नेपाल एयरलाइन्सका हङकङ म्यानेजर नवराज उपाध्यायले तत्कालै काठमाडौं–हङकङ सातामा ३ वटा उडान नहुने बताएका छन्।
नेपाल एयरलाइन्सले कोरोना महामारीअघि काठमाडौं–हङकङ सातामा तीन वटा उडान गरिरहेको थियो। अहिलेको परिस्थतिमा यात्रुको संख्या हेरेर कम्तिमा अप्रेसन खर्च उठ्ने अवस्थामा मात्रै उडान संख्या तोक्ने तयारी भइरहेको उपाध्ययाले बताए।
सरकारले अगष्ट १७ (भदौ १ गते) देखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने निर्णय गरेसँगै नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यमा कहाँ कहाँ उडान गर्न सकिन्छ भनेर अहिले योजना बनाइरहेको छ। पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीबाट जोगिँदै कसरी उडान सुचारु गर्ने भनेर कार्यविधि पनि बनाइरहेको छ।
‘काठमाडौं–हङकङ नियमित उडान अगष्ट १८ बाट नै गर्ने योजना बनाइरहेका छौं, तर सातामा कति वटा उडान गर्न सकिन्छ भन्ने विषयमा यात्रुको चाप कस्तो हुनसक्छ भनेर अध्ययन भइरहेको छ’, उपाध्यायले नेपालखबरसँग भने, ‘कम्तिमा ल्याण्डिङ, पार्किङ लगायत अप्रेसन खर्च उठाउन सक्नु पर्यो, त्यसका लागि जहाजको ७०–७५ प्रतिशत सिट बुक भएको हुनुपर्छ।’
उपाध्यायले अहिले नै घाटामा रहेको नेपाल एयरलाइन्सले थप घाटामा उडान गर्न नसक्ने बताए।
‘हाम्रो हेड अफिसले उडान तालिका निकालेको छैन, अहिले म हङकङबाट उड्ने यात्रुको चापको अवस्था अध्ययन गरेर हेड अफिसलाई रिपोर्ट गरिरहेको छु’, उपाध्यायले थपे, ‘पहिलेजस्तो तत्कालै सातामा ३ उडान गर्न त सम्भव छैन, के कति गर्न सकिन्छ चाँडै प्रष्ट होला।’
नेपाल वायुसेवा निगमले काठमाडौं–हङकङ उडान गर्ने प्रस्ताव नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष राखिसकेको छ।
‘भदौ १ देखि नै काठमाडौं–हङकङ नियमित उडान हुन्छ,’ निगमको हेड अफिसकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘कति उडान हुन्छ तालिका आएपछि मात्रै थाहा हुन्छ।’
हङकङमा बसोबास गर्दै आएका धेरै नेपाली नियमित उडान हुन नसक्दा नेपालमै रोकिएका छन्। काठमाडौं–हङकङ निगमका केहि चार्टड उडान भएपनि सबै उड्न पाएका छैनन्।
‘नियमित उडान नहुँदा धेरै नेपाली हङकङ जान पाउनु भएको छैन। काठमाडौंबाट शुरुमा हप्ताकै ३ उडानमा यात्रु भयो भने पनि हङकङबाट काठमाडौं कति आउँछन् भन्न सक्ने अवस्था छैन,’ खड्काले भनिन्।
उनले हङकङबाट आउने सुझाव अनुसार उडान तालिका टुंगो लाग्ने बताइन्।
‘यो हप्ताभित्रै काठमाडौं–हङकङ उडान तालिका सार्वजनिक हुन्छ’, अर्चनाले भनिन्।
सरकारले २०७६ चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। चैत ११ देखि भएको लकडाउनमा काठमाडौं–हङकङ ५ वटा चार्टर्ड उडान भएका थिए। जसमा जुन २ मा ३, जुन १४ र २६ मा एक–एक उडान भएका थिए।
Shares
प्रतिक्रिया