सहर र जङ्‌गलको परीक्षणमा मग्न कवि अज्ञातले ल्याउँदैछन् नयाँ कृति

हङकङबाट फर्केर इलाममा कविता-खेती
सहर र जङ्‌गलको परीक्षणमा मग्न कवि अज्ञातले ल्याउँदैछन् नयाँ कृति

मगेन्द्र राई
असोज ३०, २०८२ बिहिबार १२:५८, हङकङ

चर्चित विद्रोही कवि हाङयुग अज्ञातको नयाँ कविता सङ्ग्रह ‘हाङयुग अज्ञातका कविताहरू’ तिहारलगत्तै आउने भएको छ।

करिब ९० वटा कविता अटाएको उक्त सङ्ग्रहको प्रकाशक अमेरिका निवासी पर्वतारोही तथा व्यवसायी जुनिता सुब्बा मिश्र रहेकी छन्।

सुदूरपूर्वी नेपाल इलाममा जन्मिएका अज्ञातको यो आठौँ कृति सङ्ग्रह हो। प्रकाशोन्मुख सङ्ग्रहमा आन्दोलन, प्रेम, राजनीतिक, दार्शनिक, पहिचानका कविता समेटिएका छन्।

इलाम, काठमाडौँ, हङकङ हुँदै अहिले इलामकै माटोमा कविताको खेती गरिरहेका अज्ञातको लेखन यात्रा सन् १९९७ बाट सुरु भएको हो। तत्कालीन अवस्थामा उनी ‘रुपरेखा साप्ताहिक’ मा स्तम्भ लेख्थे।

त्यो बेला, नेपाली साहित्य (मेन स्ट्रिम) लेखन पूर्ण नभएको भन्दै हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले ‘सृजनशील अराजकता’को साहित्यिक आन्दोलन चलाएका थिए।
विचारमा बहुलता, बहुसांस्कृतिक लेखन, जातीय चेतना, काव्य स्वतन्त्रता र रचनात्मक निर्णय जस्ता उनीहरूका एजेन्डा थिए।

यही विषयवस्तुमा लेखिएको राजन मुकारुङको ‘दमिनी भीर’ले मदन पुरस्कार प्राप्त गर्‍यो भने उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ले निकै ख्याति कमायो। अज्ञातको ‘करङको हिरासत’ चर्चित रह्यो।

सन् २०१५ मा प्रकाशित ‘आधा रातको ताङ्सिङ’पश्चात् करिब १० वर्षको अन्तरालपछि उनको पुनरागमन हुँदैछ।

‘हङकङमा हुनुहुन्थ्यो, अचानक हराउनुभो, साहित्यप्रति वितृष्णा पैदा भएको हो?’ भन्ने नेपालखबरको प्रश्नमा अज्ञातले भने, ‘म गायब छैन। जङ्गलमा थिएँ, ध्यानमा मग्न थिएँ। यद्यपि, दिनमा १/२ वटा कविता लेखिरहेकै हुन्थेँ।’

‘काठमाडौँको भिड र हङकङजस्तो उन्नत सहरमा अभ्यस्त हुनुभएको तपाईँ जङ्गलमा कसरी अडिनुभो? अनुभव कस्तो रह्यो?’

अर्को प्रश्नको उत्तरमा अज्ञात भन्छन्, ‘सहरमा हुँदा मात्रै मान्छेको अस्तित्व हुने हो र? पृथ्वी जहाँ पनि एउटै रहेछ।’

दार्शनिक प्लेटोको भनाइ छ, ‘परीक्षण नगरिएको जीवन बाँच्न लायक छैन।’

अज्ञातले सहर र जङ्गल दुवैको परीक्षण गरिरहेका छन् र जीवनलाई बाँच्न लायक बनाइरहेका छन्।

उनी आफ्नै माटोमा रमाउँदै ‘इलाम साहित्य समाज’ स्थापना गरी नेपाली साहित्य सेवामा लागिपरेका छन्। इलाम साहित्य महोत्सव आयोजना गरिरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .