ad ad

छापा खबर


प्रहरीमा ३० वर्षदेखि वरीयता लडाइँ, ०४९ मा देउवाले नियम मिच्दा अहिलेसम्म समस्या

प्रहरीमा ३० वर्षदेखि वरीयता लडाइँ, ०४९ मा देउवाले नियम मिच्दा अहिलेसम्म समस्या

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार ७:४९, काठमाडौँ

नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा ०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। 

हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै प्रहरीको वरीयतामा विवाद आउन सुरु भएको इतिहास छ। २०४९ सालदेखि थालिएको यस्तो विवाद अहिले २०७९ सालसम्म पनि जारी छ। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

फरकफरक राजनीतिक दलले प्रहरी संगठनभित्र फरकफरक प्रहरी अधिकारीलाई अगाडि बढाउँदा यो समस्या आएको हो। साथै प्रहरी अधिकारीहरू नै राजनीतिक दलको कार्यकर्ताजस्तो हुँदा पनि समस्या थप कचल्टिन पुगेको छ। प्रहरीमा वरीयता र सेवा अवधिको विषयलाई लिएर सधैं ब्याचीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ। 

अहिले नेपाल प्रहरीमा आइजी नियुक्ति हुँदा पनि ब्याचीबीचकै अस्वस्थ प्रतिस्पर्धाले वरीयता विवादमात्र निम्त्याएको छैन, सुरक्षा फौजमा कसलाई वरिष्ठ मान्ने, कसलाई कनिष्ठ मान्ने भन्ने समस्या पनि जन्माएको छ।

सर्वोच्च अदालतको फैसला र विभिन्न नजिरलाई समेत बेवास्ता गर्दै सरकारले बढुवासम्बन्धी निर्णय गर्ने गरेको छ। २०५१ सालमा रत्नशमशेर जबरालाई हटाएर मोतीलाल बोहोरालाई आइजी बनाउँदा जेष्ठताको मर्यादाक्रम मिचिएको थियो। बोहोरालाई आइजी बनाउँदा ३० वर्षे सेवा अवधि लगाइएको थियो। तर उनलाई थमौती गर्न पुनः ३२ वर्षे सेवा अवधि बनाइयो।

प्रहरीमा संगठनलाई अस्थिर बनाउने काम हालका प्रधानमन्त्री देउवाले नै गरेका हुन्। विगतमा उनी प्रधानमन्त्रीबाट हटेर लोकेन्द्रबहादुर चन्दको सरकार बनेपछि त्यति बेलाका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले अच्युतकृष्ण खरेललाई आइजी भएको ३५ दिनमै हटाएर ध्रुवबहादुर प्रधानलाई प्रहरी प्रमुख बनाए। 

प्रधान नेतृत्वको प्रहरी संगठनले २०५४ सालको स्थानीय निर्वाचन गराएको थियो। त्यस्तै २०६३ सालमा आइजीको रोलक्रममा रहेका तत्कालीन एआइजी राजेन्द्रबहादुर सिंहलाई घर पठाएर ओमविक्रम राणालाई आइजी बनाएपछि नेपाल प्रहरीको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको थियो। राणाको कार्यकालमा २८ करोड रूपैयाँबराबरको भ्रष्टचार मुद्दा लागेको थियो। राणापछि पनि रोलक्रम मिचिएको थियो।

अवकाशको मुखमा रहेका हेमबहादुर गुरुङलाई आइजी बनाउन त्यसबेला हठात ३० वर्षे सेवाअवधिको प्रावधान हटाएर पाँच महिनाका लागि आइजी बनाइएको थियो। त्यसपछि पनि आइजीको दाबी गरिरहेका र पहिलो नम्बरमा रहेका रवीन्द्रप्रताप शाहलाई पछि पारेर रमेश चन्द ठकुरीलाई आइजी नियुक्त गरिएको थियो। 

चन्द सुडान काण्डमा निलम्बनमा परेपछि शाह आइजी भएका थिए। शाहपछि कुवेर सिंह रानालाई भने रोलक्रमअनुसार आइजी बनाइएको थियो। त्यस्तै उपेन्द्रकान्त अर्याललाई आइजी बनाउँदा पनि रोलक्रम मिचिएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .