ad ad

छापा खबर


मेसिनले चुँडाएको पाँच वर्षीय बालकको हात राष्ट्रिय ट्रमा सेन्टरले जोड्यो

मेसिनले चुँडाएको पाँच वर्षीय बालकको हात राष्ट्रिय ट्रमा सेन्टरले जोड्यो

नेपालखबर
चैत २१, २०७८ सोमबार ६:५८, काठमाडौँ

राष्ट्रिय ट्रमा सेन्टरमा एक बालकको शरीरबाट चुँडिएको हात जोडिएको छ। धनुषाको जाँकी गाउँपालिका–८ का पाँच वर्षीय कुलदीप मण्डलको घाँस काट्ने मेसिनले चुँडालेको हात जोडिएको हो। 

ट्रमा सेन्टरको प्लास्टिक सर्जरी विभागका चिकित्सकले निरन्तर १५ घण्टा शल्यक्रिया गरी मण्डलको हात जोडेका खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

प्लास्टिक सर्जरी विभागका प्रमुख डा.पियुष दाहालको नेतृत्वको टोलीले मेसिनले चुँडाएको बालकको हात सफलतापूर्वक जोडेको हो। उक्त शल्यक्रियामा एनेसथेसिया विभागका प्रमुख डा.रूपेश यादव, डा.दीपेन्द्र र डा.शरद खकुरेल सहभागी थिए।

नेपालमा यति सानो उमेरका बालकको मेसिनले चुँडाएको हात जोडिएको यो पहिलो पटक भएको दाबी चिकित्सकले गरेका छन्। 

गत फागुन ९ गते साँझ ५ः३० बजे घाँस काट्ने थे्रसर मेसिनमा तीनजना बालक खेलिरहेको अवस्थामा अर्का बालकले एक्कासि मेसिन चलाउँदा मण्डलको एउटा हात पूरै चुँडिएको थियो। हात चुँडिएपछि बालक रुँदै घर पुगे। घरमा बाबुआमा थिएनन्। आमा घरदेखि टाढा काममा गएकी थिइन् भने बाबु भारतको दिल्लीमा थिए। गाउँलेले तुरुन्तै ती बालकलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए।

अस्पतालका चिकित्सकले घटनाबारे राष्ट्रिय ट्रमा सेन्टरको प्लास्टिक सर्जरी विभागलाई जानकारी गराए। प्रारम्भिक उपचारपछि बालकलाई जनकपुरबाट काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा ल्याइएको थियो। त्यसबेला रातिको साढे आठ बजेको थियो। 

शल्यक्रिया सुरु गर्दा रातिको साढे १० बजेको थियो। त्यसपछि लगातार १५ घण्टा शल्यक्रिया गरी चुँडिएको हात जोड्न चिकित्सक सफल भएका हुन्।

मेसिनले चुँडाएको हातको नसा, हड्डी, तन्तुलगायत सबै लथालिंग अवस्थामा थिए। चुँडिएको हातको रक्तनली, हड्डी, तन्तुलगायत गरी २५ वटा संरचना जोड्ने काम चिकित्सकले गरेका थिए।

 ‘यो शल्यक्रियामा हातको पछिल्लो, अघिल्लो भाग चलाउने स्नायुसहित २५ वटा संरचना जोड्यौँ,’ शल्यक्रियामा सहभागी प्लास्टिक सर्जन डा. अपार लामिछानेले भने। पाँच वर्षीय बालकलाई लगातार १५ घण्टासम्म बेहोस बनाएर शल्यक्रिया गर्नु जोखिमपूर्ण मानिन्छ। जोखिमपूर्ण भए पनि बिनाअड्चन शल्यक्रिया सम्पन्न भएको एनेसथेसिस्ट डा.रूपेश यादवले बताए।

‘लामो समय बेहोस बनाउँदा जोखिम हुने भएकाले बरु हात नभए पनि बालकलाई बचाउनुपर्छ भन्ने सोच नआएको होइन तर टिमको अथक प्रयासमा सफलतापूर्वक हात जोडियो,’ शल्यक्रियामा सहभागी डा. पशुपति पोखरेलले भने। 

शल्यक्रियापछि पनि बालकलाई संक्रमणमुक्त राख्नु अर्को चुनौती थियो। ‘नर्सले बालकलाई राम्रो हेरचाह गरे। आइसियुमा संक्रमणमुक्त बनाएरै राख्न सबैको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो,’ एनेसथेसिस्ट डा.यादवले भने।

ट्रमामा रहेका बालक मण्डलको हात सामान्य हुँदैछ। हातलाई पूरै सामान्य बनाउन करिब एक वर्षजति फिजियोथेरापी गर्नुपर्ने प्लास्टिक सर्जरी विभागका प्रमुख डा. पियुष दाहालले बताए। बालक केही दिनमा डिस्चार्ज हुने क्रममा रहेकाले ट्रमा सेन्टरले आइतबार उनको उपचारबारे सार्वजनिक रूपमा जानकारी गराएको हो।

बालकको चुँडिएको हात सुरक्षित तरिकाले ठीक समयमा जनकपुर प्रादेशिक अस्पतालले यहाँ पठाएकाले उपचार सफल भएको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद जोशीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .