हङकङका रेल स्टेसनमा पनि गोर्खा सुरक्षाकर्मी परिचालन

हङकङका रेल स्टेसनमा पनि गोर्खा सुरक्षाकर्मी परिचालन

मगेन्द्र राई
भदौ २७, २०७६ शुक्रबार १२:१६,

हङकङका आन्दोलनकारीले पछिल्लो समय रेलवे स्टेसनमा समेत प्रदर्शन गर्ने क्रममा तोडफोड र आगजनी गर्न थालेपछि गोर्खा सुरक्षाकर्मी परिचालन गर्न थालिएको छ।

सुरुमा करिब दुई सय गोर्खा सुरक्षाकर्मी परिचालन गर्ने योजना अन्तर्गत बिहिबार परिक्षणका रुपमा केही नेपाली रेल स्टेसनहरुमा तैनाथ भएका छन्। शनिबारबाट करिब एक सय ५० गोर्खा सुरक्षाकर्मी विभिन्न रेलवे स्टेसनमा तैनाथ हुँदैछन्।

हङकङको रेलवे स्टेसनमा गोर्खा सुरक्षाकर्मी संभवतः पहिलो पटक परिचालन भएका हुन्।

आन्दोलनकारीले प्रदर्शनको निशाना हढकङ अन्तर्राष्ट्रिय विमानस्थललाई बनाएपछि त्यहाँ आवागमन व्यवस्थित गर्न एक महिनाअघिबाट नेपाली गोर्खा सुरक्षाकर्मी परिचालन गरिएको थियो। विमानस्थलमा पहिलो पटक करिब सय जना गोर्खा सुरक्षाकर्मी परिचालन भएका हुन्।

tr2

विमानस्थल र अहिले रेलवे स्टेसनमा समेत परिचालन गरिएका गोर्खा सुरक्षाकर्मी हङकङमा स्थायी बसोबास गर्दै आएका नेपाली नै हुन्, जो कुनै समय ब्रिटिश गोर्खा सैनिक वा तिनका सन्तानका हैसियतमा हङकङ आएका थिए।

हङकङमा खासगरी निर्माण र सुरक्षा क्षेत्रमा नेपालीको सेवा विश्वसनीय र भरपर्दो मानिन्छ। सरकारी अड्डा, कर्पोरेट हाउस र ठूला व्यावसायीको सुरक्षामा गोर्खाली ब्राण्ड कहलिएको छ। हङकङमा स्थायी रुपमा बसोबास गर्ने करिब ४० हजार नेपालीमध्ये अधिकांश अझै पनि निर्माण, सुरक्षा र होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्छन् भने विस्तारै व्यवसायतर्फ उन्मुख हुने संख्या पनि बढिरहेको छ।

mtr3
रेल स्टेसनभित्र हेल्मेट लगाएका प्रदर्शनकारी

हङकङको मेट्रो रेलका मुख्य कार्यकारी याकूब चक पुईले सिङ ताओ दैनिकसँग रेलवे स्टेसनलाई व्यवस्थित गर्न सहयोग पुर्याउन गोर्खालीहरु परिचालन गर्न लागिएको खुलाएका छन्।

रेलवेमा सुरुमा १००–२०० गोर्खाली सुरक्षाकर्मी परिचालन गर्न लागिएको उनले बताए। जसले रेलवे स्टेसनका कार्डबाट पैसा तिरेर भित्र बाहिर गर्न सकिने मेसिनमा पैसा नतिरि आवातजावत गर्न खोज्ने अनधिकृत यात्रीहरुको रखवारी गर्नेछन्। आवश्यकता परे उनीहरूले त्यस्ता यात्रु पक्राउ गर्न समेत सक्नेछन्।

mtr4

केही महिनायता आन्दोलनकारीले रेल सेवामाथि प्रदर्शनको निशाना बनाएपछि कतिपय यात्रुले पैसा तिर्ने अक्टोपस कार्ड ट्याप नगरी ढोकामा प्रवेश गर्ने र निस्कने गरेको रेलवेका अधिकारहिरूले जनाएका छन्।

त्यसरी अनधिकृत रुपमा यात्रा गर्न खोज्ने यात्रुकोको संख्या बढेपछि नियन्त्रण गर्ने योजना अन्तर्गत विशेष सुरक्षा टोली खटाउने क्रममा गोर्खाली सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो।

मुख्य कार्यकारी याकुबका अनुसार आन्दोलनकारीले ५० एमटीआर स्टेसन र २५ लाइट रेल स्टेसनमा तोडफोड गरि एक करोड हङकङ डलरभन्दा बढी मूल्य बराबरको क्षति गरिदिएका छन्।

mtr5
रेल स्टेसनभित्र प्रदर्शनकारीले गरेको तोडफोड

तोडफोड भएका पार्टपूर्जाहरूको मर्मत गर्ने र अपुग पार्टपूर्जाहरु निर्माता कम्पनीबाट मगाइएको छ।

तोडफोड भएका कतिपय पार्टपूर्जाहरु प्रतिस्थापित हुन नसक्ने भएकाले केही त्यस्ता रेलवे स्टेसनहरु बन्द नै गर्नु पर्ने बाध्यता रहेको उनले बताए।

हरेक वर्ष चिनियाँ चाड ‘मिड औटम’ (मुन केक) को रातभर रेल सेवा उपलब्ध हुँदै आएकोमा यसपाली आन्दोलनकै कारण उक्त सेवा रद्द गरिएको छ।

mtr6
रेल स्टेसनभित्र प्रदर्शनकारीले गरेको तोडफोड

रेल सञ्चालकको यो निर्णयप्रति धेरै यात्रुले असन्तुष्टि जनाएका छन्। हङकङमा मेट्रो रेल यात्राका लागि सबैभन्दा भरपर्दो, सुरक्षित र सस्तो साधन मानिन्छ। दैनिक लाखौं यात्रु रेलमा यात्रा गरिरहेका हुन्छन्।

केही सातायता मात्र दर्जनौं स्टेसनमा प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गरेका छन्, जसले गर्दा समय अगावै रेल सेवा बन्द हुने गरेको छ। 

यो पनिः हङकङ विमानस्थलमा पहिलो पटक गोर्खाली सुरक्षाकर्मी तैनाथ

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .