अध्यागमन विभागका अनुसार सेनजेन बे पोर्टमा खटिएका २७ वर्षका अध्यागमन अधिकारीलाई शनिबार कोरोना संक्रमण भएको हो।
उनले गत जुलाई ८ मा अन्तिमपटक चेकपोइन्टमा काम गरेका थिए। जुलाई ९ मा उनको बिदा थियो भने हिजो शुक्रबार राति उनमा कोरोना देखिएको थियो। जुन आज शनिबार बिहान सार्वजनिक गरिएको थियो।
यी अध्यागमन अधिकारीले हालै कुनै देशको भ्रमण नगरेको बताइएको छ। उनले गत बुधबार क्लियर वाटर बे क्याम्पस घुमेको बताइएको छ।
यहाँ गएको चार दिनयता लगातार संक्रमित भेटिन थालेपछि हङकङका स्वास्थ्य अधिकारीहरुले कोरोनाको तेस्रो लहर सुरुवात भएको बताएको एससीएमपीले जनाएको छ।
गत बुधबार २६, बिहीबार ३४, शुक्रबार ३८ र आज शनिबार २० नयाँ संक्रमित भेटिएका हुन्। यससँगै हङकङमा कोरोना संक्रमितको संख्या १४ सय ३ पुगेको छ। संक्रमितमध्ये ७ जनाको मृत्यु हुँदा झन्डै १२ सय उपचारपछि स्वस्थ बनेका छन्।
गत बुधबार लामो समयपछि नयाँ संक्रमित देखिएका थिए। यससँगै हङकङका व्यस्थ ठाउँमा कोरोनाविरुद्धको नियम कडा बनाउन भनिएको छ।
होटल र रेस्टुरेन्टमा एक टेबलमा ८ जनालाई मात्र बस्न भनिएको छ। शुक्रबार ३८ संक्रमित देखिएपछि विद्यालय फेरि बन्द हुने बताइएको छ।
प्रतिक्रिया