हङकङ अध्यागमन विभागले करिब ३० हजारको हाराहारीमा नेपालीहरूको आँकडा देखाए पनि त्यो भन्दा बढीको सङ्ख्यामा नेपालीहरू हङकङमा रहेको अनुमान गरिन्छ।
नेपालका विभिन्न स्थानबाट हङकङलाई कर्मथलो बनाइरहेका नेपालीमध्ये ९५ प्रतिशत पूर्वगोर्खा परिवार पृष्ठभूमिका छन्। यति सानो जनसंख्या भए पनि आ-आफ्नो हितको लागि भन्दै जातीय, क्षेत्रीय, राजनीतिक, सामाजिक, खेलकुद आदि सम्बद्ध सयभन्दा बढी संस्था खोलिएको छ भनिन्छ।
आवश्यकता ठानिएरै खोलिएको कति संस्था बन्द भए भने कति नाम मात्रका छन्। केही नगन्य संस्थाले चाहिँ नेपालीहरूको हित र प्रतिष्ठाका लागि उल्लेख काम गर्दै आएका छन्।
त्यसरी प्रशंसनीय काम गर्दै आएका संस्थामध्ये नाम लिन लायकको सस्था हो– हङकङ नेप्लिज अल्ट्रा ट्रेल रनिङ एसोसिएसन (एचकेनुट्रा)। स्थापनाको हिसाबले कान्छो मानिए पनि कामको हिसाबले अहिले यो संस्था अग्रपंक्तिमा छ।
अल्ट्रा ट्रेल रनका अनुभवी समूहले सन् २०२३ मा स्थापना गरेको यो खेलकुदसम्बन्धी संस्थाले ‘ट्रास फ्रि ट्रेल, हाइक फर चेन्ज’ नारासहित मासिक पदयात्रा र सरसफाइ, हङकङका ठूला ट्रेल रनिङ सैस्थाहरूसँग सम्बन्ध र सहकार्य, नेपाली ट्रेल रनरहरूलाई विभिन्न सहयोग, नेपालीलाई ट्रेल रनको महत्त्व बुझाउँदै नयाँ पुस्तालाई ट्रेल रनिङमा अभिप्रेरित गर्ने, हङकङका बालबालिकालाई नि:शुल्क दौड तालिम दिने, आफ्ना संस्थाका खेलाडीलाई विभिन्न देशमा सम्पन्न प्रतियोगितामा भाग लिन व्यवस्था गर्ने तथा नेपालबाट ट्रेल रनमा सम्भावना बोकेकाहरूलाई हङकङमा सम्पन्न प्रतियोगितामा भाग लिन प्रायोजन गर्ने, आफ्नै संस्थाबाट अल्ट्रा ट्रेल प्रतियोगिता सम्पन्न गर्ने जस्ता उल्लेख्य काम गर्दै आएको छ।
हाइकिङ र देउसी एकै दिन, उठ्यो ६० हजार
एचकेनुट्राले हरेक महिनाको पहिलो हप्ता हाइकिङ र सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ। यही सिलसिलामा गत आइतबार हाइकिङ र सरसफाइपछि मङ्की हिलमा देउसी समेत खेल्यो।
केही क्षणको देउसीबाट ५२ हजार हङकङ डलर उठ्यो भने हाइकिङ र देउसी कार्यक्रममा उपस्थित हुन नसक्नेहरूले पनि फोन सम्पर्क गरेर रकम दिइरहेकोले ६० हजार डलर उठ्ने कुरा संस्थाका अध्यक्ष वेदराज लिम्बूले बताए।

दौड आयोजनाको घोषणा, नगद पुरस्कार दिने
आइतबारको कार्यक्रममा संस्थाले आगामी वर्ष दौड आयोजना गर्ने घोषणा गरेको छ। संस्थाका सचिव वसन्त आङ्बुहाङका अनुसार प्रतियोगिता आगामी मार्च २१ मा हुनेछ। ५० र १२ किमिको उक्त प्रतियोगितामध्ये ५० किमिमा राम्रो नतिजा ल्याउनेले यूटीएमबी र आईटीआरए र्याङ्किङ प्वाइन्ट प्राप्त गर्ने आङ्बुहाङले बताए।
प्रतियोगितामा नगद पुरस्कार पनि राखिएको छ। ‘हङकङ ट्रेल रनिङको लागि अत्यन्तै लोकप्रिय छ। यहाँ सिजनको बेला हरेक हप्ता ३/४ वटा प्रतियोगिता हुन्छन्। नगन्य रूपमा नगद पुरस्कार दिन्छन्। तर, तपाईँहरूले सुरुमै आकर्षक नगद पुरस्कारको घोषणा गर्नु भयो। यसले आयोजकलाई व्ययभार थप्दैन?’ भन्ने नेपालखबरको प्रश्नमा अध्यक्ष लिम्बू भन्छन्–
‘यो कुरा सत्य हो। हामी संस्थाका कतिपय सदस्य धेरै प्रतियोगितामा विजेता बनेका छौँ, त्यो जित हासिल गर्नु चानचुने कुरा होइन, त्यो प्रतियोगिताका लागि खेलाडीहरूले कति जोर जुत्ता फटाए होला, कति टिसर्ट र कट्टु फटाए होला, कतिले घुँडा फुकाले होला, यो दौडले अत्यन्तै कठिन शारीरिक परिश्रम र अत्यन्तै धैर्यशीलताको माग गर्छ। यो चुनौती सामना गर्न आँट, साहस र तागत नहुनेले अल्ट्रा ट्रेल रेसको लागि कल्पना नगरे पनि हुन्छ। यति बिघ्न त्याग र मेहनत गरेर पोडियम पुगिन्छ तर आयोजकले ट्रफी र मेडलले नै टारिदिन्छन्। कसैले भौचरसम्म दिन्छ्न्, जुन भौचर प्रयोग गर्दा तोकिएको पसलमा जानुपर्ने र त्यो सट्टा गर्दा थप्नुपर्ने हुन्छ। त्यो केबल डिस्काउन्ट कार्ड जस्तै हुन्छ। त्यसैले हामीले खेलाडीहरूलाई सम्मान र प्रोत्साहन गर्न नगद पुरस्कार राखेका हौँ। यसले एलिट खेलाडीहरूलाई समेत आकर्षित गर्न सक्छ र यो प्रतियोगितालाई ‘ब्रान्ड’को रूपमा विकसित गर्न सकिन्छ।’
अध्यक्ष लिम्बू स्वयं पनि अल्ट्रा धावक हुन्। दुई वर्षअघि स्थापना भएको उक्त संस्थामा करिब ४० को हाराहारीमा सक्रिय धावक-धाविकासहित दुई सयभन्दा बढी हाइकर सदस्य छन्।
Shares

प्रतिक्रिया