हङकङमा कम आय र अल्पसंख्यक पृष्ठभूमिका विद्यार्थीलक्षित विशेष कार्यक्रम

लैङ्गिक अन्तर कम गर्न किशोरीलाई वित्तीय साक्षरता, करिअर सपोर्ट तालिम दिइने
हङकङमा कम आय र अल्पसंख्यक पृष्ठभूमिका विद्यार्थीलक्षित विशेष कार्यक्रम

बायाँबाट क्रमश: इन्स्पाइरिङ गर्ल्स हङकङका कार्यक्रम निर्देशक हेजल जोउ, अध्यक्ष तथा निर्देशक इनेस गफ्सी र च्याप्टरको एम्बेसडरका रूपमा चयन गरिएकी विद्यार्थी क्लो वोङ (एससीएमपी)


नेपालखबर
मंसिर ५, २०८० मंगलबार १०:८, हङकङ

हङकङमा कम आय भएका र अल्पसंख्यक पृष्ठभूमिका किशोरी विद्यार्थीलाई वित्तीय साक्षरता तथा करिअर सपोर्ट तालिम दिइने भएको छ।

तालिमले लैङ्गिक अन्तरलाई कम गर्ने उद्देश्य सहित १६–१८ वर्ष उमेर समूहका किशोरीलाई समेट्ने भएको हो।

तालिमको आयोजना ‘इन्सपाइरिङ गर्ल्स हङकङ’ परियोजनाले आयोजना गर्नेछ।

तालिम कार्यक्रम २०२४ को जनवरीमा हुनेछ। अपरेसन सान्ता क्लाउज (ओएससी)द्वारा प्रायोजित यस कार्यक्रम संस्थाको १५ परोपकारी परियोजनामध्ये एक रहेको ओएससीले जनाएको छ।

२० हजारभन्दा बढी किशोरीलाई समेट्ने लक्ष्य राखिएको कार्यक्रमको पहिलो चरणमा सामुदायिक विद्यालयका १६ देखि १८ वर्ष उमेर समूहका १५ सय किशोरी लाभान्वित हुने भएका हुन्।

तालिममा सहभागी किशोरीले आफ्नो वित्तीय साक्षरता सीपमा सुधार गरी बेलायतमा रहेको अन्तर्राष्ट्रिय परोपकारी समूहको स्थानीय च्याप्टरको नेतृत्वमा रहेको पाइलट प्रोजेक्टअन्तर्गत यस क्षेत्रमा करिअर विकास गर्न सक्षम हुने उद्देश्य राखिएको छ।

जनवरीमा सुरु हुने परियोजनाले १६ देखि १८ वर्ष उमेर समूहका छात्रालाई करिअर काउन्सिलिङ र वित्तीय साक्षरता तालिम प्रदान गर्नेछ।

परियोजनाले श्रम उद्योगमा रहेको पुरुष वर्चस्वलाई केही हदसम्म भए पनि तोड्न मद्दत गर्ने लक्ष्य राखेको छ।

परियोजनाको स्थानीय च्याप्टरका निर्देशक तथा अध्यक्ष इनेस गफ्सीले कार्यक्रम लैङ्गिक असन्तुलनलाई सम्बोधन गर्न महत्त्वपूर्ण भएको बताइन्।

यसअघि प्रकाशित प्रतिवेदनअनुसार सहरको वित्त क्षेत्रका पदमध्ये कोष प्रबन्धकमा २० प्रतिशत र व्यवस्थापनमा २९ प्रतिशत मात्र महिला देखिएको अध्यक्ष गफ्सीले बताइन्।

‘विश्वभर अझै पनि लैङ्गिक खाडल ठूलो छ,’ अध्यक्ष गफ्सी भन्छिन्, ‘हामीलाई थाहा छ कि, लैङ्गिक खाडल बन्द गर्न महिलाहरू रोलमोडल हुन आवश्यक छ।’

त्यस्तै, परियोजनाले हङकङका महिला उद्यमीहरूको नेटवर्कमा तालिमका सहभागीलाई ट्याप गर्ने विश्वास परियोजनाका कार्यक्रम निर्देशक हेजेल जोउको छ। 

तालिम प्राप्त किशोरीले हङकङका प्रमुख वित्तीय कम्पनीहरूमा इन्टर्नसीप गर्ने मौका पाउने आयोजक संस्थाले जनाएको छ।

परियोजनाले १६–१८ वर्ष उमेर समूहका छात्रालाई करिअर काउन्सिलिङ र वित्तीय साक्षरता तालिम प्रदान गर्नेछ (इन्स्पाइरिङ गर्ल्स हङकङ)

कम आय भएका धेरै किशोरीले आफ्नो परिवारले जागिर पाओस् र सक्षम भएर विवाह होस् भन्ने अपेक्षा राखेको परोपकारी संस्थासँग बताएको सुनाउँदै अध्यक्ष गफ्सी भन्छिन्, ‘उनीहरूको सामाजिक–आर्थिक पृष्ठभूमिले पनि उनीहरूलाई चाँडोभन्दा चाँडो जागिर खोज्ने प्रयास गर्न दबाब दिइरहेको छ। किनभने उनीहरू आफ्नो परिवारलाई आर्थिक रूपमा सहयोग गर्न चाहन्छन्।’

‘विपन्न पृष्ठभूमिका किशोरीहरूमा ध्यान केन्द्रित गरेर परियोजनाले परिवारहरूलाई अन्तरपुस्ता गरिबी र कम तलबको जागिरबाट बाहिर निकाल्न मद्दत गर्न सक्छ,’ अध्यक्ष गफ्सी भन्छिन्, ‘वित्तीय साक्षरताले किशोरीहरूलाई रोजगारी खोज्न, उच्च आय आर्जन गर्न र ऋण जस्ता समस्या व्यवस्थापन गर्न अझ राम्रो बन्न मद्दत गर्नेछ।’

कार्यक्रमका सहभागीले अनलाइन पोर्टलमा पनि पहुँच प्राप्त गर्न सक्ने अध्यक्ष गफ्सीले बताइन्।

यसबाट उनीहरूले सिकाइ सामग्री संकलन गर्न, मूल्यांकनमार्फत उनीहरूको प्रगति अनुगमन गर्न र अतिरिक्त पाठ्यक्रम, नगद कुपन, कामको अवसर जस्ता विभिन्न प्रोत्साहन प्राप्त गर्न सक्ने गफ्सीको भनाइ छ।

सुरुमा यो योजना १० सामुदायिक विद्यालयका १६–१८ वर्ष उमेर समूहका १५ सय किशोरीलाई उपलब्ध हुनेछ।

कार्यक्रमलाई १६० माध्यमिक विद्यालयमा विस्तार गर्ने र २० हजारभन्दा बढी किशोरीलाई लाभान्वित तुल्याउने लक्ष्य  आयोजक संस्थाको छ।

सन् २०२३–२४ शैक्षिक वर्षका लागि च्याप्टरको एम्बेसडरका रूपमा चयन गरिएकी १५ वर्षीया किशोरी क्लो वोङले कार्यक्रमबाट आफू लाभान्वित भएको बताइन्।
 
‘मलाई वित्तीय उद्योगका बारेमा केही थाहा थिएन किनभने मेरा आमाबाबु यसमा संलग्न छैनन्, वोङ भन्छिन्, ‘म आफ्नो व्यवसाय सुरु गर्न सक्छु भन्नेबारे महिला उद्यमीहरूबाट सुनेँ। यसरी अनुभव सुनाउने उद्यमीमध्ये एजुकेसन टेक्नोलोजी कम्पनी खोल्ने मलेसियाली महिला पनि थिइन्। उनको अनुभव वास्तवमै मेरो आँखा खोल्ने खालको थियो।’

इन्सपाइरिङ गर्ल्स हङकङ कार्यक्रम ओएससीको आर्थिक सहयोगमा यस वर्ष सञ्चालित १५ परोपकारी परियोजनामध्ये एक हो। जसले कम आय भएका, अल्पसंख्यका समुदायका किशोरी विद्यार्थीलाई वित्तीय साक्षरता दिने लक्ष्य लिएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .