ad ad

छापा खबर


बिना अध्ययन दुईदिन बिदा दुर्भाग्यपूर्ण :  प्रशासनविद्

बिना अध्ययन दुईदिन बिदा दुर्भाग्यपूर्ण :  प्रशासनविद्

नेपालखबर
बैशाख १५, २०७९ बिहिबार ६:५७, काठमाडौँ

सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय दुर्भाग्यपूर्ण र मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन्। 

सरकारको यस्तो निर्णयले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने खबर आजको राजधानी दैनिकमा सागर पण्डितले लेखेका छन्।

दुई दिने बिदाले संघीय शासन प्रणालीको मर्म र भावनामा समेत गम्भीर चोट पुग्न सक्ने उनीहरुले दाबी गरेका छन्। 

यो शासन प्रणालीको मर्म भनेकै जनताको घरआँगनमा छिटो र छरितो सेवा प्रदान गर्नु हो । प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने टिप्पणी गरेका छन् ।

सरकारले आगामी १ जेठदेखि दुई दिन बिदा दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध र आलोचना भएको छ । सरकारको यस्तो निर्णयले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने भन्दै विरोध भएको हो।

राष्ट्रसेवकहरूलाई कामचोर भएको आरोप लागिरहेको अवस्थामा उनीहरूलाई अझै सहज हुनेगरी सरकारले दुई दिन बिदा दिने निर्णय गरेपछि सरकारी सेवा झनै कमजोर र निष्प्रभावी भएर जान सक्ने भय देखिएको छ । प्रशासकहरूले मुलुकको आर्थिक अवस्थासमेत नाजुक भइरहेको अवस्थामा दुई दिन बिदा दिने निर्णयले आर्थिक अवस्था झनै संकटग्रस्त भएर जाने दाबी गरेका छन्।

सरकारले यसअघि काठमाडौं उपत्यकामा २०५६ सालमा सातामा दुई दिन बिदा दिने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो । तर, त्यसले सरकारी कामकारबाहीमा शिथिलता आएको र सेवा प्रवाहसमेत प्रभावहीन भएपछि सरकारले छोटो समयमा नै सो निर्णय खारेज गर्न बाध्य भएको थियो । अहिले पनि सरकारले बिनाअध्ययन हचुवाकै आधारमा दुईदिन बिदा दिने निर्णय गरेको बताइएको छ।

पूर्व मुख्यसचिव विमल कोइरालाले बिना अध्ययन र विश्लेषण दुई दिन बिदा दिने गरी गरिएको निर्णयले परिणाम उल्टो आउन सक्ने बताए । कोइरालाले हचुवामा गरिएको यस्तो व्यवस्थाले परिणाम दिन नसक्ने र यो निर्णय प्रत्युत्पादक हुन सक्ने दाबी गरे । ‘अहिलेका कर्मचारीको कार्यशैली नसच्याउने हो भने यसले उल्टो परिणाम ल्याउने निश्चित छ,’ कोइरालाले भने।

शासनका जानकारहरूका अनुसार अहिले पनि धेरै कर्मचारी हाजिर गरेर टाप हुने (हाटा) प्रवृृत्तिका छन् । यस्तो प्रवृत्ति भएको ठाउँमा उनीहरूलाई झनै दुई दिन बिदा दिँदा कार्यसम्पादन अझै कमजोर भएर जाने विश्लेषण प्रशासकको छ। 

सधैं विभिन्न बहाना बनाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउन अनिच्छृुक देखिने कर्मचारी दुई दिन बिदा हुँदा घुम्न निस्कन सक्छन् । फर्कंदा अर्को एक दिन काममा हयाम्पर हुन सक्ने प्रशासककै भनाइ छ । जसका कारण अब सरकारी कर्मचारीबाट हप्तामा चार दिन मात्रै काम हुन सक्ने तर्क उनीहरूको छ।

पूर्वसचिव तथा प्रशासनविद् शारदाप्रसाद त्रितालले सरकारले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नभई बिना अध्ययन र विश्लेषण दुईदिने बिदाको निर्णय गरेकाले सो निर्णय सफल नहुने ठोकुवा गरे। 

‘अहिले सरकारले पेट्रोलिय पदार्थको अभाव टार्न भन्दै गरेको यो निर्णय त्रुटिपूर्ण र अवैज्ञानिक छ, त्यसैले यो असफल हुने निश्चित छ,’ पूर्व सचिव त्रितालले भने। 

पहिला पनि बिनाअध्ययन सनककै भरमा यस्तै निर्णय गरिएकाले त्यो असफल भएको र अहिले पनि त्यस्तै सनकका भरमा निर्णय गरिएकाले असफल हुने उनको दाबी छ । पूर्वसचिव गोपीनाथ मैनालीले पनि दुईदिने बिदाको निर्णय गलत भएको बताए । विगतमा असफल भइसकेको विषयलाई पुनः बिना अध्ययन हचुवामा निर्णय गर्दा त्यो प्रत्युत्पादक हुन सक्ने उनको दाबी छ।

पूर्वसचिव केशव भट्टराईले सबैभन्दा बढी सार्वजनिक बिदा दिने देश नेपाल नै रहेको र अझै एक दिन बिदा थप गर्दा त्यसले मुलुकको निजी क्षेत्र र आर्थिक क्षेत्रमा समेत गम्भीर संकट पैदा गर्न सक्ने बताए । उनले सरकारको यस्तो कार्यले मुलुक नै ठप्प हुन सक्ने भन्दै यस्तो अवस्थामा मुलुकको आर्थिक विकास कसरी होला भन्ने प्रश्न गरे। 

उनका अनुसार विश्वमै सबैभन्दा बढी सार्वजनिक बिदा दिने देश नेपाल नै हो । ‘अझ हप्तामा दुई दिन बिदा दिने निर्णय भएपछि त हामीकहाँ बिदाको ओइरो नै लाग्ने छ, परिणाम शून्य,’ पूर्व सचिव भट्टराईले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .