अल्पायुमै अस्ताए हङकङवासी नेपालीका शैक्षिक स्तम्भ थोकर सर

अल्पायुमै अस्ताए हङकङवासी नेपालीका शैक्षिक स्तम्भ थोकर सर

विपेन्द्र घिमिरे
जेठ १६, २०८१ बुधबार १३:५९,

हङकङका नेपालीमाझ मिलनसार, सहयोगी अनि बौद्धिक व्यक्तित्वको छवि बनाएका थोकर सर। जसले दशकभन्दा बढी समय हङकङका अल्पसंख्यक समुदायमा शिक्षाको ज्योति छरे। तिनै थोकर सर अर्थात् नन्दलाल थोकर, जसलाई विधाताले भने न्याय गर्न सकेन।

हङकङको चाइवानस्थित इस्लामिक कासिम टुएट मेमोरियल कलेज (आईकेटीएमसी)मा लामो समयदेखि प्राध्यापन गर्दै आएका नन्दलाल थोकरको गत सोमबार (२७ मे)मा निधन भयो।

श्रीमती र एक छोराका साथ नर्थ पोइन्टमा बस्दै आएका थोकर घरमै छँदा आइतबार साँझ अचानक ढलेपछि वानचाइस्थित रतोन्जी अस्पताल लगिएको थियो।

तर, उनलाई बचाउने प्रयास निरर्थक बन्दै सोमबार दिउँसो अस्पतालले मृत घोषित गर्‍यो। अस्पतालको घोषणाअनुसार उनको मृत्युको कारक मस्तिष्कघात बन्न पुगेको छ।

भनिन्छ नि, राम्रा मान्छेमाथि दैवको पनि आँखा लाग्छ रे! ४५ वर्षकै अल्पायुमा धर्ती छोडेका थोकर अति मिलनसार, सहयोगी र शालीन व्यक्तित्वका रूपमा हङकङका नेपालीमाझ परिचित रहेको बताउँछिन् गैरआवासीय नेपाली संघ हङकङकी निवर्तमान अध्यक्ष राधिका (टिका) गुरुङ।

आफूले थोकरलाई असल शिक्षकका साथै सामाजिक अभियन्ताको रूपमा पनि बुझेको गुरुङ बताउँछिन्।

‘विद्यार्थी स्कूल आए/आएनन् निरन्तर चासो राख्ने, कोही आएको छैन भने अभिभावकसँग सम्पर्क गरी जानकारीमा बस्ने। यदि गलत भइरहेको छ भन्ने लागेमा अभिभावकलाई दिशानिर्देश गर्ने गर्नुहुन्थ्यो,’ पूर्वअध्यक्ष गुरुङ भन्छिन्, ‘यसैले त धेरै नेपाली अभिभावकले हाम्रा नानीबाबु नेतृत्वविहीन हुने भए भनेर दुःख व्यक्त गरिरहनुभएको छ सामाजिक सञ्जालमा।’

पूर्वअध्यक्ष गुरुङ थोकरको निधन हङकङका नेपालीको तेस्रो पुस्तालाई अपुरणीय क्षति भएको मत राख्छिन्। उसो त हङकङका समग्र अल्पसंख्यक समुदायका लागि शैक्षिक क्षेत्रमा ठूलो क्षति भएको उनको बुझाइ छ।

नन्दलाल थोकर झन्डै डेढ दशकअघि मकवानपुरको हेटौँडाबाट हङकङ आएका थिए। हङकङ पुगेको केही समयपछि शिक्षण पेसामा लागेका उनी अभिभावकका प्रिय मात्र थिएनन्, त्यहाँ क्रियाशील नेपाली संघसंस्थाका लागि शैक्षिक स्तम्भ थिए।

हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ महासंघका शिक्षासम्बन्धी कार्यक्रममा थोकरको भूमिका अत्यन्त सक्रिय र सहयोगी रहँदै आएको बताउँछिन्।

‘महासंघमा हुने शैक्षिक कार्यक्रममा उहाँ आफू त सक्रिय हुनुहुन्थ्यो नै, स्कुलका अन्य शिक्षकलाई पनि सहभागी गराउनुहुन्थ्यो,’ अध्यक्ष गुरुङ भन्छिन्, ‘जहाँ उहाँका जनचेतनामूलक कार्यक्रमदेखि शैक्षिक योगदान महासंघलाई सधैँ खट्किनेछ।’

थोकर हङकङका नेपाली अभिभावकलाई सधैँ आफ्ना नानीबाबुलाई उचित शिक्षा दिन प्रोत्साहन गरिरहन्थे। नानीबाबुलाई पढाउनु पर्छ, पढाइमा निरन्तरता हुनुपर्छ भनेर उनी सधैँ झकझकाइरहन्थे। सरल र मिजासिलो स्वभावका थोकर रिसाएको आफूले कहिल्यै थाहा नपाएको अध्यक्ष गुरुङ बताउँछिन्।

आईकेटीएमसी कलेजमा थोकर हाल एक मात्र नेपालीमूलका शिक्षक थिए। र, उनी हङकङ सरकारबाट मान्यता प्राप्त (सर्टिफाइड) पनि हुन्।

हङकङमा श्रीमती र छोराका साथ बस्दै आएका थोकरका अरू आफन्त यहाँ छैनन्। लामो समयदेखि बिरामी श्रीमती अहिले पनि अस्पतालमै छिन् भने छोरा उनैले पढाउने स्कुलमा पढ्छन्।

यिनै कारणले पनि उनको पारिवारिक आर्थिक अवस्था विचारणीय रहेको महासंघको बुझाइ छ।

महासंघले कलेजसँग आर्थिक सहायताका लागि पहल थालेको अध्यक्ष गुरुङले नेपालखबरलाई बताइन्।

आईकेटीएमसी कलेजमा अल्पसंख्यक समुदाय लगायत धेरै नेपाली नानीबाबु अध्ययनरत छन्। यही कारण महासंघको सम्बन्ध कलेजसँग राम्रै रहेकोले पहलका लागि सहज बन्यो।

सहायताको सम्बन्धमा स्कुलकी प्रिन्सिपल जरिना हो पनि सकारात्मक रहेको गुरुङ बताउँछिन्।

महासंघले आफ्नो सदस्य संस्था हङकङ तामाङ घेदुङसँग सहकार्य गरेर अघि बढ्ने अध्यक्ष गुरुङको कथन छ।

नेपालखबरले तामाङ घेदुङकी अध्यक्ष अनिता पाख्रिनसँग पनि सम्पर्क गरेको थियो।

पाख्रिनले आर्थिक सहायताको पहल भइरहेको बताइन्।

अहिलेसम्म तामाङ घेदुङ, थोकरले पढाउने कलेज र उनकी श्रीमती (सीतामाया लामा)को उपचार भइरहेको अस्पतालबाट आर्थिक सहयोग आउने पक्का भइसकेको छ।

लामाको कजवे बेस्थित तुङ्वा इस्टर्न हस्पिटलमा उपचार भइरहेको छ।

सोमबार दिउँसो निधन भएका थोकरको आज तेस्रो दिनको कर्म हुँदैछ। तामाङ भाषामा छोर्वा ङोवा मोन्लम भनिने यस कर्म आज साँझ याउमा तेइस्थित सम्बोधी ज्ञान प्रभा धर्म संघमा हुनेछ।

यसका लागि श्रीमती सीतामायालाई अस्पतालको अनुमतिमा लगिँदैछ। अस्पतालले घेदुङकी अध्यक्ष पाख्रिनको रोहबरमा सामाजिक संस्कारका लागि निस्कन छुट दिएको हो।

दिवंगत थोकर हङकङ तामाङ घेदुङका सल्लाहकार थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .