हङकङमा पक्राउ परेका दुई नेपाली युवतीको अवस्थाबारे प्रहरी: केही भन्न मिल्दैन

हङकङमा पक्राउ परेका दुई नेपाली युवतीको अवस्थाबारे प्रहरी: केही भन्न मिल्दैन

मगेन्द्र राई
असोज १६, २०७६ बिहिबार ९:५४,

हङकङमा भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा मंगलबार जेनी राईसँगै पक्राउ परेकी अर्की युवती पनि नेपाली नै रहेको खुलेको छ।

मंगलबार प्रहरीले ५१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो, जसमा एक जना नेपाली मूलकी युवती जेनी राई रहेकी थिइन। तर उनीसँगै याउमातेइबाट पक्राउ परेकी अर्की युवतीको अनुहार कालो मास्कले छोपिएकाले पहिचान खुल्न सकेको थिएन।

अभिभावकले नेपाली संघसंस्थाका प्रतिनिधिलाई बताएपछि उनी रोजमेरी लिम्बू रहेको खुलेको हो।

चीनको ७०औं राष्ट्रिय दिवसको दिन मंगलबार हङकङमा आन्दोलनकारीले हिंसात्मक प्रदर्शन गरेका थिए। प्रदर्शनकारी र प्रहरीबीचको झडपले हिंसात्मक रुप लिएपछि प्रहरीको गोली लागेर १८ वर्षीय एक जना युवा गम्भिर घाइते भएका थिए।

जेनी राई र रोजमेरी लिम्बू दुबै कलेजका विद्यार्थी हुन्। हङकङमा करिब चार महिनादेखि चलिरहेको आन्दोलनका क्रममा पक्राउ पर्ने उनीहरू संभवतः पहिलो नेपाली हुन्।

सँगै पक्राउ परेपनि उनीहरूलाई छुट्टाछुट्टै प्रहरी थानामा राखिएको छ। लामतिन बस्ने जेनीलाई हुङहोम र चुनवान बसोबास गर्ने रोजमेरीलाई चेङ सा वान प्रहरी हिरासतमा राखिएको बुझिएको छ।

हङकङका स्थायी बासिन्दा जेनी र रोजमेरीले पक्राउ परेको तीन दिनयता कोही आफन्तलाई भेट्न पाएका छैनन्। उनीहरूलाई पक्राउ गरिएको औपचारिक जानकारी हङकङस्थित नेपाली महावाणिज्य दूतावासलाई पनि दिइएको छैन।

महावाणिज्य दूतावासले हङकङ प्रहरीसँग बुझ्न खोज्दा ‘यहाँको कानुनअनुसार केही भन्न नमिल्ने जवाफ पाएको’ महावाणिज्यदूत कमल प्रसाद भट्टराईले बताए।

‘नेपाली मूलका युवती पक्राउ परेकोबारे महावाणिज्य दूतावासलाई औपचारिक खबर आएको छैन, हामीले हङकङ प्रहरी समक्ष बुझ्दा यहाँको कानुन अनुसार केही भन्न नमिल्ने जवाफ दिए’, भट्टराईले नेपालखबरसँग भने, ‘हङकङको गोपनियताको कानुन अनुसार पक्राउ परेको व्यक्तिले फलना मार्फत सहयोग चाहियो भनी अनुरोध वा दाबी गरे मात्र प्रहरीले खुलाउने रहेछ। तसर्थ उनीहरुले सिधै महावाणिज्यदूतको सहयोग चाहियो भनी अनुरोध गरे भने सकेको सहयोग गर्न हामी तयार छौं।’

हङकङकी सामाजिक कार्यकर्ता ईन्द्र गुरुङले शुक्रबार वकिलसहित पक्राउ परेका नेपाली युवतीहरुसँग भेट्ने योजना रहेको बताइन।

आन्दोलनको क्रममा पहिलो पटक नेपाली विद्यार्थी पक्राउ परेको विषयले हङकङका नेपालीबीच निकै चर्चा पाएको छ भने नेपाली संघसस्थाहरुले पनि चासो देखाएका छन्।

एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङले ‘हचुवाको भरमा फ्याट्ट प्रतिक्रिया जनाउनुभन्दा विवरण संकलन गरी टिमसँग छलफल गरिरहेको’ बताइन।

नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राईले भने प्रेस विज्ञप्ती नै जारी गरेर पक्राउ परेका नेपाली मूलका दुई युवतीको जीवन रक्षाको माग गरेका छन्।

‘पक्राउ परेका युवतीका परिवारले आग्रह गरेमा महासंघले सहयोग गर्नेछ’, राईले भने।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .