नेपाल सरकारले हङकङ र मकाउका लागि पहिलो पटक जनजाति समुदायका सहसचिव उदयबहादुर रानामगरलाई महावाणिज्यदूत नियुक्त गर्ने तयारी गरेको छ।
गृहमन्त्रालयका सहसचिव रानामगर अहिले झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी छन्। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रीपरिषदको सोमबार वा बिहीबार बस्ने बैठकले रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गर्ने तयारी छ।
‘सबै प्रक्रिया पूरा गरेर मन्त्रीपरिषदको आगामी बैठकमा महावाणिज्यदूत नियुक्तिका लागि प्रस्ताव पेश गर्ने तयारी भएको छ’, गृहमन्त्रालयका ती अधिकारीले भने।
नेपाल आदिवासी जनजाती महासंघ हङकङले लामो समयदेखि जनजाति समुदायका महावाणिज्यदूत पठाउन माग गर्दै आन्दोलनसमेत गरिरहेको थियो। नेपाल सरकारलाई दबाब दिने क्रममा महासंघले हङकङस्थित महावाणिज्यदूतावास घेराउ गर्नेदेखि महावाणिज्यदूतलाई सार्वजनिक कार्यक्रममा बहिस्कार समेत गर्दै आएको थियो।
जनजाति समुदायको यो माग सम्बोधन हुने गरी रानामगरलाई महावाणिज्यदूत नियुक्त गर्ने तयारी भएको ती अधिकारीले बताए। रानामगरलाई महावाणिज्यदूत बनाउने प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गर्यो भने उनी हङकङमा जनजाति समुदायको पहिलो महावाणिज्यदूत हुनेछन्।
त्यसो त हङकङमा अहिले वाणिज्यदूत पनि जनजाति समुदायकै किरण गुरुङ छन्। परराष्ट्र मन्त्रालयका अधिकृत गुरुङ सिन्धुलीका हुन्।
हङकङमा स्थायी रुपमा बसोबास गर्ने करिब ४० हजार नेपालीमध्ये ९० प्रतिशतभन्दा बढी जनजाति समुदायका छन्। बेलायती गोरखा सैनिकमा हुँदा हङकङमा बसेका मुख्यगरी मगर, गुरुङ, राई, लिम्बु समुदायका परिवारका सदस्य अहिले हङकङमा स्थायी रुपमा बसोबास गर्दै आएका छन्।
महावाणिज्यदूतको चार वर्षे कार्यभार पूरा गरी दुई महिनाअघि सहसचिव कमलप्रसाद भट्टराई नेपाल फर्केपछि हङकङको महावाणिज्यदूत पद खाली छ।
हङकङको महावाणिज्यदूतका लागि कम्तिमा आधा दर्जन सहसचिवले दौडधुप गरेका थिए। क्षमताका हिसावले सबै प्रतिस्पर्धी योग्य भएपनि जनजाति समुदायको माग सम्बोधन हुने र कुटनीतिक नियोगहरूमा हुने नियुक्ति पनि समावेशी हुने भएपछि उदयबहादुर रानामगर प्रबल दाबेदार बनेका हुन्।
२०५५ सालमा खरिदारबाट सेवा सुरु गरेका नुवाकोटका रानामगर २०६१ मा शाखा अधिकृत भएका थिए। रानामगरले गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन्।
गृह मन्त्रालयले गत भदौमा उनलाई काभ्रेबाट झापा सरुवा गरेको थियो।
प्रतिक्रिया