हङकङका यी नेपाली धावक जसलाई छेकेन उमेरले, ३२ कटे'सि रमाएकी दिलु र ५६ मा नथाकेका रविन

हङकङका यी नेपाली धावक जसलाई छेकेन उमेरले, ३२ कटे'सि रमाएकी दिलु र ५६ मा नथाकेका रविन

रविनकुमार लिम्बू र दिलु लिम्बू


मगेन्द्र राई
कात्तिक १४, २०८२ शुक्रबार १३:१६, हङकङ

जसरी कस्तुरीलाई आफ्नै नाभिबाट आइरहेको ‘बिना’को सुगन्धित बास्ना थाहा हुँदैन, ठिक त्यसैगरी हङकङवासी दिलु लिम्बूलाई आफूभित्र रहेको क्षमताको भेउ पाउन ३२ वर्ष लाग्यो। अर्थात् उनी ३२ वर्षको उमेरबाट अल्ट्रा ट्रेल दौडन थालिन्। पाँच वर्षको अवधिमा उनले हङकङ, मलेसिया र चीनमा गरी दर्जनौँ ट्रफी थापिन्।

३७ वर्षीया लिम्बूले हालै हङकङमा सम्पन्न ‘एचके वाइन्ड ५०’ अल्ट्रा ट्रेल दौड प्रतियोगितामा सयौँको सङ्ख्यामा रहेका प्रतिद्वन्द्वीलाई पछि पार्दै उपाधि चुमेकी छन्।

दिलुले यही अक्टोबर २६ आइतबार न्यु टेरिटोरिज क्षेत्रमा अवस्थित प्लोभर कोभ रिजर्भियर ड्यामबाट सुरु भएको निर्धारित ५० किलोमिटर दूरी ६ घण्टा ५० मिनेटमा छिचोलेर रेस कीर्तिमानसहित प्रथम स्थान हासिल गरिन्।

दिलु लिम्बू ‘एचके वाइन्ड ५०’ अल्ट्रा ट्रेल दौडमा रेस कीर्तिमानसहित प्रथम भइन्

त्यसैगरी पुरुषतर्फ हङकङवासी ५६ वर्षीय रविनकुमार लिम्बूले तेस्रो स्थान हासिल गरेका छन्। उनले ५० किमिको निर्धारित दूरी ६ घण्टा ९ मिनेट ४९ सेकन्डमा पार गरे।

अर्का नेपाली धावक वेदराज लिम्बूले उक्त निर्धारित दूरी ६ घण्टा ४३ मिनट ३५ सेकेन्डमा पार गरी छैटौँ स्थान हासिल गरे। वेदराज हङकङ नेप्लिज अल्ट्रा ट्रेल रनिङ एसोसियसनका अध्यक्ष समेत हुन्।

यी तिनै प्रतियोगीले ‘हङकङ नेपलिज अल्ट्रा ट्रेल रनिङ एसोसिएसन’को प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएका थिए।

हङकङमा मिरा राई, सुनमाया बुढा, रसिला तामाङ आदि नेपालीले उल्लेख्य जित हासिल गरे पनि स्थानीय नेपालीको प्रतिनिधित्व गर्दै जित हासिल गर्ने दिलु एक मात्र हङकङेली नेपाली महिला हुन्।

प्राय: नेपाली महिलाहरू ३५ कटेपछि सेमिरिटायर्ड हुन्छन्, शारीरिक रूपमा शिथिल हुन्छन् तर दिलु ३७ पुग्दा अझ सक्रिय मात्र भएकी छैनन् अझ एकपछि अर्को सफलताको इतिहास कोरिरहेकी छन्। यो कसरी सम्भव भयो त? नेपालखबरको जिज्ञासमा उनी भन्छिन्, ‘मान्छेको शरीर रबर जस्तै हो, तन्कायो भने आयतन लिन्छ नत्र त्यत्तिकै खुम्चिएर रहन्छ। मेरो हकमा पनि यही लागू भयो।’

दिलू थप्छिन्, ‘मैले मेरो उमेरलाई औँलामा भाच्न थालेको भए आज यो सफलताको स्वाद चाख्ने अवसर पक्कै पाउने थिइनँ। तर, मैले आत्मविश्वासका साथ शारीरिक तयारी, मानसिक दृढता, रणनीति, अनुशासित जीवनशैली, चुनौतीलाई सहन सक्ने क्षमता र धर्यतालाई आत्मसात् गरेँ। जसले लगातार सफलता चुम्न सहयोग गर्‍यो। यो सफलताले मेरो पुस्ता र नयाँ पुस्ता प्रेरित भए भने मलाई अझ ऊर्जा मिल्नेछ।’

सन् २०२० बाट ट्रेल रनिङ सुरु गरेकी दिलु हालसालै मलेसियामा सम्पन्न १०० किमि दूरीको अल्ट्रा ट्रेल रेसमा समेत प्रथम भएकी थिइन् भने आगामी डिसेम्बरमा थाइल्यान्डमा हुन लागेको १०० माइल्स लामो अल्ट्रा रेसको तयारीमा जुटेकी छन्।

दौडमा तेस्रो र छैटौँ भएका रविनकुमार लिम्बू (बायाँ) र वेदराज लिम्बू

५६ वर्षे ढल्कँदो उमेरमा नवयुवालाई पछि पार्दै पुरुषतर्फ तेस्रो स्थान चुमेर पोडियम पुगेका रविनकुमार लिम्बू भने खुसी र बिस्मात दुवै मुद्रामा थिए।

‘तपाईँको छिमलका दौँतरीहरू घरआँगनमा सीमित भइसके। तर, तपाईँ भने यो उमेरमा त्यतिका नौजवानलाई पछि पारेर तेस्रो हुनुभो, कस्तो लागिरहेको छ?’ भनी नेपालखबरले सोधेको प्रश्नमा रविनले भने, ‘हर्ष र बिस्मात दुवै लागिरहेको छ। खुसी यो अर्थमा कि, म बहर गोरुहरूसँग नारिएर दौडिएको थिएँ। म बुढो गोरुले सयौँ बहरलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेँ। बिस्मात यो अर्थमा कि, उमेरले नेटो काटिसक्यो। प्राय: सबै खेलकुद युवालक्षित हुन्छन् किनिक खेलकुदले शारीरिक क्षमताको माग गर्दछ। सायद यो जुनीमा यो नै मेरो अन्तिम ट्रफी हुन सक्छ।’

यसो भनिरहँदा उनको मुहारमा खुसीको मुस्कानभन्दा ज्यादा भावुकता दौडिरहेको देखिन्थ्यो। भावुक बन्दै उनले थपे, ‘यो जित ढल्क्यो समूह (४० देखि माथिका) प्रति समर्पित गर्न चाहन्छु।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .