हङकङको व्यवस्थापिकाले वन्यजन्तु सम्बन्धमा नयाँ विधेयक पारित गरेको छ।
यस विधेयकअन्तर्गत वन्यजन्तुलाई खानेकुरा दिने, जंगली परेवा छोप्ने जस्ता कार्य गर्नेलाई अधिकतम हङकङ डलर एक लाख जरिवाना र एक वर्षको जेल सजाय हुने भएको छ। यो कानुन १ अगस्टदेखि लागू हुनेछ।
वातावरण तथा पारिस्थितिकी सचिव चे चिन-वानले बुधबार व्यवस्थापिकामा वन्यजन्तु संरक्षण (संशोधन) विधेयक २०२३ पेस गर्नुअघि नयाँ जरिवानाको व्यवस्थाले वन्यजन्तुलाई अवैध आहार खुवाउँदा हुने पर्यावरण र पारिस्थितिक प्रणाली एवं मानिसमा पर्ने प्रतिकूल प्रभावबाट जोगिन मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
यसअघि गैरकानुनी रूपमा जंगली जनावरलाई खानेकुरा खुवाएको अभियोगमा दोषी ठहरिएमा १० हजार हङकङ डलर जरिवानाको व्यवस्था थियो। अब यसलाई १० गुणा बढाएर एक लाख पुर्याइएको छ।
परेवा लगायतका जंगली जनावरलाई खानेकुरा दिनेलाई दण्ड बढाउनुको उद्देश्य वन्यजन्तुको संरक्षणलाई सुदृढ पार्नुका साथै मानिसका कारणले हुने सार्वजनिक उपद्रवको नियन्त्रण र वातावरणीय सरसफाइको समस्यामा सुधार ल्याउनु रहेको सचिव चेले बताए।
फिडिङका लागि अवैध तोकिएका क्षेत्रमा विभागले निगरानी क्यामेरा जडान गर्नेबारे पनि विचार गरिने चेको भनाइ रहेको हङकङ फ्रि प्रेसले जनाएको छ।
Shares
प्रतिक्रिया