राष्ट्रिय अध्यागमन प्रशासनले हङकङ र मकाउका गैर-चिनियाँ स्थायी बासिन्दालाई पाँच वर्षको मुख्यभूमि यात्रा अनुमति खुला गरेको छ।
सोमबार प्रशासनले घोषणा गरेअनुसार बासिन्दाहरूले अर्को बुधबार (१० जुलाई) देखि सीमापार मुख्यभूमि यात्रा अनुमतिका लागि आवेदन दिन सक्नेछन्।
निवेदकले यस्तो आवेदन चाइना ट्राभल सर्भिस (हङकङ) लिमिटेडको शाखाहरूमा पेस गर्न सक्नेछन्।
यो अनुमति प्राप्त व्यक्तिले पाँच वर्षको वैध अवधिभित्र धेरै पटक मुख्यभूमिमा यात्रा गर्न पाउनेछन्। तर, एक पटकको यात्रामा ९० दिनभन्दा बढी बसाइ भने हुनु हुँदैन।
यस्तै, यो अनुमति प्राप्त व्यक्तिले मुख्यभूमिमा काम गर्न, अध्ययन गर्न, समाचार संकलन गर्न वा यस्तै प्रकारका अन्य गतिविधि गर्नका लागि भने हङकङ वा मकाउको परराष्ट्र मन्त्रालयका आयुक्तको कार्यालय वा राष्ट्रिय अध्यागमन प्रशासनमा छुट्टै आवेदन दिनु पर्दछ।
मुख्यभूमिका अधिकारीले नयाँ नीतिले व्यवसाय तथा लगानी, संस्कृति एवं पर्यटनका साथै शिक्षा र अनुसन्धान जस्ता क्षेत्रमा कर्मचारी आदान–प्रदानका लागि सहज हुने आशा राखेका छन्।
यसैगरी, हङकङ मातृभूमिमा फिर्ताको २७औँ वार्षिकोत्सव मनाइँदै गरेको महत्त्वपूर्ण घडीमा भएको यस निर्णयलाई स्वागत गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले केन्द्र सरकारप्रति कृतज्ञता व्यक्त गरे।
हङकङमा लामो समयदेखि गैर–चिनियाँ स्थायी बासिन्दाको बसोबास रहेको र सहरको विकासमा उनीहरूको ठूलो योगदान भएकोले यो निर्णयले उनीहरूलाई सम्मान गरेको लीले बताए। (द स्ट्यान्डर्ड)
Shares
प्रतिक्रिया