हङकङका ‘लोकल हिरो’ सन्तोष तामाङ लयमा फर्किए, जिते ब्याक टु ब्याक ट्रफी

हङकङका ‘लोकल हिरो’ सन्तोष तामाङ लयमा फर्किए, जिते ब्याक टु ब्याक ट्रफी

मगेन्द्र राई
कात्तिक ११, २०८२ मंगलबार १२:७, हङकङ

करिब एक दशकअघि हङकङका नाम चलेका अल्ट्रा ट्रेल रेसमा नेपालीहरूको वर्चस्व मात्र थिएन, कीर्तिमान समेत बनाएका थिए, जो अझैसम्म कसैले तोड्न सकेको छैन। त्यतिबेला हङकङको छापाहरूमा नेपालीहरूको फोटोसहितको समाचार हेडलाइन बन्थे। उनीहरू कुनै संस्था वा व्यक्तिहरूको सहयोगमा नेपालबाट दौडन हङकङ आउँथे।

त्यो बेला हङकङमा करिब ३० हजार नेपालीको बसोबास थियो। हङकङका स्थानीय नेपालीको प्रतिनिधित्व गरेर नाम राख्ने धावकहरू खासै थिएनन्। त्यो अभाव पूरा गर्ने एक युवा धावक झुल्किए। उक्त धावक थिए– सन्तोष तामाङ।

त्यसबेला हङकङको प्रसिद्ध पत्रिका साउथ चाइना मर्निङ पोस्टमा उनको फोटोसहितको समाचार छापिन्थ्यो। त्यो देखेर हङकङवासी नेपाली गौरवान्वित हुन्थे। हङकङको मिडियामा नेपालीको नाम चम्काएको भन्दै स्थानीय नेपालीले उनलाई ‘लोकल हिरो’को उपमा दिन थाले। पछि उनको यही पहिचान बन्यो।

एकपछि अर्को सफलता पाइरहेका उनी एकाएक गुमनाम  भए।

झन्डै एक दशकपछि भने हाल सन्तोषको कमब्याक भएको छ। अर्थात् उनी पुरानै लयमा फर्किएका छन्।

उनले गत शनिबार एसिया ट्रेल मास्टर सिरिज अन्तर्गतको ७५ किमि अल्ट्रा फिस एन्ड चिप्स दौडतर्फ ओभरअल चौथो तथा दक्षिण एसियाली क्षेत्रको पहिलो बनेर ट्रफी थापे।

न्यु टेरिटोरिजको फानलिङमा सम्पन्न उक्त दौडमा उनले निर्धारित दूरी १० घण्टा २ मिनटमा पूरा गरेका थिए। त्यसैगरी अर्का नेपाली यामनाथ लिम्बू (नुगोयाम) ले समग्रमा पाँचौँ र दक्षिण एसियालीतर्फ दोस्रो स्थान हासिल गर्न सफल भए।

ट्रफी थाप्दै सन्तोष तामाङ (बायाँ) र यामनाथ लिम्बू

सन्तोषले गत अक्टोबर ५ मा हङकङमा भएको एक दौड प्रतियोगितामा तेस्रो स्थान हासिल गरी ट्रफी थापेका थिए। उनको यो ब्याक टु ब्याक उत्साहप्रद कमब्याक हो।

यो सफलतासँगै सन्तोष र यामनाथ एसिया ट्रेल मास्टरको च्याम्पियनसिप दौडको लागि क्वालिफाइ भएका छन्।

उनीहरू दुवै हङकङ नेप्लिज अल्ट्रा ट्रेल रनिङ एसोसिएसनको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएका थिए।

‘ब्याक टु ब्याक राम्रो प्रदर्शन भयो, अब आफ्नो पुरानो सफलताको विरासत फर्काउन सकिएला?’ नेपालखबरको प्रश्नमा तामाङले भने, ‘यो मेरो वार्मअप मात्र हो, मेरो लक्ष्य पुरानो इतिहास दोहोर्‍याउने मात्र होइन, नयाँ रच्ने रहेको छ। यसको लागि दृढ संकल्पका साथ लागिपरेको छु, आत्मविश्वासका साथ।’

आफ्नो टिम सपोर्टका निम्ति खटिएका एचकेएनयुटीआरएका पदाधिकारी लबिन गुरुङ, भेषराज भट्टराईप्रति तामाङ कृतज्ञ पनि देखिए। भन्छन्, ‘उहाँहरूकै साथ र सहयोगका कारण राम्रो नतिजा निकाल्न सकेको हुँ।’

समय र परिस्थितिले साथ दिएसम्म दौडिरहने सन्तोष बताउँछन्। उनी नेपालखबर हङकङका संवाददाता पनि हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .