ad ad

हङकङ खबर


जुम्लाकी सुनमाया : हङकङबाट विश्व यात्रा थालिन्, एसियाकै दोस्रो रनर बनिन् (भिडिओ)


जेवी पुन मगर
चैत ११ , हङकङ

१८ मार्च शनिबार सुनमाया बुढा कोरोस स्मार्टवाचले आयोजना गरेको ५० किलोमिटर लामो ट्रेल रनिङ प्रतियोगितामा नेपाली गुरु हरिबहादुर रोकाया र विदेशी प्रशिक्षक एन्डी डुबोसको गुरुमन्त्र बमोजिम आफ्नो क्षमताले भ्याएसम्म दौडिरहेकी थिइन्।

हङकङको डाँडाकाँडामा जङ्गलैजङ्गलले भरिएको बाटो छिचोल्दै दर्जनौँ धावकलाई पछाडि छाड्दै उनी गन्तव्यको नजिक थिइन्। 

सुनमायाको अगाडि एकजना पुरुष मात्र दौडिरहेका थिए। उनी थिए, ‘एसिया ट्रेल मास्टर‘ अर्थात् इटलीका चर्चित धावक अलेसान्द्रो शेर्पा। एसियाका प्रमुख ट्रेल रनिङ प्रतियोगिताहरु जिती शीर्ष स्थानमा रहने धावकलाई ‘एसिया ट्रेल मास्टर’ उपाधिले सुशोभित गरिन्छ।

गन्तव्य आउन ६ किलोमिटर जति बाँकी थियो। सुनमायाले आफ्नो गति बढाइन्। अलेसान्द्रोलाई एक किलोमिटरदेखि निकै दबाबमा राखेकी सुनमायालाई पहिलो स्थानका निम्ति अन्तिम धक्का दिनु थियो।

एक साताअघि मात्र नर्थ फेसको आयोजनामा सम्पन्न प्रतियोगिता ‘द नर्थ फेस अल्ट्रा ट्रेल च्यालेन्ज हङकङ’ मा सुनमायाले ६ घण्टा १२ मिनेट २५ सकेन्डमा ५० किलोमिटर लामो दौड पूरा गरी महिलातर्फ पहिलो र समग्रतर्फ छैटौँ स्थान हासिल गरेकी थिइन्।

महिलातर्फ दोश्रो हुने चिनियाँ धावक मेइ लिङ स्यु सुनमायाभन्दा ३४ मिनेट पछाडि थिइन्।

प्रतिस्पर्धा हेर्नलायक थियो। द नर्थ फेस एड्भेन्चर टिमका सदस्यहरु सास रोकेर बसेका थिए। किनकि गत साताभन्दा पनि राम्रो पर्फर्मेन्स दिइरहेकी सुनमायाले एसियन च्याम्पियन अलेसान्द्रोको ‘सातो खाइदिएकी’ थिइन्। सुनमायाले अन्तिम धक्का दिइन्। सब स्तब्ध! ‘ओ माइ गड!’ सबको मुखबाट यतिमात्र निस्कन सक्यो। 

मात्र ४ सेकेन्डको फरकले अलेसान्द्रोले सुनमायाको प्रयत्न विफल बनाइदिए। सुनमायाले ५० किलोमिटर लामो दौड ५ घण्टा ३१ मिनेटमा फत्ते गरिन् भने अलेसान्द्रोले चार सेकेन्डअगाडि यो दौड पूरा गरे। झिनो अन्तरले पहिलो स्थान त गुम्यो तर छोटो समयमा दौड पूरा गर्ने महिला धावकको रुपमा रेकर्डबुकमा चाहिं नामांकित भइन् सुनमाया।

नर्थफेसले त्यसै सुनमायालाई आफ्नो एड्भेन्चर टिममा संलग्न गराएको होइन। इन्टरनेसनल ट्रेल रनिङ एसोसियसनले क्षमताका आधारमा गरेको सूचीकरणमा सुनमायाको स्तर उक्लँदै गएको देखिन्छ। विश्वभरका ट्रेल रनरहरुमाझ उनी ७७२ नम्बर ल्याई २९औँ नम्बरमा छिन् भने एसियामा दोश्रो नम्बरमा सूचीकृत खेलाडी हुन् सुनमाया। 

एसियाको पहिलो स्थानमा रहेकी चीनकी खेलाडी मियो याओको सुनमाया भन्दा २ अंक मात्र बढी छ।

व्यावसायिक एथ्लेटिकको रुपमा नर्थफेसका योग्य प्रशिक्षकहरुको निर्देशनमा रणनीतिक दौड लगाइरहेकी सुनमायाले यो अंकलाई अझै बढाउने सम्भावना प्रबल छ।

हङकङमा सुनमायाले नेपालखबरसँग भनिन्, ‘विदेशी खेलाडी र प्रशिक्षकहरुले तिमी जम्मा २४ पुग्यौ। खेल्ने उमेर प्रशस्त छ। तिम्रो भविष्य उज्जवल छ भन्नुभएको छ।’

हुन पनि हङकङमा दुई वटा ट्रेलरनमा सहभागी भइसकेपछि सुनमाया ३१ अप्रिलमा दक्षिण कोरियामा हुन गइरहेको ५० किलोमिटर लामो नर्थफेस ट्रेल रनका निम्ति हङकङबाटै तयारी गरिरहेकी छन्। उनी नर्थफेसले खाने–बस्ने व्यवस्था गरिदिएको लान्ताओ आइल्यान्डमा अभ्यास गरिरहेकी छन्।

गएको आइतबार हङकङका नेपाली ट्रेल रनरहरुले सुनमायाको सम्मानार्थ राखेको समुद्री भोजमा निकै हँसिलो मुडमा भेटिएकी सुनमायाले भनिन्, ‘अरु देशमा दौडन जाँदा नेपाली भेटिँदैनन्, हङकङमा चाहिँ आउनासाथ नेपाली समुदायमाझ बिताउन पाउँदा नेपालमै भएको अनुभव हुन्छ।’

हङकङबाटै अन्तर्राष्ट्रिय यात्रा
देशको सुदूर जुम्लामा जन्मिएकी सुनमायाको अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिश्री नै २०१६ मा हङकङबाट भएको थियो। त्यतिबेला १८ वर्ष पुगेकी सुनमायासँग उनकी संगी जुम्लाकै पूर्णलक्ष्मी न्यौपाने पनि दौडन आएकी थिइन्। अभिभावकको रुपमा त्यसबखतकी चर्चित अल्ट्रा ट्रेल धावक मीरा राई उनीहरुसँग थिइन। स–साना कदकाठीका यी नेपाली धाविकाहरु हेर्दा अपत्यारिला देखिन्थे। तर तिनको दौड सबैलाई चकित पार्ने खालको थियो।  

त्यतिबेला ५० किलोमिटर दौडमा दोश्रो स्थान जितेकी सुनमायाले उमेर समूहको हिसाबले एसिया च्याम्पियनको उपाधि हासिल गरी सबको ध्यान आफूतिर खिचिन्। तर यो क्रम नेपालबाटै सुरु भइसकेको थियो।

२०१६ मा मनास्लु ट्रेल रेसमा सुनमाया पनि सहभागी थिइन्। सात दिनमा पूरा गर्नुपर्ने असाध्यै एड्भेन्चर मानिने उच्च हिमाली भेगमा दौडिनुपर्ने १७० किलोमिटर लामो दौडमा हरेक दिनजसो पहिलो स्थान ल्याइरहेकी सुनमायाले सबैको नजर आफूतिर तानिरहेकी थिइन्। सुनमायाले १७० किलोमिटर लामो दुरी १६ घण्टा ५७ मिनेट ४४ सेकेन्डमा पार गरी महिलातर्फ पहिलो स्थान हासिल गरिन् भने समग्रमा दोश्रो भइन्। उनीभन्दा दुई घण्टा छिटो दौड पूरा गर्ने दिपेन्द्र बम (१४ घण्टा २४ मिनट ४७ सेकेन्ड) पहिलो भए।

अन्ततः मकालु ट्रेल रेसका डाइरेक्टर बेलायती नागरिक रिचर्ड बुलले सुनमाया र महिलामा दोश्रो र समग्रमा चौथो स्थान ल्याउने उनकी संगी पूर्णलक्ष्मी न्यौपानेलाई हङकङ दौडन लैजाने भए। यही प्रतियोगितामा दुई वर्षअघि  २०१४ मा मीरा राईले २० घण्टा ३ मिनेट ५७ सेकेन्डमा १९७ किमी पार गरी महिलातर्फ पहिलो र समग्रमा तेश्रो स्थान हासिल गरेकी थिइन्। उनलाई पनि बुलले अन्तर्राष्ट्रिय दौडमा सहभागी गराउन मद्दत गरेका थिए। मीराले पनि प्रारम्भमा हङकङबाटै अन्तर्राष्ट्रिय दौड सुरु गरेकी थिइन्। हङकङमा राम्रो पर्फर्मेन्स देखाएकी सुनमाया चर्चित स्पोर्टसवेयर कम्पनी नर्थफेसको नजरमा मात्र परिनन्, त्यसको एडभेन्चर टिममा अनुबन्धित पनि भइन्। मीरा राईपछि ट्रेल रनमा विश्वको नजरमा पर्ने सुनमाया दोश्रो नेपाली हुन्।

नर्थफेसले एसिया प्यासिफिक क्षेत्रको आफ्नो एड्भेन्चर टिममा अनुबन्धित गरेको एसियाका विभिन्न देशका ८ जनामध्ये नेपालकी सुनमाया मात्र महिला खेलाडी हुन्। त्यति मात्र नभई नर्थफेस टिममा यसरी अनुबन्धित हुने सुनमाया पहिलो नेपाली खेलाडी पनि हुन्। नर्थफेसले आउने–जाने यातायात खर्च, आवश्यक तालिम, विदेशमा बस्न–खान खर्च र दौडन चाहिने ‘गियर’ हरु उपलब्ध गराइदिने गर्दछ।

नर्थफेस दौडमा ८ हजार र कोरसमा जितेपछि एक हजार हङकङ डलर बराबरको सपिङ भौचर प्राप्त गरेकी सुनमाया भन्छिन्, ‘अहिले मलाई कहाँ बस्ने र के खाने भन्ने चिन्ता गर्नुपर्दैन। सबै नर्थफेसले व्यवस्था गरिदिन्छ।’

आइकन हरिबहादुर रोकाया
२०१५ देखि घरबाट ४ घण्टा पर जुम्ला बजारमा रहेको हरिबहादुर रोकायाको आवासीय तालिम केन्द्रमा बसी तालिम गरेकी सुनमायाले त्यसअघि आफ्नै गाउँमा रहेको विद्यालय गंगा मावि पेरे, माताचौरबाट राष्ट्रपति रनिङ शिल्डमा खेल्दा दोश्रो स्थान प्राप्त थिइन्। १५ सय मिटर दुरीको ट्रयाकमा दौडिएकी उनी त्यतिबेला कक्षा– ७ मा पढ्थिन्। त्यसपछि नेपालगन्जमा भएको प्रतियोगितामा पहिलो भएपछि सुनमाया राष्ट्रिय प्रतियोगिताको निम्ति काठमाडौँका लागि चयन भइन्। त्यहाँ पनि उनी पहिलो भइन्। यी सबै प्रतियोगिता ट्रयाकमा भएका थिए। 

त्यसपछि सुनमाया एसएलसीको तयारीमा लागिन्। परीक्षापछि फेरि तालिम सुरु गरिन्। त्यतिबेला उनीसँग २० जनाले तालिम लिइरहेका थिए। नर्थफेसमा अनुबन्धित भैसकेपछि ३ वर्षयता अस्ट्रेलियन प्रशिक्षकबाट तालिम लिइरहेकी सुनमाया भन्छिन्, ‘हरि गुरुले सिकाएका राम्राराम्रा खेलाडी निस्किएका छन्। कोही जागीरे भए, कोही व्यवसायतिर लागेर खेल छाडे। मेरो साथी विष्णु बुढा सेनामा गएर खेलिरहेकी छन्।’

धेरैलाई नब्बेको दशकमा नेपाललाई विश्वभर चिनाउने हरिबहादुर रोकायाबारे थाहा नहुन सक्छ। १९९२ मा बार्सिलोना र १९९८ मा सिओल ओलम्पिकमा नेपालको तर्फबाट म्याराथनमा प्रतिस्पर्धा गरी विश्व कीर्तिमान राख्ने जुम्लाका हरिबहादुर रोकायाले सन् १९९७, १९९९ र २००० मा एभरेस्ट अल्ट्रा म्याराथनमा लगातार जित हासिल गरी रेकर्ड कायम गरेका थिए। उनले यीबाहेक पनि थुप्रा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल जितेका छन्।

खेलमार्फत नेपाली मानचित्रलाई विश्वस्तरमा फैलाउने खेलाडी रोकायाले साधारणतया अन्य खेलाडीले गरेझैँ आफ्नो क्षमता बढाउने काम मात्र गरेनन्, उनले आफ्नो दुर्गम जन्मथलोमा गई आवासीय तालिम केन्द्र खोली धावकहरु उत्पादन गर्ने दुरुह कामको थालनी गरे। रोकायाको छत्रछायामा सुनमायाजस्ती दमदार खेलाडी तयार भइन्। गत साल एकजना खेल पत्रकारलाई दिएको अन्तर्वार्तामा रोकायाले आफ्नो केन्द्रबाट जन्मिएका सुनमाया र उनकी बहिनी राममाया बुढाको नाम गर्वका साथ उल्लेख गरेका थिए।

जुम्लामा अहिले पनि २५ जना युवाहरुलाई तालिम दिइरहेका रोकायाले ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन’ आयोजना गराइरहेका छन्। २३०५ मिटर उचाइमा रहेको जुम्ला बजारबाट सुरु हुने यो दौड २९९० मिटर उचाइमा अवस्थित रारा तालमा गई टुङ्गिन्छ।

आफ्नो सफलताका पछाडि गुरु रोकायाको महत्वपूर्ण भूमिका रहेको गर्वका साथ सुनाउने सुनमाया भन्छिन्, ‘हरि गुरु नभएको भए जुम्ला जस्तो पछाडि परेको गाउँबाट हामी कसरी यहाँसम्म आउन सक्थ्यौँ होला र?’

चैत ११, २०७९ शनिबार १४:१८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .