बागलुङबाट हङकङ आएर पीएचडी गरेकी टीका, जो अल्पसंख्यक समुदायको सेवामा समर्पित छन्

बागलुङबाट हङकङ आएर पीएचडी गरेकी टीका, जो अल्पसंख्यक समुदायको सेवामा समर्पित छन्

डा. टीका राना


विपेन्द्र घिमिरे
जेठ २४, २०८१ बिहिबार १७:५७,

हङकङवासी नेपाली चेली टीका रानाले चाइनिज युनिभर्सिटी अफ हङकङबाट नर्सिङमा पीएचडी गरेकी छन्।

नेपालको बागलुङबाट हङकङ आएकी रानाले विश्वविद्यालयको चिकित्सा संकायअन्तर्गत नेदरसोल स्कूल अफ नर्सिङबाट चार वर्षको अनुसन्धानपश्चात् मंगलबार (४ जुन) पीएचडी उपाधि हासिल गरेकी हुन्।

सुरुमा सन् २००३ मै हङकङ प्रवेश गरेकी राना झन्डै एक दशक कहिले नेपाल र कहिले हङकङमा बसिन्। २०१३ पछि भने निरन्तर हङकङ बस्दै आएकी उनले सन् २०२० देखि नर्सिङमा पीएचडी सुरु गरेकी थिइन्।

रानाले नर्सिङकै इन्फेक्सन कन्ट्रोल विषयमा यही विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन्।

भर्खरै डा. उपाधि पहिरिएकी रानाले जातीय अल्पसंख्यक समुदायमा क्यान्सर स्क्रिनिङ र रोकथाम (क्यान्सर स्क्रिनिङ एन्ड प्रिभेन्सन अमोङ इथ्निक माइनोरिटी पपुलेसन) विषयमा पीएचडी पूरा गरेकी हुन्।

हङकङका जातीय अल्पसंख्यक समुदायलाई आफ्नो अध्ययन क्षेत्र रोजेकी राना यहाँका अल्पसंख्यक समुदायबीच निकै घुलमिल छन्।

गैरआवासीय नेपाली संघ, हङकङको महिला संयोजकदेखि सचिवसम्मको जिम्मेवारी वहन गरिसकेकी राना नेपाली समुदायसँग त यसै पनि परिचित छन् नै अन्य अल्पसंख्यक समुदाय भारतीय, पाकिस्तानी लगायतसँग पनि उत्तिकै घुलमिल छन्।

हङकङका स्थानीय बासिन्दासँग पनि उनको सम्बन्ध गाढा छ। ‘विशेषतः मेरो अध्ययनको क्षेत्र यहाँका अल्पसंख्यक जाति/समुदाय हो,’ राना भन्छिन्, ‘म आफूलाई अल्पसंख्यक एवं दबिएका समुदायका लागि काम गर्ने व्यक्तिका रूपमा चिनाउन चाहन्छु।’

उनको यो चाहना र योगदानलाई हङकङ सरकारले पनि पहिचान गरिसकेको छ। उनले सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई सरकारले पाँच वर्षअघि नै सम्मान गरेको थियो।

युनलङ जिल्लाका जातीय अल्पसंख्यक समुदायबीच एकता बढाउन र उनीहरूको हितमा असाधारण योगदान दिएको भन्दै रानालाई गृह मामिला ब्युरोले ‘होम अफेयर्स कमेन्डेसन स्किम’ अन्तर्गत सम्मान गरेको हो।

गृह मामिला ब्युरोले प्रदान गरेको सम्मान पत्र ग्रहण गर्दै टीका राना

पछिल्लो समय उनी सन् २०२३ मा एसियन अन्कोलोजी नर्सिङ सोसाइटीद्वारा ‘सर्टिफिकेट अफ स्कलरसिप अवार्ड’ र २०२४ मा चाइनिज युनिभर्सिटी अफ हङकङको चिकित्सा संकायद्वारा ‘आउटस्ट्यान्डिङ अकाडेमिक अवार्ड फर डक्टर अफ फिलोसोफी इन नर्सिङ’ बाट सम्मानित भएकी छन्।

यस्ता सम्मानले समाजमा अझ धेरै काम गर्न प्रोत्साहन मिलेको उनी बताउँछिन्।

हङकङ सरकारको छात्रवृत्तिमा पूर्णकालीन विद्यार्थी बनेर पीएचडी पूरा गरेकी रानाले अब हङकङमै बसेर अध्ययनकै क्षेत्रमा काम गर्ने योजना रहेको नेपालखबरलाई बताइन्।

पढाइका साथसाथै आफूलाई सामाजिक अभियन्ताका रूपमा पनि सक्रिय बनाउँदै लगेकी राना हङकङमा मात्र सीमित छैनन्।

जो जहाँ पुगे पनि जन्मभूमिलाई बिर्सन नहुने बताउने उनी भविष्यमा नेपालका लागि केही न केही योगदान दिने सोचमा त छन् नै यसअघि पनि धेरथोर सेवा गरिसकेकी छन्।

सन् २०१७ मा एनआरएनए हङकङमार्फत बागलुङको जैमिनी नगरपालिकामा गरिएको स्वास्थ्य अभियानमा उनले सक्रिय भूमिका निभाएकी थिइन्।

सर्टिफिकेट अफ स्कलरसिप अवार्ड

उक्त अभियान क्यान्सरसम्बन्धी सचेतना कार्यक्रममा बढी केन्द्रित भएकोले पनि उनको सक्रियता बढेको थियो।

पछि विश्वविद्यालयमा काम गर्न थालेपश्चात् उनले जैमिनी नगरपालिकाकै फरक फरक वडामा सचेतना कार्यक्रम सञ्चालन गरेकी थिइन्।

ती कार्यक्रममा विश्वविद्यालयका प्रोफेसरहरू पनि गएको उनी बताउँछिन्।

हङकङका मात्र नभएर विश्वकै प्रोफेसरहरू संलग्न भएको उक्त कार्यक्रममा गाउँका मानिसको स्वास्थ्य अवस्था, यसको प्रभाव, समाधानका उपाय र सरकारको भूमिका लगायतका विषयमा अध्ययन गरिएको थियो।

उक्त अध्ययनको रिपोर्ट तत्कालीन सरकारको उच्च निकायमा बुझाएको उनी स्मरण गर्छिन्।

उसो त नेपालमै नर्सिङको अध्ययन गरेर हङकङ आएकी रानाले सुरुमा पीएचडीको थेसिसका लागि अध्ययन क्षेत्र नेपाललाई नै रोजेकी थिइन्।

‘क्यान्सर रोकथाम’को विषयमा अध्ययन थालेकी उनले एक वर्षको मेहनतलाई तिलाञ्जली दिँदै अनुसन्धानको शीर्षक नै परिवर्तन गर्नुपर्‍यो।

सन् २०१९ को विश्वव्यापी कोभिड-१९ महामारीले उनको योजना तुहाइदिएको थियो।

‘मैले अनुसन्धानको क्षेत्रमा नेपाललाई रोज्नुको कारण क्यान्सरका सम्बन्धमा केही योगदान हुन्छ कि भन्ने थियो,’ रानाले भनिन्, ‘धेरै मान्छेलाई भेट्नुपर्ने, सर्वेक्षण गर्नुपर्ने खालको शीर्षक थियो। तर, कोभिड अनि लकडाउनले सबै डामाडोल भयो। एक वर्षपछि शीर्षक परिवर्तन गर्नुपर्दा व्यक्तिगत रूपमा पनि गाह्रो भयो।’

आउटस्ट्यान्डिङ अकाडेमिक अवार्ड फर डक्टर अफ फिलोसोफी इन नर्सिङ

योजना मुताबिक अघि बढ्न पाएको भए राष्ट्रिय तवरको अध्ययन गर्ने आफ्नो तयारी रहेको उनी सुनाउँछिन्।

अन्त्यमा, आफूलाई यहाँसम्म आइपुग्न साथ-सहयोग गर्ने सम्पूर्ण नेपाली समुदाय, हङकङका अल्पसंख्यक समुदाय, विश्वविद्यालयका गुरुहरू, छात्रवृत्ति प्रदान गर्ने हङकङ सरकार लगायतप्रति राना कृतज्ञ देखिइन्।

‘चार वर्षको कठोर अनुसन्धानपछि मैले आज मेरो पीएचडी थेसिसलाई सफलतापूर्वक पूरा गरेको छु,’ उपाधि पाएलगत्तै उनले फेसबुकमा समेत लेखेकी थिइन्, ‘अन्त्यमा मेरो परीक्षकले भने- बधाई छ डा. टीका राना!’

यो क्षणलाई अद्भुत भन्दै उनले थपेकी छन्, ‘मेरा पर्यवेक्षक, परिवार, साथीभाइ र मलाई यो अद्भुत यात्रामा साथ दिने सबैलाई धन्यवाद।’

छात्रवृत्तिमा पीएचडी गरेकी राना आफूले चाहना राखेमा जो कसैले पनि नसक्ने भन्ने नहुने तर्क गर्छिन्। तसर्थ, अध्ययनको चाहना राख्ने नेपाली भाइबहिनीलाई आफूले भरपुर सहयोग गर्ने उनले बताइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .