल, कोदोको पिठो, कोदो लगायत खाद्यान्न हरेक २ महिनामा कन्टेनरबाट ल्याउने गरेको छु। कोदो तोङ्बा बनाउन प्रयोग हुने गरेको छ। तरकारीहरु सिमी, तितेकरेला, डल्ले खुर्सानी हवाईजहाज मार्फत ल्याउछौं। तर उडान मार्फत ल्याउँदा महंगो पर्ने गरेको छ। कोभिडको समयमा नेपालबाट सामान ल्याउन पाइएन। अहिले हङकङमा नेपालीको व्यवसाय बढ्दै गर्दा नेपाली सामान खपतपनि बढ्दै गएको छ।
नेपालबाट आउने रक्सी रेष्टुरेन्टमा बिक्री हुन्छ की घरमै लैजान्छन्?
रक्सीको आइटम रेष्टुरेन्टमा नै बढी जान्छ। घरमा थोरैले मात्रै लगेर जान्छन्। खुद्रा विक्रेता पसलहरुले पनि लैजाने गरेका छन्। हङकङमा नेपाली ब्रान्डको रक्सी विदेशीले बढी पिउने गरेका छन्। मुस्ताङ वियर गोराहरुले खोजी खोजी खान्छन्। खाद्यान्न वस्तु चाहीँ नेपाली नै बढी प्रयोग गर्छन्। कोदोको पिठो, फापरको पिठो, सूजी लगेर ढिँडो, हलुवा बनाएर अफ्रिकनहरुले पनि खान्छन्। हङकङमा रहेका नेपाली बारहरुमा नेपाली ह्वीस्की र वियर राख्छन्। नेपालबाट मुस्ताङ वियर पर्याप्त आउन नसकेको समयमा सप्लाई गर्न नसकेको भनेर बारहरु मसँग रिसाएका थिए।
नेपाली प्रोडक्टको सप्लाई बढाउन के गर्नुपर्छ?
सरकारले विदेश पठाउने वस्तुमा ढुवानी छुट दिनुपर्ने व्यवस्था गर्नुपर्छ। यातायात खर्च कम हुने वित्तिकै धेरै नेपाली प्रोडक्ट हङकङ सहजै आउन सक्छ। हङकङसंगै अन्य देशमा वस्तु पठाउँदा नेपालले धेरै डलर भित्र्यााउन सक्थ्यो। अहिले यातायात खर्च नै बढी हुँदा अर्को देशका वस्तुसंग प्रतिस्पर्धा गर्न अप्ठेरो भैराखेको छ।
नेपालबाट वस्तु मगाएर अरु देशमा पनि पठाउनु हुन्छ?
नेपालबाट आएका केही वस्तु बेलायत, मकाउ, मूलभूमी चीन जाने गरेको छ। नेपाली खाद्यान्न नै अर्को देशमा सप्लाई गर्दै आएका छौं।
नेपालबाट पानी पनि आउँछ कि हङकङ?
नेपालबाट पानी ल्याउने प्रयास गरेका हौं। सप्लायर्स यहाँ आएका पनि थिए। तर सफल हुन सकेनौं। पानीको मुल्यभन्दा यातायात खर्च नै बढी लाग्ने देखियो। त्यसले यहाँ धेरै महंगो हुन्छ।
Shares
प्रतिक्रिया