फिने अर्थात् अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ। नेपाली युवा र उद्यमशीलतालाई जोड दिँदै अगाडि बढेको फिने यतिखेर विश्वस्तरमा विस्तारित भइरहेको छ।
पछिल्लो समय नेपालको गण्डकी प्रदेशमा पनि फिनेले आफ्नो क्षेत्र विस्तार गरिसकेको छ।
स्थापनाको सुरुआतदेखि नै हङकङमा प्रभाव जमाउँदै गएको ‘फिने हङकङ’मा भने यतिखेर नेतृत्व परिवर्तन भएको छ, जसको बागडोर सम्हाल्न आइपुगेकी छन् सोयना ढकाल।
ढकाल हङकङको वित्त क्षेत्रमा सानै उमेरमा निकै ज्ञान र उचाइ छोएकी सम्भवत: पहिलो नेपाली छोरी हुन्। हङकङमै जन्मे/हुर्केकी उनी मेफु डेल्या स्कुलबाट प्राइमरी र वाईएमसीए कलेज तुङचुङबाट सेकेन्डरी शिक्षा पूरा गरेकी हुन्।

कलेजमा क्लास टप भएका कारण छात्रवृत्ति पाएकी उनले अनुशासनमा रोल मोडल समेत बनेकी थिइन् भने कलेजको पढाइभर कलेज गर्ल्स प्रिफेक्टमा छानिएकी थिइन्। यसैले पनि यो कलेजमा भर्ना हुन चाहनेले अद्यापि उनको रिफ्रेन्स लिन चाहन्छन्।
हाल हङकङमा एपीएसी केन्द्रित निजी इक्विटी प्लेसमेन्ट फर्मको क्षेत्रमा कार्यरत ढकाल सिंगापुरको नेसनल युनिभर्सिटीबाट फाइनान्समा स्नातकोत्तर हुन्।
उनीसँग स्वेदशका वित्तीय क्षेत्रको पनि अनुभव छ। उनले नेपालमा लक्ष्मी बैंक र लक्ष्मी क्यापिटलबाट एसेट मेनेजमेन्टमा इन्टर्नसिप गरेकी थिइन्। मेन्डरिन भाषामा समेत राम्रो दक्खल राख्ने ढकालसँग सांघाइमा पनि यसै प्रकृतिको इन्टर्नसिप अनुभव छ। हाल उनी फिनेक्स हङकङ लिमिटेडमा निर्देशकको रूपमा कार्यरत छन्।
ढकाल नेपालखबर डटकमको फ्रिल्यान्स राइटर समेत हुन्। सानै उमेरमा वित्त क्षेत्रकी ज्ञाता बनेकी उनै सोयना हङकङ फिनेको नेतृत्वमा पुगेकी छन्।

उनलाई साथ दिन उपाध्यक्षद्वयमा सुरेश थापा र लक्ष्मी गुरुङ, महासिचवमा अल्मोन सुब्बा, कोषाध्यक्षमा सुहानी पुन र सचिवमा जेसन शाह कस्सिएका छन्।
त्यस्तै, कार्यसमितिको सदस्यमा रहेर साथ दिन प्रियंका चौधरी, आरती पौडेल, प्रसन्ना ज्ञवाली, तृष्णा राई, निश्चल दाहाल, स्वागत गौतम र भविष्य खरेल अघि बढेका छन्।
शनिबार कजवे बेमा भएको साधारण सभाद्वारा चुनिएको नयाँ नेतृत्वको कार्यावधि २०२७ सम्म रहनेछ।
Shares

प्रतिक्रिया