हङकङका व्यवसायी नेपालमा लगानी गर्न उत्साहित

जीएनआरएनए हङकङको नेतृत्वमा अध्ययनका लागि आएको टोलीले के देख्यो त सम्भावना?
हङकङका व्यवसायी नेपालमा लगानी गर्न उत्साहित

सौराहा (चितवन)मा स्थानीय संस्कृतिसँग रमाउँदै, सामूहिक तस्बिर खिच्ने क्रममा पर्यटक टोली लगायत


नेपालखबर
चैत २२, २०८० बिहिबार १४:१६, काठमाडौँ

विश्वव्यापी गैरआवासीय नेपाली संघ (जीएनआरएनए) हङकङको पहलमा नेपाल आएको हङकङका उद्यमी/व्यवसायीको टोली भोलि (शुक्रबार) स्वदेश फर्कंदैछ।

नेपालमा लगानीको सम्भाव्यता अध्ययन गर्ने मूल ध्येयका साथ जीएनआरएनए हङकङका उपाध्यक्ष आकाश बन्जाराको नेतृत्वमा गत शुक्रबार नेपाल आएको टोली एक हप्ते भ्रमण सकेर भोलि फर्कन लागेको हो।

हङकङमा हस्पिटालिटी, ट्रेडिङ, सूचना प्रविधि लगायतको क्षेत्रका व्यवसायी संलग्न उक्त टोलीमा २० जना भन्दा बढी सहभागी थिए।

नेपालका विशेषगरी काठमाडौँ, पोखरा, चितवन लगायतका क्षेत्रको अवलोकनका लागि पुगेका उद्यमीले हाउजिङ, होटल व्यवसाय, स्थानीय उत्पादन लगायतका क्षेत्रमा अनुसन्धान गरेको उपाध्यक्ष बन्जाराले नेपालखबरलाई बताए।

‘टोलीका केही सदस्य हङकङमा हाउजिङ तथा होटल व्यवसायमा संलग्न छन्। उनीहरूको विशेष चासो नेपालमा यिनै क्षेत्रप्रति रह्यो,’ व्यवसायीको प्रतिक्रियाबारे नेपालखबरले राखेको जिज्ञासामा उपाध्यक्ष बन्जारा भन्छन्, ‘कतिपयले यहाँको स्थानीय उत्पादनमा बढी झुकाव दिँदै केही नमूना संकलन पनि गरेका छन्।’

हाउजिङ तथा होटल व्यवसायमा चासो राख्ने व्यवसायी यस क्षेत्रका स्थापित उद्यमी हुन्। उनीहरूको दुबई, भियतनाम लगायतका देशमा व्यवसाय छ।

‘विदेशका समृद्ध राष्ट्रमा पछिल्लो समय हाउजिङको लहर नै चलेको छ,’ बन्जारा भन्छन्, ‘नेपालमा यसको सम्भावना कस्तो छ भनेर उनीहरू बुझ्न आएका हुन्।’

त्यस्तै, पोखरा तथा चितवनका स्थानीय उत्पादनको नमूना संकलन गरेका केही व्यवसायीले त्यहाँको उत्पादनलाई हङकङमा ‘ब्रान्डिङ’को लागि चासो देखाए।

सौराहा (चितवन)मा हङकङका पर्यटक लगायत

यहाँका आयुर्वेदिक उत्पादनमा उनीहरूको विशेष चासो रहेको हो। यी उत्पादनसँग सहकार्य गर्न इच्छुक उनीहरूले बजारमै गएर नमूना संकलन गरेको बन्जाराले बताए।

टोलीलाई नेपाल घुमाउने नेतृत्व लिन पाउँदा आफू निकै हर्षित भएको बताउने उनी टोलीका सदस्य नेपालमा लगानी गर्न निकै सकारात्मक देखिएको तथा यहाँको प्राकृतिक सौन्दर्यले मोहित भएको बताउँछन्।

‘आउँदो सेप्टेम्बरमा हङकङबाट फेरि अर्को टोली नेपाल घुम्न आउँदैछ। अहिलेको टोलीलाई घान्द्रुक (कास्की) पुर्‍याएपछि केही सदस्य यति मोहित भए कि सेप्टेम्बरको टोलीमा समेत आफू सामेल हुने इच्छा देखाए,’ बन्जारा उत्साहित बन्छन्।

पर्यटक यहाँको प्राकृतिक सुन्दरतामा मोहित हुनु हाम्रा लागि पर्यटन प्रवर्धनका लागि खुसीको कुरा रहेको बन्जाराको ठहर छ। पर्यटक आकर्षित गर्न सक्ने हो भने मात्रै पनि यसबाट मुलुकले मनग्गे आम्दानी गर्न सकिने उनको विश्वास छ।

त्यस्तै, केही व्यवसायी रिसोर्टमा लगानी गर्न पनि इच्छुक देखिएको उनले बताए। आफूसमेत स्थापित व्यवसायी रहेका बन्जाराले आफ्नो नेतृत्वमा काठमाडौँमा रिसोर्ट खोल्नेबारे समेत कुराकानी भएको बताए।

‘इच्छुक साथीहरूलाई काठमाडौंँका सम्भावित एक/दुई ठाउँ पनि देखाएको छु,’ बन्जारा भन्छन्, ‘उहाँहरू सकारात्मक हुनुहुन्छ। सायद, मेरै नेतृत्वमा काम अगाडि बढ्छ होला।’

यस विषयमा आजै बिहान मात्र पनि छलफल भएको उनले बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .