ad ad

छापा खबर


भित्रभित्रै बाम गठबन्धनको प्रयास, कांग्रेस सशंकित

भित्रभित्रै बाम गठबन्धनको प्रयास, कांग्रेस सशंकित

नेपालखबर
जेठ १८, २०७९ बुधबार ६:५५, काठमाडौँ

स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन्।

प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। 

खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ।

 ‘भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन, गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छ’, एमालेका एक पदाधिकारीले भने।  

पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको छ। संसदीय निर्वाचनअघि नै वाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ। ‘वाम गठबन्धन प्रस्ताव प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा आएका छन् तर ती विश्वासयोग्य छैनन्’, नेकपा एसका अध्यक्ष नेपाल निकट स्रोतले भन्यो।

स्रोतका अनुसार एमालेबाट त्यस्तो प्रस्ताव आउनु नयाँ कुरा होइन। तर त्यो कुनै पनि अर्थमा विश्वास आर्जन गर्नेखालको छैन, बुझौँ न त के रहेछ भन्ने तहबाट प्रस्ताव आएको हो।

 ‘विषयवस्तुको उठान गम्भीर ढंगले भएजस्तो लाग्दैन। निर्वाचनपछि केहीकेही विषयमा छलफल अघि बढ्न सक्छ भन्ने हामीलाई पहिला नै लागेको थियो। अहिले त्यही भएको छ। यसलाई सर्वथा नौलो र आश्चर्यको विषय मान्नु हुँदैन’, नेपाल निकट स्रोतले भन्यो।

यही गठबन्धनलाई निरन्तरता दिँदा स्थानीय निर्वाचनमा जस्तै आउँदो संसदीय निर्वाचनमा पनि कांग्रेसबाट असहयोग होला कि भन्ने डर माओवादी र नेकपा एसलाई छ। 

एमालेलाई निर्वाचनमार्फत संघीय सरकारमा पुग्न संसदीय निर्वाचन जित्नैपर्ने आवश्यकता छ। तर वर्तमान सत्ता गठबन्धन कायम भए एमालेको त्यो सपना पूरा नहुन सक्छ। त्यसै भएर सत्ता गठबन्धनबाट माओवादी केन्द्र र नेकपा एसलाई अलग गराएर वाम गठबन्धन गर्नुपर्ने बाध्यतामा एमाले छ। यसैकारण भित्रभित्रै वाम गठबन्धनको विषयमा छलफल अघि बढाइएको हो।

संघ र प्रदेशको निर्वाचनमा यो क्रम ज्यादै तीव्र हुने देखिन्छ। यसकारण पनि वाम गठबन्धनको आवश्यकता महसुस भएको हो’, माओवादी केन्द्र स्थायी समितिका एक सदस्यले भने। ती सदस्यका अनुसार वाम गठबन्धनको आवश्यकता भए पनि एमाले गम्भीर नहुँदासम्म सम्भव छैन।

ती नेताका अनुसार अहिले कांग्रेसले वाम गठन्धन बन्नसक्ने खतरालाई ध्यानमा राखेर आगामी मंसिरभित्रै संघीय संसद्को निर्वाचन गर्ने प्रयास गरिरहेको छ। ‘संघीय संसद्को निर्वाचन चाँडै गरौं भन्ने कांग्रेसको प्रस्ताव छ, वाम गठबन्धन नहोस् भन्ने उसको चाहना हो’, ती नेताले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .