हङकङ सरकारले दिने १० हजार डलर लिन खुल्यो आवेदन (लिंकसहित)

हङकङ सरकारले दिने १० हजार डलर लिन खुल्यो आवेदन (लिंकसहित)

मगेन्द्र राई
असार ८, २०७७ सोमबार १:१५,

हङकङ सरकारले आफ्ना नागरिकलाई दिने भनेको १० हजार हङकङ डलर राहत लिनका लागि आवेदन खुला भएकाे छ। 

अनलाइन तथा कागजी फाराम भरेर बैंक वा हुलाकमार्फत पेस गर्न सकिने गरी आइतबारदेखि आवेदन खुलाइएको हङकङ सरकारले जनाएको छ।

आवेदक १८ वर्षदेखि माथि उमेरका हङकङ बसोबासको स्थायी परिचयपत्रधारी हुनुपर्नेछ। आवेदन खुलेको पहिलो दिन कार्यालय खुल्ने समयभन्दा २ घण्टा अघिदेखि नै ज्येष्ठ नागरिक विभिन्न बैंकका शाखामा लाम लागेका थिए। पहिलो दिन नै ८ लाखभन्दा बढी नागरिकले आवेदन दिइसकेका छन्। यो सेवामा २१ बैंक सहभागी भएका छन्।

भिड नहोस् भनेर अनलाइनमार्फत आवेदन दर्ताका लागि प्रोत्साहन गरिए पनि इ-बैंकिङ खाता नभएकाका लागि हजार बैंक शाखा र १ सय ५० हुलाक कार्यालयको विशेष व्यवस्था गरी सरकारले कागजी आवेदनको पनि व्यवस्था मिलाएको हो। कागजी फारम भर्न एक जनालाई मात्र ३ मिनट लागेको थियो।

वित्तीय सचिव पौल चानका अनुसार जुन २१ मा आवेदन दर्ता गराएकाले चाँडोमा जुलाई ८ र अन्यले अगस्टको अन्त्यसम्ममा राहत रकम प्राप्त गर्नेछन्।

हङकङमा ३० हजारभन्दा बढी नेपाली पनि बसोबास गर्छन्। तीमध्ये धेरै नेपाली यो राहत रकम प्राप्त गर्न योग्य छन्।

नेपालखबरले गरेको सर्वेक्षणअनुसार आवेदन खुलेकै दिन केही नेपालीले पनि राहत प्राप्तिका लागि आवेदन दिएका छन्। कतिपय नेपाली कसरी आवेदन दिने भन्ने कुरामा अन्योलमा परेको पनि पाइएएको छ।

हङकङ निवासी नेपाली गायिका पवित्रा साम्पाङ राईले सेवा खुलेकै दिन बिहानै आवेदन दर्ता गराएकी छन्। आफ्नो परिवारका ६ सदस्य यो राहत प्राप्तिका लागि योग्य भएको नेपालखबरलाई बताइन्।

निकै हतारिएर आवेदन दिनुभएछ नि भन्ने नेपालखबरको प्रश्नमा गायिका साम्पाङले भनिन्, ‘यो भन्दाअगाडि पनि सरकारले यस्ता रकम प्रदान गरेको थियो, त्यो बेला ढिला गरियो, त्यसैले यसपटक चाहिँ बेलैमा आवेदन दिएका हौं।’

६० हजार डलर थाप्दै हुनुहुँदो रहेछ, त्यो भनेको झन्डै ९-१० लाख नेपाली रुपैयाँ हो, कसरी खर्च गर्दै हुनुहुन्छ भन्ने थप प्रश्नमा उनले भनिन्, ‘वास्तवमा हङकङ सरकारको यो सहयोगप्रति हामी आभारी हुनैपर्छ। यस्तो संकटका बेला यो रकम निकै उपयोगी हुनेछ। हामी यसलाई उचित काममा उपयोग गर्नेछौं। केही हिस्सा परोपकारी काममा पनि खर्च गर्ने योजना छ।’

सरकारविरोधी आन्दोलन तथा कोरोना भाइरस महामारीका कारण खराब आर्थिक मन्दीबाट बच्न हङकङ सरकाले गत फेब्रुअरीमा प्रस्तुत बजेटमा यो राहत प्याकेज घोषणा गरेको हो। जसको उद्देश्य स्थानीय उपभोग बढाउनु र जनताको आर्थिक बोझ कम गराउनु हो।

सन् २०११ मा समेत तत्कालीन अर्थ सचिव जोन चाङले सबै बासिन्दालाई ६ हजार डलर राहत वितरण गरेका थिए।

अनलाइनमार्फत कसरी आवेदन दिने?
उल्लिखित २१ बैंकमा खाता हुनेहरूले अनलाइनमार्फत केही मिनटमै सजिलै आवेदन दिन सक्नेछन्। आवेदनकाे लिंक तल छ:

https://www.cashpayout.gov.hk/eng/banks_e-registration.html?fbclid=IwAR1qxinV0JDgqO1_acYk9HnUPREoxZR9Hl--4w4ZGWqoZjDWXfaJpSQra5g

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .