हङकङ र मुख्यभूमि चिनियाँ परिवेश समेटेर गरिएको अध्ययनले ‘बाइपोलार डिसअर्डर’ भएका आमाबाबुका बच्चामा सामाजिक चिन्ता, निद्राको गडबडी जस्ता समस्या अन्य बच्चामा भन्दा साढे सात गुणा बढी हुने गरेको तथ्य प्रस्तुत गरेको छ।
‘बाइपोलार’ एक मानिसक रोग हो। यसले व्यक्तिको मुड, ऊर्जा, गतिविधिस्तर एकाग्रतामा असामान्य परिवर्तन गर्दछ। जसले दैनिक कार्यमै असर गर्दछ।
यो रोग लागेकाहरू कहिले उत्साही र हर्षित त कहिले आक्रामक र भ्रमपूर्ण हुने भावनात्मक अवस्थाबाट गुज्रन्छन्।
यस्ता अभिभावकले आफ्ना बच्चालाई नराम्रो, डरलाग्दो, दुःखी, क्रोधित र अक्सर भ्रमित हुने कुराहरू गर्न वा भनिदिन सक्छन्।
यो रोगबाट विश्वभरका जनसंख्याको १ देखि ४ प्रतिशत ग्रसित छन्।
चाइनिज युनिभर्सिटी अफ हङकङको नेतृत्वमा गरिएको अध्ययनले उक्त तथ्य सार्वजनिक गरेको हो। अध्ययनमा सहभागी अन्वेषकहरूले बिहीबार सबैभन्दा बढी जोखिममा परेकाहरूलाई मद्दत गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आह्वान गरे।
कम्तीमा एक अभिभावकमा यस्तो रोग भएका बच्चामा यस्तो जोखिम अन्य साथी (जसका अभिभावकमा यो रोग छैन)को तुलनामा दुईदेखि साढे सात गुणा बढी देखिएको अध्ययनले निष्कर्ष निकालेको छ।
उनीहरूमा बानी-बेहोरा, सुत्ने-उठ्ने चक्रमा अस्तव्यस्तता, सामाजिक चिन्ता जस्ता विषयमा जोखिम बढ्दै जाने गरेको देखिएको हो।
‘विपलर डिसअर्डरको उच्च जोखिममा रहेका बालबालिकाको मुड, चिन्ता र जैविक चक्रकको समस्या कस्तो छ भन्नेबारे एसियाली क्षेत्रमा गरिएको यो विस्तृत अध्ययन हो,’ अध्ययनका प्रमुख तथा विश्वविद्यालयको मनोचिकित्सा विभागका अध्यक्ष प्रोफेसर विङ युन भन्छन्।
हङकङको टोलीले सन् २०१६ देखि २०२३ को बीचमा ग्वाङझाउ र सेन्जेन सहरका १० अस्पतालसँगको सहकार्यमा यो अध्ययन गरेको थियो।
अनुसन्धान टोलीले १९१ जनामा सर्वेक्षण गरेको थियो। जसको आमा वा बाबुमध्ये कम्तीमा एक जना ‘विपलर डिसअर्डर’को सिकार थिए।
त्यस्तै, टोलीले अन्य २०२ व्यक्तिलाई पनि अध्ययनमा समेटेको थियो, जसका आमाबाबुमा यो रोग थिएन। अध्ययनमा समेटिएकाहरू ६ देखि २१ वर्षका थिए।
विपलर डिसअर्डरबाट ग्रसित आमाबाबुका बच्चामा उनीहरूको साथीको तुलनामा हाइपरएक्टिविटी डिसअर्डर, ध्यान भंग तथा आचरण विकार जस्ता लक्षण दोब्बर थियो।
यी बालबालिकामा किशोरावस्थामा पुगेपछि रातिसम्म बस्ने, सुत्ने र उठ्ने समयको गडबडी अन्यको तुलनामा चार गुणा बढी थियो। साथै, सामाजिक चिन्ता साढे सात गुणा बढी देखिएको थियो।
यो अध्ययन मेमा जनरल साइकियाट्री जर्नलमा प्रकाशित भएको थियो। (एससीएमपी)
Shares
प्रतिक्रिया