इजिप्टबाट हङकङ भागेका पत्रकारको कथा, जो क्यानडामा सेटल हुँदैछन्

इजिप्टबाट हङकङ भागेका पत्रकारको कथा, जो क्यानडामा सेटल हुँदैछन्

हङकङमा शरण लिनुअघि इजिप्टमा भएको धार्मिक द्वन्द्वको रिपोर्टिङका क्रममा पाउल्स जाकी (बायाँ)। तस्बिर : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
मंसिर २५, २०८० सोमबार ९:१९, हङकङ

इजिप्टबाट भागेर हङकङमा शरणार्थीको रूपमा बसेको एक दशकपछि पूर्वपत्रकार पाउलेस जाकीले १३ डिसेम्बरपछि क्यानडामा नयाँ जीवन सुरु गर्दैछन्।

४२ वर्षीय जाकी ती भाग्यमानीभित्र पर्छन् जो सन् २००९ पछि हङकङमा शरणार्थीको दर्जा पाउने ३२० व्यक्तिभित्र परे। यो स्थिति प्राप्त गर्न प्रयास गर्ने कुल २७ हजार ८७१ को योे १ प्रतिशतभन्दा पनि कम हो।

यो आलेख नेपालखबरले (साउथ चाइना मर्निङ पोस्ट) एससीएमपीबाट लिएको हो। जहाँ लेखिएको छ– सहरले शरण प्रदान गर्दैन तर गैर–रिफ्युलमेन्ट प्रदान गर्दछ। जसले शरणार्थीलाई यातनाको जोखिम हुन सक्ने देशमा फिर्ता गरिने छैन भन्ने सुनिश्चित गर्दछ।

हङकङको नीतिअनुसार यहाँको अदालतबाट शरणार्थीको रूपमा दर्ज हुन योग्य छ भनी प्रमाणित भएकाहरूलाई तेस्रो देशमा पुनर्वास नगरेसम्म सहरमा बस्न दिइन्छ। त्यसैले शरणार्थीसम्बन्धी यो प्रक्रियाले अझ धेरै वर्ष लाग्न सक्नेछ।

‘हामीले २० वर्षदेखि पुनर्वासको पर्खाइमा रहेका मानिस भेटेका छौँ,’ हङकङको गैरसरकारी संस्था क्रिस्चियन एक्सन - सेन्टर फर रिफ्युजीका कार्यकारी निर्देशक सिउ मेई चेङले भने।

संस्थाका प्रबन्धक जेफ्री एन्ड्र्युले एक सेवाग्राही त अझ तेस्रो देशमा स्थानान्तरण हुने पर्खाइकै क्रममा बितेको बताए।

क्रिस्चियन एक्सन - सेन्टर फर रिफ्युजीका प्रबन्धक जेफ्री एन्ड्र्यु र कार्यकारी निर्देशक सिउ मेई चेउङका साथ पाउल्स जाकी (दायाँ छेउ)

प्रयास गरेको १० वर्षपछि क्यानडा जाने अवसर जुरेका पूर्व टेलिभिजन पत्रकार जाकीले सन् २०१०–२०१२ को बीच देशमा मुस्लिम र क्रिस्चियनबीच भएको रक्तपातपूर्व द्वन्द्वमा फ्रन्टलाइनमा बसेर रिपोर्टिङ गरेका थिए।

उनले त्यस क्रममा पीडितहरूको अन्तर्वार्ता समेत लिएका थिए।

अन्तर्वार्ता लिएनन् मात्र, स्वयं क्रिस्चियन उनले अल–जजीरा, बीबीसी र स्थानीय मुस्लिम टेलिभिजनहरूलाई अन्तर्वार्ता दिए र नागरिकको हत्या एवं इसाई–मुस्लिमको धार्मिक रूपमा उत्प्रेरित आक्रमणको आलोचना गरे।

उनको यही सशक्त मिडिया उपस्थितिले उनी स्वार्थ समूहको निशानामा परे र अन्ततः भागेर हङकङ आए।

द्वन्द्वको समयका केही सम्झना उनले साझा पनि गरेका छन्।

‘एक पटक हामी प्रत्यक्ष प्रसारण गरिरहेका थियौँ, त्यो बेला मेरो क्यामेरा पर्सनलाई स्नाइपरले मार्‍यो,’ जाकी भन्छन्।

शब्दकोश डटकमले ‘अंग्रेजी हिन्दी शब्दकोश’मा स्नाइपरको अर्थ लेखेको छ- स्नाइपर एक सैन्य/अर्धसैन्य निशानेबाज हो। जसले लुकीछिपी अझ विशेषगरी टाढाको दुरीबाट निशाना लगाउने गर्दछ।

यस्तै उनले अर्को सम्झना पनि बताए, ‘एक पटक सिपाहीहरूको समूहले यति धेरै कुटपिट गर्‍यो कि एक हप्तासम्म गहन हेरचाहमा बिताएँ भने निको हुन एक महिनाभन्दा बढी समय लाग्यो।’

उनी सन् २०१३ मा इजिप्टबाट हङकङ भागेका थिए। उनको गैर–रिफ्युलमेन्ट दाबीलाई हङकङको अध्यागमन विभागले सन् २०१८ मा अस्वीकार गरेको थियो।

यद्यपि उनले हार खाएनन्, फेरि सोही वर्ष अपिल गरे र सफल पनि भए। अनि उनलाई क्यानडामा पुनर्वासको लागि यूएनएचसीआर पठाइयो। यूएनएचसीआर यूएन रिफ्युजी एजेन्सी हो।

यसबीचमा उनको बाँच्ने आधार पनि अरू शरणार्थीको जस्तै सरकारबाट पाइने मासिक अनुदान हुन पग्यो।

उनले प्रतिमहिना तीन हजार दुई सय हङकङ डलर (पाँच सय अमेरिकी डलर) अनुदान पाउँदै आएका छन्।

जसमा हङकङ डलर १८ सय भाडा प्रयोजनका लागि सिधै धरधनीलाई भुक्तान हुन्छ भने १२ सय डलर खाद्यान्न र २ सय डलर यातायातको लागि छुट्याइएको छ।

सरकारद्वारा उपलब्ध फ्ल्याटमा जाकी, जसको हङकङ डलर १८ सय भाडा सरकारले सिधै धरधनीलाई भुक्तान गरिदिन्छ

साबुन, स्याम्पु, खाना पकाउने सामग्री लगायतका दैनिक जीवनयापनका आवश्यकताको पूर्तिका लागि उनले विभिन्न परोपकारी संस्थाबाट पाइने चन्दाबाट काम चलाउने गरेका थिए।

२०१८ मा शरणार्थीको मान्यता पाइसकेपछि उनलाई कार्य अनुमतिका लागि आवेदन दिन अनुमति त दिइएको थियो तर उनी आफ्नो कमजोर शारीरिक र मानसिक स्वास्थ्यले साथ नदिएको बताउँछन्।

‘यो अवधिमा मैले हङकङका केही मानिसमा परिवर्तन देखेको छु,’ हङकङमा बिताएका १० वर्षको समीक्षा गर्दै जाकी भन्छन्, ‘शरणार्थीप्रतिको मनोवृत्तिमा सुधार भएको छ तर सहरले पूर्ण रूपमा अँगाल्छ भन्न सकिँदैन।’

आफू सुरुमा हङकङ आएको भन्दा अहिले शरणार्थीप्रति मानिसको दृष्टिकोण बदलिएको जाकी बताउँछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .